डा. डीबी सुनुवार,
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी
हत्केला शरीरको हतियार हो। प्राचीन कालमा ‘बुद्धिस्ट मंक’ हरुले जंगलमा तपस्या गर्दा विनाहातहतियार हत्केलालाई हतियारको रुपमा प्रयोग गरेको पाइन्छ। कराँते, तक्वान्दोजस्ता खेल खेल्दासमेत हत्केलाको राम्रो व्यायाम पुगेको हुन्छ। यस्ता खेल हत्केलाको सहायताले खेलिन्छ। नाडी भन्दा तलको भाग हत्केला हो। नाडी र हत्केलाबीचको भागमा जोर्नी रहेको हुन्छ। जुन जोर्नी कमजोर भएको अवस्थामा हत्केला झमझमाउने, दुख्ने, मर्किने सड्किने, नचल्नेजस्ता समस्या हुन्छ।
हत्केला कमजोर हुने कारण
व्यायाम तथा पोषणको अभावका कारण हत्केला, हातका औँलाका हाड जोर्नी र मांशपेशी कमजोर हुन्छन्। सिंगो शरीरै कमजोर हुन्छ। व्यायाम तथा पोषणको अभावमा हत्केलाका नसा निष्क्रिय हुने, युरिकएसिडजस्ता समस्या भएको खण्डमा हत्केला कमजोर हुन पुग्छ। पक्षघात भएको खण्डमा हातै नचल्नेसम्मको अवस्था आउँछ। अधिकांश काममा हत्केलाको प्रयोग हुने भएकाले यो अंग कमजोर हुने जोखिम हुन्छ। त्यसैले हत्केला दुर्घटनामा पर्नेजस्ता समस्याको जोखिम त्यतिकै हुन्छ। हत्केलाले कामै नगर्ने अवस्था भएको खण्डमा व्यक्ति अपांग हुन पुग्छ। जसले उसको दैनिक जीवनमा असहजता उत्पन्न हुन्छ।
त्यसो भए यस्तो महत्वपूर्ण शारीरिक अंग हत्केला मजबुत बनाउनै प-यो।
अब जानौँ हत्केला मजबुत बनाउने उपायबारे।
हत्केला घुमाउने
हत्केला मजबुत बनाउने विभिन्न तरिका छन्। पहिलो चरणमा एउटा हातले अर्को हातको नाडीमा समाउने। पञ्जा र नाडीबीच भएको जोर्निभन्दा थोरै माथि समाइन्छ। त्यसपछि नाडी समाइएको हत्केला गोलाकार रुपमा घुमाइन्छ। एक साइकलमा दायाँबाट बायाँ १०/१२ मिनेट घुमाएपछि बायाँबाट दाया त्यति नै समय घुमाइन्छ। हल्का गरी पालैपालो घुमाउनु पर्छ। पालैपालो दुवै हातको यस्तो व्यायाम गर्न सकिन्छ।
हत्केलाको यस्तो व्यायामले हत्केलाका औँलालगायत प्रत्येक जोर्नीका मांसपेशी लचिलो हुन्छन्। यसरी मांशपेशी लचिलो भएपछि रक्तसञ्चारमा सहजता हुन्छ। जसले गर्दा हत्केलाको मांशपेशी च्यातिने, नसा च्यापिने समस्याबाट बच्न सकिन्छ।
कुइनो र पातो एकापट्टि मात्रै घुम्ने भए पनि हत्केलो भने दायाँबायाँ घुमाउन सकिने भाग हो।
निहुराउँदै पछाडि फर्काउँदै
दोस्रो चरणमा कुइनो टेबलमा राखेर हत्केलाको व्यायाम गर्न सकिन्छ। टेबलमा कुइनाले टेकेर हत्केलो तल निहुराउँदै नाडीतर्फ पछाडि फर्काइन्छ। हत्केलाको यस्तो व्यायाम गर्दा हत्केलालाई ड्रोजरले माटो खन्दै फालेकोजस्तै देखिन्छ।
यस्तो व्यायामले विशेषगरी हत्केला र नाडीबीचको भागमा रहेको जोर्नी तन्कन्छ। त्यति मात्रै हैन हत्केलाको अगाडि र पछाडिको भागको नसा तथा मांसपेशी राम्रोसँग तन्कन सहयोग पुग्छ। जसका कारण सहजै नसा चुट्टिने जोखिमबाट बच्न सकिन्छ।
झड्कार्ने
तेस्रो चरणमा हल्का किसिमले हातका पञ्जा खुल्ला छोडेर हत्केला झड्कार्न सकिन्छ। हत्केला बाहिर झड्काउँदा हत्केलाको जोर्नीका नसा तथा मांशपेशी तन्कन्छन्। हातका प्रत्येक औँलाका जोर्नी लचिलो हुन्छन्। जसले सामान्य ठोकिँदा हत्केला (औँला) मर्किने, भाँचिनेजस्ता जोखिमबाट बच्न सकिन्छ। यस्तो व्यायाम दैनिक बिहान–बेलुकी १५/१५ पटक गर्नु उचित हुन्छ।
औँला झड्कार्ने
तेस्रो चरणको व्यायाममा हत्केलै झड्कारिन्छ। चौथो चरणको व्यायाममा भने हातका औँला मात्रै झड्कारिन्छ। हात टक्टक्याएजस्तै गरी औँला झड्काइन्छ। जसले औँलाका प्रत्येक जोर्नी लचिलो हुन्छन्। यसरी औँला झड्कार्नाले अवरोध भएका औँलाका रक्तसञ्चार गर्ने नसा खुल्छन्। जुन व्यायामले रक्त सञ्चारमा सहजता ल्याउँछ। प्रत्येक औँलाको टुप्पाटुप्पामा सहजरुपमा रक्तसञ्चार भएपछि औँला लचिलो तथा मजबुत हुन्छ। रक्तसञ्चार सहजरुपमा नहुँदा हात निदाउने, झम्झमाउने, पोल्नेजस्ता समस्या हुन्छन्। नियमित व्यायाम गर्नाले यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ।
रुख काट्ने व्यायाम
पाँचौँ चरणमा हत्केलो छड्के पारेर खुकुरी तथा हतियारले कुनै कडा किसिमका सामान वा रुख काटेजस्तै गर्न सकिन्छ। यसरी गरिने व्यायाममा हत्केलो कडा गरि रूख काटेको जस्तै गरी तल झार्दै माथि उठाउँदै गरिन्छ। जसले हत्केलाको दायाँ–बायाँ र तलमाथिको मांशपेशी लचिलो हुनाले विशेषगरी यो भागको राम्रो व्यायाम हुन्छ।
औँलाले थिच्ने
छैटौं चरणमा गरिने एक किसिमको व्यायामका लागि भने व्यायाम गराउने व्यक्तिको आवश्यकता हुन्छ। व्यायाम गराउने व्यक्तिले हात पसारी व्यायाम गर्र्ने व्यक्तिको दुवै हातको बुढी औँलामा आफ्ना दुवै हातका कान्छी औँला छिराएर अड्काइन्छ। त्यसपछि व्यायाम गराउने व्यक्तिले व्यायाम गर्ने व्यक्तिको हत्केलाको जोर्नी तथा चक्र (प्वाइन्ट) मा बुढी औँलाले छ्यास–छ्यास थिचिन्छ।
यसरी औँलाले चक्र तथा आँख्लामा थिच्दा हत्केला तथा औँलामा जमेर बसेका विकार बाहिर निष्कासन हुन्छन्। रक्तसञ्चार प्रणाली सहज हुन्छ। जोर्नीमा भएको रक्तसञ्चारको अवरोध खुल्छ। औँला चलायमान हुन्छन्। बुढी औँलाले थिच्दा नसाहरु सक्रिय हुन्छन्। नसा सक्रिय हुँदा औँला छिटो–छिटो चल्न सहयोग पुग्ने मात्रै हैन औँला सहजै भाँचिने तथा मर्किने जस्ता समस्याबाट बच्न सकिन्छ।
त्यसैगरी एक हातका औँलाले अर्को हातका औँलालाई च्यापेर बाहिर तान्न सकिन्छ। औँलाको चारैतिरको भाग च्याप्दै तान्न सकिन्छ। दायाँ–बायाँ, तल–माथि तान्दा औँलामा रक्तसञ्चार सहज हुने हुँदा औँला बाउँडिनेजस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ।
त्यति मात्रै हैन मुठ्ठी पार्र्दै खोल्दै हत्केलाको व्यायाम गर्न सकिन्छ। मुठ्ठी पार्दै खोलिने यस्तो किसिमको व्यायाम गर्नाले हत्केलाको अगाडि–पछाडि दुवैतर्फको भाग र विशेषगरी औँला लचिलो हुन्छ। हत्केलो सक्रिय हुन्छ। गोलो बल समाउँदै छोड्ने व्यायामसमेत हुन्छ।
हातको मालिस
व्यायाम गरिसकेपछि हत्केलाको मालिस गर्नु आवश्यक हुन्छ। तेल लगाएर वा नलगाई विभिन्न तरिकाले हत्केलाको मालिस गर्न सकिन्छ। तर सामान्यतः तेल लगाएर मालिस गर्नु उचित हुन्छ। लोसनलगायतका तेल लगाएर मालिस गर्न सकिन्छ।
मालिस गर्नु अघि दुवै हातमा तेल लगाइन्छ। तेल लगाइसकेपछि एउटा हातले अर्को हातको हत्केलादेखि तान्दै औँलालाई तानिन्छ। औँलाको टुप्पासम्म तानिन्छ। त्यसपछि हत्केलाको पछाडिको भागमा रगड्न तथा माड्न सकिन्छ। तेल लगाएर दुवै हात पालैपालो गर्दै यसरी मालिस गर्नाले हत्केलाले आराम पाउँछ। जसले व्यायामको क्रममा तन्किएका नसा तथा मांसपेशी सन्तुलित अवस्थामा रहन सहयोग पुग्छ।
हात धोएजस्तै गरेर मालिस गर्न सकिन्छ। जसले चक्र–चक्र चलायमान हुन्छ र हत्केलो सक्रिय हुन्छ। त्यसैले पालैपालो दुवै हातको व्यायाम तथा मालिस गर्नु पर्छ। व्यायाम तथा मालिस गरिसकेपछि जडिबुटीजन्य तेल ओलिभओएल, घ्युकुमारी, लोसन लगाउनु उचित हुन्छ।
सन्तुलित खानपान
व्यायाम तथा मालिस गरेर मात्रै हत्केलो मजबुत हुन्न हत्केलो मजबुत बनाउनका लागि सन्तुलित पोषणको आवश्यकता हुन्छ। त्यति मात्रै हैन के–कस्ता खाद्यपदार्थ खाने भन्ने विषय पनि महत्वपूर्ण हुन्छन्।
हाडजोर्नीमा समस्या निम्तिने किसिमका खाना तथा अम्लयुक्त खानपान कम गर्नु पर्छ। क्षारीय तत्व भएका खानपान सन्तुलितरुपमा गर्नु पर्छ। हत्केलो मात्रै हैन स्वस्थ शरीरका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ।
सामान्यतः २० वर्ष उमेर पार गरेका व्यक्तिले हत्केलाको व्यायाम गर्नु उचित हुन्छ। विशेषगरी कम्प्युटर चलाउनेलगायत एकै प्रकृतिका काम गर्ने व्यक्तिलाई बढी समस्या हुने भएकाले यस्ता व्यक्तिले व्यायाम गर्नु आवश्यक हुन्छ।
प्रस्तुति : उपेन्द्र खड्का
Leave A Comment