प्रिय १० सुर- गायक एपी शेर्पा

बिहिबार, ०६ जेठ २०७३, ०४ : ४९
प्रिय १० सुर- गायक एपी शेर्पा

प्रिय १० सुर

गायक एपी शेर्पा पछिल्लो समय देश–विदेशका संगीत यात्रामा व्यस्त छन् । उनी धरानमै बसेर संगीत साधना गरिरहेका छन् । उनलाई मन पर्ने १० गीतः

अरूका पाँच

बनेको छ पहराले
गोपाल योञ्जनले गाउनुभएको यो गीत सानैदेखि मन पर्ने गीत हो । सानोमा स्कुलका कार्यक्रममा पनि यही गीत गाउँथेँ । अहिले पनि मुड चलेको बेला यो गीत गाउँछु । आनन्द लाग्छ यो गीत गाउँदा ।
 
हर रात सपनीमा
दीप श्रेष्ठले गाउनुभएको यो गीत सुन्दा जीउ नै सिरिङ्ङ हुन्छ । जति सुन्दा पनि धीत मर्दैन । दीप दाइलाई कार्यक्रममा भेट्दा यही गीत गाउन आग्रह गर्छु । एकदिन मेरो घरमै बोलाएर उहाँलाई गाउन आग्रह गरेँ । उहाँको प्रत्यक्ष आवाजमा सुन्दा झनै मज्जा भयो ।

झस्केर दुख्छ यो मुटु मेरो
यो गीतको सबै पक्ष राम्रो लाग्छ । लाक्पा शेर्पाको यो गीत मैले पनि धेरै कार्यक्रममा गाएको छु । उनको गायकी खूब मन पर्छ । मैले बेला–बेला गुन्गुनाउने गीतमा पर्छ यो गीत ।

जहाँ छन् बुद्धका आँखा
भक्तराज आचार्यले गाउनुभएको यो गीत पछि स्वरूपराज आचार्यले गाएपछि पनि उस्तै राम्रो लाग्छ । राष्ट्रिय भावना भरिएको यो गीतले आफैँलाई पनि शान्ति दिएको महसुस हुन्छ ।

उकाली ओरालीहरूमा
अरुणा लामाले गाउनुभएको यो गीत धेरै नै मन पर्छ । महिला स्वरमा गायकी र भावका हिसाबले सबैभन्दा मन पर्ने गीत हो यो । बेला–बेला सुन्ने गरेको छु ।

आफ्ना पाँच

माया दिन्छु भन्ने मायालु
मेरो पहिलोपटक रेकर्ड भएको यो गीत आफैँलाई धेरै मन पर्छ । युवा उमेरमा मायालुबाट धोका पाएकाहरूको कथा छ यो गीतमा । कुमार लामाको शब्द, संगीत रहेको यो गीत मेरो पहिलो म्युजिक भिडियो बनेको गीत पनि हो ।

सम्झना नै आजभोलि आउँदैन रे
टीका चाम्लिङको शब्द र खेमराज गुरुङको संगीत रहेको यो गीत २०६६ सालमा रेडियोमा धेरै बज्यो । यही गीतले मलाई संगीत क्षेत्रमा स्थापित गरायो । अहिले पनि धेरै स्रोताहरूले यो गीत सम्झिन्छन् । कार्यक्रममा मलाई यही गीत गाउन धेरै अफर आउँछ ।

भाइटीका पर्खिरहन्छिन्
यो गीतले तिहारको समयमा विदेशमा रहेका माइतीको पर्खाइमा रहेकी चेलीको कथा भन्छ । राईमन राईको शब्द, संगीत रहेको यो गीत सुनेर चेलीको हातबाट टीका लगाउन नपाएका युवाले मलाई म्यासेज गर्ने, फोन गर्ने गर्छन् ।

गरौँ संकल्प गरौँ अठोट
नेपाल आमाको मुहार फेर्नका लागि संकल्प गरौँ भन्ने आशयको यो गीत मैले देश र विदेशका कार्यक्रममा गाउँदा स्रोताले मन पराए । नरेश भट्टराईको शब्द र राजु सिंहको संगीत रहेको यो गीत
मेरो कार्यक्रमको सुरुमै गाउँछु ।

जिन्दगीका जंघारहरू
यो गीतको शब्द, संगीत मन पर्छ । साथीभाइ बीचको जमघटमा पनि बारम्बार यो गीत गुन्गुनाउने गर्छु । वसन्त सापकोटाको संगीत रहेको यो जीवनवादी गीत हो ।

प्रस्तुतिः गोपाल दाहाल

Leave A Comment