रियालिटी चेक : चुके कोच दीप

बुधबार, १५ असोज २०७६, ०५ : ०७ भोला अधिकारी
रियालिटी चेक : चुके कोच दीप

भ्वाइस अफ नेपालको ब्याटल राउण्ड सुरु भएसँगै कोचहरुको परिक्षा शुरु भएको छ ।  पहिलो परिक्षामा कोच दीप श्रेष्ठ गायन क्षमता अनुसार जोडि छान्न कमजोर देखिए । उनको यो समस्या अघिल्लो सिजनमा पनि देखिएको थियो ।
ब्लाइन्ड राउन्डमा सबै फ्लेवरको गीत गाउने प्रतियोगि छाने पनि ब्याटल राउन्डमा उनले एकै फ्लेवरको गीत गाउने प्रतियोगिभन्दा पनि कसैलाई सहज त कसैलाई गाहे पर्ने गीत छानिदिन्छन् । यसले जुन प्रतियोगिको फ्लेवरको गीत पर्छ उ हावी हुन्छ ।

ब्याटल राउन्डको दोस्रो एपिसोडमा उनले धर्म बज्र र डम्बर हिङमाङविच ब्याटल गराउँदा दीपमा गीत चयनको समस्या देखियो । उनले लोक फ्लेवरको गीत ‘अब यो बाटो मेरो हो’ बोल छानिदिए । 

डम्बरको गायन शैलीमा यो गीत म्याच गर्यो तर रक फ्लेवरको गीत गाइरहेका धर्मका लागि निक्कै कठिन भयो यो गीत । ब्याटलमा डम्बरले सहजै गीत गाइदिए, धर्मका लागि निक्कै कठिन भए पनि उनले गीतमाथि पुरा न्याय गरेका थिए । प्रस्तुतीको आधारमा डम्बर छानिए ।

ब्याटल राउन्डको पहिलो एपिसोडमा कोच दीपको टिमबाट रमा घतानी र विकास लिम्बु परेका थिए । उनीहरुले ‘सारङ्गीको धुनले’ बोलको गीत गाए । दुवैको प्रस्तुति आकर्षक देखिन्थ्यो । मीठो स्वरमा गाएकी रमालाई कोच दीपले हटाउन बडो कठिन भयो । एक जनालाई मात्र छान्नुपर्ने बाध्यतामा परेका उनले अन्त्यमा विकासलाई रोजे । 

श्रवण झन्डै बेहोस

त्यस्तै अर्का कोच राजु लामाको टिमबाट पाल्पाकी अनुषा आचार्य र इलामका विजय राईको प्रतिस्पर्धा रहेको थियो । यो जोडीले ‘साँझ परेपछि नि लैै लै’ गाएका थिए । यसमा भने सबै कोचका नजरमा विजय राई राम्रा ठहरिए । कोच राजुले पनि उनलाई नै रोजे । 

दोस्रो ब्याटलमा कोच राजुका तर्फबाट करण लामा र श्रवण अधिकारी  भिडेका थिए । उनीहरुले ‘म तिम्रो आँखामा सजाउन कहाँ योग्य छु र’ बोलको गीत गाएका थिए । ब्याटल दमदार भए पनि प्रस्तुतीमा दुबै चुकेका थिए । कोच राजुले दुबैको कमजोरी औल्याएका थिए । ब्याटल सकिएर जज राउन्डमा पुग्दा श्रवण निक्कै हतोत्साहित देखिएका थिए । कोच राजुले पनि करणलाई नै रोजे । नतिजा आएपछि श्रवण मञ्चमै झण्डै लडेका थिए । अन्यले उनलाई सम्हाल्नु परेको थियो । 

रुन्चे आस्था 
ब्लाइन्ड अडिसनमा कमजोर देखिएकी कोच आस्था राउत ब्याटल राउन्डमा भने केही परिपक्व देखिइन् । गीत चयन र कोचिङमा उनले गरेको मिहेनत दुबै एपिसोडमा देखियो । 

भावुक हुने र आँशु खसाल्नेक्रम भने जारी छ उनको । यो राउन्डमा पनि उनको रुनेक्रम जारी रह्यो । अमेरिकाबाट भाग लिन आएकी सम्झना पाण्डे र दृष्टिविहीन रिता राईको प्रतिस्पर्धामा उनको आँशु रोकिएन । 

यी दुईले ‘जाउँ जाउँ रेलैमा’ गाएका थिए । दुबैको प्रस्तुती खासै दमदार देखिएन । सम्झना ब्लाइन्ड अडिसनमै कमजोर देखिएकी थिइन, ब्याटलमा पनि कमजोरै देखिइन् । रीताले पनि खासै प्रस्तुती दिन सकिनन् ब्याटलमा । सहानुभुतीको आधारमा रीता छानिइन्, पाण्डे बाहिरिइन् । 

दार्जिलिङबाट आएकी यान्की याल्मो र अनिश महर्जनले ‘सधैँ सधैँ आइदिन्छ तिम्रा यादहरु’ गाए । दुवैको प्रस्तुति राम्रो भए पनि कसलाई छान्ने भन्नेमा सधैँ अलमल पर्ने आस्था आफैँले निर्णय गर्न सकिनन् । उनले आफ्ना सहयोगीमार्फत याल्कीलाई छानिन् । अन्य कोचले आस्थाको कोचिङको खुलेर प्रशंसा गरेका थिए । दुबै प्रतियोगिको प्रस्तुतीमा पनि आस्थाको मिहेनत देखिन्थ्यो ।

कोच प्रमोद आलोचित  
कोच प्रमोदको टिममा रहेका सुष्मा विश्वकर्मा र साइकिरण लम्सालले ‘तिमी बिना बाँच्न गाह्रो भो’ बोलको गीत गाए । दुवैको प्रस्तुति उत्कृष्ट भए पनि उनलाई छान्न कठिन भयो । सुष्माको प्रस्तुति कम थिएन । कोचले दुईमध्ये एक छान्नुपर्ने भएकाले साइकिरणलाई छाने । सुष्माको दमदार प्रस्तुति भए पनि प्रमोदले छान्न सकेनन् । सुष्मा यहीँबाट आउट भइन् । 

कोच प्रमोदले यसै कारण गाली खाइरहनु परेको छ । सुष्माको प्रस्तुति राम्रो हुँदाहुँदै पनि आउट गरेको भन्दै धेरैले आलोचना गरेका हुन् । उनीमाथि राम्रो निर्णय लिन नसकेको आरोप लागिरहेको छ ।
कोच प्रमोदको टिममा परेका राजीव पाठक र सुशान्त गौतमले ‘गहिरो गहिरो सागर जस्तै’ गीत गाए । यो राउण्डमा कोचलाई प्रतिपस्र्धी छान्न कठिनाई भएन । गायनमा हल्का बिगारिदिएका कारण राजीव आउट भए भने सुशान्त अर्को राउन्डका लागि छानिए । 
 

Leave A Comment