महरा लिला : मदिरा, याैन उन्माद र अपराध

बिहिबार, १६ असोज २०७६, ०५ : ५६ शुक्रवार
महरा लिला : मदिरा, याैन उन्माद र अपराध

लामो राजनीतिक यात्रा पार गर्दै प्रतिनिधि सभाको सभामुखको उच्च पदमा पुगेका कृष्णबहादुर महरा एकाएक यौन काण्डमा तानिए । आर्थिक रुपमा पटक–पटक विवादमा तानिए पनि व्यक्तिगत आनीबानीका कारण उनी विवादमा परेका थिएनन् । सोमबार संसद् सचिवालयकी एक कर्मचारीले उनीमाथि बलात्कार प्रयासको आरोप लगाएपछि उनको व्यक्तिगत चरित्र छरपष्ट भयो । 

सोमबार घटना विवरण सार्वजनिक भएपछि हरेक दिन ट्वीस्ट र टर्न आइरहेका छन् । सोमबार बलात्कारको दावी, मंगलबार हैन, बुधबार म मानसिक रोगी हुँ भनेर प्रहरीमा निवेदन दिनेक्रम बिहीबार आइपुग्दा पीडितका श्रीमान् श्रीमतीविच छोडपत्रमा पुगिसक्यो । जसरी घटना विकसित भइरहेको छ त्यो हेर्दा ट्वीस्टकोक्रम जारी नै देखिन्छ ।
घटना सार्वजनिक भएलगत्तै हतारमा कमजोर विज्ञप्ति निकालेर उनको निजी सचिवालयले घटना सामसुम बनाउने प्रयास गरे पनि उनी राजीनामा दिन बाध्य भए । सभामुख पद गुमे पनि हिरासतमा जानबाट जोगिने प्रयास भने जारी छ ।

सोमबार हाम्राकुराडटकमसँगको भिडियो अन्तर्वार्तामा ती महिलाले जे–जस्ता घटना विवरण बताएकी थिइन्, मंगलबार नागरिकखबरडटकमसँगको भिडियो वार्तामा उनले ठ्याक्कै उल्टो बोलिन् । 

मंगलबार बेलुका हाम्राकुराले महिलाको थप भिडियो सार्वजनिक गरिदियो, जसमा उनलाई महराले पठाएको सन्देश र उनले महरा, महराका छोरालाई पठाएको सन्देशसमेत छ । भाइबरमा महराले पठाएको सन्देशमा लेखिएको छ– ‘फर्गेट यस्ट डे, आइएम भेरी सरी !’

प्रतिउत्तरमा उनले ‘तेरो सकिने दिन आयो’ लेखेर पठाएकी थिइन् । उनले महराका छोरा राहुललाई समेत ‘तिम्रो बाबुले मलाई बलात्कार गरे’ भनेर लामो सन्देश पठाएको प्रमाण हाम्राकुराले फेरी सार्वजनिक गरिदियो । 

तर घटनाले जति टर्न गरे पनि घटना भएकै हो भन्ने काट्न सकेको छैन । महराको संलग्नताको दावीपछि विकसित घटनाक्रमले शक्तिमा रहेकाले आफू जोगिन के सम्म गर्छन्, कानुन कार्यान्वयन गर्ने सरकारी निकाय नालायक भयो भने गम्भिर अपराधको अनुसन्धान के हुने रहेछ अनी राज्यले उचित समयमा संरक्षण नगरिदिदा एक पीडितको अवस्था के हुने रहेछ भन्ने देखायो ।

बयान बदले पनि उनैले सार्वजनिक गरेको प्रमाण र विवरणले आइतबारको घटना पीडितले नै दाबीअनुसार नक्कली हैन भन्ने देखाउँछ । 

यो प्रकरणको मुख्य पक्ष घटनाका प्रमाण महिला र महरासँग मात्र सीमित रहेन  सार्वजनिक भइसके । महिलाले दाबी र महराको संलग्नताका प्रमाण प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुगिसक्यो । 

सत्ताधारी दल नेकपाको सचिवालय बैठक बसेर महरालाई सभामुख पदबाट राजीनामा दिन निर्देशन दिनुअगाडि मंगलबार प्रधानमन्त्री ओलीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग घटना र त्यसका प्रमाणबारे बुझेर नै राजीनामाको निर्देशन दिएका थिए ।

पछि हैन भने पनि महिलाले महरा आफ्नो कोठामा आएको भनेको समयमा महराको मुभमेन्ट महिलाको डेरा क्षेत्रमा देखिएको छ । उनी बालुवाटार निवासबाट निस्केर कोटेश्वरसम्म पुग्दा ५० भन्दा बढी प्रहरीको सिसिटिभी कट्नुपर्छ जसको दृष्य प्रहरीको आयुक्तको कार्यालयमा सुरक्षित छ ।

महरा गएको क्षेत्रमा नीजि सिसिटिभी पनि जडान थिए नै । जसमा उनको दृष्य लुक्न सकेको छैन । 
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान, स्थानीयबाट आएको जानकारी, महानगरीय आयुक्तको कार्यालयको कन्ट्रोल रुमसँग जोडिएको सो क्षेत्रको सिसिटिभीको फुटेजले आइतबार महरा ती महिलाको कोठामा पुगेको देखिएको प्रहरीस्रोतले ‘शुक्रवार’लाई जानकारी दियो ।

‘बलात्कार या बलात्कार प्रयास भयो भएन त्यो यकिन भन्न सकिन्न,’ स्रोतले शुक्रवारसँग भन्यो, ‘तर आइतबार महराज्यू त्यो क्षेत्रमा जानु भएको देखिन्छ ।’

सोमबार हाम्रोकुराडटकमसँग भिडियो कुराकानीकै क्रममा दुई पटक महराले प्रयोग गर्ने मोबाइल नम्बरबाटै फोन आएको देखिन्छ । एकतर्फी संवादमा महिलाले दिएको जवाफले समेत आइतबार बेलुका कुन प्रकृतिको घटना भएको थियो भन्ने संकेत गर्छ नै । 

दृश्य कैद भएको संवादमा उनले भनेकी छन्ः

‘सामान्य घटना ? यत्रो कुटेर नीलडाम पारेर पनि सामान्य नै भयो ? केही पनि भा’ छैन त हिजो पुलिसले सबै थोक लगिसक्यो नि ! म एउटा कुरा के गर्छु भने हरेक कुरालाई राजनीतिमा नढाल्नुस् के !’

फोन राखेसँगै पुनः फोन आउँछ । फोन आएको नम्बर ९८५१११६४५६ महराले प्रयोग गर्ने नम्बर नै हो ।
मोबाइल उठाएर उनले भन्छिन्, ‘हेलो, त्यसपछि त तपाईँको के हुन्छ थाहा छैन मलाई ।’ मैले मिडियामा कुरा गरिराख्याछु । तपाईँको यस्तै बानीले गर्दा हो के ! ..नभाको हो कि के हो हिजो देखिहालियो नि !’

महराको मोबाइल नम्बरबाट आएको कलमा सोमबार भएको संवादले मंगलबार पीडितले गरेको नयाँ दाबी कमजोेर देखिए पनि बद्लिएको उनको बोलीले महराविरुद्ध जाहेरी पर्ने सम्भावना कम देखिन्छ ।

आइतबार बेलुका सवा नौ बजे प्रहरी महिलाको कोठामा पुग्दा देखिएको दृश्य र महिलाले प्रहरीलाई दिएको मौखिक बयानले पनि अहिले पीडितले बदलेको बयान सत्य हैन भन्ने पुष्टी हुन्छ ।

त्यसैले महरा प्रकरणमा उनी संलग्न हुन् या हैनन् भन्ने बहस भन्दा महिलाले किन बयान बदलिइन् ? उनलाई बयान बदल्न बाध्य बनाउनेहरु को को हुन् भन्ने मुख्य पाटो देखिएको छ । उनलाई बयान बदल्न बाध्य बनाउने कारकमध्ये एक बिहीबार सार्वजनिक भएको छोडपत्रको कागजले पनि देखाउँछ । बाँकी पाटो पक्कै आगामी दिनमा खुल्ने नै छ ।

फेरि चुक्यो प्रहरी
गम्भीर प्रकृतिको अपराध अनुसन्धानमा चुक्दै आएको प्रहरी यस घटनाको अनुसन्धानमा पनि चुक्यो । गम्भीर अपराधको सूचना आएपछि घटनास्थलमा पुगेर अपनाउनुपर्ने सामान्य विधिसमेत नअपनाउनु प्रहरीको गम्भीर त्रुटि नै हो । 

महिलाले प्रहरीको कन्ट्रोल रुममा फोन गरेपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट डिएसपीकैे कमान्डमा ती महिलाको कोठामा पुगेको प्रहरीले नै स्वीकार गरिसकेको छ । तर, बलात्कारजस्तो गम्भीर अपराधबारे जानकारी आएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले प्रमाण संकलन गर्ने, पीडितको बयान टिपेर उनलाई हस्ताक्षर गराउने, घटनास्थलको सुरक्षा र प्रमाणको वैज्ञानिक परिक्षण प्रारम्भ गर्नुपर्नेमा प्रहरी सामान्य मौखिक बयान मात्र लिएर फर्किनु अपराध अनुसन्धानमा गम्भीर चुक हो ।

महरामाथि लागेको आरोपको गम्भिरता अनुसार नेकपा सक्रियहुँदा अनुसन्धानको बाटो खुलेको थियो । तर प्रहरी घटनामा जोडिएका ब्यक्तिको ओहदाका आधारमा डराएर अपराध अनुसन्धानको विधी र प्रकृयामा चुक्दा अनुसन्धान अन्यौलमा पर्र्यो ।

महराको राजीनामासँगै मंगलबारबाट प्रहरी पुनः अनुसन्धानमा खटिएको छ ।

‘घटना भएको कोठामा प्रहरी गएर निरीक्षण गरिसक्यो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘हामीले अनुसन्धान शुरु गरिसक्यौं, जाहेरीको पर्खाइमा छौं ।’

प्रहरीले ती महिलाको कोठामा गई घटनासँग जोडिएका रक्सीको बोतल, रक्सी खाएको गिलास, महराको दाबी गरिएको भाँच्चिएको चश्मा र जुत्ताको तलुवा लगायतका अनुसन्धानमा सघाउन पुग्ने सामग्री संकलन गरेर फर्किएको छ । 
तर प्रारम्भकै प्रहरी चुक्दा अनुसन्धान पेचिलो बनिसक्यो । पीडितले बयान बदल्दा, स्वास्थ्य परिक्षणमा राजी नहुँदा र जाहेरी नपर्दा अनुसन्धान अगाडि बढ्न सकेको छैन । 

तर सम्भव छ अनुसन्धान

प्रहरीले चाहेमा अनुसन्धान भने जारी राख्न सक्छ । महरा प्रकरण जस्तै एक सामुहिक बलात्कारको अनुसन्धानमा पीडितले हैन भने पनि केस अदालतसम्म पुगेको छ र दुई अभियुक्त पूर्पक्षका लागि थुनामा पुगेका छन् । 

दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको सामुहिक बलात्कारको घटनामा प्रारम्भमा पीडितले प्रहरी कार्यालयमा गएर घटनाबारे जानकारी गराएर हिडेकी थिइन् । प्रहरी घटनास्थलमा आएर हेर्यों पनि । तर पछि घटना आन्तरिक रुपमै मिलाउन प्रहरी, पिडक र पीडित सक्रिय भएपछि ती युवतीले बयान बदलेर हैन भनेकी थिइन् ।

सामुहिक बलात्कारको घटना प्रहरीले लेनदेनमा मिलाउन लागेको खुलासा भएसँगै अनुसन्धान पून शुरुहुँदा मुद्धा कोर्टसम्म पुगेको थियो र ४ जना प्रतिवादी बनेका थिए जसमध्ये २ जना पक्राउ परे र जेल पुगे । यसलाइ अदालतसम्म पूर्याउन पीडितलाइ सुरक्षा र जाहेरी दिन उत्प्रेरित गर्न प्रहरीले ठूलाे भुमिका खेलेकाे  थियाे ।


यो अनुसन्धानको नजिरले पनि जाहेरी नआए पनि अनुसन्धान हुनसक्ने देखाउँछ । तर त्यसका लागि प्रहरीमा प्रतिवद्धता भने आवश्यक पर्छ नै । 

ती पीडितले स्वेच्छापूर्वक बयान बद्लेकी हुन् या महरालाई कानुनी कार्बाहीको दायरामा आउनबाट जोगाउन ? त्यो समयक्रममा खुल्दै जानेछ नै । प्रहरीले जाहेरी आएन भनेर अनुसन्धान रोक्छ या ल्यान्डमार्क घटनाझैँ अगाडि बढाउँछ, केही दिनमै प्रस्ट हुनेछ ।

तर घटनाक्रमले जति बाँकटे हाने पनि यो घटना सहजै सुल्झने सम्भावना भने छैन ।
अब महरा प्रकरण यहीँ बिट मार्दै यो घटनाले देखाएको अर्को प्रवृत्तितिर प्रवेश गरौं ।

मदिरा, यौन उन्माद र अपराध  
सोमबार सार्वजनिक भएको घटनामा प्रत्यक्ष जोडियो, मदिरा र यौन उन्माद । सोमबार पीडित महिलाले गरेको दाबीअनुसार महराले बाहिरै मदिरा पिएर आएका थिए र साथमा एक बोतल ह्विस्कीसमेत ल्याएका थिए । 
उनले महिलाको कोठामा बसेर ह्विस्की पिए र महिलालाई समेत जबर्जस्ती पिउन लगाए । सार्वजनिक भएको बोतल हेर्दा तीन चौथाई बढी मदिरा पिएको देखिन्छ । नियमित मदिरा सेवन गर्ने पनि यति मात्राको मदिरा सेवनपछि मातिन्छ नै ।

चिकित्सक डा. विकास जैसीका अनुसार रगतमा अल्कोहलको मात्रा २ सय ५० मिलिग्राम भन्दा बढी पुगे व्यक्ति लठ्ठिदै जान्छ । धेरै भए डर हट्ने, के गलत के सही भन्ने निर्णय क्षमता गुमाउने समस्या हुन्छ ।
‘अल्कोहलले मस्तिष्कमा रहेको ‘इनिभिसन’लाई कम गर्छ,’ उनले भने, ‘इनिभिसन कम भएपछि डर हट्ने र रमाइलो अनुभूति हुने हुन्छ । जसले व्यक्तिमा उत्तेजना ल्याउँछ । मदिरा सेवन गरेको समयमा व्यक्तिले आफ्नो मनको कुण्ठा व्यक्त गर्ने, उत्तेजित बनाउने गर्छ ।’

चिकित्सक जैशीले थपे, ‘अल्कोहलको मात्रा बढ्दै जाँदा मस्तिष्कका कोषिका निष्क्रिय हुँदै जाँदा व्यक्ति लठ्ठिदै जान्छ, के सही, के गलत भन्ने निर्णय गर्ने क्षमता गुमाउँछ । कोही त अचेतसम्म हुन्छन् ।’

अनि जन्मन्छ गम्भीर अपराध ।
मदिरा र यौन जोडिदा महरामाथि लागेको आरोपभन्दा गम्भीर र डरलाग्दा घटनासमेत घटेका छन् । 

२०७२ फागुन ८ मा यस्तै घटना भयो काठमाडौंमा । 
नगरकोटको बाँसको झ्याङमा एक युवतीको शव फेला पर्यो । शव थियो भेनिसा लिम्बुको ।

कपन, सरस्वतीनगर बस्दै आएकी धनकुटा, राजारानीकी २० वर्षीया भेनिसा लुम्बिनी एकेडेमीमा पढ्थिन् । चाबहिल भत्केको पुलमा रहेको हेरिटेज स्कुलमा शिक्षिका पनि थिइन् । फागुन ८ मा साथीसँग घुम्न सरस्वतीनगरको घरबाट निस्केकी उनी घर नफर्किएपछि उनको खोजी शुरु भएको थियो ।

फागुन १० मा महानगरीय प्रहरी वृत्त बौद्धमा युवती हराएको निवेदन दिएपछि खोजी शुरु भयो । १४ गते भक्तपुरको बाँसझ्याङमा युवतीको शव फेला परेको सूचनाको आधारमा महाशाखाको टोली त्यहाँ पुग्दा भेनिसा मृत अवस्थामा फेला परेकी थिइन् ।

शवको बाहिरी कपडा लगाएको थियो तर खुट्टामा जुत्ताचप्पल थिएन । अन्तर्वस्त्र पनि थिएन । यसले उनको हत्या अन्तै गरेर त्यहाँ ल्याएर फालेको आशंकामा अनुसन्धान अगाडि बढ्दा हत्याको कारण खुल्यो, मदिरा अनि यौन उन्माद ।

‘सामाजिक सञ्जालमा जोडिएको सम्बन्धकै आधारमा विश्वास गरेर सम्बन्ध अगाडि बढाउँदा दुखद् घटना भएको देखियो,’ घटना सार्वजनिक गर्दै महाशाखाका तत्कालिन प्रमुख सर्वेन्द्र खनालले भने, ‘योसँगै युवावर्गमा बढेको मदिरा लत र यौन सम्बन्धबारे बढेको खुला विचार यसका सहायक कारक हुन् ।’

उनको हत्यामा संलग्न देखिए राजन राई, सन्नी लामा र सजित लामा ।

अनुसन्धान प्रतिवेदनअनुसार तीन महिनाअघि फेसबुकमार्फत साथी बनेका राजन र भेनिसाबीच मोबाइल नम्बर साटफेर भयो । फागुन ८ गते यी भेट्ने सहमतिअनुसार ठमेल गए । ठमेलको हार्ड रक रेस्टुरेन्ट गएर ११ बजेसम्म बियर र ह्विस्की पिए । 

बेलुका साढे ११ पछि भेनिसा, सन्नी र अर्काे युवक लाजिम्पाटमा रहेको अपार्टमेन्टमा फर्किए । फ्ल्याटमा पुगेपछि सन्नी र भेनिसाले बियर थपे र दुवैबीच सहमतिमै यौन सम्बन्ध भयो । अपार्टमेन्टमा रहेका अन्य युवाले यौन सम्पर्कको प्रस्ताव गरे । उनले मानिनन्, ट्वाइलेटमा गइन् र छैटौँ तल्लाको झ्यालबाट एक्कासि खसिन् । 
तीनै केटाहरुले उनको शव नगरकोट मनपोखरी नजिकैको बाँसको झ्याङमा फालेर भागे ।

अर्को घटना पनि छ, २०७२ माघ १८ को । घटना भएको स्थान थियो, पोखरा ।

पोखराको सडकमा १९ वर्षीया नेहा पुनको शव फेला परेको थियो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले कीर्तन खड्गीलाई पक्राउ गरेको थियो । खड्गीको पक्राउपछि घटनाको कारक देखियो मदिराको नशापछिको यौन उन्माद । 

नेहा र कीर्तन परिचित नै थिए । माघ १८ मा नेहा र कीर्तन पोखराको न्युरोडस्थित ओपन टेबुल रेस्टुरेन्टमा पुगे र मदिरा पिउन थाले । बेलुका ९ बजेतिर कीर्तनले नेहालाई घर पुर्याउन भन्दै मोटरसाइकलमा राखेर लगेका थिए । 
मोटरसाइकलमा जाँदाजाँदै कीर्तनको मुड चेन्ज भयो । उनले युवतीलाई यौन सम्बन्धका लागि प्रस्ताव राखे, ‘घर नजाऊँ लेकसाइडतिर बसौं ।’ उनले अस्वीकार मात्रै गरिनन्, गाली नै गरिन् ।

गालीको झोँकमा कीर्तनले युवतीलाई हेलमेटले हाने । टाउकोमा हेल्मेट प्रहारले नेहा रन्थनिइन् र बाटोमा ढलिन् । उनले ढलेकी नेहासँग यौन सम्पर्क गर्ने प्रयास गरे तर उनको कानबाट रगत बगिरहेको देखेपछि उनलाई त्यहीँ छाडेर भागे । 
नेहाको सो हत्याबारे प्रहरीले क्लु फेला पार्न नसकेपछि पोखरामा ठूलै विरोध भएको थियो । प्रहरीको शंकाको घेरामा कीर्तन परे र पछि प्रहरीसँग सो घटनामा आफ्नो संलग्नता सकारे पनि । जिल्ला अदालत कास्कीले उनलाई सोही अपराधमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइसकेको छ । 

२०७३ वैशाख १४ मा सल्यानमा मदिराको मातसँगै जागेको यौन उन्माद रोक्न नसक्दा २० वर्षे युवक सञ्जय भारतीले एकै परिवारका चार सदस्यको हत्या गरे । उनले सविता खाँण, उनका साढे २ वर्ष र ११ महिनाकी छोरी र सविताकी १८ वर्षकी बहिनी गीताको हत्या गरेका थिए । 

घटनाको कारण १८ वर्षीया गीतासँग यौन सम्बन्ध राख्न नपाएको झोँक खुलेको थियो । 

२०७४ माघ ७ मा दरबारमार्गको होटल ल्यान्डमार्कमा एक युवतीको सामूहिक बलात्कारै भएको थियो । सो घटनामा पनि अहिले महराको घटनामा आएझैँ एकपछि अर्को ट्वीस्ट आएका थिए तर अन्त्यमा घटना बलात्कारै देखिएको थियो । 

घटनामा २४ वर्षीय शैलेश कार्की, विकास गौतम, रवि पौडेल र दीपक श्रेष्ठ जोडिएका थिए । शैलेश युवतीका प्रेमी थिए । उनले घटनाको दिन युवतीलाई लाजिम्पाट क्षेत्रमा बोलाए, मदिरा पिए । युवती र उनका प्रेमीबीच सहमतिमा यौन सम्बन्ध भयो । पछि उनका साथीहरुले समेत यौन सम्बन्ध राख्न खोजे । युवतीले नमानेपछि बलात्कारै गरे ।

प्रारम्भमा युवती आफैँले प्रहरी कार्यालय गएर आफ्नो बलात्कार भएको जानकारी गराएकी थिइन् तर प्रहरीले अनुसन्धानको साटो घटनालाई भित्रभित्रै मिलाउने खेल खेल्यो । सामूहिक बलात्कारको घटनालाई प्रहरीले मिलेमतोमा सल्टाउन खोजेको सार्वजनिक भएपछि अनुसन्धानमा संलग्न प्रहरीसमेत मुछिए ।

युवतीले बयान बदलेर बलात्कार भएकै हैन भने पनि प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा बलात्कार भएको तर आर्थिक प्रलोभनमा सामसुम बनाउन खोजेको देखिएपछि प्रहरीले पीडितलाई सम्झाएर जाहेरी दर्ता गराएको थियो । युवतीको जाहेरीको आधारमा शैलेश कार्कीसहित चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भयो । कार्की र विकास गौतम पक्राउ परे ।

मदिरा र यौनको सम्बन्ध
मदिराले यौन क्षमता बढ्छ भनिन्छ तर त्यस्तो हैन । मनोविद् गोपाल ढकालका अनुसार मदिराले मस्तिष्क उत्तेजित भने गराउँछ, जसले यौन सम्बन्ध राख्न मन लाग्छ ।

व्यवहार उत्तेजित भए पनि मदिराले मातेको व्यक्तिमा यौन क्षमता कम हुन्छ । यौन सम्बन्ध राख्ने चाह बढ्दा कसैले अस्वीकार गरे पनि उसले जबर्जस्ती गर्ने जोखिम बढी हुन्छ । 

‘बढी मदिरा सेवनपछि व्यक्तिले निर्णय गर्ने क्षमता गुमाउँछ,’ उनले भने, ‘मदिराले मस्तिष्कलाई उत्तेजित बनाउँदा व्यक्तिमा यौन चाह समेत बढ्छ । यस्तोमा अस्वीकार हुँदा बलात्कार तथा यौन दुव्र्यवहारको जोखिम उच्च हुन्छ ।’
 

Leave A Comment