गैरहिन्दुको दसैं

शुक्रबार, १७ असोज २०७६, ११ : ०३ रीना माेक्तान
गैरहिन्दुको दसैं

अनुसन्धानकर्ता मनु ठाडा मगरको घरमा एकदिन बहस सुरु भयो, दसैंसम्बन्धी। बहसमा बुबा दसैं मान्नुपर्ने अडान लिन्थे त दाजु दसैं मगर समुदायको नरहेको दाबी गर्थे। त्यस दिनदेखि दाजुले निधारमा टीका लगाउन छोडे। बुबाले भने दसैं मान्न छोडेनन्। अन्योलमा परिन् मनु, दसैं मगरको हो कि होइन भन्ने अन्योल।

हालै मार्टिन चौतारीमा आयोजित ‘आदिवासी जनजाति र दसैं’ शीर्षकमा भएको छलफलमा दसैंसम्बन्धी मनुको प्रस्ट धारणा थियो। मगर समुदायका कतिले दसैं मनाउँछन् त कति मनाउँदैनन्। उनी दसैं मनाउने समुदायमा पर्छिन्। केही पुराना कुरा परिष्कृत गरेर उनले बुबाको हातबाट टीका पनि थाप्दै आइरहेकी छन्।

उनको अनुसन्धानले दसैंसँग आदिवासी जनजातिको मौलिक संस्कृति नमिल्ने हुँदा अझै यो आदिवासी जनजातिको चाड हो कि होइन भन्ने अन्योल कायमै रहेको देखाएको छ।

‘मगर लगायत अन्य संस्कारसँग दसैंको तालमेल नमिल्ने हुँदा आदिवासी जनजातिको चाड हो/होइन ? किन राज्यले दशैंलाई महान् चाड बनायो ? अन्य चाडपर्वलाई किन महान् बनाएन,’ उनले कार्यक्रममा भनिन्, ‘अबका पुस्ताले दसैंबारे प्रस्ट हुँदै जानुपर्छ। आदिवासी जनजातिको चाडवाडलाई वास्तै नगरेर दसैंलाई महान् बनाएकाले पनि अन्योल कायम रह्यो।’  
२०४६ तिरको दसैं बहिष्कार आह्वानपछि धेरै मगरहरुले दशैं मनाउन छोडे। 

केही दशकदेखि दसैं आदिवासी जनजातिको हो या होइन ? मनाउन लगाइएको हो कि आफैँले मनाउन थालेको भन्ने बहस भइरहेको छ। यस विषयमा अझै अन्योल कायमै छ। त्यसैले त कति आदिवासी जनजातिले दसैं मनाउँछन्, कसैले मनाउँदैनन् पनि।

गोरखा राज्य विस्तारपछि निरंकुश सत्ता र शासन कायम गरी एक भाषा, एक धर्म, र एकै संस्कृतिको परम्परा बनाउने क्रममा सबै जातिमा दसैं मान्नै पर्ने नियम लादिएको कुरा मनुको अनुसन्धानले प्रस्तुत ग-यो ।

मानवशास्त्री डा. डम्बर चेमजोङले दशैं राजनैतिक जीतको महोत्सव रहेको बताए। ‘दसैं सांस्कृतिक चाड होइन, राजनैतिक जीतको महोत्सव हो,’ उनले भन्छन्, ‘सत्ताको आगमन गोरखाबाट भयो। यो त सत्तासँग सम्बन्धित चाड हो।’
सत्ताले नै मान्न लगाएपछि आदिवासी जनजातिले दसैं मनाउन छोडेका हैनन्।

आदिवासी जनजातिको समूह मात्र होइन, नेपालमा अन्य केही धार्मिक समूह पनि छन्, जसले दसैं मनाउँदैनन्। विशेषतः क्रिश्चियन, बौद्ध, ईस्लाम र शिख समुदायका मानिसहरु दसैं मनाउँदैनन्।
दसैंमा उनीहरु के गर्छन् त ? किन उनीहरु दसैं मनाउँदैनन् ? शुक्रवारसँग सुरुमै भेट भयो बौद्ध धर्मावलम्बी।

अहिंसाको पर्व
बौद्ध धर्मावलम्बीहरु दसैं मनाउँदैनन्। तर दसैंलाई अहिंसा पर्वको रुपमा मनाउने गरेको बानेश्वरमा अवस्थित विश्व शान्ति विहारका भिक्षु निग्रोध बताउँछन्।

२३ सय वर्ष अगाडि सम्राट अशोकले युद्धलाई छोडेर बुद्धलाई स्वीकारेको दिन विजया दशमीमै पर्छ। अशोकले युद्धबाट अशान्ति हुँदोरहेछ भनेर बुद्ध धर्ममा दीक्षा ग्रहण गरेको समय दसैं पर्ने भएकाले सोही दिनलाई बौद्ध धर्मावलम्बीले अहिंसाको पर्वका रुपमा मनाउँदै आएका हुन्। अशोकले त्यसबेला दशमीकै दिन अस्त्रशस्त्र त्याग गरेकाले विजया दशमीको दिनलाई उनीहरु शस्त्रअस्त्र परित्याग गरेको दिनको रुपमा पनि मान्दै आएको निग्रोधले बताए।

‘सम्राट अशोकले बौद्ध धर्म अँगालेपछि शान्ति छायो, त्यहि बेलादेखि बाटोको दायाँबायाँ बगैंचा राख्ने परम्परा अशोकले चलाए,’ निग्रोधले भने, ‘त्यसैले दसैंलाई राष्ट्रिय चाडका रुपमा राष्ट्रले नै मनाउने हुँदा यसमा हाम्रो पनि सद्भाव रहन्छ तर हिन्दुशैलीमा टीकाटालो गरेर मनाउँदैनौँ।’

नेपाली बौद्धजन दसैंका बेला ध्यान शिविरमा सहभागी हुने गर्छन्। दसैंका बेलामा लामो बिदा पनि हुने गरेकाले शिविरको आयोजना गर्ने गरेको उनी बताउँछन्।
‘यसपालि पनि फूलपातीको अघिल्लो दिनदेखि शिविर हुँदैछ,’ उनले भने।  

सरिया कानुनले दिँदैन
शुक्रवार नेपाली जामे मस्जिद पुग्दा त्यहाँ सन्नाटा थियो। मानिसहरुको आवातजावत खासै थिएन। नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमसँग त्यहीँ भेट भयो। सुरुमै सोधियो, ‘तपाईंहरु दसैं किन मनाउनु हुन्न ?’

उनले भने, ‘नेपाल हिन्दु राष्ट्र भएकाले हिन्दु नेपाली दाजुभाइले दसैं मनाउनुहुन्छ तर हाम्रो इस्लामी कानुन सरियाले टीका लगाउँदन दिँदैन। दसैंमा छुट्टि पाउँछौं, हामी पनि साथीहरुकहाँ जान्छौं। खुशी मनाउँछौँ।’
समिम भन्छन्, ‘तर जसरी अन्य नेपाली दाजुभाइले पूजापाठ गर्नुहुन्छ, त्यसरी मनाउँदैनौँ। भाइचाराको नाताले छरछिमेक साथीभाइकोमा गएर रमाइलो गर्छौं।’
इस्लामको आफ्नै चाड छ– इद र बक्रइद।

इस्लाम समुदाय दसैंमा बौद्ध धर्मावलम्बीले जसरी शिविर आयोजना गर्दैनन् तर यही बेला अलि लामो बिदा हुने भएकाले घुमघाम गरेर समय बिताउने गरेको उनी बताउँछन्। टीका नलगाउनुको कारण ? अब्दुलको जवाफ थियो, ‘हाम्रो धर्ममा टीका लगाउन मनाही छ। आदेश भएको कुरा हामीले गर्ने हो। हामीलाई टीका लगाउने आदेश छैन। नमाज पढ्ने आदेश छ, हामी पढ्छौं। कुरानमा सिधा टीका नलगाऊ त भनेको छैन, हाम्रो हदिदहरु हुन्छ। त्यो मान्छौँ।’

अब्दुल दशैंलाई चाडको रुपमा व्याख्या गर्छन्। संस्कृति मानव निर्मित हुने भइकाले उनले दसैं चाड रहेको बताए। इद र बक्रइदलाई उनले इस्लामको दसैंका रुपमा संकेत गर्छन्।

‘हामी हाम्रो दसैंमा साथीभाइहरुलाई बोलाउँछौं,’ उनले भने, ‘साथीहरुको दसैंमा हामीलाई बोलाउनुहुन्छ। हामी जान्छौं, खान्छौं। दशैं भनेको खुसी साट्ने अवसर हो। इद भनेको पनि खुसी मनाउनु हो। इस्लाममा आफ्नै तरिका छ, जस्तो हिन्दु र क्रिश्चियनको पनि तरिका फरक छ।’

अब्दुल काठमाडौंको बागबजारमा हुर्के। त्यसैले सानैदेखि उनले दसैं देख्दै आएका छन् र मनाएको हेर्दै आएका छन्।

केही मुस्लिमले दसैंमा टीका लगाउने पनि गरेको उनी बताउँछन्। ‘उहाँहरु मनाउँछन्, त्यो व्यक्तिको स्वेच्छाको कुरा हो तर इस्लामले त्यस्तो आज्ञा दिँदैन,’ उनको भनाइ छ।

गुरुमतले मान्यता दिँदैन
थापाथलीमा अवस्थित गुरुद्वारा गुरु नानक सत्सङ पुग्दा भाइजी (गुरुद्वाराको प्रमुख प्रिस्ट) दिलेर सिंह गुरुग्रन्थसाहेबजी (शिख धर्मको धार्मिक ग्रन्थ) मिलाउन व्यस्त थिए। गुरुद्वारा प्रवेशअघि हात धुन लगाइयो अनि शिर ढाक्न पनि। भाइजी दिलेरले गुरुग्रन्थसाहेबजी मिलाएर राखेपछि गफिन थाल्यौं।

शिख समुदाय पनि दसैं मनाउँदैनन्। ‘दसैं चाड भन्ने हाम्रो शिख धर्मअनुसार मानिदैन,’ भाइजी दिल्लेरले प्रस्ट्याए, ‘तर साथीभाइ इष्टमित्रले मनाउँदा हामी पनि सहभागी हुन्छौं। मान्छौं भन्दा पनि भएन, मान्दैनौं भनेर पनि भएन। हिन्दुहरुको चाड हो तर हाम्रो गुरुमत मर्यादाअनुसार दसैं मनाउन मान्यता छैन।’
दसैंमा साथीभाइसँग रमाइलो गर्न भने शिख समुदाय पनि पछि पर्दैन।
दसैंमा गुरुद्वारामा केही कार्यक्रम हुँदैन। उनी गुरुद्वाराको भाइजी भएको ४० वर्ष बढी नै भइसक्यो। यस अवधिमा आफूले दसैंमै कुनै कार्यक्रम नगरेको उनी बताउँछन्।

यसकारण टीका ग्रहण गर्दनौं
चन्द्रकृष्ण श्रेष्ठ एक समय चतुर्मासको व्रत छुटाउँथेनन। धर्मकर्म गर्थे। दसैं पनि मान्थे तर क्रिश्चियन धर्म अँगालेपछि उनले सबै धार्मिक गतिविधि गर्न छोडे। दसैंमा टीका लगाउन छोडे। उनी क्रिश्चियन बनेकै ४० वर्ष भइसक्यो। उनी अहिले भक्तपुरमा रहेको ‘नेपाल सुसमचारीय मण्डली’का पास्टरसमेत हुन्।

‘दसैं नमनाउनु भनेको मनाउनेहरूको विरोध गर्नु होइन,’ चन्द्रकृष्णले भने, ‘क्रिश्चियन हुनु भनेको एकमात्र जीवित प्रभु येशूलाई आफ्नो मुक्तिदाता, परमेश्वर हो भनी ग्रहण गर्नु हो।’

त्यस्तै नेपाल ख्रिस्टीय समाजका निवर्तमान अध्यक्ष बर्नबास श्रेष्ठ भने बाइबलले नै यी कुरालाई निषेध गरेकाले क्रिश्चियनहरुले दसैं नमनाउने तर्क गरे।

उनले शुक्रवारसँग भने, ‘दसैंमा घरपरिवार, छरछिमेकमा सरसहयोग गर्छौं तर टीका ग्रहण गर्ने कुरामा मात्र अलग हुन्छौं। कति परिवारले बोलाउनु पनि हुन्छ, हामी उहाँहरुकोमा जान्छौं, बसेर खाना खान्छौं तर टीका ग्रहण गर्दैनौँ।’
‘क्रिश्चियनले बाइबललाई पछ्याउने भएकाले पनि कुनै देउताको पूजा गर्दैनन्,’ बर्नबासले भने।

उनका अनुसार यो समुदाय परमेश्वरलाई आत्मामा पुज्ने कुरामा विश्वास गर्छन्। आत्माको कुनै रुप हुँदैन, आकार हुँदैन। यसकारण आकार बनाएर पुजिएका कुरामा क्रिश्चियनहरु सहभागी नभएका हुन्।

त्यसो त दसैंमा लामो बिदा हुने भएकाले क्रिश्चियन समुदायले यही अवसर पारेर विभिन्न कार्यक्रम गर्छन्। एक ठाउँमा भेला हुन्छन्। विभिन्न युथ क्याम्प र क्रिश्चियन लक्षित सेमिनारहरु यही बेला हुने गर्छ।
दसैं बिदामा देश र जनताको हितमा काम होस् भनी सरकारका लागि प्रार्थना पनि गर्ने गरेको बर्नबास बताउँछन्।

Leave A Comment