तनावमा दीपक

शनिबार, १८ असोज २०७६, ०३ : ०६ शुक्रवार
तनावमा दीपक

नाम बदलेर हलमा आउने तयारीमा रहेको ‘छक्कापञ्जा’ टिमको ग्रहदशा त्यत्ति राम्रो देखिएन है, यसपाला ! छक्कापञ्जा सिरिजबाट हटेझै देखाएर नाम ‘छ माया छपक्कै’ राखेर फिल्म बनाएका दीपक–दीपाले फिल्मप्रति दर्शकको ध्यान तान्न गरेका तिकडम फ्लप भइरहेका छन्।

ट्रेलर रिजिल भएपछि राम्रो प्रतिक्रियाको पर्खाइमा रहेको टिम निराश भए जब नकारात्मक प्रतिक्रिया नै बढी आयो। ट्रेलर हेर्दा छक्कापञ्जाकै सिक्वेलको भन्दा भिन्न फ्लेवरको फिल्म हैन भन्ने प्रस्टै भयो।

ट्रेलरले काम नगरेपछि दुर्गेश थापाको हिट तीजे गीत ‘हामी पनि नाच्नुपर्छ’लाई रिमेक गराएर प्रमोसनमा हतियार बनाउने प्रयास गरे। तर अविवाहित दीपाश्री ब्याउने प्रतीक्षामा दीपक रहेको शब्द राखेर सबै गडबड भयो। यही मेसो पारेर ‘छक्कापञ्जा २’ युट्युबमा हाले। फिल्म ट्रेन्डिङमा त प-यो तर आहा कमैले भने। कमेन्टबक्स गाली र आलोचनाले भरिएपछि रन्थनिएका दीपक सामाजिक सञ्जालतिर आफ्नो सफलताले रन्थनिएकाहरुको काम भन्दै चित्त बुझाइरहेका छन्।

पैसो राम्रै कमाए पनि दीपक–दीपाले बनाउने फिल्मले समीक्षकहरुबाट सधैँ गाली नै पाइरहेका थिए। यसपालि दर्शकको मुड हेर्दा उनीहरु पनि समीक्षकको पछि लाग्छन् कि क्या हो ?

Leave A Comment