सन् २००७ मा फिल्म ‘सानो संसार’बाट रजतपटमा डेब्यु कलाकार कर्माले त्यसपछि पछाडि फर्कनुपरेन। १२ वर्षदेखि उनी इन्डस्ट्रीमा सक्रिय छन्। रंगमञ्चमा पनि उनको छुट्टै क्रेज छ। उनी अभिनित फिल्म समीक्षात्मक रुपमा समेत रुचाइएका छन्। अहिलेसम्म तीन दर्जन फिल्ममा अभिनय गरिसकेका कर्मासँगको अभिनयअनुभवबारे शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंग संवादः
अहिले केमा व्यस्त हो ?
अँ, अहिले ‘षट्कोण’ भन्ने साइकोलजिकल थ्रिलर फिल्मको सुटिङमा व्यस्त छु। दुई महिना युरोपतिर बसेँ। नेपाल आउनासाथ यो फिल्ममा संलग्न भएँ। अहिले लगभग सुटिङ सकिइसक्यो।
फिल्ममा तपाईंको भूमिका खुलाउन मिल्छ ?
(मुस्कुराउँदै) तपाईँहरु जस्तै पत्रकारकै भूमिका हो। हत्या घटनाको रिपोर्टिङ गर्ने पात्रको भूमिकामा छु। भीमफेदीमा भएको एउटा घटनाको रिसर्च गरेर रिपोर्ट तयार पार्छ मेरो पात्रले।
पर्दाको पत्रकार बन्दा कस्तो लाग्यो त ?
पत्रकार बन्न रमाइलै लाग्यो। यसअघि पनि मैले ‘एक दिन एक रात’मा फोटोपत्रकारको भूमिका निर्वाह गरेकाले सजिलै भयो। मेरा थुप्रै साथीहरु पत्रकार पनि छन्। र, मैले चिनेकै एकजनाबाट प्रभावित भएर यो पात्र जन्माउन खोजेको छु। ऊ कामप्रति निकै गम्भीर छ अनि उसको जीवन त्यति रमाइलो छैन।
कहिले आएको हो यो फिल्मको प्र्रस्ताव ?
मलाई फिल्मको तयारी गर्न अलि समय लाग्छ। आज भनेर भोलि नै गर्न म सक्दिनँ। ४–५ महिनादेखि फिल्म साइन गरेर बस्या थिएँ।
समय लाग्छ भन्नाले ?
फिल्ममा मेरो जुन चरित्र छ, त्यो चरित्र निर्माण गर्न धेरै समय लाग्छ। पात्रको चरित्र, मनोविज्ञान बुझ्नु प-यो, के कस्तो भनेर। अनुसन्धान गर्न समय लाग्छ। कहिलेकाहीँ डाइलग धेरै हुन्छ, कहिले हुन्न। जस्तो यो फिल्ममा डाइलग धेरै छैन। डायलग कण्ठ पार्नलाई पनि त समय लाग्छ ! म रंगमञ्चबाट आएकाले पनि हुन सक्छ, एउटा नाटक गर्न हामी दुई महिना त रिहर्सल गर्छौं। अब त्यहाँ त स्टेजमा सबै कुरा हामीले लाइन बाई लाइन कण्ठै गर्नुपर्छ। त्यसैले मलाई कतिले किन वर्कसप गर्नुप-याे ? गएर एक हप्तामा सुटिङ गरे हुँदैन भन्छन् तर म त्यस्तो गर्न सक्दिनँ।
फिल्ममा पनि वर्कसप ? बजारमा त आज स्क्रिप्ट छनोट गरेर भोलि/पर्सिबाट छायांकनमा पो जान्छन्, हैन र ?
म त त्यस्तो गर्न सक्दिनँ। फिल्म होस् या नाटक, शून्यबाटै शुरु गर्ने हो। पुरानो फिल्मको पात्रको ह्याङबाट हटेर नयाँ पात्रमा आउन पनि अभ्यास त गर्नुपरिहाल्छ नि ! अभिनय बुझेका कुनै पनि कलाकारले आजको भोलि नै अभिनय गर्छु पक्कै भन्दैन होला। नयाँ भूमिकामा आउन समय लाग्छ नै।
कतिपय समय यस्तो कुरा स्टारमै सीमित रहन्छ, कलाकार भन्दा। म यो इन्डस्ट्रीमा स्टार बन्न आएको हैन। कलाकार बन्न आएको हुँ। स्टार बन्ने हो भने राम्रो फेस, राम्रो जिउडाल, राम्रो हाँसो भए पनि पुग्छ। त्यसरी चल्नेहरु पनि छन्। त्यस्तोमा युवा दर्शक आकर्षित पनि हुन्छन्।
तपाईँसँग त्यो ‘हिरो मटेरियल’ छैन भन्न खोजेको हो ?
‘हिरो मटेरियल’ दर्शकले हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा भयो। मैले एकजना बच्चामा पनि हिरो देख्न सक्छु, बूढो मान्छेमा पनि हिरो देख्न सक्छु।
हिरो भनेको के हो त ?
शब्दकोश पल्टाउनु भयो भने जसले राम्रो काम गरेको छ, जसले समाजमा राम्रो छाप छाडेको छ, उही हिरो हो। तर, हामीकहाँ हिरोको परिभाषा नै फरक छ। सलमान खान भनेको हिरो हो, अनमोल केसी भन्या हिरो हो, भुवन केसी हिरो हो। त्यो परिभाषै फरक भा’छ। त्यो हिरो होइन। त्यो ह्याण्डसम केटा होला। ‘गुड लुकिङ गाइ’ होला।
अनमोल केसी हिरो होइन ?
एक हिसाबले हिरो पनि हो। उसले फिल्ममा समाजमा राम्रो काम गर्ने चरित्र गरिहरेको छ। तर, हाम्रो समाजले जुन परिभाषा दिएको छ हिरो भनेर त्यो फरक छ। मैले ‘लूट’मा नेगेटिभ चरित्रको भूमिका पनि गरेको छु। अब के मलाई गुण्डा भन्ने त ? भिलेन भन्ने त ? हैन नि ! त्यसैले हिरो, भिलेन भन्दा कलाकार भन्नु नै राम्रो हो। म त त्यसरी नै चिनिन चाहन्छु।
स्टार बन्न मन लाग्दैन ?
स्टार भनेको त दर्शकले हेर्ने दृष्टिकोणमा फरक पर्ने न हो ! आफैँले आफैँलाई जबरजस्ती स्टार बनाएर, बडीगार्ड राखेर, कति पत्रकारलाई पाँच तारे होटलमा भेट्न बोलाएर के काम ? त्यो देखावटी कतिञ्जेल चल्छ ?
भनेपछि नेपालका स्टार देखावटी छन् ?
(टाउको हल्लाउँदै) उम्, धेरै हदसम्म। मलाई किन त्यस्तो लाग्छ भने (सोच्दै) मिडिया अनि दर्शकलाई आफूतिर तान्न पनि यस्तो गरिएको होला। आफू बिक्नलाई गरिएको पनि होला। म त यहाँ बिक्नलाई आ’को होइन। पैसै कमाउँछु भनेर म आएको होइन। कलाकारितालाई बुझेर अझै बुझ्न आएको हुँ। यत्ति हो मेरो लक्ष्य पनि।
हालै, प्रदर्शनमा आएको ‘कबड्डी’को तेस्रो सिरिजमा तपाईंको भूमिकालाई दर्शकले त्यति चित्त बुझाएनन् नि ?
‘कबड्डी’ तेस्रो श्रृंखलासम्म आइपुग्दा पनि दयाहाङ (काजी)कै फिल्म हो भनेर हामी प्रस्टै छौं। यसमा म एउटा म्याकी भन्ने पात्रमा फिटिङ हुन मात्र खोज्या हो। मलाई सुरुमा यो पात्र भनिएको थिएन। सुरुमा धनकाजी (विल्सन विक्रम राई)को पात्र भन्या थियो। जब हामी स्क्रिप्टमा बस्यौं, मैले धनकाजी भन्दा पनि म्याकीमा रिलेट गरें। म गुरुङ होइन। म्याकी पात्रले यति आकर्षित ग-यो कि मैले निर्देशक रामबाबु गुरुङलाई म्याकी पात्रमा काम गर्छु भनेँ। काजीको कथाबाट फिल्म बग्दा स्क्रिप्टमा पनि मेरा धेरै सिनहरु जोडिएनन्। फिल्म सम्पादन गर्दा पनि मेरो कति सिन काटिए। मैले यो फिल्म अहिलेसम्म हेरेको छैन। के काटियो कसरी, मलाई राम्ररी थाहा छैन। सुनेअनुसार अझै कासी (उपासना सिंह ठकुरी) र मेरो पात्रको लभस्टोरी देखाएको सिन पनि काटिएको छ। काजीको कथा भएकाले मेरो सिनहरु काटियो। सायद दर्शकले त्यो कारणले पनि रिलेट गर्न नसक्नु भएको होला तर धेरैले पात्रलाई रुचाउनु पनि भएको छ ।
म्याकी पात्रले जसरी रियल लाइफमा केटीका लागि मरिहत्ते गरेको छ, तपाईंले गर्नु भएको छ कि छैन ?
रियल लाइफमा त्यस्ता धेरै पात्र देख्या छु। मेरै साथीभाइहरु त्यस्ता छन्। अब मेरै कुरा गर्ने हो भने चैँ लभमा नप-या होइन, माया पिरती नग-या होइन। जब भावनात्मक रुपले कोही मान्छे एकदमै तल जान्छ, तब त्यस्तो पात्र जन्मिन्छ। केही महिनाअघि एकजना साथीले आत्महत्या गर्नुभयो। बुझ्दै जाँदा मायाकै कुरा रहेछ। त्यो हिसाबले यो कुराबाट जोगिऔँ है भनेर गुरुकूलमा नाटक गर्दादेखि नै माया पिरतीलाई साइडमा राखेर हिँडे। काममै फोकस भएँ। त्यो कुराले मलाई राम्रै ग-यो, यहाँसम्म त पु-र्यायो ! सोच्छु, कोही केटीसँग सम्बन्धमा भएको भए विदेश गइसकेको पो हुन्थें कि ! (हाँस्दै) डेटिङमा धाएर काममा गम्भीर हुन सक्थिन कि ?
घरमा त बिहेको कुरा चल्दो हो नि ?
घरमा कहिले बिहे गर्ने, खोई तेरो गर्लफ्रेन्ड भन्ने प्रश्न आउँछ। अब त यार यतापट्टि पनि सोच्ने बेला आयो भन्ने अनुभव पनि हुन्छ। परिवारअनुसार त ढिलै भइसक्यो बिहे गर्ने समय पनि। म पनि बुझ्छु। परिवारलाई कहिलेकाहीँ राजेश हमालको ५० वर्षमा बिहे भयो भनेर कारण पनि देखाउने गर्छु। फेरि राजेश दाइ मेरो बुवाको क्लासमेट ! हिजोआज भने घरतिर राइट मान्छे खोज्छु भनेरै बसेको छु।
भनेपछि अहिले सिंगल ?
अँ, अब बिहे नै गर्ने समय भइसक्यो (मुस्कुराउँदै)। कलाकार हुँ, मलाई स्वतन्त्रता चाहिन्छ। घरि कहाँ हुन्छु, घरि कहाँ ! अब कसैको प्रेमी भइसकेपछि इनसेक्योर हुन्छ, के गर्दैछ, कोसँग होला भन्ने हुन्छ। मलाई ती कुराबाट गइराख्ने फुर्सद नै छैन।
नामको पछाडि शाक्य थर झुण्ड्याउन चाहनुहुन्न तरै पनि कति पत्रपत्रिकामा शाक्य जोडेरै आउँछ। अझै पनि थर नराख्ने लडाइँ जारी छ है तपाईँको ?
अँ, कुरा २००७ देखिको हो। मेरो पहिलो फिल्म ‘सानो संसार’देखि नै मैले कर्मा भनेर लेख्दै आएको छु। बुबा काठमाडौंको बास्केट बलमा चिनेकै हुनु भा’कोले सबैले त्यो बेला मेरो थर थाहा पाउनुभयो। तर, कतिले अझै पनि थाहै नपाई शाक्य लेख्नुहुन्छ, त्यो आफ्नै ठाउँमा छ। तर, कतिले थाहा पाएर पनि लेख्नुहुन्छ। त्यो बेला किन गरिरा’छन् भनेर प्रश्न गर्न मन लाग्छ। अब भने मैले हार मानिसकेँ। ‘कबड्डी’मा कर्मा नै लेखेको छु तर किन त्यो पुच्छर जोड्ने त ? कति मिडियाको रिपोर्टर सिरियस नै हुनुहुन्न। नाम एउटा त राम्ररी लेख्न सक्नुहुन्न, के रिपोर्टिङ गर्न सक्नुहुन्छ ?
थर जोड्न नचाहनुको कारण त जातीय विभेद नै हो नि ?
हो। जातीय विभेदकै कारण थर राख्न चाहन्नँ। हामीलाई विद्यालयमा लक्ष्मीप्रसाद देवकोटाको ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भनेर पढाइन्छ। तर समाजमा जातीय विभेद जारी नै छ। मैले पछि बुझेँ, जातीय विभेद समस्या हो। यसलाई हटाउनुपर्छ। यसको अर्थ आफ्नो जातिलाई अस्वीकार भन्ने होइन। म नेवार हुँँ तर पब्लिक फिगर भएपछि म कर्माकै रुपले चिनिन चाहन्छु।
घरमा समस्या हुन्न ?
मैले घरमा कुरा गरेर नै कर्मा नै लेख्दै आएको हो।
तपाईँले नेपालको पहिलो हलिउड फिल्म ‘द म्यान फ्रम काठमाडौं’ गर्नुभयो ? प्रतिक्रिया कस्तो आयो ?
फिल्मको समीक्षा र प्रतिक्रिया खासै राम्रो आएन। त्यसका कारण धेरै छन्। लिड एक्टर हावी भएपछि अरु पात्र ओझेलमा पर्छन् नै ! राम्रो फिल्म बनाउन खोज्दा–खोज्दै पनि नेपाली दर्शकको अपेक्षा पूरा गर्न नसकेको पक्का हो। तर यो फिल्म अहिले बाहिर फेस्टिभलतिर गइरहेको छ। रुचाउनु भएको छ।
तपाईँका पछिल्ला धेरै फिल्ममा लिड एक्टर नै हावी देखियो ?
एक हिसाबले, हो नै। म यो भूमिका गर्दिनँ, त्यो भूमिका गर्दिनँ भन्नेमा पर्दिनँ। मलाई मन प-यो, यदि मैले गर्न सक्छु जस्तो लाग्छ भने म गर्छु। एउटा प्रयोग न हो। म ‘द म्यान फ्रम काठमाडौं’को पात्रलाई नै लिड गरेर ठूलो पात्र पनि विकास गर्न सक्छु। त्यसैले पनि मलाई सानो क्यारेक्टर भनेर रिजेक्ट गर्न मन लाग्दैन। एउटा कलाकारले सानो–ठूलो भनेर बस्नुहुँदैन। मान्छे सानो–ठूलो हुन सक्ला, मन सानो–ठूला हुन सक्ला तर भूमिका सानो ठूलो हुँदैन। आफूले हेर्ने दृष्टिकोणमा फरक पर्ने कुरा हो त्यो।
तपाईँका अधिकांश राम्रो फिल्म हिट भएनन्। कारण के होला ?
(सोच्दै) ‘लभ सासा’ मलाई राम्रै लागेको फिल्म हो, तर चलेन। म लकमा त त्यति विश्वास गर्दिनँ है तर समय पनि हो। जस्तै ‘भिजा गर्ल’ प्रदर्शन ताका बलिउड फिल्मलाई ब्याण्ड गरेको थियो नेपालमा। त्यो समयमा सिंगल रिलिज थियो, तैपनि चलेन। फिल्म राम्रै बनेको थियो। किन चलेन थाहै भएन। जस्तो ‘लूट’ ‘अग्निपथ’ भन्ने हिन्दी फिल्मसँग जुधेको थियो तर चल्यो। दर्शकलाई के मनपर्छ भन्ने कुरामा पनि भरपर्दो रहेछ। कति कुरामा त प्रमोसनले पनि अर्थ राख्छ। सायद स्टारको पनि कुरा हुन सक्छ। कति झूरै फिल्म पनि चलिरहेको हुन्छ।
तपाईँलाई हिट र फ्लपले कत्तिको असर गर्छ ?
हिट हुनु भनेकै धेरै दर्शकले हेरिदिनु हो। अब हेरिदिएनन् भने फरक पर्छ। मेरो फिल्म काठमाडौंमा मात्र होइन देशभर हेरोस् भन्ने लाग्छ। त्यति मात्र होइन, संसारभर हेरोस् भन्ने नि लाग्छ। धेरैले नहेरिदिँदा दुःख लाग्छ। त्यत्रो पसिना बगाएको हुन्छ फिल्ममा, किन हिट भएन भन्ने हुन्छ। त्यसैले फिल्म नचल्दा दुःख त लागिहाल्छ !
प्रमुख भूमिकाको फिल्म आउनै छोड्यो। अफर नै कम आउन थाल्या हो ?
अँ, अफरै कम आएको भन्नु पर्ला। नेपालमा यसले–यस्तो पनि भूमिका गर्दो रहेछ भनेर त्यस्तै मात्र भूमिकामा अफर गरिरहेका हुन्छन्। मलाई अहिले पनि कतिवटा भूमिकाको अफर आइरहेको छ। तर, अब म गर्दिनँ भन्नेमा पुगेको छु। अब म लिड रोल नै गर्छु, १०÷१२ वर्षमा जति एक्सपेरिमेन्ट गर्नुपर्ने हो, त्यो पुगिसक्यो। अब एक हिसाबले म निखारिइसकेँ जस्तो लाग्छ। मैले मेकरहरुलाई पनि लिड क्यारेक्टर होइन भने गर्दिनँ भन्ने हो। अब आफैँ पनि लगानी गरेर फिल्म गर्ने योजनामा छु।
तपाईँ अभिनित हरर फिल्म ‘कठपुतली’को पोस्ट प्रडक्सनमा छ। काम गर्न कत्तिको सहज भयो ?
एकदमै रमाइलो भयो। बाहिरबाट सिनिमेटोग्राफर आउनु भएको थियो। निर्देशक भीमसेन लामा अहिले पनि युकेमै हुनुहुन्छ। हिजो भर्खर उहाँको फेसबुक स्टाटस हेरेर थाह पाएँ, फिल्मको पाश्र्व ध्वनिको जिम्मा हलिउडको एकजना व्यक्तिले लिनुभयो भनेर। फिल्मको पोस्ट प्रडक्सन नै बाहिर हुँदैछ। म फिल्मबाट त्यति आशावादी हुदिनँ किनकि धेरै फिल्मले निराश नै बनायो। तर यो फिल्मबाट आशावादी छु।
नेपाली हरर फिल्ममा देख्नु भएको समस्या के छन् ?
हामी प्राविधिक पक्षमा निकै कमजोर छौं। अर्को समस्या लगानी पनि हो। यस्तो विषयमा लगानी गर्न तयारै हुन्नन् निर्माता।
गुरुकुलबाट अभिनय थाल्नु भो। गुरुकुल रहेको स्थान अहिले हेर्दा कस्तो अनुभव हुन्छ ?
एयरपोर्ट जाँदा त्यो ठाउँ अहिले पनि देख्छु। त्यो ठाउँ देख्दा आनन्द लाग्छ। हाम्रो त मन्दिर नै थियो। समाजलाई केही दिइरहेको थियो, खिन्न पनि लाग्छ। (निन्याउरो अनुहार बनाउँदै) कहाँ पुग्थ्यौँ हामी ! गुरुकुल त्यहाँ रहिरहेको भए हामी के भइसक्थ्यौँ भन्ने पनि हुन्छ।
कसरी जोडिनुभयो गुरुकूलसँग ?
भारतको पुणेबाट २००४ मा १२ सकाएर आएको थिएँ। मेरो अभिनय प्रतिको झुकावबारे परिवार जानकार हुनुहुन्थ्यो। एक दिन गुरुकूलमा नाटक हेर्न गएँ। नाटक ‘बाघभैरव’ हेरेकै दिनदेखि नै गुरुकुलमा बसेँ। एउटा नाटकको लागि महिलाहरुमा पशुपति राई, सरस्वती चौधरी, समुना केसी, प्रमिला कटुवाल फाइनल भएको थियो। केटाहरुमा प्रवीण खतिवडा, रामहरि ढकाल, ओम कर्ण फिक्स भइसकेको रहेछ। एकजना केटाको खोजी भइरहेको रहेछ। अडिसन दिएर म सेलेक्ट भएँ। त्यसरी गुरुकूलको तीन वर्षे कोर्स गरेँ। गुरुकुलमा १५ वटा नाटक गरेँ कि !
अहिले पनि नाटक गर्नुहुन्छ नि होइन ?
एक्टर्स स्टुडियोका प्रमुख अनुप बरालसँग मैले पछिल्लो समय ‘कोर्ट मार्सल गरेँ। होटल बज्रमा म वर्षमा एउटा नाटक गर्छु। ६ वर्षदेखि म निरन्तर त्यहाँ नाटक गरिरहेको छु। त्यहाँ गर्नुको कारण चाहीँ बढी सिकिन्छ के ! जिन्दगी के हो भन्ने एक हदसम्म बुझ्ने मौका पाइन्छ। मलाई कौसी थिएटरकी आकांक्षा कार्की, लुभिना तुलाधरसँग काम गर्ने एकदम इच्छा छ। समयले दिएको छैन।
व्यापार पनि थाल्नु भयो है ?
हजुर। पहिलादेखि नै परिवार व्यापारमा हुनुहुन्छ। बुबाकै होटल र रेस्टुराँ भएको कारणले म आफैँ पनि लागिपरेको व्यापारमा। अहिलेसम्म आएर यति बुझेँ कि नेपालमा कलाकारिता या रंगमञ्च नै गरेर बाँच्ने अवस्था छैन। यी १२ वर्षमा देखेँ पनि, भोगेँ पनि, चेतेँ पनि। साइडमा व्यापार गर्दा कलाकारितामा अझै लगानी गर्न पाउँछु होला।
बजारमा त यति लाख पारिश्रमिक लियो रे भन्ने हल्ला सुनिन्छ नि ?
रेट कल्ले मूल्यांकन गर्ने ? मेरो रेट अहिलेसम्म कसले मूल्यांकन गर्ने हो ? तर, अब स्टारको हकमा त्यो होला। तर, कलाकारको पारिश्रमिकको कहिले पनि मूल्यांकन हुन्छ जस्तो लाग्दैन मलाई।
Leave A Comment