दसैं अर्थतन्त्र : चिनियाँ कपडा, भारतीय खसीबोका

आइतबार, १९ असोज २०७६, १२ : ५१ प्रजु पन्त
दसैं अर्थतन्त्र : चिनियाँ कपडा, भारतीय खसीबोका दसैंमा किनमेल गर्दै उपभोक्ता तस्बिर : कृष्पा श्रेष्ठ

घटस्थापनाको दुई दिनअघि शुक्रबार अपराह्न ४ बजे। असन बजार भिडभाडयुक्त थियो। व्यापारी, उपभोक्ता अनि वसन्तपुर घुम्ने पयर्टकले असन भरिएको थियो। हुन त असनको भीड बाह्रै महिना चल्ने गरे पनि यो भिडले भने दसैं आएको माहोल देखाइरहेको थियो।

काठमाडौँकै पुरानो बजारमध्येको असनमा नपाइने कुरा नेपालमै कतै पाइँदैन भन्ने आहान पनि चल्ने गर्छ। जन्मदेखि मृत्यु हुँदासम्म चाहिने सबै सामान एकै ठाउँमा पाइने भएकाले पनि प्रायः उपभोक्ता यहीँ आइपुग्छन्।

तीन पुस्तादेखि व्यापार गर्दै आएका रवीन्द्र तुलाधर ६२ वर्षका भइसके। उनका हजुरबुबा, बुबा पनि यही असनमै व्यापार गर्थे काजु, बदाम, छोकडा, किसमिसको। अहिले उनका छोराले व्यापारमा सघाइरहेका छन्।

‘म बच्चा हुँदादेखि नै असनकोे भीड अन्तको भन्दा बढी नै हुन्छ,’ उनले भने, ‘चाडबाडको बेलामा त दोब्बरै हुन्छ।’
पूजा सामग्रीको व्यापारमा संलग्न मुकेश लाल श्रेष्ठलाई दसैं आएलगत्तै भ्याइनभ्याई छ। ३२ वर्षका उनको यो पुुख्र्यौली पेसा नै हो। उनी आमालाई सघाइरहेका थिए।

‘दसैंमा दोब्बर व्यापार भएन भने त बर्बाद भइहाल्यो नि !’ उनले शुक्रवारकर्मीसँग भने, ‘अहिलेसम्मको व्यापार सोचेअनुसारै भइरहेको छ।’

तर कपडाको व्यापारमा संलग्न केशव मालाकारले अवस्था भने सोचेजस्तो उत्साहजनक रहेनछ। उनको पसल पातलै थियो। २५ वर्षदेखि असनमा कपडाको व्यापारमा संलग्न उनले अहिले व्यापारको अवस्था फेरिएको बताए। नयाँ कपडा लगाउन दसैं कुर्ने बानी हराउँदै जानु अनि कपडाको व्यापारमा विविधीकरण हुँदा व्यापार उत्साहजनक नभएको उनको ठम्याई छ।

‘पहिलाको जस्तो माहोल नभए पनि निरासै हुनुपर्ने अवस्था भने छैन,’ उनले भने, ‘विवाह, व्रतबन्धमा अन्य कपडा बढी जान्छ। चाडबाडको बेला रेडिमेड कपडा बढी बिक्री हुन्छ।’

दसैंमा स्वाभाविक रुपमै अन्य चाडपर्वको समयमा भन्दा बढी अर्थतन्त्र चलायमान हुन्छ। नयाँ नोटदेखि नयाँ कपडासम्मको चाहले सुस्त देखिने बजार पनि चलायमान हुन्छ। खाना अनि नाना दुवैको राम्रै कारोबार हुने गर्छ यो चाडमा। सरकारी निकाय पनि यो बेलामा दसैं बजार केन्द्रित नै हुन्छ।

नेपाल खाद्य संस्थानकी सूचना अधिकारी शर्मिला सुवेदीले बजार मूल्य निर्धारणका लागि पनि संस्थानले चाडलक्षित सामग्री बिक्री गर्ने गरेको बताइन्। बजारको मागभन्दा पनि आवश्यक सामग्री सहज रुपमा पाउन भनेर दसैंमा च्याङ्ग्रा, खसी बोका, चामल, फापर र सिमी बेच्ने गरेको उनले बताइन्।

अर्बाैंको व्यापार
भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै बजार तात्छ। दसैंको बेलामा अर्थतन्त्र बढी चलमलाउँछ। यो समयमा उपभोग्य वस्तुको व्यापार बढी हुने र सोहीअनुसारको सामानको आयात बढी हुने घिमिरेले बताए।

दसैंमा विशेषतः तयारी पोशाक बढी आउँछन्। नेपालमा कम्बोडिया, चीन, पाकिस्तान, टर्की, थाइल्यान्ड, भियतनाम, पोर्चुगल, इन्डोनेसिया, भारत, कोरिया, बेलायत, अमेरिका बंगालादेश, बुल्गेरिया, हङकङ, स्पेन जापान, जर्मनी डेनमार्क, अस्ट्रेलिया, ओमन र कुबेतदेखि तयारी पोसाक आउँछन्।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ३१ अर्ब ८२ करोड मूल्य बराबरको तयारी पोसाक आयात भएको थियो। साउनदेखि असोजसम्ममा १० अर्ब ५९ करोडको तयारी पोशाकको आयात भइसक्यो। यो वर्षभरिको कुल व्यापारको झण्डै एक तिहाई हो।

बजार सधैँ एकनासको भने देखिँदैन। आर्थिक वर्ष २०७४/०७५ मा भने तयारी पोसाक झण्डै आधा मात्र भित्रिएको देखिन्छ।  तयारी पोसाक १६ अर्बको कपडा ल्याएको देखिन्छ भने साउनदेखि कात्तिकसम्म साढे २ अर्बको ल्याएको देखिन्छ। यो वर्ष पनि साउनसम्ममा २ अर्ब बराबरको तयारी पोसाक भित्रिएको  छ।

तयारी पोसाक सँगै यो बेला मासुको व्यापार पनि बढेको देखिन्छ। इटाली, भारत, टर्की, नर्वे, थाइल्यान्ड, सिंगापुर, भियतनामलगायतका देशबाट तयारी मासु आयात हुने गरेको भन्सार विभागको अभिलेखले देखाउँछ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार दसैंमा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा मासुका लागि ५० हजार खसीबोकाको माग हुनसक्छ।

‘विगतका वर्षको तथ्यांक विश्लेषण गर्दा दस दिनमा आवश्यक माग ५ हजारमध्ये २५ सय खसीबोका खपत हुने गरेको छ,’ पशु सेवा विभागका महानिर्देशक वंशीकुमार शर्माले भने, ‘यसै हिसाबको आधारमा माग संख्या ५० हजारको संख्या हुन सक्छ।
दसैंमा खसीबोकाको मूल्य प्रतिकेजी १ हजार ३ सयदेखि १ हजार ५ सयसम्म पुग्ने महाशाखाको अनुमान छ।

चलायमान अर्थतन्त्र
चाडपर्वको बेला अर्थतन्त्र चलायमान हुनु सामान्य नै हो। उपभोग्य सामग्रीको व्यापार उत्तिकै हुन्छ। स्वाभाविक रुपमा अधिकांश नेपालीले मनाउने दसैंमा अघिपछि भन्दा आर्थिक गतिविधि बढी चलायमान हुने बताउँछन् अर्थशास्त्री विश्व पौडेल।

‘चाडपर्वको बेला अर्थतन्त्र चलायमान हुन्छ,’ अर्थशास्त्री पौडेलले भने, ‘यसले हाम्रो कुल ग्राहस्थ उत्पादनमा वृद्धि हुन्छ। ’

तर स्वदेशकै उत्पादनभन्दा आयातमै बढी भरपर्दा यसले देशको अर्थतन्त्रको स्वास्थ्य पनि त्यत्ति राम्रो बनाउँदैन। ९३ प्रतिशत वस्तु आयातै हुन्छन्। नेपालबाट ७ प्रतिशत मात्र निर्यात हुने गरेको आर्थिक सर्वेक्षण २०७५/०७६ मा उल्लेख छ। चाडपर्वले व्यापार घाटा बढाउँछ भनेर आत्तिनुनपर्ने पौडेलको भनाइ छ।

‘हामीले आयात बढी भयो भनेर रोइलो गर्नु ठिक हुन्न विश्वको अर्थतन्त्र नै अन्तरनिर्भर हो,’ पौडेलले भने, ‘रेमिटेन्स र देशमा राजनीतिक स्थायित्व बढ्दै गएको कारण उपभोक्ता बढेका छन्। यसले अर्थतन्त्रलाई रामै्र बनाउँछ।’

Leave A Comment