कर्पोरेट दसैं

आइतबार, १९ असोज २०७६, ०१ : २० शुक्रवार
कर्पोरेट दसैं

‘विपश्यना जान्छु’:
सितल दाहाल
मिडिया कोओर्डिनेटर, नेपाल जनरल मार्केटिङ

दसैंमा बिदा हुने भएकाले उपयोग गर्छु। दसैंको आफ्नै महत्व छ। यो चाडले समाजलाई जोड्ने काम गर्छ। अन्य समयमा एक आपसमा झगडा गरेको भए पनि दसैंमा टीका लगाउन जाने चलन छ। आफन्तसँग भेटघाट गरेर टीका लगाउँदा रमाइलो पनि हुन्छ। अरु धर्ममा यस्तो छैन। म शाकाहारी भएकाले घरमा काटमार हुँदैन। यसपालिको दसैंमा विपश्यना गर्न इलाम जाँदैछौं।

‘सेल बनाउन मज्जा’
विमला थापा
पिआर हेड, एमभी दुगड ग्रुप

अहिलेदेखि नै दसैंको माहोल सुरु भइसक्यो। दसैं जन्मघर पोखरामा मनाउँदैछु। फूलपातीबाट बिदा हुने भएका ठूलो बाबा, ठूलो मामु, भाउजू, भतिजहरुसँगै पोखरा जान्छु। दसैंमा घरमा पारिवारिक जमघट गरेर रमाइलो गरी मनाउने योजना छ। दसैंमा सेलरोटी आफैँ बनाउन मज्जा लाग्छ। सधैँ कामको प्रेसर हुने भएकाले दसैंमा साथीभाइ र आफन्तसँग भेटघाट हुने अवसर पनि हुन्छ। चाडपर्व विशेष प्रकारको हुने भएकाले नेपाली हुनुमा गर्व लाग्छ। दसैं हामी नेपालीका लागि अभूतपूर्व पर्व भएकाले मीठोखाने, रमाइलो गर्ने, ठूलाको हातबाट टीका लगाएर आशीर्वाद लिने गर्छौं। दसैंमा आफ्नो र भाइका लागि पनि सपिङको तयारी भइरहेको छ।

सिंगापुर जाने योजना
हिरामणि तिमिल्सिना
प्रबन्ध निर्देशक
इभेन्ट नेपाल एन्ड एडभरटाइजिङ प्रालि

अष्टमीसम्म काममा व्यस्त भइन्छ। त्यसपछि मात्र दसैं बनाउने समय पाइन्छ। टीका लगाएर आफन्त भेटघाटको रमाइलो त हुन्छ नै। हामी नेपालीहरुका लागि दसैं विशेष चाड हो। दसैंमा आफ्नो जन्मथलो काभ्रे जान्छु। यो वर्षको दसैं बिदामा टीका सकाएपछि परिवारसहित सिंगापुर जाने योजना बनाएको छु। सधैं कामको प्रेसर हुने भएकाले आराम, घुमघाम, साथीभाइ, आफन्तलाई भेटघाट हुँदा निकै आनन्द र खुशी लाग्छ।  सबैसँग भेटघाट हुने अवसर दसैंले जुटाउँछ। दसैंमा सपिङ पनि गरिन्छ। तास खेल्ने, मीठोमसिनो खाने गरिन्छ। आफ्नो क्षमताअनुसार खर्च गर्नुपर्छ। अरुसँग तुलना नगरी आफ्नो क्षमताअनुसार खर्च गर्नुपर्छ। परिवारलाई खुसी बनाउनु पर्छ। खर्च गर्ने नाममा अरुलाई तुलना नगरी आफ्नो हैसियतअनुसार गर्नुपर्छ।

ससुराली जाने हो
सन्तोष श्रेष्ठ
ब्रान्ड एन्ड मार्केटिङ एक्जुकेटिभ, केएनपी

यस वर्षको दसैं काठमाडौंमा नै मनाउने योजना छ। दसैं हाम्रालागि विशेष चाड हो। जन्मघर दोलखाबाट बुबामुमा दसैं मनाउन काठमाडौं नै आउनु भएको छ। सबै काठमाडौंमा भेला भएर मनाउने भएकाले उत्साहित छु। मेरो बिहे भएको यो पहिलो वर्ष भएकाले दसैंमा पहिलो पटक ससुराली जाने भएकाले निकै उत्साही छु। आफन्तकोमा टीका लगाउन ठाउँ–ठाउँमा जान्छौं। टीका लगाउने, आशीर्वाद थाप्ने, मीठो खाने नै काम हो। यसपालि बिरामी भएकाले मासु नखाने योजना छ। यसपालिको दसैंमा श्रीमती र मेरो विशेष सपिङ छ। बिदा हुने भएकाले रेस्ट पनि हुन्छ। घुम्न पनि निस्कन्छौँ।

Leave A Comment