फिल्म दृष्टि : रातो टिका निधारमा, समय खत्तम, पैसा हजम

आइतबार, १९ असोज २०७६, ०३ : ३० रीना माेक्तान
फिल्म दृष्टि : रातो टिका निधारमा, समय खत्तम, पैसा हजम

लामो विश्रामपछि गत दसैंबाट निर्देशक अशोक शर्मा फिल्म निर्माणमा सक्रिय हुने प्रयास गरे चलचित्र ‘जय भोले’मार्फत। लामो समय फिल्म वितरणको व्यापारमा खटिएपछि उनी फिल्म निर्माणमा मात्र फर्किएनन्, फिल्म व्यापारमा शुभ मानिने दसैंमा प्रवेश गरे। दसैंमा दीपक–दीपालाई टक्कर दिन आएका उनको पहिलो फिल्मले ठिकठिकै व्यापार ग-यो। लगानी डुबेन।

‘छक्कापञ्जा’ सिरिजमार्फत दीपक–दीपाले दसैं कब्जा गरिरहेका थिए। अशोकको प्रवेशपछि उनीहरु साइड लागे। यो दसैंमा दीपक–दीपाको फिल्म ‘छ माया छपक्कै’को रिलिज डेट दसैं अगाडिबाट विजया दशमीमा स-यो। कारण, अशोकको फिल्म नै थियो।

अघिल्लो दसैंमै घोषणा गरेको फिल्म ‘रातो टीका निधारमा’बाट उनले आफ्ना छोरा अंकितलाई फिल्ममा डेब्यु गराए तर न उनको फिल्म चल्यो न छोराले नै आफू चल्ने सम्भावना देखाए !

दसैं अगाडि फिल्मी व्यापारका लागि शुभ समय मानिन्थ्यो। तर कमजोर फिल्म बोकेर आउँदा निर्देशक अशोकका लागि यसपालिको दसैं शुभ देखिएन। तापनि उनमा दसैंको मोह अझै हटेको देखिएन।

‘रातो टीका निधारमा’ले नकारात्मक प्रतिक्रिया पाइरहँदा पनि उनले २०७६ को दसैंको फिल्मी रिलिज हुने डेट कब्जा गर्दै ‘अल्लारे–२’को घोषणा गरिसकेका छन्। तर ‘रातो टिका निधारमा’ जस्तै फिल्म बनाउने हो भने अशोकका लागि जति सुखद रिलिज डेट भए पनि अुशभ हुने पक्का छ।
अब ‘रातो टीका निधारमा’ तिरै फर्कौं।
फिल्ममा प्रयोग हुने एउटा सिद्धान्त छ– ‘डन्ट टेल, सो’ अर्थात् ‘नभन, देखाऊ’। तर उनले ‘रातो टीका निधारमा’मा देखाउने भन्दा भन्ने शैलीलाई अपनाएका छन्। उनको यो फिल्म पुरानै कथ्यशैलीमा छ।

फिल्मको कथा आकाश(अंकित शर्मा)सँगै सुरु हुन्छ। आकाश कन्सल्टेन्सीमा काम गर्छन्। उनी नेपालमै बसेर केही गर्न चाहन्छन्। उनको उद्देश्य नै दृष्टि (साम्राज्ञी राज्य लक्ष्मी शाह)लाई पाउनु हो तर दृष्टि भने, एक ग्रिनकार्ड होल्डर पट्ट्याएर अमेरिकामा मास्टर सकी उतै घरबार बसाउन चाहन्छिन्। अंकित र साम्राज्ञीको उद्देश्य पूरा हुन्छ या हुन्न ? फिल्म यही कथाको वरिपरि घुमेको छ।

फिल्मले विदेश जाने मोहलाई मूल कथावस्तु बनाउने प्रयास गरेको छ। अहिलेको नेपालको मुख्य समस्यालाई केन्द्रमा राखेर फिल्म बनाउने प्रयास गरे पनि निर्देशक अशोक नराम्रोसँग चुकेका छन्।

उनी चुक्नुको मुख्य कारण देखियो कमजोर निर्देशन, झूर पटकथा, कच्चा कलाकार र जबरजस्ती घुसाइएको कमेडी।

जसरी पनि विदेश जान चाहने युवापुस्ता यो फिल्मको मूलकथा हो कि प्रेम कथा ? निर्देशक नै अल्मलिएका छन्। फिल्मको केन्द्रीय द्वन्द्व नै प्रस्ट छैन। फिल्मले उठाउन खोजेको विषय सान्दर्भिक छ तर फितलो प्रस्तुति र कलाकारको कमजोर अभिनयले फिल्म राम्रो बन्नबाट नराम्ररी चुकेको छ।

दोस्रो हाफबाट दर्शकलाई स्वदेशमै पौरख गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका छन् निर्देशकले। पहिलो हाफको कथा र दोस्रो हाफको कथा नै एक अर्कासँग मिल्दैन। ट्र्याकै गलत समात्छ दोस्रो हाफमा फिल्मले।

पहिलो हाफमा आकाश र दृष्टि बीचको प्रेम देखाउन प्रयास गरेका निर्देशक दोस्रो हाफमा स्वदेशमै काम गर्नतिर केन्द्रित भएका छन्। पहिलो हाफको तुलनामा दोस्रो हाफ केही बलियो देखिए पनि यसले फिल्मलाई अगाडि डो-याउन भने सकेको छैन।

फिल्ममा समावेश कति दृश्य त मूल कथासँग ताममेल नै मिल्दैन। पर्दामा आकाश र दृष्टिबीच प्रेम देखाए पनि दर्शकलाई त्यो अनुभव हुँदैन। प्रेम वियोगमा आकाश रोइरहन्छन् तर हलमा फिल्म हेरिरहेका दर्शक हाँसिरहन्छन्। रक्सी पिएको दृश्य त बिजोगै पो छ !

फिल्मको पात्र स्थापनाको प्रयास पनि झूर छ। गणेश (बुद्धि तामाङ) र मोहित(रवीन्द्र झा) फिल्ममा हसाउँनकै लागि मात्र राखिएको देखिन्छ। गणेशलाई बलिउडको आमिर खानलाई ‘गजनी’मा लागेको सर्ट टर्म मेमोरीको रोग लागेको हुन्छ। त्यसलाई गम्भीरताका लागि राखिएको छैन, दर्शक हँसाउन मात्र राखिएको छ तर दर्शक कमै ठाउँमा मात्र हास्छन्। कतिपय दृश्य त क्लिसे लाग्छ।

३९ वर्षको हुँदा पनि विवाह नभएर रन्थनिएको मोहितको क्यारेक्टर फिल्ममा किन राखियो दर्शकले उत्तर पाउँदैनन्। निर्देशक एवं लेखकसमेत रहेका अशोकले सिम्पल (नीता ढुङ्गाना)को चरित्र चित्रणमा पनि न्याय गर्न सकेका छैनन्।

आकाश र दृष्टिको कथा भन्ने क्रममा अशोकले सिम्पलको चरित्र चित्रण गर्न बिर्सिएको देखियो। त्यो पात्र बीचमै कतै छुट्छ। पात्र कहाँ जान्छन्, के गर्छन् पत्तो हुन्न।

दृष्टिलाई विद्रोही स्वभावको महिलाको रुपमा चरित्र चित्रणको प्रयास गरेका छन्। उनी हलो जोत्छिन्, गाउँका सारा आमा–दिदी–बहिनीलाई स्वावलम्बी हुन सिकाउँछिन् तर कथा एकातिर बगिरहेको छ, दृष्टि बनेकी साम्राज्ञीको अभिनय अर्कोतिर।

फिल्ममा विधवा बुहारीलाई रातो टीका लगाइदिने, विधवाले लास बोकेको दृश्य राखेर नेपाली समाजको बदलिँदो दृश्य देखाउने प्रयास गरेका छन् शर्माले। तर ती पात्रको चरित्रचित्रणमा ध्यान दिन नसक्दा त्यस्ता विद्रोहका दृश्यले पनि दर्शकको मन हुँडल्दैन।

भतिजले काका मरेकै वर्ष काकीलाई रातो सारी उपहार दिएको दृश्य राखेर शर्माले विद्रोहको प्रतीक देखाउने प्रयास गर्छ। यो दृश्यले उनी पुरानै सोचबाट ग्रस्त र समाजमा भएको परिर्वतनप्रति अनभिज्ञ रहेको देखायो। फिल्मको पाश्र्व ध्वनिसमेत सान्दर्भिक सुनिँदैन। पाश्र्व संगीतको प्रयोग उचित ठाउँमा छैन।

फिल्मको अर्को खराब पाटो कलाकारको अभिनय पनि हो। फिल्ममा आकाशको भूमिकामा देखिएका अशोकका छोरा अंकितको अभिनय क्षमता अभिनयको प्रशिक्षण लिन आएका सिकारु कलाकारको पहिलो कक्षाको क्षमता भन्दा पनि कमजोर छ। बाबु निर्देशक र निर्माता भएकै आधारमा ‘चलिहाल्छ नि’ भनेर अभिनय गरेको प्रस्टै देखिन्छ। आकाशले फिल्म हेरे भने पक्कै लाज मान्नेछन् र आफैंलाई गाली गर्नेछन्।

त्यस्तैे स्टार र डिमान्डेड नायिका मानिएकी साम्राज्ञीको अभिनय पनि उस्तै टीठलाग्दो छ। ‘रातो टीका निधारमा’ अभिनय गर्दासम्म उनले अभिनय गरेको फिल्मको संख्या आशा दर्जन पार गरिसक्दा पनि उनको अभिनय क्षमता भने जहाँको त्यहीँ हुनु दुखद् पाटो हो। फिल्म अनुहारले मात्र चल्दैन, अभिनय कला पनि चाहिन्छ भन्ने उनले कहिले बुझ्ने हुन् कुन्नी ? यस्ता अभिनयले निरन्तरता पाउने हो भने साम्राज्ञीको स्टारडम जोगिने त टाढाको कुरा, फिल्मी क्षेत्रमै टिक्न मुस्किल पर्छ। अनुहारै हेरेर लगानी डुबाउन कति निर्माता राजी होलान् ?

बुद्धि र रवीन्द्रको अभिनय केही हदसम्म ठीकै छ। दर्शकमाझ राम्रै छाप बनाएका दुवैले त्यत्ति हल्का चरित्र चित्रण भएको फिल्ममा अभिनय नगरेको राम्रो। ‘पञ्चायत’ फिल्मबाट अभिनयमा सकारात्मक प्रतिक्रिया बटुलेकी नीताको अभिनय त्यत्ति चित्तबुझ्दो छैन।

वैदेशिक रोजगारीको कथा नेपालीका लागि नयाँ होइन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’देखि लैनसिंह बाङ्देलको ‘मुलुकबाहिर’सम्मका उम्दा साहित्य आएका छन् वैदेशिक रोजगारलाई केन्द्रमा राखेर।

‘मुग्लान’जस्तो सुपरहिट फिल्म यही विषयमा बनिसकेको छ। त्यसमाथि पछिल्लो समय महिलाको वैदेशिक रोजगारीको पाटो समाउँदै बनेको ‘साइँली’ फिल्म गएको वर्ष रिलिज भएको थियो। हस्यौली पारामै भए पनि ‘छक्कापञ्जा २’ले यसको सामाजिक विकृतिको पाटो फितलो रुपमा भए पनि छुने प्रयास गरेकै हो।

तापनि यस विषयमा फिल्म बनाउनै नहुने भन्ने हैन। मज्जाले फिल्म बनाउन सकिन्छ। तर कथावस्तु र प्रस्तुति नौलो र मन छुने हुन आवश्यक छ। नयाँपन नदिई, परम्परागत फम्र्याटमा बसेर, कमजोर कलाकारको भरमा घरघरको कथा पस्कने दुस्साहस गर्ने निर्देशकलाई रामराम मात्र भन्न सकिन्छ। काँध त कसले थाप्छ र ?

गत वर्ष ‘जयभोले’मा दर्शकले अशोक शर्मालाई काँध थापिदिएकै हुन् तर यसपालि काँध थापिदिएनन्। यस्तै ताल हो भने आगामी फिल्ममा पनि दर्शकले रामराम मात्र भन्नेछन्।

Leave A Comment