दसैँमा फिल्म चलाउने होड

सोमबार, २० असोज २०७६, १२ : २६ रीना माेक्तान
दसैँमा फिल्म चलाउने होड

एक समय यस्तो पनि थियो– दसैंमा धेरैले काठमाडौं छोडेर जाने हुँदा फिल्म चल्दैन भन्ने मानसिकता हुन्थ्यो फिल्मकर्मीमा। त्यसैले दसैंमा काठमाडौँका हलमा हिन्दी या पुराना नेपाली फिल्म चल्थे।

अहिले परिस्थिति ठीक उल्टो छ। अहिले त फिल्मकर्मी दसैंमा फिल्म रिलिज गर्न मरिहत्ते गर्छन्। एउटै मितिमा फिल्म जुधाउन पनि पछि पर्दैनन्।

दसैंमा लामो बिदा अनि दर्शक फ्लो पनि बढ्ने भएकाले अधिकांश फिल्मकर्मी फिल्म प्रदर्शनका लागि दसैं कुर्ने गर्छन्। व्यापारका हिसाबले पनि अधिकांश निर्माता आफ्नो फिल्मलाई दसैंमै रिलिज गर्न खोज्छन् तर विगत केही वर्षयता ‘छक्का पञ्जा’ टिमले दसैं कब्जा गर्दै आएको छ।
एक समय छविराज ओझा र रेखा थापा दसैं कब्जा गर्न अगाडि हुन्थे।

दसैंमा फिल्म प्रदर्शन गराउँदाको फाइदा पनि ‘छक्का पञ्जा’ टिमले चाखिसकेको छ। दसैंमा प्रदर्शनमा ल्याएको ‘छक्का पञ्जा’को सिरिजले सर्वाधिक व्यापार ग-यो। ‘छक्का पञ्जा ३’ले त १७ करोडको व्यापार गरेर कीर्तिमान नै बनाएको छ।

‘दसैंलाई फिल्म व्यापारको लागि शुभ मानिन्छ,’ नेपाल चलचित्र निर्मातासँगका अध्यक्ष आकाश अधिकारी भन्छन्, ‘तर यही नै सबैथोक होइन। राम्रो फिल्मका लागि कुनै चाड चाहिदैन।’

विगतको दसैंदेखि अशोक शर्मा पनि दसैंमै फिल्म चलाउने होडमा मिसिएका छन्। पछिल्लो वर्षको दसैंमा उनले ‘जय भोले’ प्रदर्शनमा ल्याएका थिए। त्यो दसैंमा ‘छक्का पञ्जा’को तेस्रो श्रृंखला पनि प्रदर्शनमा आयो।

‘जय भोले’ फुलपातीदेखि प्रदर्शनमा आएको थियो भने ‘छक्का पञ्जा ३’ घटस्थापनामा। यसपालि पनि दसैंका लागि अशोक र दीपकको टक्कर नै प-यो। फलस्वरुप दीपक आफैँ पछि हटिदिए। अशोकको भाग दसैंअघिको व्यापारमा प¥यो भने ‘छक्का पञ्जा’ टिमको फिल्म ‘छ माया छपक्कै’ दसैंपछि !

दसैंको व्यापार अशोक शर्माका लागि यतिबेला ‘मिथ’ बन्न पुगेको छ। असोज १० गते प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ले सोचेजस्तो व्यापार गर्न नसक्दा उनले पुर्पुरोमा हात राख्नु परेको छ। ‘दसैंअगावै फिल्म प्रदर्शनमा ल्याउँदा व्यापार गर्न नसकेको’ उनले तर्क गरिरहेका छन्।
उनले हालै एक कार्यक्रममा भनेका थिए, ‘हामी डेटमा चुक्यौं !’

दसैंमा फिल्म चलाउन अशोक र दीपकको लडाईं यसअघि हेर्न लायक थियो। दीपकले व्यापारको आडमा त अशोकले हलको आडमा लडाईँ गरे पनि यो झगडाका कारण मध्य दसैंमा कुनै नेपाली फिल्म रिलिज नहुने फिल्म वितरक नरेन्द्र महर्जन बताउँछन्।

पछिल्लो तीन वर्षको ग्राफ हेर्ने हो भने ‘छक्का पञ्जा’ले नै दसैंमा राज गर्दै आएको छ तर गत वर्षदेखि अशोकले यो टिमसँग प्रतिस्पर्धा गर्ने आँट गरे।

जबकि नयाँ फिल्मकर्मीका लागि त दसैं प्रदर्शन कल्पना भन्दा टाढाको विषय हो। किनभने ‘नयाँ फिल्मकर्मीले दसैंमा आफ्नो फिल्म प्रदर्शन गर्न पाउने अवस्था नै छैन,’ निर्देशक नवल नेपाल बताउँछन्।

‘बलियो फिल्म बनायो भने जो कसैलाई पनि सहज होला,’ उनले भने, ‘यो अलि दार्शनिक पक्ष भयो तर व्यवहारिक पक्ष हेर्ने हो भने वितरक र हलवालाहरुसँग जो निर्माताको पहुँच छ, उसका लागि मात्र दसैंको डेट सहज हुन्छ, त्यसको इतिहास हामीसँग छ।’

ब्रान्ड र स्थापित फिल्म मेकरलाई मात्र दसैंमा फिल्म चलाउन सहज हुने तर नयाँ मेकरका लागि त राम्रै फिल्म निर्माण गरे पनि सम्भव नहुने निर्देशक नेपाल बताउँछन्।

त्यसो त नवलसँग पनि दसैंमा रिलिज डेट नपाउँदाको नमीठो अनुभव छ। नवलले निर्देशन गरेको फिल्म ‘मंगलम्’ दुई वर्षअघि छविराज ओझाको ब्यानरबाट बनेको थियो। एक वर्षअघि नै यो फिल्मको प्रदर्शन असोज ११ भनेर प्रचार थालिएको थियो। तर, भदौ १६ मा प्रदर्शन गर्ने भनिएको ‘छक्का पञ्जा २’लाई निर्माता दीपकराज गिरीले फेसबुकमार्फत नै असोज ११ मा नै प्रदर्शन गर्ने घोषणा गरे।

‘छक्का पञ्जा’को ब्यानर स्थापित पनि। यी दुइटै फिल्मलाई एउटै वितरक कम्पनीले लिएको हुनाले प्रदर्शन मिति हेरफेर गरियो। वितरक कम्पनीका नरेन्द्र महर्जन र दुई फिल्म टिमबीच छलफल गरेर ‘मंगलम्’ फागुन २५ लाई सारियो।‘यस्तो अवस्थामा एउटा निर्देशकको मन पोल्छ,’ उनी भन्छन्, ‘तर यहाँ यस्तै हो भनेर मन सम्हालेँ।’
नेपाली फिल्म मेकरले सधैँ ठूला ब्यानरका बलिउड र हलिउड फिल्मको रिलिज मिति हेरेर मात्र आफ्नो फिल्मको रिलिज मिति तय गर्छन्।

वितरक नरेन्द्र महर्जन पछिल्लो समय ‘छक्का पञ्जा’ टिमले दसैंको भाउ अझै बढाइदिएको तर्क गर्छन्। ‘उहाँहरुले यसरी बढाइदिनु भयो कि सबैजना दसैं नै ताक्न थाल्नु भएको छ,’ उनले भने, ‘त्यसैले पनि उहाँहरुले पछिल्लो समय दसैं कब्जा गर्न लाग्नु भएको छ। यसपालि त उहाँहरुले हृदय खोलेर नै दसैंपछि रिलिजका लागि तयार हुनुभयो।’

दसैंमा रिलिज डेट लिन निकै गाह्रो रहेको निर्देशक नेपाल बताउँछन्। ‘यसभित्र राजनैतिक खिचातानी पनि हुन्छ,’ उनको अनुभव बोल्छ, ‘लोभ र प्रलोभनका कुरा आउँछन्। राम्रो फिल्म मेकर आए पनि नयाँ छन् भने डेट लिन गाह्रो हुन्छ।’

हलवाला प्रदीपकुमार उदय भने वितरक र हलले चलेका फिल्म ब्यानर र सिक्वललाई दसैंमा प्रमुख महत्व दिने स्वीकारे। उनले भने ‘त्यस्तो राजनीति केही हुँदैन। निर्माताहरु धेरै बिदामा लड्छन् तर हामी हलवालाले पनि चलिरहेकै फिल्मलाई प्रायोरिटी दिन्छौँ।’

उदयका अनुसार दसैंमा अन्य समयमा भन्दा दर्शक धेरै आउँछन्। नराम्रो फिल्म रिलिज हुँदा बिदा धेरै भए पनि नचल्ने उदाहरण धेरै भएको उनी बताउँछन्।

‘मेरै फिल्म ‘अधकट्टी’ पनि त दसैँमै प्रदर्शनमा ल्याएका थियौंँ तर चलेन,’ उनले भने, ‘त्यो बेला ‘परदेशी’ सुपरहिट भयो। नराम्रो फिल्म दसैं भए पनि चल्दैन।’

उनले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको फिल्म ‘सो सिम्पल’ पनि दसैंकै बेला रिलिज गरिएको भए पनि नचलेको उदाहरण दिए।

‘छक्का पञ्जा’ २०७३ भदौ २४ मा प्रदर्शनमा आउँदा यसले त्यो बेलासम्मको व्यापार रेकर्ड नै तोड्यो। त्यसपछि २०७४ मा ‘छक्का पञ्जा २’ प्रदर्शनमा आयो। फिल्मसँगै रोज राणाको ‘मेरो पैसा खोइ’ प्रदर्शनमा आएको थियो। फिल्मको शीर्षकअनुसार नै ‘मेरो पैसा खोइ’ले पैसा खोज्न बाध्य थियो।

त्यसपछि २०७५ मा ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ प्रदर्शनमा आए। यसरी तीन वर्ष लगातार दसैं कब्जा गरिरहेको ‘छक्का पञ्जा’ टिमसँग अशोकले प्रतिस्पर्धा गर्ने आँट गरे।

फिल्म चल्न दसैंको बिदा होइन, गतिलो कन्टेन्ट हुनुपर्ने भए पनि दसैं बिदा खाने होडबाजी भने अझै सकिएको छैन। अझै पनि कतिपय निर्मातालाई अर्को दसैंमा रिलिज डेट नपाउनेमा चिन्ता छ। स्रोतका अनुसार फिल्म ‘प्रेमगीत ३’ले पनि आगामी वर्षको दसैं ताकिरहेको छ। अशोक शर्माले अर्को दसैंको कोसेली भनेर ‘अल्लारे २’को घोषणा गरिसके।
जे होस्, दसैंको रिलिज डेट पाउन अझै लड्ने क्रम जारी छ।

यसअघि पनि सोह्रश्राद्धको अवधिमा फिल्म रिलिज गर्न हुँदैन भन्ने भ्रम व्याप्त थियो। तर ‘दुई रुपैयाँ’ले त्यो भ्रम तोडिदिएको थियो। यस वर्ष पनि सोह्रश्राद्धमा रिलिज भएको ‘कबड्डी कबड्डी कबड्डी’ले सोह्रश्राद्धको तिथिलाई पनि आम्दानीयोग्य हो भनी बाटो देखाएको छ।
‘उन्नाइस–बीस होला तर फिल्म चल्नलाई राम्रो नै हुनुपर्छ,’ फिल्म निर्माता तथा प्रदर्शक उदयको तर्क छ।

Leave A Comment