कलाकारको दसैँ : भेटघाटलाई लभ, काटमार हेट

सोमबार, २० असोज २०७६, १२ : ५८ शुक्रवार
कलाकारको दसैँ : भेटघाटलाई लभ, काटमार हेट

छुल्ठिम गुरुङ, अभिनेत्री
मनपर्छ
मलाई दसैंमा निधारमा टीका लगाएको र कानमा जमारा झुन्ड्याएको एकदम पन पर्छ।  यो समयको मौसम नै राम्रो क्या। काम गर्न पनि जोस जाँगर पलाउने।
मन पर्दैन
त्यस्तो केही छैन। दसैँ–तिहारको हरेक कुरा मन पर्छ।

करिष्मा ढकाल, मोडल  
मन पर्छ
सबै परिवार मिलेर रातो टीका निधारमा लगाएको मन पर्छ। टाढा रहेका आफन्त भेटघाट पनि मन पर्छ।
मन पर्दैन
दसैंमा हुने काटमार मन पर्दैन। रक्सी खाएर हो हल्ला गर्ने र तास खेल्ने काम पनि मन पर्दैन।

मरिचमान श्रेष्ठ, हास्य कलाकार
मन पर्छ
टाढा–टाढा गएका परेदेशी भेला भएर सुख दुःखका कुरा गरिन्छ त्यो भएर मन पर्छ। मिठो मसिनो जे छ सबै मिलेर खाइन्छ। अरु बेला सबै एकै पटक भेला हुन गाह्रो हुन्छ। साथीहरुको भेटघाट गर्ने समय पनि यही हो।
मन पर्दैन
अर्काको देखासिकी गरेर दसैं मनाउने प्रचलन बढिरहेको छ। यो भने मन पर्दैन। जुवा तास खेलेर धेरै उठिबास भएको देखेको छु। यो पनि ठिक हैन।

आरुषी मगर, मोडल 
मन पर्छ
परिवारसँग बसेर टीका लगाउँदा छुट्टै आनन्द लाग्छ। वर्षैभरि काम गरेर थाकेकाहरुले यतिबेला आराम लिएर परिवारसँग रमाउन पाउँछन्। बाबा आमाको हातबाट आशीर्वाद लिन पाइन्छ। यी सबै मन पर्छ।
मन पर्दैन
मलाई दसैंको सबै मन पर्छ। मन नपर्ने केही छैन।

पुष्प खड्का, अभिनेता
मन पर्छ
दसैंमा फुर्सद पाइन्छ यो नै मन पर्छ। दुई चार दिन भए पनि आराम पाइन्छ। मेरो आमा बुवा भारतमा हुनुहुन्छ। उतै गएर टीका लगाउन पाइन्छ। वर्षभरि नभेटिएका आफन्तसँग भेटिन्छ।
मन पर्दैन
दसैंको बेलामा अलिक बढी काटमार गरिन्छ। जाँड रक्सी  खाइन्छ, देखासिखी गरिन्छ।  यो भने मलाई मन पर्दैन।

मलिका महत, अभिनेत्री
मन पर्छ
बच्चामा दक्षिणा मन प-थ्यो, अहिले आशीर्वाद मन पर्छ। आफ्ना घर परिवारमा सबैे भेला हुने भएकाले दसैं प्रिय लाग्छ।
मन पर्दैन
मन नपर्ने त खासै छैन हो। प्रायः सबै मन पर्छ।

सिडी विजय अधिकारी, गायक  
मन पर्छ
दसैंको मौसम नै मन पर्छ। दसैंको माहोल नै मन पर्छ। साथीभाइ आफन्तसँगको भेटघाटले वर्षभरिको थकाइ मेटाउँछ।
मन पर्दैन
दसैंमा खसी बोका काटमारको कुरा आउला। यो एउटा संस्कार हो। खानेले खाइ हाल्छन्। यसलाई नराम्रो भन्न मिल्दैन जस्तो लाग्छ। त्यसैले नराम्रो त केही लाग्दैन।  

मेलिना राई, गायिका
मन पर्छ
देशविदेशमा रहेका दाजुभाइ आफ्ना आफन्तको भेट गराउने चाड भएको कारण मलाई राम्रो लाग्छ। यदि दसैं नभएको भए कोही आफ्ना आफन्त भेटघाट हुने थिएन होला। को कता को कता हुन्थ्यो।
मन पर्दैन
जुवा खेल्ने, होहल्ला गर्ने र झगडा गर्ने काम मन पर्दैन। अर्काको देखासिकी गरेर घरपरिवारमा झगडा परिरहेका हुन्छन्। यो भने ठिक हैन।

शान्तिश्री परियार, लोक गायिका
मन पर्छ
टाढा टाढाबाट आफन्तजनहरु आउँछन् र भेटघाट हुन्छ त्यसैले रमाइलो हुन्छ। यो साह्रै मन पर्छ। आफूभन्दा ठूलाबडाको हातबाट टीका थाप्ने र जमारा लगाउन मन पर्छ।
मन पर्दैन  
देवी देवताको नाममा काटमार गरेको मन पर्दैन। भगवान्ले पशुको रगत खान्छन् कि खाँदैनन् थाहा छैन। तर देउताको नाममा हुने पशुबलि भने मन पर्दैन।

महेश काफ्ले, गायक
मन पर्छ
नेपालीको चाडपर्व जस्तो रमाइलो कसको हुन्छ र। धुमधामले चाड मनाउँछाँै हामी। परदेशी फर्किने, गाउँमा पिङ हाल्ने लगायतको माहोल मनपर्छ।
मन पर्दैन
देवी देउताको नाममा बलि दिनु भने मलाई राम्रो लाग्दैन। भगवान्ले उत्पादन गर्ने अनि आफँै यसको बलि लिन्छन् भन्ने मलाई लाग्दैन।

Leave A Comment