‘मिटु’ बहसयोग्य विषय होस् : दयाहाङ

सोमबार, २७ असोज २०७६, १२ : ५१ शुक्रवार
‘मिटु’ बहसयोग्य विषय होस् : दयाहाङ

भीम चापागाईं

सन् २०१७ मा हलिउड अभिनेत्री एलिसा मिलानोले सामाजिक सञ्जाल ट्वीटरमा ‘यदि तपाई यौन दुव्र्यहारमा पर्नुभएको छ भने मिटु लेखेर आफ्नो अनुभवलाई रिप्लाईमा लेख्नुस्,’ ट्वीट गरेपछि चर्चा पाएको मिटु अभियान नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्न नसकेको अवस्थामा अभिनेता दयाहाङ राईले यस विषयमा बहस हुनु पर्ने तर्क राखेका छन्।

हलिउड र बलिउडपछि नेपालमा भित्रिएको मिटु अभियानले खासै नेपाली फिल्म क्षेत्रलाई छुन सकेको छैन्। सामाजिक सञ्जाल र अन्य मिडियामार्फत् विशेषगरी महिलामाथि हुने हिंसाविरुद्ध सुरु भएको अभियानले नेपालमा भने प्रभाव देखाइरहेको छ। ‘मिटु अभियानबारे समाजमा बहस र छलफल हुनुपर्छ,’ उनले भने, ‘यो निकै संवेदनशील विषय भएकाले हिंसामा परेकाले बोल्ने आँट गर्नु आवश्यक रहेको छ। एकले अर्कालाई बाधा पु-याउन हुन्न भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ।’

नेपाल विविधतायुक्त समाज भएकाले सांस्कृतिक रूपले पनि पुरुष–महिलाबीच ‘छेडखानी’ को आफ्नै सौन्दर्य रहेको उनको तर्क छ। उनले कतिपय संस्कृतिमा त यो सामान्य विषयसमेत मानिने बताए। ‘सांस्कृतिक सौन्दर्य बुझेर अघि बढ्नु प्राकृतिक नै हो। राई–लिम्बू समुदायमा सोल्टी–सोल्टिनीबीच हुने कुराकानी पनि संस्कृति हो,’ उनी भन्छन्, ‘यही संस्कृतिलाई फाइदा उठाउने, सतही भएर हेर्ने र नक्कल गर्ने चाहिँ सीमा हुनुपर्छ।’ उनले राई–लिम्बू समुदायमा सोल्टी–सोल्टिनी छेडखानी गर्ने चलन भएको तर ‘सीमा नाघ्ने’ चलन नभएको पनि बताए।

पुरुष सधैं समाजको केन्द्रमा देखिएकाले उसले आफ्नो शक्तिको दुरुपयोग गरिरहेको अभिनेता राईको भनाइ छ। ‘नेपाली समाजमा पुरुषले महिलामाथि हिंसा गरिरहेको हुन्छ, अनेकन अर्थबाट, सदिऔंदेखिको मानसिकता भएको छ यो,’ उनी भन्छन्, ‘राई–लिम्बू समुदायमा चाहिँ अनुशासन छ। एकले अर्कोलाई बाधा गर्नुहुँदैन भन्ने छ।’

रोधीमा वा आफ्नो राई–लिम्बू संस्कृतिमा एक किसिमको सहमतिमा कुराकानीपछि माफी मागेर छुट्टिने चलन हुने उनी बताउँछन्। ‘नयाँ पाहुना आयो भने सुरुदेखि नै जिस्किरहने, माया–प्रेमका कुरा गर्ने तर साइनो–सम्बन्ध प-यो भने माफी मागेर छुट्टिने चलन छ। साइनो परेन भने बाबु–आमासँग पनि कुरा गरेर मिल्ने हुन्छ,’ उनले भने, ‘त्यस्तो चाहिँ हुनुप-यो।’ उनले पुरुषलाई आफूले के गर्दा हिंसा हुन्छ भन्ने थाहा हुनुपर्ने र महिलालाई पनि ‘मलाई पुरुषले यस्तो गरिरहेको छ, यो पनि हिंसा हो’ भन्ने जानकारी हुनुपर्ने बताए।

अभिनेता राईका अनुसार पुरुषले महिलालाई पछिल्लो समय दास बनाउन थालेको बताए। ‘महिलाले बारम्बार दमन र हिंसा सहेर बस्नु हुँदैन। बोल्दा वा जिस्किँदा असर परेको छ भने उहाँहरूले प्रतिक्रिया जनाउनुपर्छ,’ उनले भने, ‘पुरुष पनि हिंसा गरें कि भन्नेमा सधैं सजग हुनुपर्छ।’ मिटु अभियान अन्तर्गत हलिउड अभिनेत्री लेडी गागादेखि केटसम्मले दुव्र्यहारको विषयमा बोलेका थिए।

Leave A Comment