फिल्म दृष्टि ‘छ माया छपक्कै’ : अर्ग्यानिक फिल्मको भ्रम

सोमबार, २७ असोज २०७६, ०३ : २२ रीना माेक्तान
फिल्म दृष्टि ‘छ माया छपक्कै’ : अर्ग्यानिक  फिल्मको भ्रम

चार वर्षअघि भारतमा रिलिज भयो ‘कौन कितने पानी में’ । नीलमाधव पाण्डाले निर्देशन गरेको फिल्ममा कुनाल कपुर, राधिका अप्टे, शौरभ शुक्ला लगायतकाको भूमिका थियो । फिल्मको कथावस्तु– पानी र पानीमा मिसिएको राजनीति ।

कथासार यस्तो छः
माथिल्लो जातका बस्ने उपरी र तल्लो जातका बस्ने बाहरी गाउँ छ । उपरी गाउँमा राज गर्ने रजौटाकी छोरी र बाहरी गाउँका तल्लो जातका युवाबीच प्रेम बस्छ । यी दुवैको प्रेम सम्बन्ध खुलेपछि उपरी गाउँका प्रमुखले गोली हानेर दुवैको हत्या गर्छन् र बाहरी गाउँका तल्लो जातकालाई गाउँबाट निकालेर तल बस्न बाध्य बनाउँछन् ।

दुवै गाउँमा पानीको समस्या छ । काम गर्ने वर्ग बाहरीबासी मैदानमा आएपछि ताल बनाएर पानीको संरक्षण गर्छन् र सम्पन्न बन्छन् । उपरीगाउँमा अनिकाल पर्छ । बाहिर पढ्न गएका गाउँ प्रमुख महाराजाका छोरा राज गाउँ फर्कन्छन् । अनि शुरु हुन्छ, बाहरी गाउँबाट उपरीगाउँमा पानी ल्याउने खेल ।

उपरी गाउँका प्रमुखले पानी ल्याउन छोरालाई हतियार बनाउँदै बाहरी गाउँका प्रमुख खडुको छोरी पारोसँग प्रेम गर्न पठाउँछन् । उनी बाबुसँग झगडा गरेको नाटक गरेर बाहरी गाउँमा आएर बस्छन् । खडु राजनीतिमा सक्रिय हुन्छन् र विधायक बन्न मरिमेट्छन् । 

राज उनकै पार्टी लोकहितमा सहभागी हुन्छन् र सघाउँछन् । बिस्तारै उपरीगाउँका छोरा र बाहरी गाउँकी छोरीबीच माया बस्छ । फँसाएर पानी ल्याउन आएका युवा वास्तवमै प्रेममा पर्छन् र विवाह गर्ने प्रयास गर्छन् । दुवै गाउँका विरोधका उत्रिन्छन् । लोकहित पार्टी केन्द्रमा बहुमतको सरकार बनाउने पक्षमा हुन्छ । यसका लागि उपरी र बाहरी दुवैको भोट आवश्यक हुन्छ । भोटका लागि केन्द्रीय मन्त्री यी दुवैको विवाहको पक्षमा लाग्छिन् र विवाह अनि पानी दुवै समस्या समाधान हुन्छ । 

यसै साता नेपालमा पनि पानी, राजनीति र प्रेमको त्रिकोणात्मक कथा समेटिएको फिल्म रिजिल भयो, ‘छ माया छपक्कै’ । 

यसको कथासार यस्तो छः
फिल्मको कथा कञ्चनपुरको गोदावरी गाविसको घडेरी गाउँ र टोडेकेको हो । घडेरी गाउँमा कम्युनिस्टहरु बढी छन्, घडेरी गाउँमा लोकतान्त्रिक विचारधारा राख्नेहरु छन् ।

२०४५ सालको भूकम्पपछि घडेरी गाउँमा पानीको मुहान सुक्यो । टोड्केमा भने पानीको समस्या थिएन । गाउँका नेता बिपी (दीपकराज गिरी)‘कमरेड’लाई गाउँमा जसरी पनि पानी ल्याउनु छ । बिपीका बुबा (प्रकाश घिमिरे) पनि चुनाव जितेर गाउँमा पानी ल्याउन चाहन्छन् । छिमेकी गाउँ टोड्केमा दबदबा भएको लोकतान्त्रिक मत राख्ने नेता कुनै हालतमा पानी दिन चाहँदैनन् ।

लोकतान्त्रिक दलका नेताकी छोरी जल (केकी अधिकारी) बिपीको क्रान्तिकारी विचारबाट प्रभावित हुन्छिन् र पछि लाग्छिन् । बिपीभन्दा आधा उमेरकी जलको मायामा बिपी पनि पर्छन् र घडेरी गाउँको पानीको समस्या समाधानमा प्रेम नै सहयोगी हुन्छ । 

मौलिक नेपाली फिल्म बनाउने दाबी गर्ने दीपक–दीपाको समूहमा यसपालि ‘घामपानी’ अनि ‘गोपी’ जस्तो अग्र्यानिक फिल्म बनाएका निर्देशक दीपेन्द्र लामा समेत थपिएका थिए । कथा उनकै हो ।

यो समूहले ‘छ माया छपक्कै’ सिन्धुपाल्चोकको एक गाउँको सत्यकथामा आधारित भएको दाबी समेत ग¥यो तर ‘कौन कितने पानी में’ फिल्म हेर्दा फिल्म निर्माण समूहले गरेको दाबी कति पानीमा रहेछ प्रस्टै हुन्छ । 
कथाकारसमेत रहेका निर्देशक दीपेन्द्र र दीपक–दीपा टिमले यसपालि अग्र्यानिक फिल्मको भ्रम फैलाएर नेपाली दर्शकलाई झुक्याएको दुवै फिल्म हेर्नेहरु प्रस्टै हुन्छन् ।

यी दुवै फिल्मको प्रस्तुति केही भिन्नझैँ देखिए पनि फिल्मको सेन्ट्रल आइडिया एकै हो । 
‘कौन कितने पानी में’को प्रारम्भ न्यारेसनबाट शुरु हुन्छ, ‘छ माया छपक्कै’को प्रारम्भ पनि न्यारेसनबाटै शुरु भएको छ । ‘कौन कितने पानी में’मा जातलाई विभाजनको आधार बनाएको छ भने ‘छ माया छपक्कै’ले राजनीतिक वादलाई । उता उपरी गाउँको छोरा केटीको पछि लाग्छ यता छोरी । पानीको समस्या समाधानको उपाय, सामाजिक समस्यामाथि हुने राजनीतिको सार उस्तै छ ।

दुवै फिल्मको भिन्नता ‘कौन कितने पानी में’मा दर्शक हँसाउन तुक्का र अनुप्रास मिलेको डायलगको साटो सिक्वेन्स निर्माण गरिएको छ । ‘छ माया छपक्कै’मा दर्शक हँसाउन छन्द मिलेका डायलगको बोलबाला छ । 

‘कौन कितने पानी में’मा पनि पानीको समस्या, प्रेम र राजनीति गरी उपकथाहरु राखिएका छन् तर मूलकथाबाट बहकिएको छैन । ‘छ माया छपक्कै’मा पनि उपकथा टन्नै छन् । यसमा फिल्मको मूल कथाभन्दा उपकथातिर बढी फोकस हुँदा फिल्म अल्मलिएको छ । फिल्मको मुलकथा पानीको राजनीति मान्ने हो भने फिल्मको कथावस्तुसँग फिल्मको टाइटल ‘छ माया छपक्कै’ समेत सुहाउँदैन । 

यी दुवै फिल्म हेर्दा नक्कलै गरे पनि परिस्थिति निर्माण, चरित्र चित्रण, विषयको उठान र समाधान तथा उपकथाबाट मूलकथा प्रभावित हुन नदिन फिल्मी अक्कल चाहिने प्रस्ट हुन्छ । 

‘कौन कितने पानी में’लाई छाडेर ‘छक्कापञ्जा’ सिरिजसँग मात्र ‘छ माया छपक्कै’लाई दाँज्ने हो भने यो फिल्ममा दीपक–दीपा केही सुधारिएको देखिन्छ । तर यस अगाडि जातपातको विभेदमाथि बनेको ‘घामपानी अनि किसानको दुःखमाथि बनेको फिल्म ‘गोपी’को निर्देशन गरेका दीपेन्द्र ‘छ माया छपक्कै’मा विचलित देखिए । 
फिल्मको कमजोर प्रस्तुतिले मुख्य विषय नै छरियो फिल्ममा । फिल्म कहिले प्रेमतिर केन्द्रित हुन्छ, कहिले राजनीतितिर । यसले निर्देशक मूल विषयको प्रस्तुतिमा अल्मलिएको प्रस्टै देखियो ।

पानी माथिको राजनीति र प्रेमको कथातिर ढल्कँदा फिल्मको केन्द्रीय द्वन्द्व नै अलमलमा परेको छ । क्लाइमेक्स पनि खास छैन । पानीको अभावमा दुःख पाइरहेका गाउँलेको दृश्यले फिल्म हेर्ने दर्शकको मनमा करुणा उत्पन्न गर्न सक्दैन । न बिपी र जलको पर्दाको प्रेमले मन छुन सकेको छ । न सामाजिक समस्यालाई राजनीतिक हतियार बनाउने नेताप्रति आक्रोश नै जगाउन सक्छ । यसले स्क्रिप्टमा भएको कमजोरी छरपस्टै भयो हलमा ।

राजनीतिक समस्या प्रस्तुत गर्ने क्रममा निर्देशक कम्युनिस्टप्रति नकारात्मक देखिएका छन् । कम्युनिस्ट भनेका अस्थिर, मौका परस्त र चन्दा संकलन गरेर आम नागरिकलाई दुःख दिनेहरु हुन् भन्ने स्थापित गर्ने प्रयत्न गरेको छ फिल्मले ।

राजनीतिको निर्मम पाटो देखाउन निर्माण गरिएको गोली कान्छा (केदार घिमिरे)को गोली लागेको कथा दृश्यमा झर्कोलाग्दो छ । अभिनय सीपले गोली कान्छाले दर्शकलाई फिल्मको अन्त्यसम्म होल्ड भने गराइरहन्छ । 
प्रवीण (जितु नेपाल)को प्रेम नेपाली समाजमा सुनिरहेकै कथा हो । उनको कथाले होचो कद भएकाको प्रेमकथा कताकता भन्न खोजेको छ । फिल्मबाट उनको कथा हटाउने हो भने फिल्म अपुरो हुन्न । 

फिल्ममा एउटा दृश्य छ, पानीको लागि झाँक्रीले पूजा गरेको । उक्त दृश्य हुनु र नहुनुले मुख्य कथामा खास अर्थ राख्दैन । त्यस्तै बिपीले प्रेमकै खातिर पार्टी छाडेर अर्को पार्टीसँग मिल्न जाने दृश्य क्लिसे लाग्छ । 

दीपक क्षेत्रीको पात्रले वृद्धावस्थामा पनि सत्ताको लोभ गरेर चुनाव लड्ने पात्रलाई व्यंग्य गर्छ, जो कालको प्रतीक्षामा रहँदा पनि सत्ताकै लागि ¥याल चुहाइरहन्छन् । फिल्मले युवाहरुको हातमा अबको राजनीति हुनुपर्छ भन्ने सन्देश दिने प्रयास भने गरेको छ । 

यो फिल्मको सिनेमेटोग्राफी आँखालाई रिझाउने किसिमको छ । हरि हुमागाइँको सिनेमेटोग्राफिक कला फिल्ममा देख्न सकिन्छ । फिल्मको पाश्र्वध्वनि कथाअनुसार सुहाएको छ । ‘जुनको जुनेली’ पर्दामा मीठो सुनिन्छ ।

अभिनयको पाटोमा केकी अधिकारीले आफूलाई बलियो रुपमा प्रस्तुत गर्न सकेकी छन् । दीपक–दीपाका पुराना फिल्ममा उनीहरु नै हावी हुने गर्थे । ‘छक्कापञ्जा’कै कलाकारको भिडका माझ केकीले आफूलाई हराउन दिएकी छैनन् ।
फिल्ममा थोरै ठाउँ पाएकी सुपुष्पाको भट्टको अभिनय डेब्यु फिल्म ‘रणवीर’मा जस्तै छ । मित बाको भूमिकामा देखिएका शिशिर वाङ्देलले आफ्नो भूमिकालाई न्याय दिएका छन् । जीतु, केदार, अनुरागको अभिनयले पनि आफ्नो पात्रलाई न्याय दिन खोजेको छ । 

गम्भीर विषयको उठान र सरल रेखामा कथाको प्रस्तुति गर्न सिपालु देखिएका निर्देशक दीपेन्द्रका लागि व्यापारिक रुपमा यो सफल फिल्म त बन्न सक्ला तर सम्झनालायक फिल्मको सूचीमा भने पक्कै अटाउने छैन । 
भारतीय फिल्मको ‘सेन्ट्रल आइडिया’ टप्प टिपेर पात्र र परिवेश मात्र बदलेर दर्शकलाई झुक्याउन उनले गरेको प्रयासले भावि दिनमा पक्कै प्रश्न गरिरहने छ । 

दीपक–दीपाले आफू सुध्रिएको संकेत त दिए तर अझै सुध्रनुपर्ने धेरै पक्ष थाँति नै राखे ।
 

Leave A Comment