रियालिटी चेकः ओभर कन्फिडेन्टले डुबे प्रतियोगी

शुक्रबार, ०१ कार्तिक २०७६, १२ : ४४ शुक्रवार
रियालिटी चेकः ओभर कन्फिडेन्टले डुबे प्रतियोगी

यो हप्ता ‘भ्वाइस अफ नेपाल’को ब्याटल राउन्डको १७ औं र १८ औं एपिसोड सक्कियो। दुवै राउन्डबाट चारै जना कोचले २–२ जना प्रतियोगीलाई नकआउट राउन्डका लागि छनोट गरे भने आठ जना प्रतियोगीमध्ये सात जना बाहिरिए। एक जना प्रतियोगीलाई कोच आस्थाले स्टिल पावर प्रयोग गरेर जोगाइन्।

दुवै एपिसोडमा अभ्यासको क्रममा कन्फिडेन्ट देखिएका प्रतियोगीले गाउँदा बिगार्न पुग्दा बाहिरिनुप-यो। अभ्यासमा अलि कमजोर देखिएका प्रतियोगीले बरु स्टेजमा सुधारेर बाजी मारे।

एपिसोड १७ को प्रारम्भमा कोच राजुको टिमबाट सनीश श्रेष्ठ र शशिका सुनारबीच टक्कर परेको थियो। दुवैले ‘ए है मीठो तिम्रो’ बोलको गीत पाएका थिए। अभ्यासमा जनराभन्दा अलग गीत परेको भन्दै सनीश डराएका थिए भने शशिका आफ्नै जनराको भनेर मक्ख थिइन्। दुवैले मज्जाले गीत गाए तर कोच राजुको नजरमा सनीश परे।

स्टेजमै शशिकाको आँशु झ-यो। उनी राम्ररी बोल्न पनि सकेकी थिइनन्। प्रतियोगिताबाट बाहिरिने पक्कापक्की भइसकेको थियो, कोच आस्थाले स्टिल अधिकार प्रयोग गरेर उनलाई राजुको टिमबाट आफ्नो टिममा ल्याइन्।

कोच दीपले अंकित बस्नेत र सुनील लोहालालाई ब्याटलमा उतारे, ‘भन के छ बन्दोबस्त’ बोलको गीतमा। लोहाला क्लासिकल ब्याकग्राउन्डबाट आएका गायक थिए। तर स्टेजमा दुवैको प्रस्तुति चित्तबुझ्दो भएन। कोचले बिगारेकामध्ये कम बिगारेको आधारमा अंकितलाई छाने।

कोच आस्थाको टिममा रहेका भारतको आसामबाट आएका प्रतियोगी राजीव सोनार र नेपालका एजेश पौडेल ब्याटलमा उत्रिए। दुवैको भागमा ‘वीरताको चिनो’ बोलको गीत प-यो। ब्याटलमा एजेश पछारिए।

ब्लाइन्ड राउन्डमा कच्चा पारा देखाएर आलोचना खेपेकी कोच आस्थाले ब्याटलमा निकै राम्रो कोचिङ गरेको देखियो। कोच दीपले समेत उनको कोचिङको प्रशंसा गरे।

कोच प्रमोदको टिमबाट ब्याटलमा उत्रिएका प्रवेश खतिवडा र दार्जिलिङबाट आएकी विमोचना लोप्चनले ‘पारि वनको पखेरीमा सानु’ बोलको गीत गाएकी थिइन्। दार्जिलिङबाट आएकी विमोचनालाई शब्द उच्चारणमा निकै सकस भइरहेको थियो अभ्यासमा तर स्टेजमा उत्रँदा उनी  खरो देखिइन् र नकआउट राउन्डमा पुगिन्।

साजनको आँशुले काम गरेन
१८ औँ एपिसोडमा कोच प्रमोदको टिम साजन लामा र मधु लामा ब्याटलमा उत्रिए। दुवैलाई प्रमोदले आफैँले गाएको ‘हंगामा भो’ बोलको गीत दिएका थिए।

दुवैले राम्रो प्रस्तुति गरे। कोच प्रमोदलाई को छान्ने भन्नेमै समस्या भएपछि सबै कोचको अनुमतिमा दुवैलाई जोडीको रुपमा ब्याटलमा लैजाने प्रस्ताव गरियो। यसमा साजन राजी भए तर मधु मानेनन्। अन्त्यमा मधु नै छानिए। मधु छानिएर स्टिलमा पुगेका साजनलाई कुनै कोचले पनि नलिएपछि उनले आँशु थाप्न सकेनन् र मञ्चमै रोए। तर आँशुको प्रभावले उनलाई नकआउट राउन्डमा पु-याउन भने सकेन।

प्रमोदपछि कोच दीपको टिमबाट दुई प्रतियोगी शिवा गिरी र माओवादी सशस्त्र द्वन्द्वमा सहभागी भएर सांगीतिक यात्रा शुरु गरेकी निर्मला घिसिङ आपसमा भिडेका थिए। दुवैले ‘आज तिम्रो कुरा चल्यो’ बोलको गीत गाए। दुवै प्रतियोगीले कोचको चित्त बुझाउन भने सकेनन्। प्रस्तुतिको आधारमा निर्मलाले बाजी मारिन्।

कोच राजुको तर्फबाट अञ्जु राना र श्रृष्टि ब्याटलमा उत्रिए। दुवैले ‘ए नि लै लै’ बोलको गीत गाएका थिए। कोच राजुले दुवैमध्ये एक छान्न टाउकै दुखेको भन्दै अञ्जुलाई छाने।

कोच आस्थाबाट आरिफ राय र सुरज राज खत्री ब्याटलमा उत्रिएका थिए। सुरज प्लेब्याक सिङिङसमेत शुरु गरिसकेका गायक हुन्। कोच आस्था सुर पनि चाहियो, ताल पनि मिल्न प-यो भन्दै हप्काइरहेकी थिइन्। ‘समय पन्छी हो’ बोलको गीत गाएर ब्याटलमा उत्रँदा सुरज पछारिए।

Leave A Comment