महरा काण्ड र माटिल्डा इफेक्ट

शुक्रबार, ०१ कार्तिक २०७६, ०१ : ४६ अच्युत काेइराला
महरा काण्ड र माटिल्डा इफेक्ट

महिला पुरूष बराबर हुन् तर संसारका सबैजसो धर्म, रीति र संस्कृतिले भने यसलाई मान्दैन। मानिस पनि सोही धर्म, रीति र संस्कृतिको अंग भएकैले ऊ पनि महिला र पुरूष बराबर हो भन्ने मान्न असहज हुन्छ।

‘मेन आर फ्रम मार्स, विमेन आर फ्रम भेनस’ पुस्तकमा लेखक जोन ग्रेले त किन महिला पुरूष बराबर होइनन् भन्ने प्रमाणित नै गरिदिएका छन्। स्त्री र पुरूष उस्तै देखिने तर भिन्न सोच, उद्देश्य र ग्रहका प्राणी हुन् भन्ने उनको भनाइ छ।

यसका बाबजुद पनि हामी जब पशु अधिकारको कुरा गरिरहेको जमानामा छौँ भने महिला माथिको अत्याचारलाई गम्भीरतापूर्वक किन लिन सकिरहेका छैनौँ, अचम्म छ।

माटिल्डा इफेक्ट
विज्ञानतर्फ नोबेल पुरस्कार पाउने ९७ प्रतिशत पुरूष छन्। ती श्वेत नश्लका छन् र वृद्ध छन्। यसले सर्वसाधारणलाई लाग्छ, नोबेल जित्नका लागि श्वेत र वृद्ध हुनै पर्छ। धेरैलाई यो उचित पनि लाग्छ किनभने अधिकांशतः हाम्रो सोचाई पुरूषवादी नै हुन्छ र महिलाले नोबेल पुरस्कार जित्न सक्दैनन् भन्ने मत बलियो छ।

म्याथ्यु माटिल्डाले गरेको सो अध्ययनको निष्कर्षलाई नै ‘माटिल्डा इफेक्ट’ नामकरण गरिएको हो, जसले स्त्री जातिलाई जहिले पनि तिनको ‘औकात’भन्दा कम नै आँकिन्छ भन्ने प्रमाणित गरेको थियो। कुनै स्त्रीलाई पुरूषले सिफारिस गरेको छ भने हामीलाई त्यो स्त्री कामलाग्दी छैन भन्ने सोच्छौँ। क्षमता नभएकाले नै उसले सिफारिस बोकेर आइछ भन्ने सोच ‘माटिल्डा इफेक्ट’ हो।

कुनै महिलाले राम्रो लेखी भने ‘होइन होला’ भन्ने मात्र होइन, सम्पादकले मिलाइदिएका होलान् भन्नेहरूको कुनै कमी हुँदैन। यस्तो सोच नेपालमा मात्र होइन, संसारभर नै छ।

कुनै शोधग्रन्थ पुरूषले तयार पारेको छ भने त्यसको समीक्षा चाँडै हुन्छ र तुरून्त छापिन्छ पनि तर महिलाले तयार पारेकी छ भने पुरूषको भन्दा दोब्बर बढी समय लगाएर त्यसलाई समीक्षा गरिसकेपछि मात्र छापिन्छ। यसको मूल कारण चाहिँ उनीहरूले बढी गल्ती गर्ने सम्भावना हुन्छ भन्ने भावना नै हो।

सोही अध्ययनमा देखिएको अर्को कुरा थियो, पुरूषहरूलाई सम्बोधन गर्दा थरले बोलाइन्छ र महिलालाई उसको नामले। जबकि पश्चिमा समाजमा सम्मानका साथ बोलाउनका लागि थरले सम्बोधन गरिनु पर्छ। जसको जति बढी सम्मान छ, उसको थर उति सम्मानका साथ लिइन्छ। यो पश्चिमाको संस्कृति हो तर महिलाको हकमा यो लागू हुँदैन।
नेपालमा पनि त उखानै छ, ‘गरिबकी स्वास्नी, सबैकी भाउजू !’

माटिल्डा इफेक्ट र नेपाल
अब यही कुरा महिला हिंसाको कसीमा राखेर हेर्ने हो भने प्रस्ट हुन्छ, किन रोशनी शाहीले पूर्व सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गरेको बयानलाई पटक पटक फेरिरहिन्। जसै उनले महराविरूद्ध मिडियामा अन्तरवार्ता दिइन्, धेरैले होइन होला भन्ने धारणा राखे किनभने महराले त्यस्तो कामै गर्न नसक्ने, उनीजस्तो भद्रभलाद्मी पुरूष राजनीतिमा कमै हुने जस्ता तर्क सुनिए। कतिसम्म भने उनीविरूद्ध देशीविदेशी षडयन्त्रसम्म देख्नेहरूको कमी थिएन। भन्नुको तात्पर्य, एउटा महिला पीडित भइन् तर उनको कुरामा कमै मानिस गम्भीर भए।

यस किसिमको असंवेदनशीलता त त्यो बेला देखियो जब शुरूवाती बयान लिनसमेत प्रहरीले कुनै चासो देखाएन, माथिको आदेश कुरेर बसिरह्यो। यो हदको संवेदनाहीनताले देखाउँछ, महिला हिंसा कति सस्तो छ।
त्यसै पनि नेपाल र नेपालजस्ता अल्पविकसित मुलुकमा महिला हिंसाको कुरा गरिसाध्य छैन।

‘इकोनोमिस्ट’ पत्रिकाको पछिल्लो अंकको एक रिपोर्टमा भारतमै पनि गएको वर्ष ४८ जना सांसदहरू महिलाविरूद्धको हिंसाको मामिलामा मुछिएका वा आरोपित रहेको छापिएको छ। जबकि उनीहरु नै संसद्मा महिलाका लागि कानुन बनाइरहेका हुन्छन्।

भारतमा मात्र किन पूरै एसिया र प्रशान्त क्षेत्रमा गरिएको एउटा अध्ययनले प्रत्येक तीनमध्ये दुई जना महिलाले जीवनमा कुनै न कुनै बेला हिंसा बेहोरेको पाइएको छ।

हालै मात्र इन्डोनेसियामा एक जना महिलाले आफूसँग यौनका कुरा गर्न रूचाउने शिक्षकसँगको फोन रेकर्डिङ सुरक्षित गरे पनि उल्टै उनीमाथि मुद्दा चलाइएको थियो। पछि राष्ट्रपतिले उनलाई माफी दिनुप-यो। पीडित भइकन आफैँ दोषी प्रमाणित हुने जुग एक्काइसौँ शताब्दीमा अझै पनि छ।

केही समयअघि कोरियामा ‘गोप्य क्यामेरा काण्ड’ले ठूलै हलचल मच्चाएको थियो। जसमा सार्वजनिक शौचालयमा गोप्य रूपमा स्त्रीहरूको गतिविधि खिचिन्थ्यो र त्यसलाई रेकर्ड गरी अनलाइन पोस्ट गर्ने गरिन्थ्यो। जसमध्ये एउटा भिडियोका कारण एक नर्सले त्यहाँ आत्महत्या गरिन्, जसमा उनले आफ्नो गोप्य अंगको रौँ सफा गरिएको भिडियो रातारात विश्वचर्चित बन्न पुग्यो।
उनको आत्महत्याले मात्र प्रशासन गम्भीर हुन बाध्य पारेको थियो।

यसरी समग्रमा महिला हिंसा जुन स्तरको र जस्तो छ, त्यस स्तरको संवेदना र सक्रियता कतै पनि देखिँदैन किनभने नारी अनुकूलको सोच, सक्रियता र संवेदनशीलता छैन।

अब त झन्, संसारमा मौलाउँदै गएको नयाँ किसिमको प्रविधिले यसलाई अझ बढी गाढा बनाउने र सर्वसाधारण मात्र होइन, चर्चित महिलाहरू अझ बढी पीडित हुने दिन नजिकिदैछ। र, त्यसको कारक हो– डिप फेक भिजुअल (सघन झूट दृश्य)।

सघन झूटको जमाना
गएको शुक्रबार हलिउडमा एउटा फिल्म रिलिज भयो र तुरुन्तै फ्लप पनि। ‘जेमिनी म्यान’ नामक सो फिल्मको चर्चा यतिबेला अर्कै कारणले भइरहेको छ, फिल्म राम्रो भएकाले होइन बरु निर्देशक आङ ली र अभिनेता विल स्मिथको अद्भूत भिजुअल इफेक्ट प्रयोगका कारण।

फिल्मको कथा छ, हेनरी ब्रोगन (विल स्मिथ) ५१ वर्षे सरकारी हत्यारा हुन्। उनको काम गोप्य कार्बाहीमा जानु र देशका खतरा रहेका व्यक्तिलाई रहस्यात्मक हत्या गर्नु हो। जब यस्तो कामबाट हेनरी अवकाश लिन खोज्छन्, उनको हत्या प्रयास हुन्छ। हत्या प्रयास गर्ने व्यक्ति अरू कोही होइन, उनकै प्रतिलिपि हुन्छ।

यो एउटा साइन्स फिक्सन हो। जसको कथामा हेनरीको रगतबाट २० वर्षअघि नै क्लोनिङमार्फत् सन्तानहरू (नयाँ हेनरी) जन्माइन्छन्। हेनरीको नयाँ प्रतिलिपि ‘जुनियर’ आफ्नै वृद्ध प्रतिलिपिलाई मार्न कटिबद्ध छ।

फिल्मको कथा घिसापिटा भए पनि वृद्ध विल स्मिथ र किशोर विल स्मिथलाई जसरी एक साथ विश्वसनीय तरिकाले देखाइएको छ, त्यसले एउटा नयाँ प्रविधि भविष्यमा स्थापित हुने देखिदैछ। ‘डिप फेक भिजुअल’ नामकरण गरिएको यस्तो भिडियोमा कुनै अर्को व्यक्तिलाई गम्भीर किसिमको अपराधमा फँसाउन कुनै आइतबार कुर्नुपर्ने छैन अब।

यो भिजुअललाई अब रोशनी शाहीको केसलाई जोडेर हेरौँ। मानौँ, उनी पीडित हुन्, उनले कुनै गम्भीर कुराको खुलासा गरिन्, यसले ‘ठूला’हरूलाई गम्भीर असर पार्ने रहेछ भने उनीविरूद्ध ‘डिप फेक भिजुअल’ निर्माण गरेर उल्टै फँसाइन सक्ने सम्भावना अब टाढा छैन।

त्यसै पनि आफूमाथि बलात्कार भएको बताउँदा उनले जे जति सास्ती यत्तिका दिन भोग्नु प-यो र उनको बयान बदल्न यसबीचमा जे जस्ता प्रयासहरू भए, उनलाई उल्टै फँसाउन अबका दिनमा ‘डिप फेक भिजुअल’ले अझ बढी सहज बनाइदिएको छ। यही कुरा महरा उच्च पदस्थ व्यक्तिलाई फँसाउन पनि ‘डिप फेक भिजुअल’को दुरुपयोग बढेर जानेछ। चुनावका क्रममा त यो ज्यादै घिनलाग्दो देखिनेछ।

‘डिप फेक भिजुअल’ पछिल्लो समय अमेरिकी अश्लील चलचित्र उद्योगले प्रयोग गर्दै आइरहेको छ र छोटा भिजुअलमा यसको प्रयोग निकै लोकप्रिय हुन थालेको छ।

अहिले नै यसको व्यापक प्रयोग भने भइसकेको छैन किनभने यो निकै महँगो प्रविधि पनि हो। २० वर्षअघि ‘जेमिनी म्यान’ बनाउने तयारी गरेका आङ लीले प्रविधिको महँगाईकै कारण २० वर्षपछि यो फिल्म बनाउन बाध्य भए। अबको २० वर्षपछि डिप फेक भिडियो यति सस्तो हुन्छ कि सर्वसाधारणले पनि आफू जवान हुँदा वा वृद्ध हुँदाका बखत कस्तो थिएँ भन्ने भिडियो तयार पार्न सक्छ। या आफूले नगरेका असम्भव कार्यहरु डिप फेक भिजुअलमार्फत् गर्न सक्नेछ। उदाहरणका लागि पछिल्लो समय सामाजिक सञ्जालमा निकै लोकप्रिय भएको ‘फेस एप’ नै काफी छ, जसले विश्वसनीय तरिकाले मानिसलाई जवान र बूढो बनाइदिएको थियो। जसमा तपाईं–हामी सबै रमाएका थियौँ।

डिप फेकलाई अझ बढी विश्वसनीय र चिन्नै कठिन हुने बनाउन केही वर्षभित्रै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘बिग डेटा’ दुवै तयार भइसक्ने छन्। यसपछि अपराध अर्को तहमा उक्लने छ, सर्वसाधारणहरू हैरान हुनेछन्। फाइदा भने पहुँचवाला, शक्तिशाली र ठूलाठालुले नै लिनेछन्।

यस्तो अवस्थामा सबैभन्दा पीडित कमजोर, गरिब, महिला र बालबालिका नै हुनेछन्। तिनका लागि कोही माईबाप रहने छैनन्। रोशनी शाहीहरू गुपचुप, कुण्ठित र मानसिक उपचारको औषधि खाएरै बस्नु पर्नेछ या कोरियाली नर्सले जस्तो आत्महत्याको बाटो रोज्नु पर्नेछ।

नेपालको भविष्य यही हो र यही हुनेछ किनभने हामीकहाँ कमजोर, गरिब, महिला र बालबाालिका अनुकूलको सरकार, प्रशासन र पुरुष तथा संवेदनशीलता छैन।

Leave A Comment