तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन २ गते ‘जनयुद्ध’का नाममा सशस्त्र द्वन्द्व सुरु ग-यो। द्वन्द्व सुरु गर्नुअघि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले धर्म निरपेक्षता, संविधानसभाबाट संविधान निर्माण, जनवादी गणतन्त्र लगायतका ४० सूत्रीय माग राखेको थियो।
अल्टिमेटम दिएको समय पूरा नहुँदै माओवादीले त्यही आधारमा टेकेर सशस्त्र अभियान शुरु गरेको थियो। सर्वहारामुक्ति र गणतन्त्र स्थापनाको अजेन्डा लिएर १० वर्ष चलेको द्वन्द्वमा परेर १७ हजार नेपालीको ज्यान गयो। लाखौँ विस्थापित भए। कयौँ बेपत्ता पारिए, कयौँका अंगभंग भए। राज्य र विद्रोही दुवै पक्षबाट दर्जनौँ गैर न्यायिक हत्या भयो।
सशस्त्र द्वन्द्वको उपलब्धि देश राजतन्त्रमुक्त भयो र गणतन्त्रमा प्रवेश ग-यो। राज्यको शासकीय स्वरुप बद्लिएर एकात्मकबाट संघीय प्रणालीमा गयो। जन्मको आधारमा शासन गर्ने प्रणालीको अन्त्य हुँदै जनताका छोराछोरी राष्ट्र प्रमुख हुन सके।
०६२–०६३ को लोकतान्त्रिक आन्दोलनको बलमा विद्रोही पक्ष शान्तिपूर्ण राजनीतिमा आए। मुख्य शक्ति शान्तिपूर्ण राजनीतिमा आएसँगै त्योसँगै मिसिएका पत्रकार, कलाकार पनि भूमिगत जीवनशैलीमा मुक्त भएर सार्वजनिक जीवनयापनमा आए।
द्वन्द्वको समापनसँगै विद्रोहमा विभिन्न भूमिकामा खटिएकाहरुका अनुभव पुस्तकको आधारमा बजारमा आउन थाल्यो। नेता, कलाकार, पत्रकार सबैले आ–आफ्ना अनुभवलाई पुस्तकमार्फत बाँड्ने जमर्को गरे। द्वन्द्व साहित्यको उपस्थिति बजारमा ह्वात्तै बढ्यो।
बीचमा केही समय यसले विश्राम पाए पनि रोकिएन। अहिले १० वर्षे सशस्त्र द्वन्द्वमा होमिएकी पत्रकार संगीता खड्काले ‘युद्धका ती दिन’ नामक पुस्तक प्रकाशित गरिन्।
लेखिकाले तत्कालीन माओवादीको निकट ‘जनादेश’ पत्रिकामा लुकीलुकी रिपोर्टिङ गर्दाको अनुभव, गिरफ्तार, सेना र प्रहरी हिरासतमा बिताएका संघर्षमय दिन, यातना दिइँदाका कहालीलाग्दा क्षण, माओवादीले चलाएको जनगणतन्त्र रेडियोमा काम गर्दाको अवस्था र अनुभव, प्रत्यक्ष युद्धमा सहभागी हुँदाको अवस्थालाई पस्केकी छिन् पुस्तकमा।
द्वन्द्वकालका घटनाबारे एकपक्षिय रुपमा लेखिएका पुस्तकको संख्या टन्नै छ। उनले तथ्य तथ्यांक खोजेर तटस्थ भूमिकामा बसेर अनुभव र तथ्यको मिश्रणका आधारमा पुस्तक लेख्न सक्थिन्, जुन नयाँ पनि हुनसक्थ्यो। तर लेखिकालाई त्यतातिर लाग्ने जोश नचलेको देखियो।
सङ्कटकाल, जेलजीवन, भूमिगत रेडियो र गण्डक यात्रा गरी ४ अध्यायमा पुस्तक लेखिएको पुस्तकको पहिलो अध्यायमा ‘सङ्कटकाल’को ‘सङ्कटकाल पछिका दिन’ उपशीर्षकमा लेखिएको छ ‘...प्रहरीले माओवादी आन्दोलनलाई नियन्त्रण गर्ने नाममा ज्यादतिको कुनै शृङ्खला बाँकी राखेको थिएन।... अनि पहिलो अध्यायमा रहेको ‘राज्यले अपनाएको गोयल्बस शैली’ उपशीर्षकमा सुरुवातमै लेखिएको छ, ‘वार्ता र छलफलबाट होइन, दमनबाटै माओवादी विद्रोहबाट सिध्याउन राज्यले सङ्कटकाल घोषणा गरेको थियो।’
पुस्तकको पृष्ठभूमि माओवादी सशस्त्र विद्रोहको भए पनि पुस्तकको यो अंशले अहिलेको अवस्था समेत देखाएको छ।
२०५८ बाट शुरु हुने पुस्तक २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा आएर टुंगिएको छ। पुस्तक माओवादीको नाममा शुरु भएको सशस्त्र द्वन्द्व रोकिएको १४ वर्षपछि प्रकाशित भएको छ। जुन समयमा संगीताले पुस्तक लेखेकी छन्, अहिले त्यो पार्टीको अस्तित्व नै छैन। विरासत मात्र छ।
हिजो सँगै द्वन्द्वमा होमिएका दुई शक्ति अहिले भिन्नभिन्न भूमिकामा छन्। एक पक्ष सत्तामा छन्, अर्को पक्ष अझै विद्रोहको तयारीमा भूमिगत छ। प्रचण्डसँगै युद्ध लडेका नेत्र विक्रम चन्द विप्लव तत्कालीन माओवादीबाट चोइटिएर ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन गरी जनवादी गणतन्त्रको माग राख्दै उस्तै शैलीको सशस्त्र विद्रोह चर्काउन सक्रिय छन्। हिजोका दिनमा सरकारले माओवादीलाई गरेको व्यवहारझैँ वर्तमान सरकारले पनि विप्लव नेतृत्वको दललाई प्रतिबन्ध लगाएको छ र दैनिक नेता कार्यकर्ता पक्राउ परिरहेका छन्। विप्लवका कार्यकर्ता भोजपुरका तीर्थराज घिमिरे र सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी इन्काउन्टरमा मारिइसके।
पुस्तकका सामग्री द्वन्द्वकालमा राज्यपक्षको खेदो खन्न लेखिने स्तरकै एकपक्षीय देखिन्छ। द्वन्द्वकालमा छापामार पत्रकारिता गरे पनि लेखिका अहिले सक्रिय पत्रकारितामा छिन् र सञ्चारमाध्यम र सञ्चारकर्मीको गतिविधि नियमन गर्ने निकाय नेपाल प्रेस काउन्सिल नेपालको सदस्य पनि।
द्वन्द्वको समापनसँगै पुस्तक आएको भए भिन्न दृष्टिकोण हुनसक्थ्यो तर लेखिका काउन्सिल सदस्य नै भएको अवस्थामा पूर्ण माओवादी लडाकुको भूमिकामा रहेर पुस्तक लेख्दा त्यत्ति सुहाउँदो देखिएन। १३ वर्षपछि लेखिएको पुस्तकमा द्वन्द्व कालमा सुनिएका घटनाबारे विस्तृत खोज गरी त्यो बेला भएको चैँ के थियो भन्ने खुट्याएर लेख्न सकिन्थ्यो।
द्वन्द्वकालका घटनाबारे एकपक्षिय रुपमा लेखिएका पुस्तकको संख्या टन्नै छ। उनले तथ्य तथ्यांक खोजेर तटस्थ भूमिकामा बसेर अनुभव र तथ्यको मिश्रणका आधारमा पुस्तक लेख्न सक्थिन्, जुन नयाँ पनि हुनसक्थ्यो। तर लेखिकालाई त्यतातिर लाग्ने जोश नचलेको देखियो। घटनाको पुस्ट्याइँभन्दा द्वन्द्वकालको चिन्तनमै केन्द्रित भएर लेखिका रमाएको देखियो।
पुस्तकका शब्दहरु सुरक्षा निकायप्रति निकै छुद्र देखिन्छन्। एक पक्षीय आरोपको भण्डार भेटिन्छ पुस्तकमा। हिजो सुरक्षा निकाय चलाउने अर्का व्यक्ति थिए, आज संगीता होमिएको विद्रोहको नेतृत्व नै गरेका रामबहादुर थापा बादल गृह मन्त्रालयको नेतृत्वमा छन्। त्यो बेला उनले भोगेको सुरक्षाकर्मीको व्यवहार र अहिले विप्लव समूहमा लागेका हिजोका उनकै पूर्व सहकर्मीले भोगिरहेका व्यवहारमा कुनै भिन्नता छ र ?
राज्यका अंगमा रहेकाले सरकारले जे निर्देशन दिने हो, जस्तो आदेश दिने हुन्, गर्ने व्यवहार उस्तै हो भने शान्तिकालको १३ वर्षमा पनि लेखिकाले अनुभव गरेको छनक पुस्तकमा भेटिन्न। लेखिकाले प्रतिरक्षामा यो द्वन्द्वकालको अनुभव मात्र हो भन्न पनि सक्छिन्। तर उनले पुस्तक प्रकाशित गरेको मितिले उनलाई त्यो भनेर जोगिने सुविधा देखिन्न।
पुस्तकको पृष्ठभूमि मात्रै हैन, प्रयोग गरिएका शब्दहरु पनि झर्रो द्वन्द्वकालीन छ। सशस्त्र विद्रोहमा सहभागीहरुको त कुरै छाडौं नेतृत्व गरेका पुष्पकमल दाहालले समेत त्यस्ता झर्रा शब्दहरु प्रयोग गर्न छाडिसकेको अवस्थामा आएको पुस्तक सुहाउँदो देखिएन।
पुस्तक पढ्दा उनी आस्था र विचारका आधारमा राज्यको दमनमा परेर भूमिगत हुँदै पत्रकारितामा मात्र संलग्न पत्रकार भन्दा हतियार बोकेर द्वन्द्वमै होमिएको लडाकुको भाव बढी भेटिन्छ। द्वन्द्वकालको रिपोर्टिङमा प्रत्यक्ष सहभागी पत्रकारभन्दा कोरा लडाकुको भूमिकामा पुस्तक लेखिनु नै यो पुस्तकको सबैभन्दा कमजोर पक्ष हो।
पात्र फरक भए पनि उनको जस्तै भोगाई भएका द्वन्द्वकालीन पत्रकारितामा संलग्न अन्य पत्रकारको पुस्तक प्रकाशित भइसकेका छन्। ती पुस्तक पढ्नेले उनको यो पुस्तकबाट थप जानकारी पाउन सक्दैनन्। ‘ए संगीता पनि सहभागी रैछिन्’ भन्ने मात्र ज्ञान दिन्छ पुस्तकले।
सबै नागरिक सशस्त्र द्वन्द्वको विपक्षमा थिएनन् र पक्षमा पनि थिएनन्। माओवादी लडाकु आउँदा मुक्तिदाता आएझैँ रमाएर सहयोग गर्नेहरुसँगै ज्यानको मायाले जबर्जस्ती माओवादीले भनेको मान्न बाध्य भएकाहरु पनि उत्तिकै थिए। तर पुस्तकमा सबैलाई खुसी भएर सहजै बस्न–खान दिन्थे, जनताको साथ थियो, सरकार थिएन जस्ता ‘क्लिसे’ कुराले भरिएको छ पुस्तक।
जनता द्वन्द्वको साथमा थिए भन्ने पुष्टिका लागि पुस्तकमा धेरै मिहिनेत गरेकी छन्। त्यो पूरै एकपक्षीय छ। त्यो बेलामा राजीखुसीसँगै बाध्यताले चन्दा दिन बाध्यहरुको संख्या पनि उत्तिकै थिए। एक घर एक लडाकु भन्दै जबर्जस्ती बन्दुक बोकाइएहरुका कथा बजारभरि छरपस्टै छ। उनीजस्तै माओवादी विद्रोहमा बन्दुकै बोकेर लागेका लेनिन विष्टका कथाले नै उनको दाबीको तौल देखाइदिन्छ।
अध्याय दुईमा जेल जीवन शीर्षकमा हिरासतमा पाएको चरम यातनाबारे विस्तारमा लेखिएको छ। यो अध्याय पाठकको ध्यान तान्न सफल देखिन्छ। केही केही ठाउँमा पढ्दा पढ्दै मन कटक्क खान्छ पनि।
पिटाइ खाएर नीलडाम भएका शरीरको व्याख्यानले प्रहरीको व्यवहारप्रति पाठकलाई आक्रोशित बनाउँछ। पुस्तकमा एक जना प्रहरीले बोली उद्धृत गर्दै लेखिएको छ, ‘तिमीहरु कस्ता पत्रकार हौ ? एउटा छापामारले एक जनालाई मार्छ। तिमीहरु त शब्दमार्फत धेरैलाई प्रभावित तुल्याउँछौँ। बन्दुक बोक्ने भन्दा कलम बोक्नेहरु खतरनाक हुन्छन्।’ यसले सत्तामा रहेकाहरुको कलम प्रतिको दृष्टिकोण प्रस्ट बनाउँछ।
अध्याय दुईमा नै पत्रकार एवं कवि कृष्णसेन इच्छुकलाई चरम यातना दिएको कुरा उल्लेख छ। उनलाई कहाँ राखियो ? कस्तो यातना दिइयो ? को–को संलग्न थिए ? जस्ता तथ्य उल्लेख गर्न सकेकी छैनन् लेखिकाले। पुस्तकमा एक दिन सँगै हिरासतमा परेको र यातना दिँदा आएको आवाजले कृष्ण सेन इच्छुकलाई चिनेको उल्लेख गरेकी छन्।
लेखिका र इच्छुक एकै दिन पक्राउ परेका थिए। सेनले बोलाएर ‘संगीता तिमी पनि यहीँ छौं ?’ भनेर भनेको सोधेको भनी लेखेकी छन्।
कृष्ण सेनको पक्राउलाई राज्यपक्षले गोप्य राखेको थियो नै, हिरासतमा यातना दिएर मृत्यु हुँदासमेत घटना गोप्य राखिएको थियो। एकै हिरासतमा परेको, हिरासतमुक्त भएको मात्र नभई १३ वर्ष शान्तिपूर्ण वातावरण बिताइसकेकी उनले इच्छुकका विषयमा विस्तृत बुझेर घटनाको गहिराई पस्कन सक्छिन् तर उनले माओवादी द्वन्द्वबारे लेखिएका अन्य पुस्तकमा इच्छुकबारे आएका सामग्री भन्दा थप उल्लेख्य सामग्री लेख्न सकिनन्।
तेस्रो अध्यायमा तत्कालीन माओवादीले चलाएको रेडियो जनगणतन्त्रबारे उल्लेख छ। रेडियोमा समाचार बजाउन काभ्रेको थामडाँडामा पुगेको यात्रालाई उनले रोमाञ्चित तरिकाले उल्लेख गरेकी छन्। अन्तिम अध्याय ‘गण्डक यात्रा’मा सेना र माओवादीको भिडन्त र २०६२/०६३ को जनआन्दोलनबारे उल्लेख छ।
द्वन्द्वकालमा माओवादीले सञ्चारमाध्यमलाई कसरी विद्रोहको सहयोगीका रुपमा प्रयोग गरेको थियो भन्ने जानकारी यो पुस्तकबाट पाउन सकिन्छ। सरकारले विद्रोहीलाई कसरी दबाउँथ्यो ? सत्ताविरुद्ध लागेकाहरु कसरी काम गर्थे ? भन्ने केही प्रश्नको उत्तर यसमा हामीले समेटिएको पाउँछौँ।
पुस्तक माओवादी युद्धमा भएका केही घटनाक्रम बुझ्नलाई उपयोगी छ तर सशस्त्र विद्रोहको औचित्य र त्यसका नायकहरु १३ वर्षको यो दौरानमा जसरी उद्देश्यबाट च्यूत भएर जनमुक्तिको साटो भोगविलासमा मग्न भएका छन्, त्यो यथार्थले हिजोको सशस्त्र विद्रोह ताकाका जोखिम पनि फिक्का बनाइसकेको छ।
लेखिका पूर्ण माओवादी क्याडर मात्र नबनी हिजोको विद्रोहको अनुभव र १३ वर्षका बीचमा आएका परिवर्तनमा समेत प्रवेश गरेको भए पुस्तक केही खँदिलो हुन सक्थ्यो। तथ्यतथ्यांकको खोजी र विश्लेषणलाई स्थान दिएको भए पुस्तक संग्रहणीय हुनसक्थ्यो। तर कट्टर माओवादी लडाकु मात्र बनेर पुस्तक लेख्दा संगीताले द्वन्द्वकालीन पुस्तकको संख्या मात्र थपिन्।
Leave A Comment