‘ठूलो रूखले छायामात्रै होइन, ओत पनि दिन्छ’

बुधबार, २६ साउन २०७३, १० : ५५ डिबी खड्का , Kathmandu
‘ठूलो रूखले छायामात्रै होइन, ओत पनि दिन्छ’

सत्यराज आचार्यले गायकका रूपमा बलियो पहिचान बनाइसकेका छन् । तर, उनको नाम लिँदा भाइ स्वरूपराज आचार्यको नाम पनि जोडिन्छ । दुवै भाइसँगै उनीहरूका पिता भजनशिरोमणि भक्तराज आचार्य जोडिन्छन् । बाउको बिँडो थाम्दै गायन क्षेत्रलाई करिअर बनाइरहेका सत्य–स्वरूपले प्रायः एल्बम एकसाथ बजारमा ल्याए । भर्खर मात्रै सत्यराजले बजारमा ल्याएको ‘मधुशाला’मा भने स्वरूप छैनन् । सत्यराजको एकल शब्द, संगीत र स्वर रहेका छ आठवटै गीतमा । सत्यराजसँग डिबी खड्काले गरेको अन्तरंग कुराकानीः

नयाँ एल्बम एक्लै ल्याउनुभयो । ‘सत्य–स्वरूप बीचको सम्बन्धमा दरार आएछ’ भन्ने हल्ला चलेको छ नि !
हामी दुई भाइलाई सबैले एकअर्काका परिपूरकका रूपमा हेरिरहेका हुन्छन् । सत्य–स्वरूप एकीकृत रूपमा देख्न र सुन्न चाहन्छन् धेरैले । कहीँ म एक्लै गएँ भने सन्चो बिसन्चोभन्दा पहिले ‘स्वरूप खोई ?’ भनेर सोधिन्छ । स्वरूप एक्लै जाँदा मेराबारे सोधिन्छ । हामीले अहिलेसम्म जे ग¥यौँ, एकसाथ ग¥यौँ । दुवै सँगै देखिने गरी ग¥यौँ । यस पटकको मेरो एल्बम ‘मधुशाला’मा स्वरूप छाया भइदियो, म मात्रै देखिएँ । आठै गजल लेखेपछि पहिलोपल्ट उसैलाई पढाएँ, उसले सुझाव दियो । कम्पोज पनि उसैलाई सुनाएँ, सुधार्न सघायो । सबै गजल आफैँले लेखेँ, आफैँले कम्पोज गरेँ र आफैँले गाएँ । गर्दै जाँदा एउटै सर्जकको रचनामा गजलको एल्बम नै निस्केको रहेनछ । त्यो एउटा रेकर्ड बनोस् भनेर पनि मैले एकल एल्बम निकालेँ । यसअघि नै स्वरूपको एकल स्वर र उत्तम भौकाजीको रचनामा ‘मनमोहिनी’ पनि बजारमा आइसकेको छ ।

दाजुभाइबीच आन्तरिक प्रतिस्पर्धा त हुँदो हो ?
प्रतिस्पर्धा त हुन्छ तर स्वस्थ हुन्छ । आफूले गरेको राम्रो सबैलाई लागिहाल्छ । प्रतिस्पर्धा गर्छाैं तर एकले अर्कालाई उछिन्न होइन, एकले अर्कालाई बलियो बनाउन । हामी दुइटैले विवाह गरिसक्यौँ, दुइटैका एक–एक सन्तान छन् । तर, अहिलेसम्म हामी एउटै चुल्होमा खाना खान्छौँ । हामीले जे जति कमाउँछौँ, आमालाई राख्न दिन्छौँ । एउटा उखान छ– शत्रु कस्तो हुन्छ भनेर भाइको मुख हेर्नु । तर, हामी यो उखानलाई गलत साबित गर्न चाहन्छौँ र गरिरहेका छौँ ।
दाजुभाइमध्ये बुबाको स्वर बढी स्वरूपजीले र अनुहार बढी तपाईंले ल्याउनुभयो भनिन्छ । तपाईंलाई के लाग्छ ?
बुबासँग मेरो अनुहार बढी मिल्छ, आमा (सुशीला आचार्य)सँग बानी व्यवहार ।  स्वरूपको भन्दा बढी मेरो अनुहार मिल्ने भएकैले बुबाको जीवनीमा आधारित फिल्म ‘आचार्य’मा मैले अभिनय गरेँ । साथीभाइसँग ख्यालठट्टा गर्ने, क्यारिकेचर गर्ने लगायतको बानी चाहिँ आमाका हुन् । उहाँ जतिबेला पनि ठट्टा गरिराख्नुहुन्छ र अरूको बोल्ने, हिँड्ने शैली दुरुस्तै उतार्नुहुन्छ ।
तपाईंको ‘सेन्स अफ ह्युमर’ र क्यारिकेचरको खूब प्रशंसा हुन्छ तर तपाईं यसको उपयोग किन गर्नुहुन्न ?
कतिपय अवस्थामा बाल्यकालका दुःखलाई प्रस्तुत गर्दा धेरैले रमाइलो ठान्छन् । किनभने, बाल्यकालमा पैसा नहुँदा लुकेर कसरी फिल्म हेरियो ? अन्य आवश्यकताका लागि ग्याङ बनाएर कसरी चोरियो ? कसरी कुटाइ खाइयो ? भन्ने कुरा अहिले रमाइलोका खुराक बन्छन् । कहिलेकाहीँ सोच्छु कमेडी भनेकै अरूको दुःखमा हाँस्नु हो कि ? मिस्टर बिनको प्रसंग उप्काउँ, उसले हँसाउनका लागि ढोकामा ठोक्किनुपर्छ र कहिले लड्नुपर्छ । हामी यही कुरामा हाँस्छौँ । त्यसै गरी कसैलाई घोचपेच गरी पीडा दिनुपर्छ अरू हाँस्छन् । मेरो रमाइलो गर्ने बानी देखेर कमेडियन साथीभाइहरू सँगै कार्यक्रममा जाँदा कहिलेकाहीँ ठट्टा गर्नुहुन्छ– तपाईं आफ्नो काम मात्रै गर्नुहोला । हाम्रो रोजीरोटी नखोस्नुहोला । म केहीबेरको संगतमै उसको आनीबानी र बोलीको क्यारिकेचर दुरुस्तै गर्न सक्छु । स्टेजमा दुइटा सिरियस गीत गाएँ भने बीचमा केही ठट्टा र क्यारिकेचर पनि गर्छु ।   यो क्षमतालाई आउने फिल्म ‘हैरान’मा पनि उपयोग गर्ने तयारी गरिरहेको छु ।
क्यारिकेचर क–कसको गर्नुहुन्छ ?
नेताहरू त सबैको भइहाल्यो । त्यो अरू पनि गर्छन् । म गायकहरूको पनि गर्न सक्छु ।
‘आचार्य’मा तपाईंको अभिनयको प्रशंसा भएको थियो । त्यसपछि तपाईं फिल्मतिर पनि व्यस्त हुने आकलन गरिएको थियो तर त्यस्तो गर्नुभएन, किन ?
त्यसपछि मलाई अभिनयको अफर आएको हो । कति स्क्रिप्ट चित्त नबुझेर गरिनँ । मलाई मन परेर स्क्रिप्ट ल्याए पनि कहिले स्वरूपलाई चित्त बुझ्दैनथ्यो र गर्दिनथेँ । खासमा स्वरूप र अनीता (सत्यकी जीवनसंगिनी) लाई फिल्मबारे ज्ञान छ । उनीहरूले नै मसला फिल्म पनि गर्नुपर्छ भनेपछि फिल्म ‘हैरान’मा साइन गरेको हुँ । यसमा अर्काे महŒवपूर्ण कारण सबभन्दा सानो उमेरमा फिल्म निर्देशन गरेर गिनिज बुक अफ वल्र्डमा रेकड्र्स राखेका सौगात विष्टले निर्देशन गर्दैछन् । मैले अभियन गरे पनि मेरो मुख्य क्षेत्र संगीत नै हो । त्यसैले पनि फिल्ममा त्यति जोड दिइनँ ।
तपाईंहरू आफ्नै क्षमताका कारण पनि लोकप्रिय हुनुहुन्छ । तपाईंको बुबा भक्तराज आचार्य झन् धेरै लोकप्रिय हुनुहुन्छ । कहिलेकाहीँ ठूलो रूखको छायामा परियो जस्तो लाग्दैन ?
धेरैलाई ठूलो रूखमुनि छाया मात्रै पर्छ जस्तो लाग्छ । तर, त्यसले चर्काे घाममा शीतल र ठूलो पानीमा ओत दिइरहेको हुन्छ । हामीलाई ठूलो रूखले ओत दिएकै कारण अनेक घामपानीबाट जोगिन सक्यौँ र आज यो अवस्था आइपुग्यौँ । त्यसैले हिउँदको न्यानो घाममा छाया प¥यो भनेर मात्रै सोच्नु हुँदैन, बर्खाको चर्काे घामझरी र हिउँदको शीतबाट त्यही ठूलो रूखले जोगाएको हुन्छ । हामी कहिल्यै त्यसरी सोच्न सक्दैनौँ । एकपल्ट अमेरिकाको एक कार्यक्रममा आयोजकले  ‘तपार्ईंका नामअघि के विशेषण दिउँ’ भनेर सोधे । ‘सुपरस्टार’, ‘चर्चित’, ‘लोकप्रिय’ यस्तै के–के राख्न भन्लान् जस्तो लागेको रहेछ । मैले भक्तराज आचार्यका छोरा भनेर लेखिदिनुहोस्, वल्र्डकै किङ भनेको भन्दा गर्व महसुस हुन्छ भनेँ । पछि त्यो कुराको निकै चर्चा भएछ ।

बुबाको ख्यातिकै कारण तपाईंहरूलाई ‘दायाँबायाँ’ गर्न छुट छैन । त्यो प्रेसर त महसुस भएको होला ?
बुबाले आफ्नो सांगीतिक यात्रा बीचमै रोक्नुप¥यो । उहाँले त्यो रोकिएको यात्रा पूरा गर्ने सपना हामी दुई भाइको आँखाबाट देख्नुभएको छ । उहाँको सपना पूरा गर्ने प्रेसर अवश्य थियो र छ । तपाईं आफैँ नोटिस गर्नुहोस्, कुन चर्चित कलाकारका सन्तानले हामीले जस्तै गरी संगीतलाई मात्रै आफ्नो करिअर बनाए । हामीसँग एकखालको प्रेसर थियो र न हामी संगीतमै छौँ । हामीलाई राम्रो अवसर आयो भनेर विदेश भाँसिने छुट पनि छैन । किनकि, हामी त भक्तराज आचार्यका छोरा हौँ । गीतमा पनि दायाँबायाँ गर्न सकिँदैन । भजनशिरोमणिको छोराले यस्तो गायो भन्लान् भन्ने डर छ ।

तपाईंका सन्तानलाई पनि संगीत छाड्न नमिल्ने बनाइदिनुभयो है । नाम नै त्यस्तै राखिदिएर !
हो नि है । स्वरूपको छोराको नाम संगीत राखेका छौँ र मेरो छोराको सरगम । उनीहरू यो क्षेत्रमा लागून, नलागून् तर नामले भए पनि उनीहरूसँग संगीत जोडिनेछ । आफ्नै नामको अर्थ भन्दा आफ्नो पुर्खाको इतिहास सम्झिनेछन् ।
गर्भवती अवस्थामै भए पनि आफ्नो जीवनसंगिनीलाई संगीतसँग जोडिदिनुभयो, म्युजिक भिडियोमा अभिनय गर्न लगाएर ?
उनलाई मैले पहिलोपल्ट एउटा कार्यक्रममा नाचिरहेको देखेको थिएँ । त्यसपछि आलोक नेम्वाङले एउटा म्युजिक भिडियोमा अभिनय गराइसक्नुभएको थियो । खासमा उनीसँग लभ गर्दा मैले एउटा गजल लेखेँ– ‘गोरीभन्दा काली मन प¥यो । पछि विवाह भयो ।’ मैले त्यो रेकर्ड गरेँ । उनलाई भनेर लेखेको गजलमा उनैलाई अभिनय गराउने योजना बनाएँ । भूषण दाहाल दाइलाई निर्देशन गरिदिनुप¥यो भनेर भन्दा गर्भवती भएको तीन महिनाजति भएको थियो । उहाँको टाइमका कारण म्युजिक भिडियो सुटिङ गर्दा उनी सात महिनाकी गर्भवती थिइन् । रिलिज गर्दा बच्चा नै २१ महिनाको भइसकेको थियो । मैले वैशाख १९ गते विवाहको चौथो वर्षगाँठमा यही गीत उपहार दिएँ उनलाई ।
तपाईंले ‘मधुशाला’मा आठ गजल नै राख्नुभएछ । विक्रीका हिसाबले एल्बम नै बनाइराख्नुपर्ने बाध्यता त हटिसक्यो नि ?
एउटा त यो दस्तावेज हो एउटा सर्जकका लागि । अर्काे निकै कम होलान् तर किनेर सुनिदिने स्रोताहरू छन् । नाफाघाटा हेरेर उनीहरूमाथि अन्याय गर्न मन लागेन । अर्काे यही एल्बमबाट मैले गिनिज बुक अफ वल्र्ड रेकड्र्स बनाउने तयारी पनि गरेको छु । किनकि, एकल शब्द, संगीत र स्वरको गजल एल्बम अहिलेसम्म कसैले सार्वजनिक गरेका रहेनछन् । धेरै गीत राख्दा हेर्दै भरिलो देखिन्छ, आफ्नै सन्तुष्टिका लागि पनि भयो ।

 

Leave A Comment