गाँजा शब्दले फसे दुर्गेश र भिटेन

बिहिबार, ०७ कार्तिक २०७६, ०५ : ५६ शुक्रवार
गाँजा शब्दले फसे दुर्गेश र भिटेन

‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ बोलेको तिजे गीतको सफलताले हौसिदै तिहारलाई ह्यापी बनाउन गायक दुर्गेश थापाले ‘ह्यापी तिहार’ बोलको गीत ल्याए । तर त्यही गीत उनका लागि ब्याड बनिदियो ।

कर्कश स्वरको गीतमा राखिएको गाँजा खाने आह्वानले उनलाई प्रहरी नियन्त्रणमा पुर्याएपछि आखिर उनी युट्युबबाट गीत हटाउन बाध्य भए । गीतको अन्तरा ‘डन आयो डन’ टिकटकमा छाए पनि सामाजिक सञ्जालमा आलोचना भएको थियो । 
उनले म्युजिक भिडियोसमेत अर्ना बियरको प्रवद्र्धन गर्ने मनसायले बनाएका थिए । लय मिलाएर ‘ह्यापी तिहार, ह्याप्पी तिहार चिसो बियर’ शब्दसँगै उनले ‘गाँजा ले गाँजा, खानुपर्छ आज’ शब्द समेत राखेका थिए ।

उनको गीतले मदिरा र लागुऔषध खान प्रोत्साहन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार गंगबुबाट उनलाई नियन्त्रणमा लिएर टेकु प्रहरी कार्यालयमा पु¥याएको थियो ।

प्रहरीको नियन्त्रणमा परेपछि उनले गल्ती भएको भन्दै गीत सच्याउन राजी भएका थिए । उनले गीत संशोधन गर्ने भन्दै आफ्नो आधिकारिक युट्युब च्यानलबाट मंगलबार नै गीत हटाएर बुधबार पून अपलोड गरे । नयाँ गीतको म्युजिक भिडियोमा ‘ह्यापी तिहार, चिसो बियर’ भन्ने शब्द हटाइएको छ भने गाँजा शब्द सेन्सर गरिएको छ ।

दुर्गेशमुक्त भएको तेस्रो दिन अर्का गायक भिटेन पक्राउ परे । उनलाई पक्राउ गर्नुको कारण उनको ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा गाँजा प्रर्वधन गर्नुसँगै नेपाल प्रहरीको पोशाक दुरुपयोग गर्नु देखिएको छ । उनले नेपाल प्रहरीकाे असइ दर्जाकाे पाेशाक लगाएर गाँजा बनाइरहेकाे तस्बिर फेसबुकमा राखेका  थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेर थप कारवाहीका लागि विहीबार महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ । 

पछिल्लो समय गाँजा खुल्ला गराउनुपर्ने अभियानले गति लिएसँगै केही कलाकारहरुले खुल्लमखुल्ला गाँजाको प्रोत्साहन गर्दै आएका छन् । नेपालको कानुनअनुसार गाँजा सेवन अपराधजन्य गतिविधि भए पनि सार्वजनिक कार्यक्रममै आफूले नियमित गाँजा खाने गरेको गर्वसाथ बताउने गरेका छन् । 

फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले केही हप्ताअगाडि एक टेलिभिजन कार्यक्रममा आफूले नियमित गाँजा खाने गरेको बताएका थिए । उनले फिल्म ‘छ माया छपक्कै’ निर्माणताका नियमित गाँजा खाएको बताएका थिए । प्रहरीले गाँजा शब्द प्रमोशन गरेको भन्दै गायकहरु पक्राउ गर्न थालेपछि अहिले उनको अन्र्तवार्तामा गाँजा खाएको प्रशंग हटाइएको छ । 

Leave A Comment