पारसको संगतले बदलिएकी सोनिका

शुक्रबार, ०८ कार्तिक २०७६, १० : ४३ शुक्रवार
पारसको संगतले बदलिएकी सोनिका

वेस्टर्न शैलीको युट्युब च्यानल चलाएर चर्चामा आएकी युट्युटबर तथा मोडल सोनिकाले आफ्नो हाउभाउ मात्रै हैन, नामसमेत बदलेकी छन्। पूर्व युवराज पारस शाहसँगको सम्बन्धले गत हप्ता विवादमा आएकी उनले आफ्नो नाम बदलेर पूजा रोकाया बनेकी छन्। उनी ग्लामर दुनियामा आएपछि सोनिका नाम जुराएकी थिइन्।

उनले नाम मात्र बदलेकी छैनन्, अर्धनग्न पोशाकको ठाउँमा भद्र कुर्ता सुरुवाल लगाउन थालेकी छन्। सेक्सिलो बोलीलाई नरम बनाएकी छन्। प्राय सेक्स र डबल मिनिङबारे कुरा गर्ने उनी अहिले ग्रामीण भेगको सफलताको कथा पस्कन थालेकी छन्।

पूर्व युवराज पारससँग पोखरामा मस्ती गरिरहेको भिडियो क्लिपहरु सार्वजनिक भएपछि उनी चासोको केन्द्रमा आएकी थिइन्। पारससँगको सम्बन्धबारे शुक्रवारसँग कुरा गर्दै उनले आफू पारस शाहसँग नजिक रहेको तर सम्बन्ध बाहिर अनुमान गरिएझैँ नभएको भन्दै पारसले आफूलाई गाइड गरिरहेको र अब आफू वेस्टर्न संस्कृति छाडेर नेपाली संस्कृति अँगाल्ने बताएकी थिइन्।

दशैँमा आफ्नो गाउँ बझाङ पुगेकी उनले आफ्नो युट्युब च्यानल द सोनिका शोमा तीन वटा भिडियो अपलोड गरेकी छन्। पहिलो भिडियोमा उनले आफ्ना फ्यानहरुसँग पहिलाका आफ्ना हर्कतबारे माफी मागेकी छन्। कुर्ता सुरुवाल र कपालमा रातो धागो बाँधेकी उनी धानबारी, तरकारी खेती गरिएको टनेल र माछा पोखरीमा देखिएकी छन्। उनले आफ्ना विगतका गतिविधिलाई आफैंले धिक्कार्दै आफ्नो भुल सुधार्ने वाचा गरेकी छन्।

उनले आफ्ना पुराना अश्लील हर्कतका भिडियोहरु राखेकामा माफी माग्दै अब आइन्दा देश विकासका लागि लम्कने दाबी गरेकी छन्। देशको पहिचान र सम्मान चिनाउन भन्दा बदनाम गर्न आफ्ना कदमहरु अगाडि बढेकोमा प्रायश्चित गर्दै उनले आफूले दिक्षा नपाएकाले त्यस्तो गल्ती गरेको भन्दै अब नेपाली संस्कार अनुकूलको व्यवहार गर्ने बताएकी छन्।

‘हे नेपाल आमा, मैले नबुझेर चालेको हरकदमले कतिलाई भ्रममा पा-यो मलाई माफ गर्नुहोला। मलाई माफ गर्नुहोला मेरा बुबा आमा, हे मेरो जन्मभूमि बझाङ, तिमीलाई गालीगलौजको पात्र बनाएकाले माफ गरिदिनुहोला,’ उनले भिडियोमा भनेकी छन्, ‘पश्चिमा संस्कृतिमा यसरी हराएकी थिएँ कि मलाई पत्तै थिएन म के गर्दैछु भनेर। म देशका लागि केही गर्न चाहन्छु। मलाई साथ दिनुहोला। सोनिकालाई हैन पूजालाई।’

दोस्रो भिडियोमा उनले गाउँमा टनेल बनाएर तरकारी खेती गरेकी एक वृद्धा र तेस्रो भिडियोमा बझाङमा गाउँ विकास समितिबाट २ लाख ऋण लिएर माछा पालन गरेका शारीरिक रुपमा अशक्त एक युवाको कथा समेटेकी छन्।

उनले आफ्नो शैली मात्र बदलेकी छैनन्, आफ्नो शोको अर्की होस्ट रेखा राईको शैली र पोशाकसमेत बदलिदिएकी छन्। उनले आफ्नो शोमा पारस र आफ्नो सम्बन्धबारे चलेको चर्चालाई कन्ट्रोभर्सी भन्दै दुवैको सम्बन्धबारे पब्लिक भ्युजसमेत लिएकी छन्। अधिकांश पब्लिक भ्युजमा दुवैको सम्बन्धलाई साथीको रुपमा लिएका प्रतिक्रियाहरु समेटिएको छ।

रात्रीकालीन व्यवसायमा समेत संलग्न सोनिकाले बेलाबखत नौटंकी गर्दै आएकी छन् तर पछिल्ला उनका भिडियोमा उनी अलि गम्भीर देखिन्छिन्। यो लाइमलाइटमा आउने अर्को फन्डा हो या साँच्चिकै पारसको संगतले उनी बदलिएकी नै हुन् ? केही समयमै पक्कै देखिने नै छ। त्यतिञ्जेल प्रतीक्षा !

Leave A Comment