ऋचाको आश

शनिबार, ०९ कार्तिक २०७६, ०२ : ४२ शुक्रवार
ऋचाको आश

अभिनेत्री ऋचा शर्माका पछिल्ला केही फिल्म बक्स अफिसमा नराम्ररी चिप्लिए। ‘सुनकेशरी’ र ‘चक्कर’ले त पानीसमेत भन्न पाएनन्। साउनमा प्रदर्शनमा आएको ‘न यता न उता’ले त शीर्षकले झैं ऋचालाई न यता न उताको नै बनायो। त्यसैले ऋचा राम्रो ब्यानरको फिल्म कुर्दै थिइन्।

अब भने ऋचाले राम्रो ब्यानरसँग काम गर्ने मौका पाएकी छन्। हाँस्य कलाकार सन्तोष पन्तको ब्यानरबाट बन्ने फिल्म ‘हिजो आजका कुरा’मा उनी हालै अनुबन्धित भइन्। फिल्म घोषणा कार्यक्रममा राम्रो ब्यानरसँग आबद्ध हुन पाउँदा उनी भावुक देखिएकी थिइन्।

‘धेरै भएको थियो राम्रो फिल्म नगरेको,’ उनले भनिन्, ‘अब भने यो फिल्मसँगै आई एम ब्याक !’ अन्य सामान्य दर्शकझैँ ‘हिजो आजका कुरा’ टिभी सिरियलसँग उनका पनि धेरै यादहरु जोडिएका रहेछन्। उनले ती कुरा पनि खुलाइन्। भनिन्, ‘हरेक शुक्रबार बुबासँगै बसेर हामी यो सिरियल हेथ्र्यौं। त्यसैले ‘हिजो आजका कुरा’ भन्नासाथ बुबा सम्झिन्छु।’

अब बुबाको याद ताजा गराउने यो टिभी सिरियलले पनि हरेक दर्शकको पुराना स्मृति ताजा गराइदिने बनोस् र ऋचाको आँचलमा लागेको फ्लप फिल्महरुको धब्बा मेटिन सहयोग गरोस् भन्ने कामनाबाहेक हामीले अरु के नै पो गर्न सक्छौँ र ?

Leave A Comment