मुस्लिम भाइ, हिन्दु दिदी

आइतबार, १० कार्तिक २०७६, १२ : ०७ शुक्रवार
मुस्लिम भाइ, हिन्दु दिदी नाजिर हुसेन र सरु राई। तस्बिर : कृष्पा श्रेष्ठ

कलाकार नाजिर हुसेन मुस्लिम समुदायका सदस्य। सरु राई किराँत। यी दुवैबीच न धर्मको नाता न रगतको। उनीहरुबीचको भावनात्मक नाता भए पनि रगतको भन्दा कम छैन। धार्मिक मान्यता हेर्ने हो भने तिहार नाजिरको प्राथमिकताको चाड हैन तर मनको नातालाई धर्मको रेखाले छेक्न सकेको छैन। २७ वर्षदेखि हरेक तिहारमा नाजिरको निधार सप्तरंगी टीकाले रंगिन्छ। टीका रंग्याउने हात उनै सरुको हो। यी दुवैको उदाहरणीय नातामा केन्द्रित रहेर शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंग संवाद :

तिहार आइसक्यो, तयारी त भव्य भइरा’ होला होइन ?
सरुः हो नि ! म त उत्साहित छु। योसँगै त भेट नै हुँदैन (नाजिरर्फ इंगित गर्दै)। बल्लबल्ल वर्षमा एकचोटि भेट हुन्छ। खाली हराउँछ। पहिला गाउँ (बारा) मा टीका लगाइन्थ्यो। यसपालि यतै (काठमाडौं) मै टीका लगाउने हो।

नाजिरः अँ दिदीलाई उपहारको तयारी गर्दैछु। अलि धेरै हुनुहुन्छ के दिदीहरु (हाँस्दै)। सरु दिदीसँग टीका थाप्छु। अरु दिदीले तेल लगाउने, बिमरा फोर्ने, फूल छर्कने गर्नुहुन्छ। हामी एकै उमेर समूहका पनि भयौं। सँगै हुर्केको पनि। त्यही भएर सरु दिदीसँग अलि बढी आत्मियता छ। अरुसँग नभा’को हैन है फेरि ! अरु दिदीहरु पनि हुनुहुन्छ सोनी राई, इभा दिदी। सीता चाहिँ कान्छी। गत वर्ष उहाँहरु सबैलाई ब्याग दिएको थिएँ।

सरु : मलाई चाहिँ इएर रिङ पनि (बीचैमा थपिन्)। मसँग अलि नजिक छ नि त ऊ। मलाई धेरै माया गर्छ।
नाजिरः हो, अरु दिदीलाई ब्याग मात्र दिएको थिएँ।

नाजिरका आफ्नै दाइहरुले तिहारमा टीका लगाउँछ त ?
मेरा दाइहरुले पनि टीका लगाउनुहुन्छ। सरु दिदीकै आफ्नै भाइहरुले पनि लगाउनुहुन्छ। सरु दिदीको कान्छो भाइको मितले पनि लगाउनुहुन्छ। चार–पाँच जना दिदीबहिनीको चार–पाँचजना भाइ हुनुहुन्छ। सबैको आ–आफ्नै फेभरेट भाइहरु छन्। अब आ–आफ्ना फेभरेटलाई धेरै सामान दिने त हो (हाँस्दै) !

नाजिरसँगै कति जनालाई टीका लगाइदिनुहुन्छ ?
सरु : नाजिरको दाइ, नाजिर, शिव, शंकर, अप्साद, गोविन्दलाई।

नाजिरले कति जना दिदीका लागि उपहार तयारी गर्नुपर्छ ?
नाजिरः इभा, सोनी, सरु दिदी अनि बहिनी शितल र सिभाको लागि।

क्या रमाइलो रहेछ है ! कति भयो नाजिरलाई तिहारमा टिका लगाएको ?
सरु : याद भा’को उमेरदेखि नै लगाउन थालेको हो नि। बच्चैदेखि।
नाजिर : यो पारिवारिक नाता त म जन्मनुभन्दा अगाडिदेखि नै हो। हामी जन्मनुअगाडि नै मेरो आमाजी (मीना बेगम)ले उहाँको बुबा (लीलाराम राई)लाई भाइ मानेर टीका लगाउन थाल्नुभयो। त्यही नाता हाम्रो जन्मपछि पनि जारी रह्यो। अहिले दिदीहरुले हामीलाई टीका लगाइदिनुहुन्छ। हामीले टीका लगाउन थालेको पनि सायद ३७/३८ वर्ष भइसक्यो।

सरुः उहाँहरुको पनि कोही थिएन। हाम्रो पनि आफन्त कोही थिएन। हामी राई अनि उहाँहरु हुसेन हुनुहुन्थ्यो। त्यहीबेला भाइ बनाउनु भएको रे भनेर ममी कुरा गर्नुहुन्छ।
नाजिरः खासमा मेरी आमा काठमाडौंको मान्छे। बिहे गरेर तराई (बारा) बस्नुभयो। आफ्नो मान्छे कोही नहुने त्यता। अब जे भए पनि दसैं–तिहार मनाएर हुर्केको मान्छेलाई न्यास्रो त लाग्छ नि, हैन ! अनि मेरी आमा सरु दिदीको घरमा दसैंमा सेलरोटी पकाउन जानु हुन्थ्यो। त्यत्तिकैमा लीलाराम मामाले टीका लगाइदिनु न त भनेर भन्नु भएछ। उहाँको पनि बहिनीहरु सोलुखुम्बुमा। अब कत्ति वर्षदेखि उहाँले पनि निधार खाली राख्नु भएछ। त्यसपछि मेरो आमाजीले उहाँको बुबालाई टीका लगाउन थाल्नु भयो।

तपाईँहरुको सम्बन्ध त परिवारले पो गाँसेको रहेछ ?
हजुर (दुवैले टाउको हल्लाए)।

तिहारमा टीका लगाउन नपाउँदा कस्तो लाग्छ ?
सरुः मैले तीन पटक जति नाजिरलाई टीका लगाइदिन पाइनँ। आउँछस् भन्दा काठमाडौं बस्छु भन्यो एकपटक। मैले फोन गरेर सम्झन्थेँ। तर यसले धेरै नराम्रो मान्थ्यो। तिहारमा यो नहुँदा मिस हुन्छ। म यसलाई धेरै माया गर्छु। यो एकदम नजिक छ मेरो।
नाजिरः काठमाडौं आएको सुरुको तिहार मैले मान्नै सकिनँ। आमाजी बित्नु भएको साल थियो त्यो। मैले दिदीहरुलाई तपाईंहरु मनाउनुस् भनेँ तर गाउँ गइनँ। तर फोनमा धेरैबेर हामी रोयौं (निन्याउरो अनुहार बनाउँदै)।  
कहिलेकाहीँ काठमाडौँबाट दिदीहरु गाउँ गइदिनुहुन्छ। त्यो बेला काम विशेषले जान नपाउँदा पनि तिहार मनाउन पाइनँ।  
सरुः तर, मैले यसलाई फोन गरिरा’ हुन्छु है जहिले पनि।
नाजिरः अरु कसैले केही नगरे पनि तँ मिस भयो भनेर फोन गर्नुहुन्छ सरु दिदीले। त्यो चिजले चैँ खुसी लाग्छ।
 
बाल्यकालमा तिहार मनाउँदाको पल कसरी सम्झनु हुन्छ ?
नाजिरः मेरो आमाजीले २५ रुपैँया, २० रुपैँया खाममा हालेर दिनुहुन्थ्यो मलाई। यो सरु दिदीलाई, यो इभालाई भनेर। अनि म सर्टको खल्तीमा सरुको दिदीको खाम, प्यान्टको खल्तीमा इभा दिदीको खाम, त्यसरी सबै खल्ती भर्ने गर्थें। ठूली दिदीलाई ३०, अरु दिदीलाई २० अनि गर्दै उमेर कम हुँदै जाँदा पैसा पनि कम हुँदै जान्थ्यो। त्यसरी खाम बोकेर म घरबाट हिँड्थेँ। कसलाई दिने भनेर नाम बिर्सिएँ भने खाम भित्रको पैसा हेरेर थाहा हुन्थ्यो। मलाई चाहिँ टीका थाप्नासाथ कतिखेर टपरीमा भा’को खानेकुरा खाऔं भन्ने लाग्थ्यो।
सरुः मलाई चाहिँ कतिखेर टीका लगाइदिएर सँगै पिङ खेल्न जाऔं भन्ने हुन्थ्यो।

तिहार भन्नासाथ दिमागमा के आउँछ ?
नाजिरः सयपत्रीको फूल। त्यसको बास्ना। अनि अर्को कुरा तिहारमा कसको निधारमा टिका लामो समय टिक्छ, ऊ नै भाग्यमानी भनेर भनिन्छ है ! दिदी भनिदिनु त कुन भाइको टीका धेरै टिक्छ ? (सरुतर्फ हेर्दै)
सरुः नाजिरकै हो टीका टिक्थ्यो। यसको त ३–४ दिनसम्म टिका टिक्थ्यो।
नाजिरः टीका बचाउनकै लागि भनेर कपासमा पानी चोबेर मुख धुन्थेँ नि ! सिधा कलमा अँजुलीभरि पानीले धुन्न थिएँ।  

देउसी पनि सँगै खेल्नुहुन्थ्यो ?
नाजिरः  हामी चार–पाँचजना तीन वटा घरमा देउसी खेल्थ्यौं। अनि पैसा बाँडिहाल्थ्यौं। भागमा परेको पैसाको लङ्गुरबुर्जा खेल्थ्यौं। पैसा सकिएसी फेरि देउसी खेल्न जान्थ्यौं। अनि तीन घरमा खेल्नासाथ पैसा भाग लगाइहाल्थ्यौं। भागमा ५ रुपैयाँ पथ्र्याे। त्यति भएपछि हामी केटाकेटीलाई पुगिहाल्यो !
सरुः  देउसी खेल्दा सेलरोटी पाउँथ्यौं। त्यो सेलरोटी देउसी खेलुञ्जेल यल्ले खाइसक्थ्यो।

तपाईँहरु त दिदीभाइ कम साथी बढी जस्तो पो हुनुहुँदो रहेछ त ?
नाजिर : उहाँ भन्दा ठूली सोनी दिदी हुनुहुन्छ। सरु दिदी र मेरो उमेर महिनाको फरक मात्र हो। सायद एउटै उमेर समुहको भएकाले साथी भयौं। सँगै खेलेर हुर्कियौं। पहिला तँ–तँ र म–म गर्थें। बिहेपछि भने तपाईँ भन्न थालेँ। उहाँ पेशाले ब्यूटिसियन हुनुहुन्छ। उहाँ अहिले नील डेभिड सलुनको इन्स्ट्रक्टर मध्यको एक हुनुहुन्छ।

सँगै खेल्दै हुर्कनु भयो ?
नाजिर : अँ, त्यो बेला अब दुधौरा खोलामा पौडी खेल्न गइन्थ्यो। तपाईँलाई थाहा छ दिदी ! एकचोटी तपाईँ, म, रुपा, रीता र कमल दाउरा खोज्न जाँदा बाढी आएको थियो नि ! (दिदीतर्फ हेर्दै)
सरु : अँ, (सम्झँदै)।
नाजिरः  एक पटक हामी दाउरा खोज्न जंगलमा गएका थियौँ। त्यहाँ दोभान थियो। बीचमा खाली ठाउँ थियो। अब जंगल जाँदा रुख काट्नु पर्ने हुन्थ्यो। तर, खोला वरिपरि खोलाले बगाएर ल्याएको दाउरा तयार पारेर भारी हाल्न ठिक्क पारेको, बाढी आयो (आँखा ठूला ठूला बनाउँदै)। सबैजना भागाभाग !
एसएलसी दिने बेला हरेक शनिबार धान काट्न जान्थ्यौं। एकदिन त धान काट्दै गर्दा गोमन सर्प आएर सबै भागमभाग, थाहा छ दिदी ? १०/११ वर्षका थियौँ होला !
सरुः एकदम रमाइला दिनहरु थिए। (हाँस्दै)।

नाजिर कस्तो थियो त बाल्यकालमा ?
सरुः एकदमै नाच्नुपर्ने। जहाँ कार्यक्रम भयो, नाच्न पुगिहाल्थ्यो। अहिले यही खुबी झल्किरहेको छ। स्कूल फस्ट हुन्थ्यो। केटीले जस्तै घरका सबै काम गथ्र्यो। बच्चाहरुलाई ट्युसन पढाउँथ्यो। एक किसिमले स्टार नै भइसकेको थियो बच्चैमा।
नाजिरः (सरुको कुरामा थप्दै) किनभने एकजना दाइ इन्डिया हुनुहुन्थ्यो। एकजना दिदीले बिहे गरिसक्नु भएको थियो। मेरो आमाजी स्वास्थ्य चौकीमा काम गर्नुहुन्थ्यो। अनि मलाई चैँ आमालाई सघाउन एकदम मन पथ्र्यो।

दुई जनाको झगडा पर्दैनथ्यो ?
नाजिर : किन नपर्नु ? झगडा परेर कत्ति दिन त बोलेनौँ।
सरु : कुटाकुट चाहिँ भएन।

रिसाउनमा को बढी ?
सरु : रिसाउन त यो एकदमै रिसाउँछ। केही भन्यो कि, जा तँसँग म बोल्दिन भन्ने। जा, नआइज भनेर रिसाउँथ्यो।
नाजिरः हो, म बढी नै रिसाउँथेँ।

सँगै काम पनि बिगार्नु भएको होला ?
सरुः चुरोट बिँडीको (सरु हाँस्न थालिन्)।
नाजिरः अँ जंगल जाँदा सालको पातमा सालकै पात माडेर बिँडी खाको। घरमा थाहा पाउनु भयो तर केही भन्नु भएन। अनि अर्को कुरा, खयर घारीबाट घर आउँदा एउटा चौतारामा हामी भारी बिसाउँथ्यौं। त्यहाँ एकजना बूढोको घरमा कागती दामी फल्ने। हामी त्यहाँ कागती चोर्न जान्थ्यौं। एकदिन त बूढो ढुकेर बसेछ। यत्रो लौरो लिएर त आइहाल्यो।

त्यो बेला लङ्गडी खेल्थ्यौँ। नूनचुरा, कबड्डी, डिग्री बल खेल्थ्यौं। भाँडाकुटी खेल्थ्यौं। एकदिन त खेल्दाखेल्दै सुँगुरको खोरमा पुगेछु। त्यसपछि त बुबाले मलाई कुट्दै कुट्दै घर ल्याउनु भएको थियो। अब मुस्लिम समुदायमा त राम्रो मानिदैन नि त सुँगुरलाई छुनु ! मलाई बुबाले लौरैलौरोले कुट्दा उनीहरु चाहिँ ट्वाल्ल परेर हेर्ने, के !

तपाईंहरुको घर कत्तिको टाढा थियो ?
नाजिरः हाम्रो घरको (उत्साहित हुँदै), दुईघर पर उहाँहरुको घर। हाम्रो घरमा मासु पाक्दा एक बटुका मासु उहाँहरुको पुथ्यो। हाम्रो घरपछि लेखराज पाण्डे काकाको घर, राजू मामाको घर, त्यसपछि उहाँहरुको घर। उहाँहरुको चिया पसल छ। बिहान चिया पकाउनु पर्दैन। अहिले गाउँमा गएँ भने माइजूले बहिनीहरुलाई चिया पाक्यो सानुभाइलाई बोलाएर आइज भनेर पठाउनुहुन्छ। मलाई गाउँमा सबैले सानोभाइ भन्नुहुन्छ।

नाजिरको आफ्नै परिवारमा कति दाजुभाइ ?
मेरो एकजना दाजु हुनुहुन्छ। हामी दुई जना मात्र हौँ। अहिले हामी तीन जना भएका छौँ। पुलिसमा हुनुभएकी रमिना दिदी अहिले ट्रान्सजेन्डर हुनुभयो। नाउ हि इज माई ब्रदर। हामी उहाँलाई राज भनेर बोलाउँछौँ। एन्ड आइ लभ हिम अ लट। म मेरो आमाजीलाई धेरै सम्मान गर्छु। काठमाडौं हुर्केर बढेर मुस्लिमको घरमा बसेर पनि आमालाई थाहा थियो, राज केटा हो भनेर। त्यो बेलादेखि आमाले उसलाई सपोर्ट गर्नुहुन्थ्यो। एक जना समिना हुसेन दिदी सभासद् हुनुभएको छ अहिले। सरु दिदीकोमा भने ६ जना दिदीबहिनी २ जना दाजुभाइ हुनुहुन्छ।

गाउँमा तिहार मनाउनु भयो भने त जम्बो टोली पो हुने रहेछ त !
नाजिरः हो नि !

किनमेल सुरु भइसक्यो ?
सरुः सुरु भइसक्यो ! यसपालि उपहारमा पाइन्ट अनि अरु पनि केही दिँदैछु।
नाजिरः म खासै दिदीहरुले सामान दिओस् भनेर इच्छा गर्दिनँ। मलाई मटेरियलिस्टिक चिज मन पर्दैन। कहिलेकाहीँ हतारमा छु भने हातले बनाको कुरा दिदीहरुलाई दिने गर्छु। ती उपहारले दिदीलाई प्रेम अभिव्यक्त गर्ने हो। तिहारमा त खानपिन गरेर तास खेल्न पाए पुग्छ मलाई।

भाइटीकाको लागि तयारी कति दिनदेखि गर्नुपर्छ ?
सरुः  दुई दिन मात्र। सामान छुट्याउने त हो।

तिहारको बिर्सनै नसकिने पल कुनै छ ?
नाजिरः म भन्छु है दिदी ! दिदी ब्युटिसियन बनेर गाउँ आउँदाको तिहार सम्झिन्छु म। मलाई एकदम नक्कल पार्नुपर्ने। भोलि तिहार हो भने आजैदेखि कपाल सेट गरेर बस्थेँ। दिदीले पूरा कटिङ गरेर कपाल बनाइदिनु हुन्थ्यो। आँखीभौं चिरा पार्नुप-यो भनेर आँखीभौंको बीचको रौं निकालेको थियो। छटपटी–छटपटी भए पनि नक्कल चाहिँ पार्नु पर्ने मलाई। अहिले त म महानक्कले भा’को छु। सबै पल यादगार छ।

सरुः लङ्गुरबुर्जा खेल्थ्यौं। रमाइलो हुन्थ्यो।
नाजिरः हामी यस्तो छट्टु मतिका हौँ नि खासमा ! हामी २० रुपैँयाको नोटभित्र ५० पोको पारेर हाल्थ्यौं। अब बुर्जामा राख्यो हैन ? बुर्जामा प-यो ७० को हिसाबले पैँसा माग्थ्यौं। परेन त्यो बिस रुपैँयाको नोट लक्की पैसा हो भनेर त्यो लिएर अर्को २० रुपैँया दिन्थ्यौं।

नाजिर कलाकार भएर दर्शकमा चिनिने भइसकेपछिको तिहार केही फरक भयो होला नि ?
सरुः एकदमै (हाँस्दै)। अब हाम्रो भाइ त हिरो मान्छे ! तिहारको दिन यो मकहाँ आउँदै थियो। परैबाट कतिले त, त्यो कलाकार नाजिर होइन भनेर खासखुस गर्थे। उनीहरु यसलाई हेरेको हेरै गर्थे। टीका लगाएर गइसकेपछि पनि तपाईँको आफ्नै भाइ हो भनेर जिब्रो टोक्थे। अहिले पनि मेरो साथीहरु उसको फ्यान हुन्।

धार्मिक हिसाबले मुस्लिम र किराँत गैरहिन्दु हुनुहुन्छ। सम्बन्धलाई धर्मले छैक्दैन रहेछ है ?
सरु : छेक्दैन।
नाजिर : यो धर्म भन्दा पनि संस्कारको चाड हो नि ! दाजुभाइ, दिदीबहिनीको सम्बन्ध पनि धर्म मात्र हुन्छ र ? हामीले संस्कार हस्तान्तरण गरिरहेका छौँ। जात हस्तान्तरण गरेको हैन। हाम्रो आमाजी र उहाँको बुबाबीच एकअर्कामा संस्कार आदानप्रदान भयो। त्यो संस्कारलाई हामीले साथ दिइरहेका हौँ।

दशैँ/तिहारमा टीका थापेकै कारण विवाद भएको छैन ?
नाजिरः पब्लिक स्टन्टको लागि नाजिर तिहारमा टीका लगाउँछ भनेर कमेन्ट गर्छन्। मुस्लिम समुदायको कतिले मुस्लिम भएर यस्तो गरिरहेको छ, यो हराम हो पनि भनिरहेको सुन्छु। आज म पब्लिक फिगर भएर मैले जे गरेँ पनि धेरै जमातमा पुग्छ। तर २० वर्षअघिदेखि नै टीका लगाउन थालेको हुँ। त्यो बेला म पब्लिक फिगर बन्छु भन्ने त थिएन नि ! पब्लिक फिगर भएपछि उहाँसँग टीका लगाउन थाल्या हो र ? ३७ वर्षको इतिहास हेर्नुप-यो नि ! तर विवाद गर्नेका लागि त बहाना भए पुग्यो। त्यसैले कहिलेकाहीँ त म तिहारमा टीका लगाएको तस्बिर पनि सामाजिक सञ्जालमा पोस्ट गर्दिनँ। हामीले एकअर्कालाई दिने भनेको संस्कार र आदर सम्मान हो। जुन मेरी आमाले उहाँको बुबालाई गर्नुहुन्थ्यो। मैले उहाँहरुलाई गर्दैछु। हामीले जे सिक्यौँ, जसरी हुर्कियौं, त्यसैलाई निरन्तरता दिँदैछौं।

रगतको नाता बलियो कि भावनाको त ?
सरु : अँ, रगतको नाताभन्दा प्यारो त सम्बन्ध हुँदोरहेछ। रगतको नाता भन्दा पनि ठूलो छ यो सम्बन्ध।
नाजिर : सम्बन्ध बनाउन एकदमै सजिलो छ। सम्बन्ध बचाएर राख्न गाह्रो छ। हाम्रो सम्बन्ध बाँचिरहेको छ। म यसमा धेरै खुसी छु। भोलि हामी तितरबितर हौंला तर भेट्दाखेरीको यो आत्मियपन र सामीप्य मर्दैन। गाउँ जाँदा माइजूकोमा गएर मलाई किच्चक गर्नैपर्छ। सम्बन्धलाई बचाउन सकेका छौं हामीले। हाम्रो आमाबुवाले बनाइदिएको सम्बन्ध बाँचिरहेको छ अहिलेसम्म।

नाजिरको त कुनै फिल्म, नाटक छुटाउनुहुन्न होला है ?
नाजिर : छुट्छ (दिदीतर्फ हेर्दै)।
सरुः हेर्छु। अस्ति ‘वीर बिक्रम २’ हेरें। हलभित्रै यो त मेरो भाइ हो भनेको वरपरको सबै जनाले फर्केर हेरेरा’का थिए।

नाजिरको मनपर्ने फिल्म ?
सरु : ‘होस्टेल रिटन्र्स’। मेरा साथीहरु अझै उसको अभिनयको तारिफ गर्छन्।

नाजिरका लागि सरु कस्तो दिदी हो त ?
अलिकति इन्ट्रोभर्ट स्वभावको हुनुहुन्छ। मनको कुरा खुलेर भन्नु हुन्न। एकदमै केयर गर्नुहुन्छ। अलि झनक्क रिसाउने बानी चाहिँ नराम्रो छ।

दिदीको नजरमा ?
मेरो नजरमा त यो जहिल्यै राम्रो। पहिला पनि राम्रो थियो। अहिले पनि। पहिला मलाई भेट्न आउँथ्यो। अहिले चाहिँ त्यति आउँदैन।
नाजिरः नरिसाउनु न, अब आउँछु क्या ! (दिदीको कानमा खुसुक्क)।

नाजिरको बिहेको चिन्ता लाग्दैन ?
नाजिरः भेटेको बुहारीले छोडिहाल्छ (ठट्यौली शैलीमा)।
सरुः अब त उसले आफैँ खोज्छ बुहारी। उसलाई बुझ्ने बुहारी होस् भन्ने लाग्छ।

Leave A Comment