रेडियो मार्केटिङबाट करिअर सुरु गरेका अरुण पौडेल नेविको प्रालिका ब्राण्ड एण्ड आएमडी हेड हुन्। पोखरा विश्वविद्यालयबाट मार्केटिङमा एमबिए गरेका पौडेल रियल स्टेट, एड्भर्टाइजिङ एजेन्सी र सुजल फुड्समा काम गरेको अनुभव छ। पौडेलसँग नेपालमा बिस्कुटको बजार, नेविकोका उत्पादन, मुलुकको व्यावसायिक वातावरण लगायतका विषयमा शुक्रबार साप्ताहिकका लागि गरिएको कुराकानीः
नेपालमा बिस्कुटको बजार कस्तो छ ?
समग्र बिस्कुट उद्योग हेर्दा राम्रो देखिन्छ तर स्वदेशी उद्योगहरु अप्ठेरोमा पर्दै गएको अवस्था पनि छ। यहाँ अन्तर्राष्ट्रिय ब्राण्डहरु हावी हुँदै गएका छन्। स्वदेशी उद्योगलाई पक्कै अप्ठेरो भएको हुनुपर्छ। सुरुमा ४०–५० वटा उद्योग थिए। अहिले बन्द भएर १५/२० उद्योगमा सीमित हुन पुगेका छन्। यसले नेपाली बिस्कुट उद्योगको अवस्था सन्तोषजनक छैन भन्ने देखाउँछ। विदेशबाट आउने बिस्कुटको प्रभाव धेरै छ। नेविको बिस्कुट ५५ वर्षमा प्रवेश गरे पनि बजारमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। तापनि हामी बजारको एक नम्बर पोजिसनमा छौं।
स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न कठिन हुनुको कारण के हो ?
खुल्ला बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्छ तर अहिले गुणस्तर र प्रविधि महत्वपूर्ण हुन्छ। भारतलगायत तेस्रो मुलुकबाट आउने बिस्कुटले जस्तो गुणस्तरको उत्पादन बजारमा ल्याएका छन्। त्यस्तो गुणस्तर कायम गर्न यहाँका उद्योगसँग पर्याप्त प्रविधि छैन। सरकारले दिनुपर्ने सहुलियत पनि दिएको छैन।
उपभोक्ताले नेविको ब्राण्डका बिस्कुट किन प्रयोग गर्ने ?
हामीले उपभोक्ताको रुचिअनुसार गुणस्तरीय बिस्कुट उत्पादन गर्दै आएका छौं। गुणस्तरमा कुनै सम्झौता नगर्ने भएकाले अहिलेसम्म कुनै गुनासो छैन। उद्योगको क्वालिटीलाई अझ बढाउन लागिरहेका छौं। ढुक्कसँग प्रयोग गर्दा हुन्छ। नेविकोको बजार अवस्था बारेमा पनि अध्ययन गर्छौं। एउटा मुख्य पक्ष कम्पनीको लिगेसी हो। ५५ वर्षदेखिको प्रोडक्ट भएकाले उपभोक्तामा एक प्रकारको सकरात्मक छाप छ। प्रयोगकर्ताको विश्वास आर्जन गरेका छौं। नेविको ढुक्कसँग प्रयोग गर्न सकिन्छ भन्ने माइन्ड सेट छ।
यहाँको उत्पादनको गुणस्तर कस्तो छ ?
गुणस्तरमा धेरै ग्रेडको हुन्छ। नेविको नेपाल गुणस्तर चिह्न प्राप्त कम्पनी हो। कोकोनट, राइनो, ग्लुकोज लगायतका सात वटा उत्पादनमा एनएस चिह्न पाएका छौं। आइएसओ सर्टिफाइड कम्पनी हो। दुई वर्षअघि बिआइडीले बेस्ट इन्डष्ट्रीज्को रुपमा अवार्ड गरेको थियो। यी विभिन्न सूचकका आधारमा गुणस्तरीय छन् भन्ने प्रमाणित गर्छ। उपभोक्ताले एक सय रुपैयाँ तिरेर कुनै विदेशी उत्पादन प्रयोग गरिरहेको छ भने त्यही मूल्यमा धेरै ग्रामको बिस्कुट बजारमा बिक्री गरिरहेका छौं।
प्रतिस्पर्धा कस्तो छ ?
प्रतिस्पर्धामा आत्तिनु पर्ने अवस्था छैन। भारतको केही उत्पादनसँग उच्च प्रतिस्पर्धा भए पनि तेस्रो मुलुकबाट आउने बिस्कुटसँग त्यति प्रतिस्पर्धा छैन। स्वदेशी उत्पादनमा नेविकोले लिड गरेको छ।
नेविकोले के–कस्ता रेन्जमा बिस्कुट उत्पादन गरेर बिक्री गरिरहेको छ ?
५० देखि दुई सय रुपैयाँ मूल्यका छन्। स्वदेशी उत्पादकहरुमध्ये दुई सय रुपैयाँको सुगर फ्री डाइजेस्टिभ बिस्कुट बजारमा ल्याउने नेविको हो। पाँच रुपैयाँदेखि दुई सय रुपैयाँसम्मका बिस्कुट बिक्री भैरहेका छन्। जुन मल्टी रेन्ज हो। बच्चा, युवादेखि वृद्धले खाने बिस्कुट छन्। बच्चाका लागि चोको चिप्स कुकीज् १० रुपैयाँमा पाइन्छ। ग्लुकोज पनि छ। युवाका लागि स्टेफिड भन्ने प्रोडक्ट छ। ब्रन्च, टिट्वान्टी, डाइजेस्टिभ, ट्रेकर च्वाइस, मारीलगायत युवालाई लक्षित गरेर उत्पादन गरेका प्रोडक्टहरु छन्। ४० वर्ष माथिका प्रयोगकर्तालाई सुगर फ्री डाइजेस्टिभ सेगमेन्ट छन्।
राज्यका निकायले स्वदेशी उद्योगलाई संरक्षण गर्न कस्तो नीति लिनुपर्छ ?
स्वदेशी उद्योग बन्द हुने क्रममा रहेकाले हामीले बारम्बार केही न केही गर्न आग्रह गरिरहेका छौं। प्रोत्साहन गर्न नसके पनि बाँच्न सक्ने आधार तयार गर्नुप-यो। स्वदेशी कच्चा पदार्थले मात्र पुग्ने अवस्था छैन। विदेशबाट आयात गर्ने कच्चा पदार्थमा अनुदान वा कर छूट के गर्न सकिन्छ त्यो सरकारले गर्नुपर्छ। विदेशी उत्पादनले प्रयोग गरेका प्याकेजिङ गर्ने मेसिन स्वदेशी उद्योगसँग छैन। आयात गर्ने प्याकेजिङ सामग्रीमा छुट दिनुपर्छ। बिस्कुट एसोसिएसनबाट राज्यलाई गुनासो राखे पनि राज्यका तर्फबाट सम्बोधन भएको देखिँदैन।
मुलुकको व्यावसायिक वातावरणलाई कसरी हेर्नु भएको छ ?
व्यवसायको दिगोपनलाई राजनीतिक वातावरणसँग तुलना गर्ने गर्छौं। स्थिर सरकार भए पनि निजी क्षेत्रले त्यो महसुस गर्न सकेको छैन। ७७ वटै जिल्लामा हाम्रो उत्पादन जान्छ। तर, सिजनल जस्तो हुनुपर्ने अवस्था हुन्छ। असार, साउनमा गाउँ–गाउँमा पु-याउन सकेका छैनौं। दशकौँदेखि जे समस्या झेलिरहेका थियौँ, अहिले पनि उस्तै छ। सामान ढुवानीमा समस्या छ। यहाँका उद्योगले प्रविधि भित्राउन चाहे पनि त्यसलाई सरकारको तहबाट स्पष्ट नीति छैन। बिस्कुट उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग हुने चिनी नपाएर कठिन थियो। रोक लगाएको अवस्था थियो। यहाँका उत्पादकले किलोमै १०/२० रुपैयाँ महँगो लिए। मागको आधारमा यहाँ मैदा, आटा उत्पादन हुन सक्दैन। विदेशबाट आयात गर्दा कर धेरै हुने कारणले कठिन भएको छ।
Leave A Comment