सुत्केरीमा पुरुषको भद्रता

बुधबार, १३ कार्तिक २०७६, ११ : ११ शुक्रवार
सुत्केरीमा पुरुषको भद्रता

डा. दिनेश बाँस्तोला

स्तनपान जैविक प्रक्रिया हो। नवजात शिशुका बारेमा पुरुषलाई शिक्षाको आवश्यकता हुन्छ। ‘नवजात शिशु शिक्षा’ले पुरुषको विचार, व्यवहार, मनोवृत्तिमा फरकता ल्याउन मद्दत गर्छ। महिलाको स्तन नितान्त आमा र नवजात शिशुको अधिकारको विषय हो। स्तनपान गराइरहेको अवस्थामा यौनको मामलामा पुरुषको भूमिका गौण हुन पुग्छ।

आमा जति धेरै अनुभवि भयो शिशुप्रति त्यति नै बढी आत्मियता तथा स्याहार सुसारको अनुभव हुन्छ। विशेषगरी पहिलोपल्ट शिशु जन्माएका महिलालाई स्तनपान गराउने तरिकाका बारेमा थाहा नपाउनु स्वभाविकै हो। यस्तो अवस्थामा अनुभवि महिलाको सल्लाह, सुझाव तथा अभ्यास सिकाएअनुसारै स्तनपान गराउनु उचित हुन्छ। स्तनपान गराउन जान्नु सामाजिक सिकाइ हो।

पुरुष यौन जोडीले महिला यौन जोडी र आफ्नो शिशुलाई भावनात्मक शक्ति सधैँ दिनु पर्छ। यौन जोडी महिला सुत्केरी भएको अवस्थामा पुरुषले उनलाई भरपुर साथ र सहयोग गर्नुपर्छ। यौन जोडीबीचको यस्तो सहयोगी क्रियाकलापले यौन जोडीबीचमा सुख, शान्ति, आनन्द र सन्तोष मिल्छ। आफ्नो यौन जोडीबीचमा यौनजन्य सम्बन्धको हेरफेरले यौन जोडीमा सुखानुभूति हुन्छ। महिला यौन जोडीले आफ्नो शिशुलाई स्तनपान गराएको अवस्थामा पुरुषले हस्तक्षेप गर्नु हुन्न। स्तनपान शिशुका लागि समर्पण गर्नुपर्छ।

सुत्केरी भएको अवस्थामा पुरुष यौन जोडीले महिला तथा शिशुप्रति कस्तो भूमिका निर्वाह गर्ने ? आफू कसरी संयमित रहने ? भन्ने विषयमा अब कुरा गरौँ।

पुरुषको भद्रता
महिला यौन जोडी सुत्केरी भएको अवस्थामा पुरुष यौन जोडीको सकारात्मक तथा सहयोगी भूमिका हुन जरुरी छ। महिलाले मात्रै शिशुको स्याहार सुसार गर्नुपर्छ भन्ने छैन। पुरुषले शिशुलाई नुहाउन सहयोग गर्न सकिन्छ। नवजात शिशुका थाङ्ना तथा कपडा फेर–बदल गरिदिन सकिन्छ। आमा (यौन जोडी महिला) र शिशुलाई तेल लगाएर शरीर मालिस गरिदिनु उचित हुन्छ। सुत्केरी महिला यौन जोडीको चाहनाअनुसार सहयोगी हात अगाडि बढाउन सकिन्छ।

त्यसैगरी पुरुष यौन जोडीले शान्त तथा मौन भई दृढ र निश्चयका साथ स्तनपान गराउने यौन जोडीलाई अंकमाल (आलिङ्ग) गर्न सकिन्छ। हात समातेर सँगसँगै हिँडडुल गर्नाले स्तनपान गराउने महिला यौन जोडीको मन प्रफुल्लित हुन्छ। यस विषयमा विशेषगरी पुरुष यौन जोडीले ध्यान दिनु पर्छ। एकल परिवारमा सुत्केरी तथा स्तनपान गराइरहेको अवस्थाकी महिला र शिशुलाई स्याहारसुसार गर्न सम्भव भए पनि संयुक्त परिवारमा भने पारिवारिक तथा सामाजिक लाजगालका कारण पुरुषको भूमिका गौण हुन्छ। जसले गर्दा यौन जोडीमा हुनुपर्ने आत्मियता तथा सहयोगी भूमिका र यौन जोडीबीच विचारको आदान–प्रदान कम हुँदै गई सम्बन्धमै दरार उत्पन्न हुने जोखिम हुन्छ। यौन सम्पर्कको त कुरै छोडौँ।

अन्य अवस्थामा मात्रै हैन महिलाले गर्भवती भएदेखि सुत्केरी अवस्थामा समेत पुरुष यौन जोडीको साथ र सहयोग खोजेका हुन्छन्। सबैभन्दा नजिकको आफ्नो कुण्ठा व्यक्त गर्ने माध्यमनै यौ जोडी हो।

आफ्नी यौन जोडी महिला सुत्केरी तथा स्तनपान गराइरहेको अवस्थामा पुरुष यौन जोडीले भद्रतापूर्ण तथा प्रेमपूर्वक शब्दका साथ महिला यौन जोडीलाई जिस्क्याउन सकिन्छ। ठट्टा गर्न सकिन्छ। यस्तो अवस्थामा भद्रताका साथ गैह्र यौनजन्य प्रेमपूर्वक ढंगले जिस्क्याउँदा महिलाले सुरक्षित अनुभूति गर्नुका साथै आफ्नो महŒव बढेको अनुभूति गर्छिन्। सुत्केरी तथा शिशुलाई स्तनपान गराइरहको अवस्थामा महिलाका लागि यौन सम्पर्क प्राथमिकतामा पर्दैन। शिशुको स्याहार सुसार तथा स्तनपान नै प्राथमिकतामा पर्छ। त्यसैले यस्तो अवस्थामा पुरुष यौन जोडीले महिलालाई यौनको दृष्टिले नहेरी आमा (यौन जोडी) र शिशुको स्याहार सुसारमा लाग्नु नै उचित हुन्छ।

पुरुषप्रति वितृष्णा
आमालाई आफ्नो शिशुप्रति यति गहिरो प्रेम हुन्छ कि, उनलाई यौन जोडी रोज्ने कि शिशु रोज्ने भन्ने अवस्था आएको खण्डमा सामान्यतः महिलाले शिशु नै रोज्छिन्।

शिशुको जन्मले यौन जोडीबीचको यौन सम्बन्धमा ठूलो परिवर्तन ल्याएको हुन्छ। त्यस्तो परिवर्तनलाई पुरुष यौन जोडीले सावधानीपूर्वक गैह्र यौनजन्य क्रियाकलापको बाटो अख्तियार गर्नुपर्छ। महिला सुत्केरी भएको अवस्थामा पुरुषले संयमित तथा भद्र व्यवहार अपनाउन नजानेको तथा अपनाउन नसकेको खण्डमा महिला यौन जोडीलाई त्यस्ता पुरुषप्रति वितृष्णा उत्पन्न भई एक्लोपनाको महसुस हुने जोखिम हुन्छ।

शिशुलाई स्तनपान गराइरहेको अवस्थामा समेत पुरुष यौन जोडीले महिलालाई यौनका दृष्टिले हेर्दा महिलाले आफूलाई पुरुषको यौन तृप्ति मेट्ने साधनको रुपमा प्रयोग भएको महसुस गर्न सक्छिन्। जसले यौन जोडीबीचको सम्बन्धमा दरार उत्पन्न हुन पुग्छ। त्यसैले पुरुष यौन जोडीले शारीरिक तथा मानसिक रुपमा आफ्नो उपस्थिति महिला यौन जोडीसँगै छ भन्ने देखाउनु नै बुद्धिमता हुन्छ।

सम्बन्धले यौन शक्ति
सुत्केरी तथा स्तनपान गराएको अवस्थामा पुरुष यौन जोडीले आफ्नो यौन जोडी महिला र शिशुलाई प्राथमिकतामा राखी सहयोगी भूमिका खेलेको अवस्थामा स्तनपान पछि बढी शक्तिशाली तथा आनन्दमयी यौन जीवन हुन सहयोग पुग्छ। यसरी एक आपसमा साथ सहयोग हुँदा एकभन्दा धेरै शिशु जन्मिएको अवस्थामा समेत आमा–बुवाले पहिलो सन्तानको अनुभूति गर्छन्। यौन जोडीबीचको सुमधुर सम्बन्धले यौन क्रियाकलापमा पुनर्ताजकी गराउँछ। त्यसो त महिलाले पनि पुरुष यौन जोडीको सहयोगी भूमिकाको सम्मान र प्रशंसा गर्न पछि पर्नु हुन्न। जसले यौन जोडीबीचमा यौन रसास्वादनको मिठो अनुभूति हुन्छ।

यस किसिमको गैह्र यौनजन्य सहयोगी भावनाले यौन जोडीलाई एक–आपसमा बुझ्ने र सिक्ने ठूलो मौका हो। यसले यौन सम्बन्धको घनिष्ठता र यौनजन्य अभिव्यक्ति पुनस्र्थापित गर्छ।

रजश्वलापछि यौन
शरीर क्रिया विज्ञानअनुसार सुत्केरी भएपछि रजश्वला नभएको अवस्थासम्म यौन सम्पर्क नगर्नु नै उत्तम हुन्छ। सुत्केरी भएपछि महिलाका पेट र योनीका मांशपेशी खुकुला हुन्छन्। ती मांशपेशी कसिएको र पूर्ववत् कार्यजन्य अवस्थामा आएको निक्र्याेल रजश्वलाले गर्छ। जुन यौनका लागि भरपर्दो सूचक हो। सुत्केरीपछि रजश्वला नहुञ्जेल महिला यौनका लागि शारीरिकरुपमा तयारी हुन्नन्। यस्तो अवस्थामा पुरुष यौन जोडीले यौन तृप्ति मेटिहाल्ने चेस्टा नगर्नु नै उचित हुन्छ। पुरुषले संयमित भएर सुत्केरी यौन जोडी र शिशुको स्याहार सुसार गर्नाले यौन चाहना भुल्नसमेत सकिन्छ। जसले संयमित पनि हुन सकिन्छ।

तसर्थ २१ औँ शताब्दीमा जनावरजन्य यौन सम्बन्धले यौन जोडीबीचको जीवन सफल हुन्न। यसका लागि यौन शिक्षा त आवश्यक छ। विशेषगरी नेपाली खस संस्कार तथा संस्कृति तथा अभ्यासमा सुत्केरी महिलालाई पुरुषले छुन हुन्न भन्ने धारणा छ। मधेसी समुदायमा अझ बढी कट्टरता देखिन्छ। अर्को तर्फ जनजातिमा यो मामलामा बढी उदारता देखिन्छ।

यौन जोडी सुत्केरी भएको अवस्थामा पुरुषले यौन तृप्ति मेट्नका लागि वैकल्पिक यौन जोडी रोजि संसर्ग गर्नु हुन्न। यस्तो अवस्थामा स्थायी यौन जोडीसँगको सम्बन्ध त बिग्रने जोखिम हुन्छ। जसले तनाव पैदा गर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment