२६ वर्षदेखि सधै हिट

शुक्रबार, १५ कार्तिक २०७६, ११ : ४७ रीना माेक्तान
२६ वर्षदेखि सधै हिट जाजरकोट खलंगाका बालिकाहरु तिहारमा देउसी भैलो खेल्नेक्रममा नेपाली पहिचान र मौलिकता झल्किने परिहनमा सजिएर गाउँ, घर डुल्दै।

‘तिहारै आयो लौ झिलिमिली ए सुन हजुर भैलिनी आए मागन,
मनको आँखा उघारी हेर ए सुन हजुर लक्ष्मी आइन् आगन’

तिहार आयो कि हरेक वर्ष गुञ्जने गीत यही हो। २६ वर्ष भइसक्यो यो गीत आएको। फिल्म ‘स्वर्ग’मा समावेश यो गीत अझै उस्तै लोकप्रिय छ। यो गीत बिना तिहारै अधुरोझैँ देखिन्छ। देउसे हुन् या भैलिनी, तिहारमा यो गीत छुट्दैन।

यादव खरेलको शब्द अनि शम्भुजित बास्कोटाको संगीत रहेको यस गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर रहेको साढे दुई दशक अघिको यो गीत कसरी सदाबहार बन्यो त ?

‘यो गीतमा तिहारको भाव देखाउने सांस्कृतिक पक्ष छ अनि फिल्मको नायक र नायिकाको अन्तरसम्बन्धको कथा पनि,’ गीतकार यादव भन्छन्, ‘गीतमा गायन, संगीत अनि लेखन पनि राम्रो भयो। अनि दृश्यांकन पनि राम्रो भएकाले यति लामो समय टिकेको हुनुपर्छ ।’

फिल्मको गीत भएकाले यसमा पात्र अनि परिवेश पनि मिलाउनु प-यो गीतकार खरेलले। त्यसैले यो गीत लेख्नुअघि निर्देशक शम्भु प्रधानले नै उनलाई परिवेशबारे जानकारी गराएका थिए। उनले कथा, घटना अनि परिवेश बुझेर गीतको शब्द रचना गरे।

खरेलको घरमा हरेक वर्ष युवापिँढी देउसीभैलो खेल्न पुग्छन्। अनि उनकै आँगनमा उनीहरु ‘तिहारै आयो’ बोलको यो गीत बजाएर नाचगान गर्छन्। अहिलेका युवा पिँढीले २६ वर्ष पुरानो आफ्नो गीतमा कम्मर मर्काएको देखेर खरेल रमाइलो मान्छन्।

‘अहिलेका युवा पिँढीका भाइबहिनीलाई यो गीत कसले लेखेको थाहा हुन्न,’ उनी भन्छन्, ‘तर उनीहरुको छनोटमा यो गीत पर्छ। यस गीतलाई अझसम्म पनि अरु गीतले रिप्लेस गरेको छैन। धेरै लामो समय बाँच्यो। स्रोताको मन जितेकाले अहिलेसम्म टिक्यो।’

महत्व नदिइएको गीत
‘स्वर्ग’ फिल्मका निर्देशकसमेत रहेका शम्भु प्रधानका अनुसार फिल्मका गीत रेकर्ड गर्दा यसलाई त्यत्ति महत्व दिइएको थिएन। त्यसैले फिल्मका अन्य गीतलाई मुम्बईमा रेकर्ड गरिएको भए पनि यो गीतलाई भने नेपालमा नै रेकर्ड गरिएको थियो।

‘तिहारसम्बन्धी लोकगीत हो भनेर महत्व नदिएर यतै रेकर्ड ग-यौँ, तर यही गीत कालजयी भयो,’ प्रधानले भने, ‘तिहार आयो कि यही गीत जहीँतहीँ बज्छ। यो सुन्दा मलाई एकदम रमाइलो लाग्छ।’

११ दिन लगाएर सुटिङ
यस गीतमा अभिनेत्री गौरी मल्ल, शिव श्रेष्ठ, नीर शाह, स्वर्गीय कलाकार सुभद्रा अधिकारी फिचर्ड छन्। गीत जति मीठो छ, दृश्यांकन पनि उत्तिकै राम्रो। प्रधानका अनुसार यो गीत छायाँकन गर्न ११ दिन लागेको थियो। भक्तपुरको चाँगुनारायण मन्दिरमा यसको छायाँकन गरिएको थियो।
‘गीत खिच्न चाँगुनारायण पुग्दा नै रात पथ्र्यो,’ प्रधानले भने, ‘जाडोको महिना थियो। त्यो बेला काम पनि त्यति छिटो हुन्थेन। डिजिटल थिएन, सबै कुरा नेगेटिभमा खिच्थ्यौँ।’

पहिलो गीत नै हिट
यो गीतमा स्वर दिने गायिका नूतन निर्देशक प्रधानकै श्रीमती हुन्। गीतमा उनीसँगै लोचन भट्टराईको पनि स्वर छ। नूतनको यो पहिलो फिल्मी गीत थियो। उनले गाएको पहिलो फिल्मी गीत नै हिट भइदियो। ती पल सम्झदा उनी अहिले पनि मक्ख पर्छिन्।

‘यो मैले गाएको पहिलो फिल्मी गीत थियो,’ नूतन सम्झँदै भन्छिन्, ‘अरु बेला त्यसरी फिल्म लाइनमा गाएको थिइनँ। लोचनजी र मैले यो गीतमा स्वर दियौं। त्यतिबेला त्यत्तिकै गाइदिएकी थिएँ, अहिले आएर त गीत नै अमर भइदियो।’

किन उछिन्न सकेन अरुले ?
हरेक वर्ष तिहार लक्षित नयाँ गीतहरु गायकगायिकाले ल्याउने गरेका छन्। तर, ती गीतले एक वर्षको तिहार पनि मुस्किलले काट्छन्। अर्को तिहारमा त ती गीत हराइसक्छन्। ‘स्वर्ग’ फिल्मको यस गीतलाई अहिलेसम्म उछिन्ने अर्को गीत बनेको छैन। सदाबहार तिहारे गीतको पहिलो नम्बरमै पर्छ यो।

यसलाई उछिन्न नसके पनि केही अन्य गीतहरु पनि छन्, जुन तिहार लाग्नेबित्तिकै बारम्बार घन्किन्छन्। सुगम पोखरेलको ‘दसैं–तिहार’ बोलको गीत पनि खुब बज्छ तिहारमा। आठ वर्षअघि युट्युबमा सार्वजनिक भएको यो गीतले पनि दशैं तिहारमा स्थान पाइरहेको छ। गीतले दाजुबहिनीको मर्म बोल्छ। सुगमले गाएको उक्त गीतलाई युट्युबमा ७१ लाख भन्दा बढी पटक हेरिसकिएको छ।

कभर गायनबाट चर्चा कमाएका गायक स्वप्न सुमन अनि नट्टु शाहको टिमले गाएको ‘तिहार सेसन’ शीर्षकको मासअप गीतले पनि पछिल्लो दुई वर्षयता युवा स्रोताको मन जितिरहेको छ। त्यस्तै अल्मोडा राणाको टिमले गाएको ‘तिहार सङ’ पनि युवा दर्शकमा चर्चित गीत हो।

त्यस्तै दीक्षा थापा र गायक नट्टु शाहले गाएको ‘तिहार सङ’ शीर्षकमा युट्युबमा सार्वजनिक भएको गीत पनि पछिल्लो समय युवा दर्शकको मनमा बस्न सफल देखिन्छ। लोकगीततर्फ रेशम सापकोटाको ‘दसैं–तिहार’ बोलको गीत पछिल्लो समय दर्शकले रुचाएका थिए। पछिल्लो वर्ष अमृत खाती र उमा श्रेष्ठको स्वरमा ‘हजुरको आँगनी’ बोलको लोकगीतले चर्चा कमाएको थियो।

यी त भए पछिल्ला केही वर्षयता सुनिँदै आएका चर्चामा रहेका गीत। यो वर्ष पनि तिहारसम्बन्धी धेरै गीत सार्वजनिक भए।

यस वर्षको तिहार लक्षित गायक रामकृष्ण ढकालको ‘टीका माला’,  सन्तोष केसी र शर्मिला गुरुङले गाएको लोकगीत ‘देउसी भैले’, दिप्पी भट्ट र प्रिन्स सिलवालको ‘मखमली फुल्यो’, दुर्गेश थापाको स्वरमा ‘ह्याप्पी तिहार चिसो बियर’ लगायतका गीत सार्वजनिक भए।

अब दुर्गेशको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतले त पछिल्लो समय बजार नै पिट्यो। गीतका कारण उनी विवादित पनि बने। जे होस् दर्शकबीच यो गीत पनि चर्चित बन्यो। यसरी हेर्दा हरेक तिहारमा सधैँ दर्जन बढी गीत रेकर्ड हुन्छन्। सार्वजनिक पनि हुन्छन्। तर, ती गीत किन सदाबहार बन्न सक्दैनन् ? या भनौं ‘तिहारै आयो’लाई रिप्लेस गर्न सक्दैन त ?

गीतकार खरेल अहिलेका गीत कालजयी बन्ने नसकेको स्वीकार गर्छन्। संगीत, शब्द र स्वरको राम्रो मिलन हुन नसक्दा यस्तो भएको उनको ठम्याई छ।

‘कति गीतमा संगीत मात्र राम्रो हुन्छ,’ उनले भने, ‘कतिमा शब्द राम्रो भएन होला। गायन राम्रो भए पनि संगीत राम्रो हुँदैन। त्यसैले हिजोआजका गीत कालजयी हुन सक्दैनन्। अहिलेका तिहारको गीत ‘तिहारै आयो’को स्तरमा बन्न सकेन कि भन्ने मेरो अनुमान हो।’

तिहारसम्बन्धी लामो समयसम्म दर्शकको मन जित्न सफल केही अन्य गीत पनि छन्। जुन तिहारकै अवसरमा गुञ्जने गर्छन्। केही गीतका लिस्ट यस्ता छन्।

‘भाइटीकामा भेट्न’
दाजुबहिनीको सम्बन्धमाथि आधारित मंगोलियन हर्टका राजु लामाले गाएको यो सेन्टिमेन्टल गीतलाई पनि अधिकांश दर्शकले रुचाएका छन्। गीतमा शुक गुरुङले विवाह गरेर बिदा भएकी बहिनीलाई आगामी तिहारमा भेट्ने वाचाको मार्मिक शब्द बुनेका छन्। शलभले निर्देशन गरेको गीतको भिडियोमा गायक स्वयं फिचर्ड छन्।

‘निधारमा लर्काएर सप्तरंगी टीका’
तिहारसम्बन्धी लोकप्रिय अर्को गीत हो, ‘निधारमा लर्काएर सप्तरंगी टीका।’ फिल्म ‘विजय पराजय’मा यो गीत समावेश छ। गीतमा हेमलताको स्वर छ।

‘दियो बाली’
फिल्म ‘चिनो’मा समावेश यो गीत पनि तिहार गीत हो। गीतमा भारतीय लोकप्रिय गायिका आशा भोसलेले स्वर दिएकी छन्। यो गीत विशेषतः लक्ष्मी पूजाको दिन मज्जैले बज्ने गरेको छ।

‘अधरमा आज’
‘अन्याय’ फिल्मको ‘अधरमा आज’ बोलको गीत पनि तिहारको चर्चित गीतमध्ये पर्छ। अहिले पनि तिहारमा यो गीत गुञ्जने गर्छ।

‘आहै झिलिमिली झिलिमिली देउसी रे’
अरुण उपत्यका समूहले संकलन गरेको यो लोकभाका तिहारकै लोकप्रिय गीतमध्ये पर्छ।

‘चोरेर गीत गाउने बढे’
पछिल्ला केही वर्षमा केही युवा गायकहरुले विभिन्न तिहारसम्बन्धी गीतहरु सार्वजनिक गरे। जुन गीतमा ‘वर्षमा दिनमा लै’, ‘हजुरको आँगनीमा’, ‘भैलिनी आइन् आँगन’ जस्ता पहिले नै गाइएका गीतका अंश समावेश हुन्छन्।
लामो समय लोकभाका संकलनमा बिताएका गायक कुमार बस्नेत यस्तो प्रवृत्तिलाई सिधै चोरिएको आरोप लगाउँछन्। उनी भन्छन्, ‘वर्षौं लगाएर हामीले गाउँ–गाउँ गएर लोकभाका संकलन गर्यौं तर अहिलेका गायक/गायिका सम्बन्धित स्रष्टालाई नै नसोधी त्यस्ता भाका आफूअनुकूल प्रयोग गर्ने गर्छन्। अब यसलाई चोरेको किन नभन्ने ? गाउन मन भए गाऊन्, केही छैन तर क्रेडिट त दिनुपर्छ नि ! हो कि होइन ?’

Leave A Comment