एन्जेलिनालाई सुटिङस्थलबाट हटाइयो

बुधबार, २० कार्तिक २०७६, ०१ : २७ शुक्रवार
एन्जेलिनालाई सुटिङस्थलबाट हटाइयो

हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई फिल्म सुटिङस्थलबाट हटाइएको छ। मार्भलको ‘द इन्टर्नल्स्’ फिल्मको सुटिङको दौरान उनीसहित अभिनेता रिचार्ड म्याडन र फिल्म युनिटलाई निकालिएको थियो।

स्पेनको क्यानरी टापुमा फिल्म सुटिङको दौरान बिस्फोट नभएको बम भेटिएपछि निक्रिय गर्न सुरक्षा विज्ञ टोली बोलाइएपछि फिल्म युनिटलाई हटाइएको थियो। ‘फिल्म सुटिङको क्रममा दशकौदेखि बिस्फोट नभएको बम भेटिएपछि विज्ञ टोलीको आग्रहमा सबैलाई हटाइएको थियो,’फिल्म सुटिङमा संलग्न एक प्राविधिकले भने, ‘अभिनेत्री जोलीको सिन खिचिरहेको अवस्थामा सो बम भेटिएपछि भागदौड भएको थियो। तत्काल सुरक्षा विज्ञ टोलीलाई बोलाइएको थियो।’

फिल्म सुटिङमा खटिएका टोलीहरुबीच भागदौड हुँदा केहीबेर स्थिति नाजुक भएको थियो। सुरक्षा विज्ञहरुले दोस्रो विश्व युद्धको दौरान सो टापुमा फालिएको बम हुनसक्ने आशंका गरेका छन्। यसलाई क्लो झावोव्र्किनले निर्देशन गरिरहेका छन्। ‘द इन्टर्नल्स्’ सन् २०२० को नोभेम्बर ६ मा रिलिज हुनेछ।

केही समयअघि उनले महिला र बालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन लन्डनमा विश्वविद्यालयअन्तर्गत लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका विद्यार्थीहरूलाई आग्रह गरेकी थिइन्। उनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त विशेष दूत हुन्। द्वन्द्व क्षेत्रमा हुने यौन हिंसा रोकथामको लागि उनले बेलायतको पूर्व विदेशमन्त्री विलियम हेगसँग सहकार्य गरेर सञ्चालन गरेको अभियान चलिरहेको छ। यो अभियानले द्वन्द्वग्रस्त क्षेत्रमा हुने बलात्कारका घटनालाई अन्त्य गर्न संसारभर काम गरिरहेको छ।

गत अप्रिलमा आयोजित संयुक्त राष्ट्रसंघअन्तर्गत रक्षामन्त्रीहरूको सभामा बोल्दै उनले महिला शान्ति सेनाको भूमिका विस्तार गर्न आग्रह गरेकी थिइन्। ‘महिला र बालिकाहरू अझैपनि युद्धको सिकार भइरहेका छन्। आधुनिक द्वन्द्वको केन्द्रमा महिला र बालिकाहरू पर्ने गरेका छन्। तर, राजनीति र आफ्नो भविष्यको निर्णय गर्न उनीहरूलाई स्वतन्त्रता छैन्। जबसम्म हामी महिलाको अधिकार र सहभागिताको लागि सबै मुद्दाहरूलाई अगाडि बढाउछौं, तबसम्म हामी हिंसा र द्वन्द्वको चक्रमा अडिनेछौं,’ उनले भनेकी थिइन्।

उनी अभिनित ‘मेलफिसेन्टः मिस्ट्रेस अफ ईभिल’ फिल्म गत अक्टोबर १८ देखि रिलिज भएको थियो। छ वर्षपछि अभिनेत्री जोली अभिनित मेलफिसेन्ट फिल्मको सिक्वेल ‘मेलफिसेन्टः मिस्ट्रेस अफ ईभिल’ फिल्ममा एली फेनिङ, सेम रिले, इमेल्डा स्टान्टन, जूना टेम्पल, लेसले मेनविलेलगायत कलाकारले अभिनय गरेका थिए।

Leave A Comment