रियालिटी चेक : विवादमा आस्था र प्रमोद

बिहिबार, २१ कार्तिक २०७६, १२ : ०९ शुक्रवार
रियालिटी चेक : विवादमा आस्था र प्रमोद

द भ्वाइस अफ नेपालको नकआउट राउण्डको अन्तिम प्रतिस्पर्धा सकिएसँगै लाइभ राउन्डमा प्रवेश ग-यो। चारै जना कोचले आफ्नो टिमका नौ–नौ जना प्रतिस्पर्धीबाट ३–३ जना प्रतियोगी छानेका छन्।

कोचहरुले नकआउटमा आफ्नै टिमका ३–३ जना प्रतियोगीलाई उतारेर एक जना चयन गरेका थिए। धेरै आशा गरिएका प्रतियोगी नकआउट राउन्डमा टिक्न सकेनन्। केही कोचको निर्णय विवादमा आयो। लाइभ राउन्डमा प्रवेशसँगै अब कोचको निर्णयभन्दा भोटिङ निर्णायक हुनेछ।

चारै कोचको समूहबाट लाइभ राउन्डमा पुगेका प्रतिस्पर्धी हेर्दा कोच राजुका प्रतियोगी अन्य समूहको तुलनामा कमजोर देखिन्छन्। पहिलो सिजन जितेका कोच दीपको समूह बलियै देखिन्छ। कोच प्रमोदले पनि ठिकठिकै प्रतियोगीलाई लाइभ राउन्डमा पु-याए। कार्यक्रमको प्रारम्भदेखि नै केही न केही कारण विवादमा आइरहे पनि कोच आस्थाले लाइभमा पठाएका प्रतियोगी पनि कम छैनन्। आगामी प्रतियोगिता आस्था र दीप टिमका प्रतियोगी हावी हुने देखिन्छ।

कोच दीपको टिम विकास लिम्बु, रजनी रिदम राई र सञ्जय महत ड्रयाकुल छानिएका छन्। अन्य टिमका प्रतियोगीलाई कोच दीपबाट रजनीले कडा टक्कर दिने देखिन्छ।

कोच आस्थाको टिमबाट आरिफ राउफ, यान्की ह्याल्मो र शशिका सुनार राई लाइभ राउन्डमा गए। कोच आस्था लाइभ राउन्डमा पनि विवादमा आइन्। प्रतियोगीले नै उनीमाथि भेदभाव गरेको आरोप लगाए।

प्रतियोगी नविना जोशीले आस्थाले भेदभाव गरेको र ब्याटल राउन्डको नतिजा आउनुअगाडि नै आस्थाले आरिफलाई छान्ने सेटमा सूचना आएको खुलासा समेत गरिन्। उनले ब्याटल राउन्डको प्रस्तुतिका आधारमा भन्दा पनि कसको फ्यान फलोइङ कस्तो छ भन्ने आधारमा लाइभ राउन्डका लागि छनोट गरिएको दाबी गर्दै आस्था राउतको आलोचना गरेकी थिइन्।

कोच आस्थाको समूहबाट लाइभ राउन्डमा गएकामध्ये याङ्की र आरिफ बलिया देखिन्छन्। राम्रो गायनसँगै आरिफको फ्यान फलोइङ राम्रो देखिएकाले उनी बलिया प्रतिस्पर्धी देखिएका छन्।

कोच राजुको टोलीमा गीता शर्मा, अञ्जु राना मगर र सनिष्ट श्रेष्ठ लाइभ राउन्डमा छानिएका छन्। तीन प्रतियोगीको क्षमता उस्तैउस्तै देखिन्छ। अन्य समूहका प्रतियोगीको तुलनामा टक्कर दिने प्रतियोगी उनको समूहमा कमै देखिएका छन्।

कोच प्रमोदबाट बलबहादुर राई, मेचु धिमाल र राम लिम्बु लाइभ राउन्डमा गए। मेचुलाई छान्दा प्रमोदले सुशान्त गौतमलाई गुमाए। मेचु र सुशान्तमध्ये एक छान्न निक्कै कठिन भएको थियो उनलाई।

अन्य तीनै जना कोचले सुशान्त छान्दा उनी मेचुतिर जानुको कारण समूहमा एक महिला प्रतियोगी राख्ने लोभझैँ देखियो। उनको समूहमा सुशान्त परेका भए आगामी यात्रा अन्य कोचका प्रतियोगीलाई कठिन हुन सक्थ्यो। उनी आउट भएपछि सामाजिक सञ्जालमा आएको नकारात्मक प्रतिक्रियाले उनको गायकीको फ्यानको संख्या समेत देखाउँछ।

Leave A Comment