लेखक तथा साहित्यकार सञ्जीव उप्रेती प्राध्यापक पनि हुन्। २५ वर्ष त्रिभुवन विश्वविद्यालय केन्द्रीय अंग्रेजी विभागमा अध्यापन गराएका उप्रेतीका ‘सिद्धान्तका कुरा’ गैरआख्यान तथा ‘घनचक्कर’ र ‘हंस’ दुई उपन्यास प्रकाशित छन्। त्यस्तै ‘मकैको अर्कै खेती’ नाटक पनि प्रकाशित छ। उप्रेतीसँग शुक्रवारकर्मी प्रजु पन्तले दुई उपन्यासको लेखन र विषयबस्तुबारे गरेको कुराकानीः
‘हंस’को प्रतिक्रिया कस्तो आयो ?
राम्रो प्रतिक्रिया पाएको छु।
कुनै विषयवस्तुले छोएपछि नै लेख्न फुर्छ भनिन्छ। ‘घनचक्कर’ र ‘हंस’ लेख्दा केले छोएर फुरेको हो ?
‘घनचक्कर’को पृष्ठभूमि ०६२/६३ को आन्दोलन हुनुअगाडि लेखिएको हो। आन्दोलन सुरु हुनुभन्दा अगाडि देशमा व्याप्त हत्या–हिंसा मच्चिएको थियो। म लगायतका केही साथीहरु गुरुकुलमा बसेका थियौँ। त्यहीबेला पुलिस आएर लेखक तथा पत्रकारलाई कुटपिट ग-यो, जेल चलान ग-यो। त्यसमा म पनि सहभागी भएँ। यो कुराले मेरो मन खलबल भएको थियो। देशकै परिस्थितिले एक प्राध्यापकको मनस्थितिबारे यो उपन्यास लेखेँ।
सरसर्ती लेखिसकेपछि घनचक्करलाई पुनर्लेखन गर्न टौदह पुगेको थिएँ। त्यहाँ हाँसहरु देखेँ। थाइल्यान्ड, चीनतिरबाट हाँसहरु आउने रहेछन्। डुलन्ते हाँस दह वरपर नै जुनी बिताउने हाँसहरु हुने रहेछन्। त्यतिबेला नै हाँसबारे उपन्यास लेखौं कि भन्ने लागेको थियो तर विश्वविद्यालयको कामले यता भ्याइनँ। सन् २०१५ मा विश्वविद्यालयबाट स्वेच्छिक अवकाश लिएपछि लेख्न समय पाएँ।
सामान्यतः प्रकाशित पुस्तक पुनर्लेखन हुन्न क्यार। केही गल्ती भए सच्याउने हो। तपाईंले त ‘घनचक्कर’ उपन्यास प्रकाशित भइसकेपछि पनि पुनर्लेखनै गर्नुभयो। ‘हंस’ पनि पुनर्लेखन गर्ने योजना छ कि ?
‘घनचक्कर’मा कथा विषयवस्तु केही पनि पुनर्लेखन भएको हैन। भाषालाई सामान्यीकरण गरेको मात्र हो। त्यसको पनि कारण छ। म आफू अंग्रेजी विषयको प्राध्यापक नेपाली नलेखेको धेरै भएको थियो। भाषा जटिल नहोस् भनेर नै पुनर्लेखन गरेको हुँ। अन्य मुलुकमा आफ्ना उपन्यासहरुलाई पुनर्लेखन गर्ने चलन छ। यहाँ रहेनछ। भाषाको जटिलतालाई हटाउनुपर्छ भनेर पुनर्लेखन गरेर हटाएँ। ‘हंस’को भाषा सरलै छ। त्यसैले पुनर्लेखनको योजना छैन।
दोस्रो किताब लेख्दा पहिलो किताबको सफलताको प्रेसर खुब हुने देखिन्छ। ‘हंस’को लेखनमा ‘घनचक्कर’ले कत्तिको रिङग्यायो ?
पहिलो उपन्यास चलेको लेखकलाई दोस्रो उपन्यास लेख्न निकै गाह्रो पर्ने रहेछ। पाठकको अपेक्षा पनि बढी हुन्छ। लेखकलाई त्यो भन्दा कमजोर हुन्छ कि भन्ने डर हुने रहेछ।
‘घनचक्कर’मा पुरुषहरुको मनस्थिति केलाउनुभयो। ‘हंस’मा महिला पुरुष दुवैको मनस्थिति केलाएको देखियो। यी पुस्तकहरुलाई मनोविश्लेषणात्मक पुस्तक भने हुन्छ ?
‘हंस’मा भन्दा ‘घनचक्कर’मा बढी मनस्थिति केलाएको छु। त्रिविमा पढाउँदा पनि साइकोलोजी पढाएको थिएँ। त्यसैको प्रभाव परेको हुन सक्छ पहिलो उपन्यासमा। ‘हंस’मा भने महिला–पुरुषको मात्रै हैन बाहिरको परिस्थितिबारे पनि उल्लेख गरेको छु।
‘घनचक्कर’मा प्राध्यपकको मनस्थिति केलाउनुभएको छ। ‘हंस’मा धेरै पात्र छन्। त्यसमध्ये एउटा प्रमुख पात्र साहित्यकार हो। तपाईं आफू साहित्यकार पनि प्राध्यपक पनि। कतै यी उपन्यासका पात्र तपाईं आफू नै त हैन ?
‘घनचक्कर’मा जानाजान आफ्ना विचारको पनि प्रतिनिधित्व गरिएको छ किनभने त्यो ‘म’ पात्र छ, त्यो प्राध्यापक नै हो। त्यो म पात्र त्रिविमा पनि पढाउँछ, अखबरमा पनि लेख्छ। त्यसको कारण छ, इतिहास पनि कथा जस्तै हुन्छ। दरबार हत्याकाण्ड भयो। अझै पनि हामी कसले मा-यो भनी छलफल गर्छाैं। हामीले वास्तविकता के हो, कथा के हो छुट्ट्याउन सकिरहेका छैनौँ। त्यस्तै कथा र जीवनको साँधलाई छुट्ट्याउन आफू मिसिएको हो। सञ्जीव उप्रेतीको जीवन के हो, कल्पना के हो त्यो खुट्टाउन जानाजान प्रयोग गरेको थिएँ।
तर ‘हंस’को हाँस हँसिनीको प्रेमकथा पूरै काल्पनिक हो। जार पात्र अनुज भने रियल पात्र हो। मैले उसलाई न्युयोर्कमा भेटेर गफै गरेको हो। अहिले उसको परिचय नभनौँ। नागराजा नागरानी, डोब्रे सर्प किवंदन्ती हुन्। गैरकानुनी रुपमा अमेरिका बसेका रामकुमार पात्र पनि रियल पात्र हो।
‘हंस’मा चरा, जनावर र रुखहरुको बारेमा छ। त्यो पूरै काल्पनिक हो कि सन्दर्भ सामग्री उपयोग गर्दै वास्तविकता उतार्नुभयो ?
फिक्सन भन्दैमा कल्पनामा उडेको उड्यै हुँदैन। यो उपन्यास लेख्नुअघि प्रकृतिबारे अध्ययन गरेको छु। चरा र रुखहरुबारे बुझ्न रिचार्ड ग्रिमेट, कार्लो इनस्किप र टिम इनिस्किपको ‘बर्डस् अफ नेपाल’, लैनसिंह वाङ्देल र रबर्ट फेमिङ जुनियरको पुस्तक ‘नेपाली चराहरु’, प्रज्ज्वलको ‘बर्डस् अफ नेपाल’, पिटर वलेबेनको ‘द हिडन लाइफ अफ ट्रिज’ आदि पुस्तकहरुबाट तथ्यहरु लिएँ। चराहरुको आवाज सुन्नलाई युट्युब उपयोग गरेँ। रुख र चराहरुको सम्बन्धबारे पनि अध्ययन गरेँ। चराहरुबारे बुझेर नै तथ्यात्मक कुरा लेखेको हुँ।
चराहरुसँगको सामीप्य कसरी बढ्यो ?
म सानैदेखि प्रकृतिप्रेमी नै हो। चराहरुको बारेमा अध्ययन चैँ ‘हंस’ लेख्दा गरेको हो। गाउँमा किसिम–किसिमका चराहरु हुन्थे। खासै नाम थाहा थिएन। संसारमा धेरै थरिका जीवहरु छन्। हामीमा त्यो जानकारी नै छैन। हामी आफू केन्द्रित भएका छौँ। म यसलाई मानव केन्द्रित अन्धता भन्ने गरेको छु। यो उपन्यास यही मानव केन्द्रित अन्धताको आलोचना पनि हो।
प्रकृतिको नाश भएको छ। मूर्त रुपमा बुझ्नुपर्छ। चरापिच्छे फरक–फरक रुखमा बसेका हुन्छन्। हरेकको आफ्नै बानी हुन्छ। ‘तोप’ चरा अचम्मको हुन्छ, ब्याग जस्तो गुण बनाउँछ। भित्रपट्टि गोबर टाँस्छ र जूनकीरी ल्याएर रातमा उज्यालो बनाएको हुन्छ। उसको पनि सीप छ नि ! प्रकृतिका यस्तै गुणले मलाई तानिरहन्छ।
उपन्यासमा गलत औषधी दिने डाक्टरको लापरवाही, लिंगभेद, राष्ट्रियता, साहित्यकारको कुण्ठा, गैरकानुनी रुपमा अमेरिका पुगेकाका व्यथा, आध्यात्मिक गुरु प्रतिका व्यंग्य धेरै विषयवस्तु छन्। ती सबै विषय एउटै उपन्यासमा किन ?
मैले यही विषय उठाउँछु भनेर उठाएको हैन। लेख्दा हाँसले क्लिक गरेपछि लेखेको हो। नियतवश तिनै कुरा राखुँला भनेर गरेको हैन। उपन्यास पनि यही समाजका पात्रकै कथा हो। यहीँका व्यक्तिलाई कल्पना गरेर लेख्दा भइरहेका घटनाहरु जोडिदै गए।
पृष्ठ ४१ मा उपन्यासको प्रेम भन्ने पात्रले कवितावाचनपछि सीमा भन्ने अर्काे पात्रको आलोचनालाई मन पराएको हुन्छ। तपाईंले केही समयअघि दिएको अन्तर्वार्तामा म र मेरी श्रीमतीमा हुन्छ र हस् मात्र हैन, कुनै विषयको आलोचना र समर्थन जे पनि हुन्छ भन्नुभएको थियो। उपन्यासकी सीमा पात्रको सिर्जनाको पृष्ठभूमि यही हो ?
यो त संयोग हो। बरु ‘घनचक्कर’मा चैँ मिलाउन खोजेको थिएँ। हामीले लेख्दा केही न केही आफ्नै जीवनको अनुभूतिबाट आइनैरहेको हुन्छ। जीवनको अनुभवबाट नै तान्ने हो पात्रहरु। नन्फिक्सन लेख्दा पनि आफ्ना अनुभूतिहरु त मिसिएकै हुन्छन्।
लहडे हाँस उड्न चाहन्छ। लहडे हाँसको यो चाहनालाई देखेर उसको काका हाँसले भन्छ .. ‘दहको पिँधमा इतिहास छ इतिहासलाई बुझ अनि बल्ल हाँस जातिको स्थिति र नियति बुझ्न सक्छौँ।’ यसलाई विदेश भासिन चाहने नेपाली युवाको मनस्थितिलाई विम्वात्मक रुपमा प्रस्तुत गर्नुभएको हो ?
हाँसो.... हो। कुनै उपन्यास लेख्दा देशको स्थिति देखाउँछु भनेर सोच्दा पनि सोच्दिनँ। एउटा कथा लेख्न थालेपछि कथाको स्वरुप आउँछ अनि आन्तरिक लजिक हुन्छ। देशकै कुरा पनि आएका हुन्छन्। केही न केही रिफ्लेक्टहरु आएका हुन्छन् नै। यसमा पनि यही हो। लेख्दा आफैँ आउने कुरा हुन्। धेरै सोचिराख्नै पर्दैन।
दुवै उपन्यासमा पानी प्रतिको मोह उस्तै देखिन्छ नि !
‘घनचक्कर’मा वाग्मती विष्णुमतिमा हिँडेको र बाथटबमा डुबेको कुरा छन्। १७ वर्षको उमेरमा एकचोटी म घर छोडेर जोगी बन्छु भनेर हिँडेको थिएँ। आर्यघाटमा बसेको थिएँ। त्यो अनुभवले ‘घनचक्कर’मा जोगीको सिन क्रिएट गर्न सहज भयो। ‘हंस’मा पानीको प्रभाव अलि बढी छ। त्यो हुनुको कारण कथाको सुरुवात नै पानीको छेउ भएर हो।
दुवै उपन्यासमा टौदह छुटेन है ?
त्यो मिलेको छ। अध्ययन अध्यापन गर्ने क्रममा बाहिर जहाँ जहाँ गए पानीकै छेउमा गएर लेखेँ। प्रशान्त महासागर, बिरिङ खोला, फूलमती खोला, हिन्द महासागर आदि।
अब नयाँ उपन्यास कस्तो आउँछ ?
एउटा उपन्यासको सोच आइरहेको छ। कस्तो हुन्छ, विषयबारे अहिले नभनौँ तर यो भन्दा छिटो नन् फिक्सन आउने सम्भावना छ।
Leave A Comment