१८ यात्रुको ज्यान लिँदै ५० जना घाइते हुने गरी आइतबार सुनकोसी नदीमा भएको भयानक बस दुर्घटनामा १७ जनाको उद्धार गरे २२ वर्षे युवा सोनाम तामाङले। पढाइ खर्च जोहो गर्न सिन्धुपाल्चोकको बलेफीबाट सुनकोसी किनारमा रहेको रिसोर्टमा आएका उनले सात वर्ष लगाएर -याफ्टिङ सिके। अहिले उनी आधिकारिक गाइड हुन्। ग्राहकलाई सुरक्षित -याफ्टिङ गराउनु र साहसिक खेलको रोमाञ्चकता प्रदान गर्ने जिम्मेवारी बोकेका उनले गरेको साहसिक उद्धार उनकै शब्दमाः
शुक्रबार र शनिबार -याफ्टिङ गर्नेको चापले खाना खानेसम्म फुर्सद हुँदैन। म सुकुटे बिच रिसोर्टमै थिएँ। आइतबार काम थिएन। त्यतिकै सुस्ताइरहेको थिएँ। रिसोर्टबाट कहिले वरपरको वातावरण नियाल्थेँ, त कहिले सुनकोसी नदीतिर आँखा डुलाएर टहलिँदै बस्थेँ। त्यो दिन यसो मोबाइल चलाएर बसिरहेको थिएँ।
त्यस्तै दिउँसो सवा १ बजेको थियो। हुइँकिएर आएको बस सडकबाट झ्याम्मै सुनकोसीमा खस्यो। रिसोर्टबाट बस खसेको ठाउँ त्यस्तै २०/३० मिटर टाढा थियो। बस खस्दा ठूलै आवाज आयो। आफ्नै आँखा अगाडिबाट बस खोलामा खसेको देख्दा झसङ्गै भएँ। के गर्ने, कसो गर्ने भन्ने औडाहा भयो। के गरौँ, कसो गरौँ भयो। खोलामा खसेका मान्छे बग्ने पक्का थियो। जतिलाई सकिन्छ, बचाउनुपर्छ भन्ने लाग्यो।
-याफ्टिङ बोट खोलाको बगरमै थियो। तर लाइफ ज्याकेट, टोपी लगायत सुरक्षा सामग्री रिर्सोटको स्टोरमा थियो। सुरक्षा सामग्री खोज्दा ढिला होला जस्तो लाग्यो। ढिला गर्दा धेरै मान्छे बग्ने जोखिम थियो।
होस् त्यत्तिकै जान्छु भनेर -याफ्टिङ बोटमा बसेर खोलामा छिर्न मात्रै लागेको थिएँ, होटलका म्यानेजर श्याम श्रेष्ठले भन्नुभयो, ‘सोनाम भाइ, बस सुनकोसीमा खस्यो। उद्धारका लागि तयार होऊ।’
‘म जाँदैछु,’ भनेँ। उहाँ पनि ‘पर्ख, पर्ख’ भन्दै अरु तीन जना लिएर आउनुभयो। हामी चार जना भयौँ। -याफ्टिङ बोट लिएर सुनकोसीमा हेलियौं।
दुई मिनेट जति लाग्यो बस खसेकै ठाउँमा पुग्न। हतार भएपछि त दुई मिनेट समय पनि लामै पो लाग्ने रहेछ !
त्यो भयानक दृश्य
उत्तानो परेर पल्टिएको गाडीको केही भाग मात्र पानीबाहिर थियो। घाइते, मृतकको रगतले धमिलो सुनकोेसी रातै भएको थियो। घाइतेहरु आइयाआत्था गरिरहेका थिए। कोही खोलामा तैरिरहेका, कोही बगिरहेका ! भयानक दृश्य ! बस खसेको ठाउँमा पुग्दा त सातो नै गयो। फिल्मतिर देखे पनि आफ्नै आँखाले यस्तो देखेकै थिइनँ। ज्यानै चिसो भएर आयो।
उद्धारका लागि गएको आफैँ आत्तिए त बर्बाद हुन्छ भनेर सम्हालिन खोजेँ। यसो हेरेको खोलाको पानीबाहिर रहेको बसको भागमा उभिएर १० जना जति थिए। अन्य उद्धारकर्ता होलान् कि भनेको हैन रहेछ। उनीहरु रोइकराई गरिरहेका थिए। ती सबै बसका यात्रु रहेछन्। केही यात्रु पौडिन खोज्दै गुहार मागिरहेका थिए। डुबेको बसभित्र बच्चा रोएको, महिला रोएको आवाज आइरहेको थियो।
कतातिर चैँ पहिला जाने ? पहिला बसको डुबेको भागमा रहेकाहरुलाई निकाल्नुप-यो भनेर त्यतै लाग्यौँ। केहीलाई देखेपछि हात समाउँदै घाइतेलाई बोटमा ल्याउन थाल्यौं। तर कति यात्रु आउनै मानेनन्। ‘मेरो आफन्त नि छन्, उनलाई पनि निकाल’ भनेर भित्रै बस्न खोजे। कोही ‘पहिला हाम्रा मान्छे खाजिदेऊ अनि बाहिर आउँछु’ भन्न थाले। उनीहरुको कुरै नसुनी हातमा समातेर जबर्जस्ती तानेर बोटमा राख्न थाल्यौं।
कुरा पनि कसरी सुन्नु ? पहिला जसलाई बचाउन सम्भव छ, उसैलाई बचाउनु प-यो नि ! यस्तोमा मनले भन्दा पनि दिमागले काम गर्नुपर्छ भन्ने थाहा थियो। मनसँगै बहकियो भने उद्धार राम्रो हुँदैनथ्यो।
बसले च्यापेका कोही छन् कि भनेर खोज्दा दुई जना देखियो। उनीहरुलाई निकालेँ। दुवैको मृत्यु भइसकेको रहेछ। शव नदी किनारमा राखेँ। भटाभट निकाल्न थाल्यौँ। घाइतेहरु भेटिए। उनीहरुलाई किनारामा राखे ज्यान जान सक्थ्यो। उनीहरुलाई बोकेर माथि सडकमा लगे अस्पताल पु-याउन सकिन्थ्यो। त्यसैले घाइतेलाई बोकेर सडक किनारमा पु¥याउन थालेँ। टिमले पनि सहयोग गरिरहेको थियो।
घाइतेलाई सडकमा पु-याएर खोलातिर फर्कँदैगर्दा टाढैबाट पानीभित्र एउटा हल्लिरहेको हात देखियो। बसमा च्यापिएकाले गुहार मागेको होला जस्तो लाग्यो। हुत्तिदै त्यहाँ पुगेर च्याप्प हात समातेर ताने। ती महिला थिइन् र उनको काखमा बच्चा थियो। उनले बच्चालाई पूरै च्यापेर गुहार मागिरहेकी थिइन्। त्यो दृश्यले मनै कुँडियो।
बाबु–आमालाई आफ्नो सन्तानको माया कति धेरै हुँदोरहेछ। झलक्क बा–आमा सम्झिएँ।
यतिखेरसम्म ६–७ वटा -याफ्टिङ बोट नदीमा आइसकेका थिए। अरु गाइडहरुले पनि उद्धार गरिरहेका थिए। बिस्तारै उद्धारकर्ता थपिँदै गए। सुरक्षाकर्मी आइपुग्दा गाइडहरुले पानीमा डुबेका र बगिरहेका अधिकांश यात्रुलाई उद्धार गरिसकेका थियौँ।
घाइतेले भरियो किनारा
आमाछोरीलाई बल्लतल्ल बोकेर राजमार्गमा पु-याएँ। बच्चा धेरै घाइते थिए। उनको रगतले मेरो कपडा पूरै भिज्यो। सडक किनार घाइतेले भरिइसकेका थिए। नदीमा डुबेका घाइते डुम्डुम्ती सुन्निएका थिए। धेरैको टाउकोमा चोट थियो। रगत बगिरहेको थियो। उपचार गर्ने कोही आइपुगेकै थिएनन्।
उद्धार गरेर सडकसम्म त ल्यायौं तर उपचारका लागि उनीहरुलाई जति छिटो अस्पताल पु-यायो, त्यति राम्रो हुन्थ्यो। त्यसैले जताबाट सवारी साधन आउँछन्, तिनलाई त्यतै फर्काएर घाइतेलाई उपचारका लागि अस्पताल पठाउन थाल्यौं। कोहीलाई खाडिचौरको सदाबहार अस्पताल पठायौं। अलि गम्भीर घाइते देखिएकालाई धुलिखेलतिर पठायौँ। चालकहरुले पनि कुनै नाइँनास्ती नगरी घाइतेलाई लिएर अस्पताल गइदिनुभयो। खुसी लाग्यो।
घटनास्थलमा डाक्टर अलि ढिला आए। डाक्टर ढिला आउँदा जिवितै उद्धार गरेका केहीको ज्यान जोगाउन सकिएन। उनीहरुलाई ढिलै खबर भएको रहेछ तर डक्टरहरु आएपछि निक्कै खटिए।
उद्धार गर्दा र अस्पताल पठाउँदा झण्डै तीन घण्टै लाग्यो। दुर्घटनाको खबर फैलिएसँगै मृतक र घाइतेका आफन्त आइपुग्न थाले। दुर्घटना भएको ठाउँमा रुवाबासी चल्न थाल्यो। उनीहरुको रुवाई सुनेर मनै कटक्क खायो। सबैको ज्यान जोगाउन सकेको भए कति राम्रो हुन्थ्यो भन्ने लाग्यो तर सबैलाई जोगाउन सकिएन। यत्रो गर्दा पनि १८ यात्रुको ज्यान जाँदा दुःख लाग्यो।
बस खोलामै थियो। बसमा यात्रु किचिएको हुन सक्ने भएकाले सुरक्षाकर्मीले क्रेनले बस ताने। तर केही च्यापिएका रहेनछन्। खोलाले बगाएका कोही छन् कि भनेर गाइडहरु मिलेर सुनकोसी पूरै घेरेर खोज्यौँ तर फेला परेनन्।
भाँडा माझ्दै, बोटिङ गर्दै
मेरो घर सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ डाँडागाउँमा छ। म सामान्य आर्थिक अवस्था भएको परिवारको सदस्य हुँ। गाउँकै बलेफी माविबाट एसएलसीसम्म पढेँ। कक्षा चढ्दै गर्दा पढाइ अघि बढाउन खर्च अभाव हुन थाल्यो। घरमा खानै समस्या थियो। सुनकोसीको किनारामा रिसोर्टहरु खुलिरहेका थिए। त्यता काम पाइएला भनेर त्यता गएँ। सुकुटेको होटल सुनकोसी रिभरसाइडमा काम पाएँ। पहिलो काम वेटरको थियो। बिहान–बेलुका होटलमा काम गर्थें। पढ्न भने छाडेको थिइनँ।
होटलले सुनकोसीमा -याफ्टिङ पनि खेलाउँथ्यो। विदेशी र नेपाली नागरिक पनि टन्नै आउँथे -याफ्टिङ गर्न। वेटरको कामसँगै बोट नदीमा लाने, ल्याउने पनि गर्नु पथ्र्यो। -याफ्टिङ गर्ने दाइहरु हुनुहुन्थ्यो। उहाँहरुलाई पर्यटकले गर्ने सम्मानै अलग ! त्यो देखेर मलाई पनि -याफ्टिङ गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो।
होटलको काम गर्दागर्दै डेढ वर्षमा -याफ्टिङ चलाउन सक्ने भएँ। कायाक पनि चलाउन सिकेँ। ग्राहकले मानसम्मान गर्ने भएकाले गाइडमा पनि रुचि बढ्दै गयो। नजिकैको अर्को रिसोर्ट रिभर वेमा काम गर्न थालेँ। त्यहाँ गाइडको सहयोगी रुपमा काम गर्न पाएँ। पाँच वर्ष सहयोगी भएर काम गरेँ। गाइडकै सहयोगी भएकाले धेरै सिक्न पाएँ। पाँच वर्षपछि त म नै गाइड हुनसक्ने भएँ।
चलाउन सिकेर मात्रै त भएन, यसका लागि त लाइसेन्स पनि चाहिन्थ्यो। त्यहीँ होटलमा काम गर्दैगर्दा चार वर्षअघि नेपाल एसोसियसन अफ -याफ्टिङ एजेन्सीले लिने गाइडको परीक्षा दिएँ। १५ दिने सैद्धान्तिक तालिम र नदीमा तीन दिनको ट्रायल गर्नुपर्ने थियो। दुवैमा म पास भएँ। -याफ्टिङ गाइडको लाइसेन्स पाएँ। अब म पनि गाइड भएँ। लाइसेन्स पाउँदा कम्ता खुसी लागेन !
सुनकोसीमा जोखिम बढी
म अहिले २२ वर्षको भएँ। कर्णाली, सेती, कालीगण्डकी र त्रिशूली नदीमा पनि मैलै -याफ्टिङ गाइड गरेको छु। उमेरले सानो भए पनि जिम्मेवारी ठूलो छ। अभ्यास, तालिमले नै -याफ्टिङ गाइडलाई पोख्त बनाउने हो।
अन्य नदीमा भन्दा सुनकोसीमा -याफ्टिङ गर्दा बढी रमाइलो हुन्छ। चुनौती पनि सुनकोसीमै छ। यो खोला तीव्र गतिमा बग्छ। पानीका भँगाला र छाल धेरै छन् यसमा।
छालमा -याफ्टिङ गर्दा बढी आनन्द आउँछ। त्यही भएर अन्यत्रभन्दा सुनकोसीमा -याफ्टिङ गर्न पर्यटक बढी आउँछन्। सँगै -याफ्टिङ दुर्घटना हुने जोखिम पनि उत्तिकै हुन्छ।
बीचमै छुट्यो पढाइ
-याफ्टिङ गाइड गर्न व्यस्त हुँदा १२ कक्षाभन्दा बढी पढ्न पाइनँ। उच्च शिक्षा अध्ययन गर्न नपाउँदा दुःख त लाग्छ तर -याफ्टिङको खुसीले मख्ख पर्छु। घरमा बा–आमा मात्र हुनुहुन्छ। खेतीपातीले खान पुग्दैन, त्यसैले बा–आमाका लागि गाउँमै एउटा सानो पसल राखिदिएको छु। पसलले परिवारको गर्जो टर्छ। म ढुक्कले -याफ्टिङ गाइडमा लागेको छु।
-याफ्टिङ खेलाउँदा पनि दुर्घटना भइरहन्छन्। दुर्घटनामा ग्राहकलाई बचाउने पहिलो जिम्मा गाइडकै हुन्छ। केही ग्राहकको उद्धार गरेको छु तर यस्तो दुर्घटनामा उद्धार खटिएको अनुभव थिएन। १७ जना जति मैले नै ताने हुँला। धेरैको ज्यान जोगाउन पाउँदा खुसी छु।
प्रस्तुतिः ध्रुव दंगाल
Leave A Comment