सेलिब्रिटीका सरप्राइज सेलिब्रेसन

सोमबार, २५ कार्तिक २०७६, ०२ : ०१ रीना माेक्तान
सेलिब्रिटीका सरप्राइज सेलिब्रेसन

विवाहसम्बन्धी प्रश्न आयो कि अभिनेत्री ऋचा शर्मा बेला भएको छैन भन्दै पन्छिने गर्थिन्। एकाएक उनले यो वर्ष भने बिहे गर्ने घोषणा गरे पनि कहिले र कोसँग खुलाएकी थिइनन्। त्यसैले उनले गफ दिइन् कि साँच्ची यकिन थिएन।

गत साता सामाजिक सञ्जालमा उनीसहित नेपाली चलचित्रका परिचित केही अनुहार सहितको तस्बिर सार्वजनिक भयो। सेतै ड्रेसमा सजिएका थिए उनीहरु। तस्बिर खिच्नुको प्रयोजन देखियो, ब्याचलर पार्टी।

बिहे गर्ने पक्कापक्की भएकाको अन्तिम ब्याचलर जीवनमा रमाइलो गर्न निकट साथीले दिने यस्तो पार्टीको आयोजना गरेका रहेछन्, ऋचाका साथीहरु केकी अधिकारी, प्रियंका कार्की, डिजाइनर शिंवागी प्रधान लगायतले। ब्राइड लेखिएको प्लेकार्ड बोकेकी ऋचा निकै खुसी देखिएकी थिइन्, पार्टीमा।

एक्लो जीवनको अन्तिम पल सेलिब्रेट गरेपछि ऋचाको विवाह तय भएको पक्कापक्की भए पनि मिति र पात्र भने अझै गोप्य राख्ने प्रयासमा छिन् उनी। उनको मुड हेर्दा सरप्राइज दिने योजनामा छिन्।

तर उनी निकट स्रोतबाट विवाहको महिना र हुनेवाला दुलाहाको नाम भने चुहिइसक्यो। उनी मंसिरमा दुलही बन्दैछिन् भने उनको हुनेवाला श्रीमान् हुन्  दिपेक्ष्य राणा। उनी लबिम मलका म्यानेजर हुन्। 

ऋचासँगै विवाहको तयारीमा लागेका कलाकार अन्य पनि छन् तर सकेसम्म उनीहरु आफ्नो तयारी गोप्य नै राख्ने प्रयास गरिरहेका छन्। केहीले विवाहको घोषणा गरेर इन्गेजमेन्टसमेत गरिसके पनि विवाहको सुरसार भने छैन।

तीन चोटी इन्गेजमेन्ट गरेर पनि विवाहको सुरसार नगर्ने जोडी हुन् अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी। उनीहरुले इन्गेजमेन्ट गरेको एक वर्ष भइसक्यो।

यो जोडीले २०७६ मा विवाह गर्ने घोषणा गरेका थिए तर विवाहको सुरसार अझै छैन। यी दुई अहिले एकअर्का परिवारमा आवतजावत गर्छन्। प्रियंकाले आयुष्मानको आमाबाट दशैंको टीका थाप्दै आएकी छन्। कहिले टङ हानेको त कहिले इरोटिक मुडमा तस्बिर सार्वजनिक गर्न व्यस्त यो जोडीको विवाह यसै वर्ष हुनसक्छ।

अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ लामो समयदेखि प्रेम सम्बन्धमा छन्। प्रेम सम्बन्धमा रहेको लामै भए पनि दुवै मौन बस्थे। अहिले भने दुवै खुल्न थालेका छन्।

यी दुई विभिन्न सार्वजनिक कार्यक्रममा एकअर्काको हात समातेर पुगिरहेका हुन्छन्। यस वर्ष यो जोडीको बिहेको खुबै चर्चा भयो। किनकि हालै उनीहरु अभिनित ‘पोई प-यो काले’ प्रदर्शनमा आयो।

यो फिल्मको प्रचारताका यी दुईको बिहेको खुब चर्चा चल्यो तर यिनले आफ्नो बिहेको मितिबारे केही चुहाएनन्। निकट भविष्यमा विवाह गर्ने यी दुईको जवाफ हुने गर्छ। जे होस्, यसै फिल्मको प्रचारताका यी दुईको प्रेम छल्किएको थियो।

निकट सूत्रको सूचनाअनुसार अभिनेत्री आँचल शर्मा पनि विवाहको तयारीमा छिन्। उनको नाम फिल्म जगतका अभिनेता पल शाहसँग लामै समय जोडिए पनि उनको हुनसक्ने श्रीमान् अभिनेता हैनन्, चिकित्सक हुन्।

अभिनेत्री आँचल अहिले डाक्टर उद्दिप श्रेष्ठको प्रेमपासोमा कस्सिएकी छन्। आँचलले उद्दिपसँगको प्रेम लामो समय लुकाएरै राख्न सफल भइन्। हिजोआज आँचल प्रेमी उद्दिपसँगको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गर्न हिचकिचाउँदिनन्। हालै, आँचलले उद्दिपसँग प्रेम सम्बन्धको एक वर्ष पूरा गरेको कुरा लेखेकी थिइन्।

उद्दिप नेपाली फिल्म क्षेत्रसँग प्रत्यक्ष जोडिएका छैनन्। उनका दाइ उत्सव भने नेपाली फिल्म क्षेत्रमा संलग्न छन्। स्रोतका अनुसार आँचल र उद्दिपको परिवारबीच भेटघाट भइसकेको छ। बाँकी विवाहको मिति घोषणा मात्रै हो।

२०७६ को सुरुवातमै इन्गेजमेन्ट गरेर सरप्राइज दिने जोडी हो, कोरियोग्राफर रेनशा वान्तवा राई। उनले आफ्ना प्रेमी प्रज्ज्वल शमशेर जबरासँग वैशाखमा इन्गेजमेन्ट गरेकी थिइन्।

वैशाख २४ मा यो जोडीको अन्तरजातीय विवाह भएको थियो। हिन्दु र राई परम्पराअनुसार यो जोडीले बिहे गरेको थियो। ‘मेरो एउटा साथी छ’ फिल्ममार्फत नजिकिएका राणाले यो फिल्म निर्माण गरेका थिए भने राईले उनैद्वारा निर्माण गरेको ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेकी थिइन्। त्यस्तै बिहेपछि अहिले यो जोडीले धीरज मगर र जसिता गुरुङलाई लिएर ‘आइएम ट्वान्टी वन’ निर्माण–निर्देशन गर्ने घोषणा गरेको छ।

डेब्यु फिल्म ‘चपली हाइट’की नायिका विनिता बरालले पनि जेठ १५ गते विवाह गरिन्। उनले प्रेमी तिलक पौडेलसँग विवाह गरेकी थिइन्। तिलक अमेरिका बस्छन्। ट्वीटरमार्फत यी दुई नजिकिएका थिए। उनीहरुले अमेरिकाकै ‘न्यु वृन्दावन मन्दिरमा’ बिहे गरेका थिए।

विनिताको उपन्यास ‘जुईनो’ विमोचनताका यो जोडीको प्रेम मौलाएको थियो। सामाजिक सञ्जालमा बिहेका तस्बिर सार्वजनिक गर्दै विनिताले दर्शकलाई सरप्राइज दिएकी थिइन्। हालै, उनले गर्भवती भएको तस्बिर पनि सार्वजनिक गरिन्।

कमेडियनको बिहे
गुपचुपमै बिहे गरेर सरप्राइज दिने हाँस्य कलाकारमा पर्छन्, विल्सन विक्रम राई। गत फागुनमा उनले सरीना लामासँग विवाह गरेका हुन्। लामो समय उनले बिहेको खबर लुकाए।

तर, हालै बिहेको तस्बिर सार्वजनिक भएपछि मात्र उनको बिहेको चर्चा चुल्यो। विल्सनले पनि विभिन्न मिडियामा आफूले बिहे गरिसकेको बताउँदै आएका छन्। तक्मे बूढाको उपनामले चर्चित विल्सनको प्रेम विवाह नै हो। विद्यालय जीवनमा नै यी दुई नजिकिएका थिए। विल्सन चलेको कमेडियनमा पर्छन्।

सरप्राइज बिहे
दर्शकलाई बिहेको सरप्राइज दिने कलाकारमै पर्छिन्, नाट्यकर्मी सृजना सुब्बा। सृजनाले निर्माता पदम सुब्बासँग वैशाखमा इन्गेजमेन्ट गरेकी थिइन्। गत मंसिरमा उनको बिहे भयो। सामाजिक सञ्जाल फेसबुकतिर बिहेको तस्बिर सार्वजनिक भएपछि दर्शकले उनको बिहेबारे खबर पाएका थिए। आठ वर्षको प्रेम सम्बन्धपछि यो जोडीको बिहे भएको हो। पदम डकुमेन्ट्री निर्देशक हुन्। फिल्म अनि नाटकमा व्यस्त रहकी सृजना अहिले गर्भवती छन्।

निर्देशक र हिरोइनको बिहे
वैशाख २४ मा बिहे गरेको अर्को जोडी हो, निर्देशक र हिरोइनको। निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईँले वैशाखमा लगन जुराएका थिए। निर्देशक भट्टराईले नै दीपिकालाई नेपाली रजतपटमा डेब्यु गराएका थिए। फिल्म ‘ऐश्वर्य’मा रमेश उप्रेतीसँग जोडी बनेर पर्दामा देखिएकी थिइन् दीपिका। फिल्म प्रदर्शनपछि यो जोडीले वैशाखमा बिहे गरेर सबैलाई चकित पारेका थिए। दीपिकाको रजतपटमा इन्ट्री हुँदा दीवाकरसँगको प्रेम प्रसंग उठेकै थिएन तर एक्कासि यी दुईले पनि सरप्राइज बिहे गरे।

Leave A Comment