राजेशपायललाई गीत चोरीको आरोप

सोमबार, २५ कार्तिक २०७६, ०२ : ०६ शुक्रवार
राजेशपायललाई गीत चोरीको आरोप

गीत रेकर्ड भएको एक दशकपछि ‘निष्ठुरीले माया गरी आफैँलाई जोगी बनाएँ’ बोलको गीत विवादमा परेको छ। सो गीतका गायक तथा संगीतकार मुरलीधरले गीत रेकर्ड गर्न र गाउन राजेश पायल राईले अनुमति नै नलिएको खुलासा गर्दै राईले अनुमतिबिना नै गाएको बताएका छन्।

अधिकांश समय भारतको मुम्बईमा बस्ने उनी हालै नेपालमा आएका बेला राईले स्टेजमा गीत गाउँछु भनेर मौखिक अनुमति लिएको भए पनि स्टुडियोमा रेकर्ड गराएर आफूलाई कुनै क्रेडिट नदिएको दाबी गरेका छन्।

उनले प्रारम्भमा सामाजिक सञ्जाल फेसबुकमा राईमाथि चोरीको आरोप लगाएका थिए। उनी अहिले मुम्बई फर्किइसकेका छन्। मुम्बई फर्किनुअघि  उनले नेपाल संगीतकार संघमा निवेदन दिएको दाबी गरेका थिए तर संगीतकार संघले भने निवेदन नआएको दाबी गरेको छ।

मुरलीधरको दाबीअनुसार उनले आफ्नै रचना र संगीतमा सो बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए। रेडियो नेपालबाट सो गीत बज्न थालेपछि छोटो समयमै लोकप्रिय बनेको थियो। मुरलीधरका अनुसार रेडियो नेपालमा गीत रेकर्ड हुँदा यसका एरेन्जर भूपेन्द्र रायमाझी थिए।

गीत लोकप्रिय भएपछि रेडियो नेपालमा भेट भएको बेलामा गायक राईले गीत साह्रै राम्रो भएकाले आफू पनि गाउन चाहेको बताएको र आफूले स्टेजतिर गाए हुन्छ भनेको दाबी गरे।

‘मैले त स्टेजतिर गाउने भए गाऊ भनेको त उनले गीतै रेकर्ड गरेछन्, अहिले आफ्नै गीत जस्तो गरिरहेका छन्। मेरो नाम कतै लिँदैनन्,’ लोकान्तरडटकमसँगको कुराकानीमा मुरलीधरले भनेका छन्।

मुरलीधरका अभिव्यक्ति हेर्दा गायक राजेश पायल राईले सो गीतबारे कतै पनि आफूलाई क्रेडिट नदिई एकलौटी आफ्नो मात्र बनाएकोमा धेरै चित्त दुखेको देखियो।

‘स्टेजमा गाउँदा पनि मेरो गीत भनेर गाउँछन्, कतै मेरो नाम समेत लिँदैनन्, यो त एउटा श्रष्टाको हत्या नै भयो,’ मुरलीधरले विभिन्न मिडियामा भनेका छन्।

गायक राजेश विदेशमा भएकाले यो गीतको विवादबारे उनको प्रतिक्रिया लिन सम्भव भएन। मुरलीधरको दाबीअनुसार उनले फेसबुकमा यो गीतबारे लेखेपछि गायक राजेशले एसएमएस गरेर आफूबाट गल्ती भएको, भाइ सम्झिएर माफ गर्न भनेको बताइरहेका छन्।

तर उनी सहजै माफ गर्ने मुडमा भने देखिएका छैनन्। मुम्बई फर्कनु अगाडि उनले कानुनी लडाईंमा जान निवेदन दिएको र यसबाट समाधान नभए आफू अदालतसम्म जान पनि सक्ने बताएका छन्।

संगीतकार संघका अध्यक्ष शान्तिराम राईले भने मुरलीधरले निवेदन नदिएको प्रस्ट पारे। ‘उहाँ छलफलका लागि आउनु भएको हो,’ उनले भने, ‘तर उजुरी दर्ता गर्नु भएको छैन। वास्तविक कुरा राजेशपायल अमेरिकाबाट फर्कनु भएपछि प्रस्ट हुनेछ।’

Leave A Comment