‘बुबाको प्रेरणाले गीत गाएँ’

बुधबार, २६ साउन २०७३, ०१ : २८ शुक्रवार , Kathmandu
‘बुबाको प्रेरणाले गीत गाएँ’

आर्जन पाण्डे, गायक

मेरो परिवारमा गीतसंगीतमा लाग्ने म नै पहिलो हुँ । मेरो आमाबुबा गीतसंगीतमा रुचि राख्नुहुन्छ । मेरो दिदीको पनि स्वर निकै राम्रो छ । तर, उहाँ मेडिकलको विद्यार्थी पढाइमा बढी समय दिनुपर्ने भएकाले गीतसंगीततिर लाग्नपाउनु भएको छैन । म चाहिँ स्कुलदेखि नै गीत गाउँदै आएकाले यो क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर क्रियाशील छु । पेशाले सफ्टवेयर इन्जिनियर हुँ । इन्जिनियरको पढाइ गीतसंगीतको साधना एकसाथ अघि बढाउन मलाई पनि कठिन परेको थियो ।
मलाई यो क्षेत्रमा लाग्न मेरो बुबाले प्रेरित गर्नुभएको हो । उहाँ गीतसंगीत भनेपछि हुरुक्क हुने भएकाले मलाई पटकपटक गीत गाउनका लागि घच्घच्याइ रहनुहुन्छ । कतिपयको घरपरिवारबाट सपोर्ट नभएर गीतसंगीतमा रुचि हुँदाहुँदै पनि लाग्न नपाएको गुनासो सुनिन्छ । मेरो हकमा भने मैले अल्छी गर्दा पनि बुबाले गीत गाउन हौसला दिनुहुन्छ । मेरो ‘ओइलिएर झर्न दिन्न’, ‘हे कान्छा’ र ‘रात परेपछि’ बोलका गीतलाई दर्शकले रुचाइदिएका छन् । ‘ओइलिएर झर्न दिन्न’ युट्युबमा छ लाखभन्दा बढी दर्शकले हेरिसक्नुभएको छ । मैले संगीतको औपचारिक शिक्षा लिएको छैन । गीत सुन्दै रियाज गर्दै सिक्दै आएको छु । स्रोताले मेरो स्वर मन पराइदिनु भएको छ ।
म पढाइसँगै गीतसंगीतलाई पनि अघि बढाउने योजनामा छु । सफ्टवेयर इन्जिनियरिङका मास्टर्स गर्ने र गीतसंगीतमा पनि लागि रहने विचार गरेको छु । संगीत कक्षा लिने योजना बनाएको छु । आफ्नो स्व–अध्ययनले मात्र नपुग्ने महसुस भएकाले संगीतको गुरु थापेर सिक्ने विचार गरेको छु । धेरै गीत गाउनेभन्दा पनि राम्रा गीत गाउनेतिर ध्यान दिइरहेको छु । तीनवटा गीत भनेको संख्याका हिसाबले केही पनि होइन । तर, एउटै गीत राम्रो हुँदा पनि जो कोही गायक दर्शकको मनमा वर्षौंसम्म बसिरहन सक्छ ।
प्रविधिका कारण अब आफूसँग भएको प्रतिभा प्रस्फुटन गर्न सजिलो भएको छ । स्वर परीक्षा दिएर पास भएपछि रेडियो नेपालमा गीत रेकर्ड गराउनुपर्ने समयमा भएको भए मजस्ता युवा सजिलै गायकका रूपमा चिनिन गाह्रो पर्ने थियो । अहिले आफूले गाएको गीत विभिन्न माध्यमबाट स्रोता तथा दर्शकसम्म पु¥याउन पाइन्छ । गीतलाई भिडियोसहित युट्युबमा राखेपछि आफ्नो एक खालको स्तर थाहा भइहाल्छ । स्रोता तथा दर्शकले रुचाए वा रुचाएनन् भन्ने थाहा पाउन धेरै समय कुर्नै पर्दैन । त्यसैले गीतसंगीतमा केही गर्छु भन्नेका लागि अहिले धेरै अप्सन छन् । हामीले केही मेहनत गरेर यो क्षेत्रमा पाइला राख्यौँ भने सफल हुन सक्छौँ । म आफ्नो मुख्य पेशा इन्जिनियरिङसँगै गायनलाई पनि निरन्तरता दिनेछु । केही राम्रो गीत गाएर स्रोताको मन जित्नेछु । अहिले नयाँ तीनवटा गीत तयारी गरिरहेको छु । गजल, आधुनिक र पप टाइपका गीत गाउँदै छु । स्रोताहरूले मेरो स्वर युनिक छ भन्नु हुन्छ । यसमा थप निखार ल्याउने र परिष्कृत बनाउन थप मेहनत गर्दै छु ।

 

Leave A Comment