पिनासको विनाश

बुधबार, २७ कार्तिक २०७६, ११ : १४ उपेन्द्र खड्का
पिनासको विनाश

पिनासलाई हेल्चेक्र्याइँ गर्दा त्यसले जटिलता निम्त्याउन सक्छ। पिनासको समयमै उपचार नगर्दा टाउको, मस्तिष्क, आँखा लगायतका अंगमा नकारात्मक असर गर्न सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। समस्या बढ्दै जाँदा टाउकोको अगाडिको भागमा दुख्ने मात्रै हैन श्वास फेर्न अप्ठेरो हुनेदेखि लिएर संक्रमणको जोखिम हुन सक्छ। पिनास आफैँमा जटिल समस्या नभए पनि हेलचेक्र्याइँ भने गर्न नहुने नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलको सुझाव छ।

पिनासको समस्याका कारण विभिन्न समस्या उत्पन्न हुन सक्छन्। आँखा वरिपरिका हाड तथा तन्तुमा पिनासको समस्या बढेर आँखामा समस्या हुन सक्छ। पिनास र आँखाको भाग नजिक हुने भएकाले पिनासको समस्या हुँदा आँखा पाक्ने, दुख्ने जस्ता समस्या हुने नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर डा. इन्दुप्रसाद ढुंगेल बताउँछन्। पिनासकै कारण आँखै नदेख्ने समस्या नहुने भए पनि असरकोे जोखिम भने रहेको उनले बताए।

पिनास बिग्रिएको खण्डमा क्यान्सरको समेत जोखिम हुन्छ। वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य पिनास बिग्रिएकै कारण क्यान्सरको जोखिम कमै हुने भए पनि हुँदै नहुने भन्ने नभएको बताउँछन्। ‘नियमित पिनासको समस्या हुने व्यक्तिको साइनसको क्यान्सर हुन सक्छ’, डा आचार्यले भने, ‘तर क्यान्सर हुने सम्भावना अत्यन्तै कम हुन्छ।’

यसरी हुन्छ पिनास
पिनासलाई चिकित्सकीय भाषामा साइनस भनिन्छ। नाकको वरिपरि भएका हावा भरिएका हड्डीमा खाल्डो भाग हुन्छ। जसलाई साइनस भनिन्छ।  साइनसमा संक्रमण तथा एलर्जी भएको खण्डमा पिनासले नाकमा खुल्ने प्वाल बन्द हुन्छ। यही समस्यालाई नै पिनास भनिन्छ। साइनसमा पातलो झिल्लिहरुको तह हुन्छ। व्यक्तिलाई एलर्जी तथा रुघा लागेको अवस्थामा साइनसमा सिगान भरिएर सुनिन्छ। सिगान नाक बाहिर निस्कन नसक्दा ब्याक्टेरिया तथा भाइरसको विकास भई पिनासको समस्या हुन्छ। यसरी हेर्दा खाली ठाउँमा संक्रमण भई तरल पदार्थ तथा पिपले भरिएको अवस्थामा पिनासको समस्या हुन्छ।

साइनसकै इन्फेक्सन भएर सुन्निएको अवस्थालाई चिकित्सकीय भाषमा साइनोसाइटिस भनिन्छ। पातलो तरल पदार्थले साइनस सफा गरिरहेको हुन्छ। त्यही तरल पदार्थ बाक्लो हुँदा थुनिएर इन्फेक्सन हुन्छ।

वीर अस्पताल नाक, कान, घाँटी विभागका डा. उशान्त आचार्यका अनुसार पिनास चार किसिमका हुन्छन्। दुवै तर्फका गालाको भित्री हड्डीको भागलाई ‘म्याक्जिलरी’ साइनस भनिन्छ। निधारको बीच भागमा हुने पिनासलाई ‘फ्रन्टल’ साइनस भनिन्छ। दुवै आँखाको पछाडितर्फको बीच भागमा भएको पिनासलाई ‘स्फेनोइडल’ साइनस भनिन्छ। आँखाको अगाडितर्फको बीच भागमा हुने पिनासलाई  ‘इथामोइडल’ साइनस भनिन्छ। यस्ता साइनसलाई समग्रमा पारानेजल साइनसेस समेत भनिन्छ। चिकित्सकका अनुसार यी सबै साइनस नाकभित्र खुल्नु पर्छ।

नाक बन्द हुने कारण
नाकको इन्फेक्सन भएको तथा रुघा लागेको अवस्थामा पिनासको समस्याको जोखिम हुन्छ। भाइरसका कारण लागेको रुघामा ब्याक्टेरियल संक्रमणले नाकभित्रको प्वाल बन्द गर्ने भएकाले पिनासको समस्या हुने वीर अस्पतालका डा. आचार्य बताउँछन्।

व्यक्तिको शरीरअनुसार कसैलाई कतिपय खानपिन त कसैलाई चिसो तथा धुलो–धुवाँका कारण एलर्जीको जोखिम हुन्छ। कतिपय व्यक्तिलाई त सिजनअनुसार फुल्ने फूलको समेत एजर्ली हुन पुग्छ भने कतिपय व्यक्तिलाई लगाउने कपडाको धूलोले समेत एलर्जी हुन सक्छ।

कतिपय अवस्थामा नाकभित्रै समस्या आई पिनासको समस्या हुन पुग्छ। डा. आचार्यले भने, ‘नाकभित्रको हड्डी बाँगो हुने, नाकभित्र घाउ र ट्युमरका कारण पिनासको समस्या हुन सक्छ।’

विशेषगरी दम (आज्मा) को समस्या भएका व्यक्तिमा पिनासको समस्या बढी हुन्छ। पिनासको समस्या बढ्दै गएमा पिनासमै मासु पलाएर थप जटिलता निम्तिने जोखिम हुन्छ।

सामान्यतः जाडो मौसममा पिनासको समस्याले व्यक्तिलाई बढी दुःख दिएको देखिन्छ। वातावरण तथा प्रदूषणले पिनासको समस्या हुन सक्ने भए पनि तापक्रमले भने असर नगर्ने विशेषज्ञ डा. पौडेल बताउँछन्। रुघा–खोकी लागेको अवस्थामा हेल्चेक्र्याइँ गर्दा पिनासको समस्या हुने जोखिम हुन्छ।

लक्षण
बाहिरी वातावरणसँग नाकको प्वालको प्रत्यक्ष सम्बन्ध हुने भएकाले संक्रमणको जोखिम हुन्छ। त्यति मात्रै हैन नाकको माध्यमबाट सजिलै रुघाको संक्रमण अन्य व्यक्तिमा सर्ने जोखिम हुन्छ। नाकको दायाँबायाँ रहेको हड्डीका प्वालमा भाइरसको बढी संक्रमण हुन्छ। संक्रमण भएको अवस्थामा बोक्लो खकार आउने, सिगान आउने, टाउको दुख्नेजस्ता लक्षण देखिने डा. पौडेल बताउँछन्। जसलाइ साइनोसाइटिस भनिन्छ।

चिकित्सकका अनुसार पिनासको समस्या भएको अवस्थामा दुवैतर्फको नाकको प्वाल बन्द हुने, पटक–पटक हाछ्युँ आउने, कुनै खाद्यपदार्थ तथा वस्तुको बास्ना थाहा नपाउनेजस्ता समस्या हुन्छ। ‘साइनसमा संक्रमण भएको अवस्थामा नाकको प्वालमा सिगान जम्मा हुन्छ,’ डा. आचार्यले भने,‘एलर्जीका कारण मासु पलाउँदा नाक बन्द हुन पुग्छ।’

नाक बन्द भइरहने, टाउको भारी भई निधारको अघिल्लो भागमा दुखिरहने, नाकबाट गन्हाउने किसिमको पहेँलो सिगान आउने, घाँटी खसखसाउनेजस्तो समस्या पिनासका लक्षण हुन्। त्यति मात्रै हैन पिनासको समस्या जटिल हुँदै गएको अवस्थामा मस्तिष्कमा इन्फेक्सनको जोखिम हुने त्रि.वि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख डा. सरोजप्रसाद वझा बताउँछन्। ‘समस्या जटिल भएको अवस्थामा व्यक्ति बेहोस हुन सक्छ,’ डा. वझाले भने,‘ पिनासको सामान्य अवस्थामा भने टाउको दुख्ने समस्या हुन्छ।’

रोकथाम र उपचार
पिनास भैसकेपछि उपचार गर्नुभन्दा हुनै नदिनु राम्रो उपाय हो। चिसोबाट जोगिने, धेरै चिसो पदार्थ नपिउने, प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउनाले पिनासको समस्याबाट बच्न सकिन्छ।

कमजोर व्यक्तिमा यस्तो समस्या हुने जोखिम बढी भएकाले झोलिलो र सन्तुलितरुपमा पोषणयुक्त खानपान गर्न विशेषज्ञ डा. पौडेलको सुझाव छ।

प्राकृतिक विधि अपनाएर समेत पिनासको समस्याबाट बच्न सकिन्छ। यो समस्या भएका व्यक्तिको अनुहार तथा टाउकोमा तेलले मालिस गर्नाले पिनासको समस्याबाट बच्न सकिने प्राकृतिक चिकित्सक बताउँछन्।

प्राकृतिक चिकित्सा पद्धतिमा ‘जलनेती’ तथा ‘सुत्रनेती’ विधि अपनाएर समेत नाक सफा गर्न सकिन्छ। ‘जलनेती’मा करुवामा राखेको पानी एकपट्टिको नाकको प्वालबाट हाली अर्कोपट्टिको नाकको प्वालबाट निकालिन्छ। ‘सुत्रनेती’ विधिमा भने नाकको प्वालबाट छिराइएको रबरको पाइप मुखबाट निकालिन्छ र घरी नाक त घरी मुखतर्फबाट पाइप तानिन्छ। यस्ता विधिले नाकमा भएको फोहोर बाहिर निकाली नाकमा संक्रमण हुन पाउँदैन। जसले पिनासको समस्याबाट बच्न सकिन्छ। यस्ता आयुर्वेदिक विधि घरैमा गर्न सकिने भए पनि सुरुमा भने प्राकृतिक चिकित्सकको सल्लाहमा गर्नु उपयुक्त हुन्छ।

तातोपानीको बाफ लिनाले पिनासको समस्याबाट बच्न सकिन्छ। तातोपानीको बाफले पिनासमा जमेर बसेको सिंगान पगालेर बाहिर निकाल्न मद्दत गर्छ। एक गिलास मन तातो पानीमा आधा चम्चा नुन र आधा चम्चा खाने सोडा घोल्न सकिन्छ। यसरी घोलिएको पानी सिरिन्जको तिखो सुई फ्यालेर सिरिन्जमा तानिन्छ। त्यसपछि घोप्टो परेर नाकभित्र पिचकरी हानी नाक सफा गर्दा नाकमा भएको फोहोर बाहिर निस्किएर पिनासको समस्याबाट बच्न सकिने चिकित्सकको सुझाव छ। बिहान पाँच र बेलुकी पाँच सिरिन्ज पिचकरी हान्नु उपयुक्त हुने डा. आचार्य बताउँछन्। घरमै यस्ता विधि अपनाएर पिनासको समस्याबाट बच्न सकिन्छ।

यस्ता विधि अपनाउँदा समेत पिनासको समस्या समाधान नभए विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार गर्नुपर्छ। संक्रमण भएर पिनासका समस्या भएको खण्डमा एन्टिबायोटिकको प्रयोग गरिने डा. आचार्यले बताए। पिनासको उपचार गर्दा लामो समयसम्म एन्टिबायोटिक खानुपर्ने हुनसक्छ।

एलर्जी भएको अवस्थामा भने खाने  र नाकमा हाल्ने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। खाने र लगाउने औषधिको प्रयोग गर्दा मासु पलाएर साइनसको प्वालै बन्द भएको अवस्थामा भने शल्यक्रिया उपचार विधि अपनाउनुपर्ने चिकित्सक बताउँछन्। एक पटक शल्यक्रिया गरिसकेपछि पुनः समस्या दोहोरिन्न भन्ने छैन। पुनः दोहोरिन सक्ने भएकाले चिकित्सकको सल्लाहबमोजिम परामर्श तथा फलोअपमा जानुपर्ने चिकित्सकको सुझाव छ।

Leave A Comment