शुक्रवार फलोअप: केसीमाथि अनुसन्धान प्रक्रिया जारी

शुक्रबार, २९ कार्तिक २०७६, ०९ : २७ शुक्रवार
शुक्रवार फलोअप: केसीमाथि अनुसन्धान प्रक्रिया जारी

आफ्ना दुई नातीलाई जापान पठाउने लोभमा गैरकानुनी रुपमा आमाबाबु नै परिवर्तन गरिदिएका पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीमाथि अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङले जानकारी दिएको छ।

‘यतिखेर अनुसन्धान सकिनुपर्ने हो, बीचमा दसैँ–तिहारको बिदा प-यो,’ छानबिन समितिका संयोजक धीरेन्द्रप्रसाद पन्तले भने, ‘हामीले जिल्ला प्रशासन कार्यालयमा भएको कागजात खोजिसकेका छौँ। सम्बन्धित वडालाई पत्र काटेका थियौँ। त्यो पत्रको जवाफ र संलग्न हो÷हैन, भएको हो भने संलग्न व्यक्तिसँगको सोधपुछ भएपछि प्रतिवेदन जिल्ला प्रमुख अधिकारीलाई बुझाउँछाैं।’

छानबिन समितिले समाचारमा प्रकाशित भए बमोजिमको कागजात र संलग्न व्यक्तिसँग सोधपुछ गरी जिल्ला प्रमुख अधिकारीलाई प्रतिवेदन पेश गर्ने र जिल्ला प्रशासन कार्यालयले  उक्त प्रतिवेदन गृह मन्त्रालयमा पठाउने छ। प्रतिवेदनअनुसार गृह मन्त्रालयले काम–कार्बाही अगाडि बढाउने उनले बताए।

पूर्व उपप्रधानमन्त्री केसीले आफ्नो जेठो छोरा सचित्र केसीका दुई छोरा सचित केसी र सचिन केसीलाई आफ्नै कान्छा छोरा विष्णु केसीको छोरा बनाएर जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट नाबालिग परिचयपत्र बनाएको समाचार शुक्रबार साप्ताहिकले  प्रकाशित गरेको थियो। समाचारमा तत्कालीन माल्म गाउँ विकास समितिबाट जेठा छोरा सचित्रका दुवै छोराहरु सचित र सचिन केसीको नाबालिग प्रमाणपत्रको सिफारिस बनेको थियो। सोही नाबालिग प्रमाणपत्रकोे सिफारिस पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट २०६७ माघ ५ मा सचित र सचिनको नाममा ११०४ र ११०६ नम्बरको नाबालिग प्रमाणपत्र जारी भएको थियो ।

प्रमाणपत्र जारी हुनु भन्दा अगाडिसम्म सचित र सचिनका वास्तविक र कानुनी बाबु सचित्र केसी र आमा तारा गिरी थिए। प्रमाणपत्र जारी भएपछि यी दुवै जनाको कानुनी रुपमा बाबु काका विष्णु केसी भए भने आमा काकी मीरा केसी पुरी भइन्।

नाबालिग प्रमाणपत्र जारी भएपछि विवरण राखिने सरकारी ढड्डामा सचित र सचिनको बाबु–आमाको विवरणमा काका विष्णु र काकी मीराकै नाम फेला प-यो।

त्यही कागजातको आधारमा नाबालिग परिचयपत्र बनाइएको थियो भने केसी परिवार काठमाडौँ आएर आकस्मिक रुपमा राहदानी बनाएको देखिएको थियो। उनीहरुले माघ ५ मा नाबालिग प्रमाणपत्र बनाएका थिए। सोही नाबालिग परिचयपत्र र आवेदनका आधारमा राहदानी विभागले सचित र सचिनको नाममा २०६७ माघ २० (सन् २०११ फेब्रुअरी ३) मा राहदानी जारी भएको थियो । केसी त्यतिबेला पहिलो संविधानसभाको सभासद थिए।

Leave A Comment