रूप ज्योति पक्राउ प्रकरण : प्रहरीको शंकास्पद व्यवहार

शुक्रबार, २९ कार्तिक २०७६, ०९ : ३३ शुक्रवार
रूप ज्योति पक्राउ प्रकरण : प्रहरीको शंकास्पद व्यवहार

जग्गा विवादमा ठगीको आरोप लाग्दा उद्यमी रूप ज्योति प्रहरी हिरासतमा छन्। ज्योति समूहका उनीमाथि एक करोड २६ लाख रुपैैयाँ ठगी गरेको आरोप लागेपछि विदेशबाट फर्किएलगत्तै प्रहरीले त्रिभुवन विमानस्थलबाट बाहिरिएलगत्तै पक्राउ गरेर हिरासतमा राख्यो। उनी मात्र पक्राउ परेनन् उनको छोरीसमेत यही अभियोगमा पक्राउ परिन्। अहिले उनका दाजु पद्म ज्योतिविरुद्ध पनि पक्राउको अनुमति आइसकेको छ।

उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले पैसा लिएर वाचा गरेअनुसारको जग्गा नदिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि गत वर्ष नै पक्राउको जोखिम बढेको थियो। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सर्वोच्च गएर पूर्जीविरुद्ध आदेश ल्याएपछि पक्राउको जोखिम हटेको थियो। अदालतबाट जारी भएको आदेश खारेज भएसँगै उनी सिंगापुरबाट फर्किए लगत्तै पक्राउ परे।

के हो आरोप ?
बाँसबारीमा रहेको ६ रोपनी ११ आना जग्गाको एउटा प्लटबारे सुरु भएको विवादले पूर्व अर्थराज्यमन्त्री तथा उद्योगी रूप ज्योति पक्राउ परेका हुन्। सो जग्गा ल्याण्डमार्क डेभलपर्स प्रालिको नाममा थियो। यी कम्पनीमा रूप ज्योति, कमला कंशाकार, सौरभ ज्योति, सहृद ज्योति, अभिक ज्योति, पद्म ज्योति, मिला सायमीलगायतका शेयर होल्डर छन्।

प्लटिङमध्ये कित्ता नम्बर २३८ को २२२.५३ वर्ग मिटरको एक प्लट बालुवाटार बस्ने विज्ञेन्द्र कृष्ण मल्लले बुक गरेर एक करोड २६ लाख रुपैयाँसमेत बुझाए पनि जग्गा नपाएपछि प्रहरीमा जाहेरी दिएका थिए।

शंका लाग्ने व्यवहार
मुलुकी अपराध संहिताअनुसार ठगीको अभियोग देवानी हो। यस्तो केसमा पीडितको दाबी पुष्टी भए ठगी भएको रकम भराई जरिवाना हुन्छ। यस्ता अधिकांश केसमा गम्भीर अपराधमा झैँ व्यवहार हुन्न। ठगी भएको रकमको दाबी पुगे असुली नहुने जोखिम या आरोपी भाग्न सक्ने अवस्थामा हिरासतमा राख्न सकिने भए पनि प्रारम्भबाटै प्रहरी ज्योति र उनको परिवारलाई हिरासतमा राख्न सक्रिय देखिएको छ। प्रहरी हिरासतमा रहेका ज्योतिले आफूलाई सरकारका केही व्यक्ति फसाउन लागेको दाबी गर्नु र प्रहरीबाट असामान्य व्यवहार हुनुले पक्राउ प्रकरण ठगिएको रकम भराउने मात्रै त हैन भन्ने शंका बढाएको छ।

ठगीको मुद्दामा जाहेरी कर्ताको दाबी पुग्ने या नपुग्ने र दाबी पुगेको आधारमा ठगिएको रकम कानुनी रुपमा असुल्ने अनुसन्धान केन्द्रित हुने गरे पनि प्रहरी ज्योति समूहका अन्य शेयरहोल्डर्सलाई समेत पक्राउ गरेर हिरासतमा राख्ने र हिरासतमा रहेकाहरुको हिरासत अवधि लम्ब्याउन बढी सक्रिय देखिएको छ।

ज्योतिको दाबीअनुसार जुन कम्पनीलाई जाहेरीकर्ताले पैसा दिएका हुन् उनी सो कम्पनीका सञ्चालकसमेत होइनन्। सो प्रकरणमा ५ करोडको माग भएको दाबीसँगै उपराष्ट्रपति नन्द किशोर पुन र गृहमन्त्री रामबहादुर थापाको छोराहरुको नाम जोडिएर आएको छ। तर यो दाबीको स्वतन्त्र पुष्टी भने हुन सकेको छैन।

उद्योगी रुप ज्योति पक्राउ र अनुसन्धानरत निकायको व्यवहारपछि उद्योगी र व्यापारीसमेत सरकारप्रति रुष्ट भएका छन्। लेनदेनको विवादमा सरकारी निकायले गर्ने व्यवहार ज्योतिको हकमा फरक देखिएपछि संगठनहरुले विज्ञप्तिमार्फत विरोधसमेत गरेका छन्।

विभिन्न व्यापारिक संघले पक्राउको विरोध गरेका छन्। नेपाल–चीन उद्योग वाणिज्य संघले उनीमाथि अमर्यादित व्यवहार भएको भन्दै खेद जनायो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आर्थिक लेनदेनको विषयलाई लिएर गरिएको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Leave A Comment