अतिक सलमानी
प्रबन्ध निर्देशक, ग्रिन सप्लायर्स, काठमाडौं।
नेपालगञ्जमा जन्मिएका अतिक सलमानी ग्रिन सप्लायर्सका प्रबन्ध निर्देशक हुन्। डेढ दशकदेखि व्यवसायमा संलग्न सलमानीले पानी शुद्धीकरणका लागि ट्रिटमेन्ट प्लान्ट, वाटर प्युरिफायर मेसिन, सोलार, ग्यास गिजर, हिटपम्पलगायत सामग्रीको बिक्रीवितरणलगायतका सेवा दिँदै आएका छन्। सलमानीसँग ग्रिन सप्लायर्सले दिने सेवा, वाटर प्युरिफायरबारे शुक्रवारले गरेको संवाद
ग्रिन सप्लायर्सले के–के सेवा दिँदै आएको छ ?
पानीको शुद्धीकरणका लागि वाटर प्युरिफाइ, वाटर ट्रिटमेन्टसहित गिजर, सोलार, हिट पम्पलगायत सामग्री बिक्री गर्छाैं। प्रयोगकर्ताको मागअनुसार जडान, सर्भिसिङको काम पनि गर्छौं। घरायसीदेखि व्यावसायिक क्षेत्रमा विभिन्न रेन्जका मेसिनहरु बिक्री गर्दै आएका छौं। प्रोडक्ट बिक्री गरेपछि सेवा दिने, निरन्तर फलोअप गर्ने गर्छौं। सामग्री बिक्री गर्ने ठूलो कुरा होइन निरन्तर सेवा दिने महत्वपूर्ण हुन्छ। सेवा लिनेसँग पानीको स्रोत केहो, अहिले प्रयोग गरिरहेको पानी कस्तो छ। आवश्यकताअनुसार प्रयोशालामा परीक्षण गरेर मात्र मेसिन उपलब्ध गराउँछौं।
कुन–कुन कम्पनीका सामग्री बिक्री गर्दै आउनु भएको छ ?
नेपालमा बिक्री हुने प्रायः सबै कम्पनीका पानी शुद्धीकरण गर्ने मेसिन बिक्री वितरण गर्छौं। एक्वा ग्रिनलगायत विभिन्न ब्राण्डहरु छन्। उपभोक्ताको मागअनुसार सामग्री उपलब्ध गराउँछौं। वाटर प्युरिफायर न्यूनतम पाँच हजारदेखि ३०/३५ हजार रुपैयाँसम्मका छन्। घरदेखि सरकारी कार्यालय, होटल, विद्यालय, अस्पताल, उद्योगधन्दासम्म सबैले प्रयोग गर्न सक्ने विभिन्न क्षमताका छन्।
पानी किन प्युरिफाइ गर्ने ?
शुद्ध पानी नपिएका कारण ८० प्रतिशत रोग लाग्छ। पानीबाट लाग्ने रोगबाट बच्नका लागि वाटर प्युरिफायरको प्रविधि प्रयोगमा ल्याउनु आवश्यक छ। विभिन्न प्रविधि प्रयोग गरेर पानीको शुद्धीकरण गर्न सकिन्छ। इनार, बोरिङ, विभिन्न स्रोतबाट आउने पानी शुद्धीकरणका लागि छुट्टाछुट्टै प्रविधि छ। तराईको पानीमा आर्सेनिक हुन्छ। पानीको मुहान ठाउँअनुसार कुन ठाउँमा कुन प्रविधि प्रयोग गर्नुपर्छ भन्ने अध्ययन गरेर त्यही अनुसार सल्लाह दिएर सेवा दिन्छौं। पानीको गुणस्तरअनुसार प्रयोगशालामा परीक्षण गरेर प्रविधिसहितको उपकरण दिन्छौं।
पानी प्रयोग गर्दा कस्तो कुरामा सचेत हुनुपर्छ ?
गुणस्तर हेर्ने हो भने तराईदेखि पहाडसम्म धेरै फरक छ। काठमाडौंको पानी झन् खतरनाक छ। यहाँ जमिनबाट निकाल्ने पानीमा हार्डनेस, आइरन, केमिकल धेरै छ। तराईमा हार्डनेस, आर्सेनिक, स्लोपोइजन छ। पहाडमा माइक्रो अर्गानिजम धेरै भएकाले पानीको कारण झाडापखालाको प्रकोप धेरै फैलिने गरेको छ।
उपकरणको गुणस्तर तथा टिकाउपन कस्तो छ ?
मावनीय स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने विषय भएकाले गुणस्तरमा ध्यान दिन्छौं। एक वर्षको वारेन्टी र फ्रि सर्भिस छ। त्यसपछि थोरै रकम लिएर वार्षिक रुपमा सर्भिसको सेवा दिँदै आएका छौं।
यहाँले ट्रिटमेन्ट प्लान्टको पनि सेवा दिनुहुन्छ ?
पानीको गुणस्तरको आधारमा सेवा दिन्छौं। न्यून गुणस्तरको पानीलाई प्रि ट्रिटमेन्ट गर्छौं। जस्तै काठमाडौंको पानीमा बोरिङ, इनार, ट्यांकरको प्रयोग गर्छन्। कुनै पानी सामान्य प्रयोग जस्तै कपडा धुन, बाथरुममा प्रयोग गर्न पनि नसकिने अवस्था हुन्छ। यस्तो पानीलाई प्रिट्रिटमेन्ट गर्छौं। त्यसपछि दोस्रो चरणमा पिउनयोग्य बनाउनका लागि प्युरिफायर लगाउँछौँ।
पानी शुद्धीकरणबाहेक अन्य के सेवा दिनुहुन्छ ?
उपभोक्तालाई एउटा सेवा दिएको बेला अरु पनि उस्तै प्रकारका सेवा लिन चाहन्छन्। सोलार, गिजर पनि बिक्री गर्छौं। अहिले हामीले हिटपम्प ल्याएका छौं। विद्युतबाट चल्ने भएकाले प्रयोगकर्तालाई धेरै सुविधा छ। गिजरको तुलनामा ७५ प्रतिशत विद्युतको बचत हुन्छ। यो इको फ्रेण्डली पनि छ। विद्युतबाट चल्ने भएकाले यसमा २४ सै घण्टा तातोपानी प्रयोग गर्न पाइन्छ। सोलार प्रयोग गर्दा धेरै ठाउँ चाहिन्छ। सोलार तात्न न्यूनतम ६ घण्टा तात्नुपर्छ र तताएको पानी बेलुका प्रयोग ग-यो भने विहान तातो पानी पाउँदैन। यस्ता समस्या यसमा नहुने भएकाले प्रयोगकर्ताको आकर्षण हिटपम्पमा बढेको छ। घरसहित होटल, स्कुल, होस्टेललगायत क्षेत्रमा यसको प्रयोग बढी हुन्छ। तीन सय, पाँच सय, हजार, पन्ध्र सय लिटरदेखि उपभोक्ताको मागका आधार डिजाइन गरेर पानी तताउने सिस्टम बनाइन्छ। स्विमिङ पुलमा पनि प्रयोग गर्न सकिन्छ। हिट पम्पमा धेरै भेराइटी छ। सावरदेखि स्पा, ज्याकुजी घरमा राख्ने भएकाले त्यसमा तातो चिसो पानी चाहिने भएकाले त्यसको पनि हामीसँग सिस्टम छ। नर्मल मात्र नभएर माइनस तापक्रममा चल्ने हिटपम्प पनि छ।
हिट पम्पको बजार कस्तो छ ?
हिट पम्पको माग क्रमशः बढ्दै गएको छ। नेपालमा चार÷पाँच वर्षदेखि प्रयोग गर्न थालेका छन्। विगतमा लोडसेडिङ भएकाले प्रयोगकर्ताको रुचि थिएन। अहिले नियमित विद्युत आपूर्ति सुरु भएकाले उपभोक्ताहरु बढिरहेका छन्।
यो व्यवसायमा कसरी आउनु भयो ?
सुरुमा यही क्षेत्रमा जागिरेको रुपमा काम गरेँ। जागिर कहिलेसम्म खाने भनेर आफूले सिकेको सीप, ज्ञान प्रयोग गरेर यो व्यवसायमा प्रवेश गरेको हुँ।
Leave A Comment