मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर संग्रहालय बन्ने पक्का भएको छ। गएको वर्ष नेपाल सरकारले संग्रहालय बनाउने घोषणा गरेको थियो। संग्रहालय बनाउन यो घरको घरधनी रहेकी देवकोटा पुत्री अम्बिकादेवी रिमाल सहमत भएपछि पछिल्लो समयमा भएका विभिन्न बैठकबाट घरलाई सरकार मातहत सार्नका लागि प्रक्रिया अघि बढाइएको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए।
उप्रेतीका अनुसार घर र जमिनको मुआब्जा निर्धारण भइसकेको छ।
१२ आना जग्गासहित महाकवि देवकोटाको घरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको थियो। प्रमुख जिल्ला अधिकारी, अम्बिकादेवी तथा अन्य सम्मिलित समितिले आपसी सहमतिमा सो मूल्य तोकिएको कुलपति उप्रेतीले जानकारी दिए।
‘अबको १५ दिनभित्रै सो जग्गा एकेडेमीको नाममा संग्रहालय बनाउने गरी आउनेछ,’ उप्रेतीले भने। जग्गा एकेडेमीको नाममा आइसकेपछि के–के गर्ने भनेर डिपीआर बन्ने र सोहीअनुसार काम अघि बढ्ने छ,’ उप्रेतीले भने।
के के बन्छ त्यो पछि अध्ययनपछि जानकारी हुने भएकाले अहिलेलाई देवकोटाको घर–जग्गा एकेडेमीको नाममा आउनु नै ठूलो कुरा भएको छ।
‘सबै व्यवस्थापन गर्न १० करोड जति लाग्छ कि भन्ने हाम्रो अनुमान छ,’ कुलपति उप्रेतीले भने।
देवकोटा निवासलाई संग्रहालय बनाउने प्रयास २०५१ सालमा तत्कालीन सूचना तथा सञ्चार मन्त्री प्रदीप नेपालले गरेका थिए। उनले देवकोटाको मैतिदेवीस्थित घरलाई संग्रहालय बनाउनुपर्ने भन्दै देवकोटाकी छोरी अम्बिकादेवी रिमाललाई भेटेका थिए। त्यतिबेला नै देवकोटा परिवार संग्रहालय बनाउन दिन राजी भएको थियो।
पछि पैसामा कुरा मिलेको थिएन। ‘त्यो बेला चलेको रेटअनुसार नदिई थोरै पैसा आउने देखिएपछि कुरा मिलेको थिएन,’ देवकोटापुत्री रिमालले भनिन्।
मुआब्जामा परिवारको असन्तुष्टि
सिडिओ कार्यलयमा देवकोटा परिवारको तर्फबाट देवकोटाकी जेठी छोरी अम्बिकादेवी रिमाल, प्रज्ञाप्रतिष्ठानबाट कुलपति गंगाप्रसाद उप्रेती, काठमाडौँ प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले मुआब्जा निर्धारण गरेको उप्रेतीले जानकारी दिए।
सहमतिमा रकम तोकिएको भनिए पनि देवकोटाकी छोरी अम्बिकादेवी भने असन्तुष्ट देखिइन्। ‘सरकारले देवकोटा परिवारलाई खुसी पारेर लैजाने भनेको थियो तर साहैै्र सानो मन ग-यो,’ उनको असन्तुष्टि छलल्कियो, ‘ठूला मान्छेले हामीलाई निचोरे।’ उनको भनाइ थियो, ‘बजार भाउ बुझेर सरकारले मुआब्जा दिनुपर्ने हो तर सरकारले विवेक प्रयोग नगरी ज्यादै न्यूनतम मूल्यमा लियो।’
देवकोटाको उक्त जग्गा पशुपति गुठीको हो। केही वर्षअघिसम्म गुठीको जग्गा रैकर बनाउने चलन भए पनि पशुपति गुठीको भने रैकर बनाउने चलन थिएन।
कुलपति उप्रेतीका अनुसार, जग्गा पशुपती गुठीको हो। वडा, सरकारी मूल्य र चलचल्तीको मूल्य अध्ययन गरी दुवै पक्षलाई घाटा नहुने गरी १२ आना जग्गाको मूल्य पाँच करोड निर्धारण गरियो। र, गुठी नियमअनुसार गुठीलाई साढे दुई करोड र मोहियानीलाई साढे दुई करोड रुपैयाँ भाग लगाइएको हो।
उपेक्षित महाकविका सामग्री
गत वर्ष रिपोर्टिङ गर्दा देवकोटाको घर जस्तो अवस्थामा थियो, अहिले पनि उस्तै छ। त्यहाँ भएको सामानको कुनै सुरक्षा भएको देखिएन। पानीले भिजेरका तस्बिर, यत्रतत्र छरिएका सामग्री, देवकोटाले प्रयोग गरेका खाट र टेबलको अवस्था हेर्दै टीठलाग्दो छ।
महाकविको घर एकेडेमी मातहत आइसकेपछि त्यहाँ भएका सामानको सुरक्षा हुने र संग्रहालयमा राख्न थप सामान संकलन गरिने कुलपति उप्रेतीले जनाए।
‘अहिले अलपत्र परेका सामग्रीहरु र पछि परिवारको रोहबरमा रहेका कतिपय सामग्रीहरु अब चाँडै नै आउनेछ,’ उप्रेतीले भने, ‘हामीले यस विषयमा पनि परिवारसँग कुराकानी गरिसकेका छौँ। उहाँहरु यो कुरामा खुसी हुनुहुन्छ र संग्रहालयका लागि आवश्यक पर्ने सामग्री परिवारबाट उपलब्ध गराउन सक्ने जति आउँछन्।’
सरकारले लिने पक्का भइसक्दा पनि घर र घरमा रहेका सरसामग्रीको सुरक्षा भएको देखिएन। शुक्रवाकर्मी गत वर्ष रिपोर्टिङमा जाँदा त्यहाँ अलपत्र परेका थिए, अहिले पनि उस्तै अलपत्र अवस्थामा छन्।
‘घरमा सामान जस्ताको तस्तै छ,’ अम्बिकादेवीले भनिन्, ‘केही रोहबर गर्न सकेको छैन। भएका सामानलाई सुरक्षित तरिकाले राख्न सकिएको छैन।’
‘देवकोटाको घरमा रहेका सामग्रीहरु अहिले उहाँहरुकै (रिमाल) रोहबरमा छ,’ उप्रेतीले भने, ‘जग्गा र घर एकेडेमीको मातहतमा आएपछि सामान संरक्षण तथा संबद्र्धन हामी लागिपर्नेछौँ।’
संग्रहालयमा के–के सामग्री राखिन्छ ?
नेपाली साहित्यको मूर्धन्य व्यक्तित्व देवकोटाले शिक्षा क्षेत्रमा समेत ठूलो योगदान गरेका छन्। यस हिसाबले उनकै नाममा बन्न लागेको यो संग्रहालय ऐतिहासिक र महत्वपूर्ण स्थल हुनेछ। संग्रहालयमा देवकोटाले प्रयोग गरेका उपलब्ध भएकासम्मका सामग्री र उनले सिर्जना गरेको साहित्यिक सिर्जनाहरु राखिनेछन्।
संग्रहालयमा देवकोटाले लेखेका सबै कृति, प्रयोग गरेको कलम, डायरी, टेबल, दराज, खाट, तस्बिरहरु, थाल, कचौरादेखि घरायसी सामग्रीहरु रहने छन्।
‘संग्रहालय साहित्यिक जमघटको तीर्थस्थल हुनेछ,’ कुलपति उप्रेतीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा संग्रहालयमा जे–जे राखिन्छन्, ती सबै कुरा महाकविको संग्रहालयमा पनि हुनेछन्।’
जेम्स जोयसको घर अलपत्र
आयरल्यान्डका चर्चित लेखकमध्ये एक जेम्स जोयस बसेको घर यतिबेला रुग्ण अवस्थामा छ। स्थानीय काउन्सिलले सो घर भत्काएर होस्टल बनाउन एउटा कम्पनीलाई जिम्मा दिने तयारी थालेको छ। राजधानी डब्लिनमा रहेको यो घरका बारेमा थाहा पाएपछि सलमान रुस्दी, एडना ओब्रिएन, इयान म्याएवन, माइकल अनडात्जेजस्ता चर्चित लेखकले ‘द डेड’ जस्तो सर्वकालिक कथा लेखेको यो घर पैसा कमाउने बाटो हुन नहुने भन्दै प्रख्यात लेखकहरुले आग्रह गरेका छन्।
यता डब्लिन महानगरले भने सो ठाउँ कुनै व्यापारिक प्रयोजनका लागि भन्दा पनि लेखकको जीवित संग्रहालयका रुपमा बनाउनुपर्ने भन्दै आफूलाई सो घर जिम्मा दिन आग्रह गरिरहेको छ। महानगर भन्छ, ‘सबै कुरामा नाफा खोजेर हुँदैन, यो हामीलाई जिम्मा दिनुस्, लेखकले पाउने लेखकस्वबाट नै त्यो घरलाई भनेजस्तै गज्जबको बनाउन सकिन्छ।’
१९२२ मा प्रकाशित ‘युलिसस’ उनको सर्वकालिक महान् उपन्यासमध्येमा पर्छ।
Leave A Comment