मधेसी समुदाय बाहुल क्षेत्रमा नेपाली फिल्मको त्यत्ति क्रेज देखिन्न। नेपाली कलाकार पनि धेरै चिन्दैनन्। भोजपुरी नै प्यारो छ त्यहाँ।
चलचित्र निर्माता संघले वीरगञ्जमा आयोजना गरेको तीन दिने ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ले मधेसमा नेपाली चलचित्रको प्रभाव विस्तार गर्ने आश गरिएको थियो तर प्रभावकारी तयारीको अभावमा कार्यक्रम सोचेजस्तो सफल देखिएन।
कात्तिक २१–२३ सम्म आयोजित कार्यक्रममा बलिउड नायक गोविन्दा सहितको कलाकारको बाक्लो उपस्थिति भए पनि आयोजक आफ्नै लक्ष्यमा चुकेको देखियो। भोजपुरी फिल्मको क्रेजका माझ नेपाली फिल्मको प्रभाव र नेपाली कलाकार भिज्न सकेनन् वीरगञ्जमा।
भोजपुरीको क्रेज
एक दर्शक भन्दै थिए, ‘नेपाली भाषाले गर्दा नेपाली फिल्म हेर्दैनन् यहाँका व्यक्तिहरु। यहाँ त भोजपुरी ज्यादा चल्छ।’ हुन पनि नेपाली फिल्म मेकरको ध्यान नेपाली भाषाकै फिल्ममा अड्कियो। स्थानीय भाषालाई खासै महत्व दिएनन्, जमेका फिल्म निर्माताहरुले। केन्द्रमै अल्मलिएको फिल्मी बजारमा केही मधेसका कलाकारको प्रभावकारी उपस्थिति त छ तर उनीहरु गैरमधेसीको भिडमा अलग पहिचान बनाउन अझै संघर्षमै छन्।
त्यहाँका स्थानीय नेताको गुनासो पनि त्यही थियो। कार्यक्रममा सहभागी २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मञ्चबाटै भने, ‘नेपाली फिल्म इन्डस्ट्रीले कहिल्यै मधेस समेट्न सकेन।’
कार्यक्रमले नै उनको भनाइ प्रमाणित गरेको थियो। मधेसमा आयोजना भएको कार्यक्रममा मधेसका कलाकारको सहभागिता पातलो थियो। जो आएका थिए, तीनलाई कुनातिर राखियो। त्यसैले त कलाकार नीर शाह दुःख प्रकट गर्दै थिए, ‘नेपाली चलचित्र भनेको नेपाली भाषाको मात्र होइन, भोजपुरी, नेवारी, तामाङ, गुरुङ भाषाको फिल्म पनि हो। विडम्बना ५४ औं वर्षमा आइपुग्दा पनि नेपाली फिल्मक्षेत्र सबै भाषाभाषीको बन्न सकेन।’
उनले ओझेलमा परेका मैथिली, भोजपुरी लगायतका मुद्दा नेपाली फिल्मले उठाउन नसक्दा फिल्म क्षेत्र अझै उद्योग बन्न नसकेको तर्क गरेका थिए।
हुन पनि मधेसका दर्शकलाई नेपाली फिल्मले समेट्न सकेको छैन। भौगोलिक समस्या, संस्कार, संस्कृति अटेको छैन मूलधारका फिल्ममा। कहिलेकाहीँ मधेसका पात्र त समेटिन्छन् तर तिनको चरित्रचित्रण कि विचरा बनाइएको हुन्छ कि अपराधी र तस्कर।
त्यसैले त मधेसका दर्शक बलिउड अनि भोजपुरी फिल्ममै रमाइरहेका छन् अझै पनि। नेपाली कलाकारप्रति मधेसमा कुनै मोह छैन भन्ने स्टेजमा नेपाली फिल्मको गीतमा अहिलेका चलेका स्टारले प्रस्तुति दिँदा पनि स्थानीय दर्शकमा उत्साह नदेखिदा प्रस्टिन्थ्यो। उनीहरु भोजपुरी गीत बज्दा भने मज्जाले नाचिरहेको देखिन्थ्यो। यसले नेपाली गीतसंगीत अझै त्यहाँका दर्शकमा भिज्न नसकेको प्रस्टै देखियो।
यो महोत्सवले त्यहाँका दर्शकलाई नेपाली फिल्ममा आकर्षित गर्ला भन्ने आश थियो तर पहाडी क्षेत्रमा हिट भएको ‘बुलबुल’ फिल्म हेर्न आउने दर्शकको संख्याले त्यसको जवाफ दियो।
वीरगंजमा नेपाली फिल्म ‘बुलबुल’ हेर्ने भिडमा स्थानीय दर्शक निकै कम थिए। बरु बलिउड स्टार गोविन्दालाई हेर्न पूरै वीरगंज उर्लिएको थियो कार्यक्रमस्थलमा। प्रभातफेरीमा हिँडेका हुन् या कार्यक्रममा सहभागी भएका नेपाली कलाकारलाई कमै दर्शकले चिने। मधेसका दर्शकले राजेश हमाल, रेखा थापा अनि विराज भट्ट बाहेकका अन्य कलाकार चिन्दा रहेनछन्। ५४ वर्षमा पाइला टेकेको नेपाली फिल्म इन्डस्ट्रीको लागि यो पक्कै लाजमर्दो अवस्था हो।
महोत्सव आयोजकले स्थानीय कलाकारसँग नेपाली कलाकारको साक्षात्कार कार्यक्रम आयोजना गरेको भए केही उपलब्धि हुनसक्थ्यो तर त्यसतर्फ भन्दा बलिउड स्टार गोविन्दालाई स्टेजमा उभ्याउनु नै आयोजकले आफ्नो उपलब्धि ठान्यो। बलिउड स्टारलाई मधेसका नेपाली दर्शकमाझ उभ्याएर नेपाली फिल्मको प्रवद्र्धन कसरी होला ?
अन्तरक्रियाहीन महोत्सव
महोत्सवमा विभिन्न फिल्ममाथि अन्तक्र्रिया हुने चर्चा थियो तर योजनाअनुसार ‘बुलबुल’माथि समेत अन्तत्र्रिmया हुन सकेन। तीन दिने महोत्सवको समयतालिका आयोजकको हातमा मात्र थियो। कार्यक्रमका लागि काठमाडौंबाट वीरगंज पुगेका प्राविधिक, कलाकार अनि पत्रकारको टोली अन्तिम दिनसम्म पनि समय तालिकाबिना नै कार्यक्रम स्थल पुगेका थिए।
यो कार्यक्रमको उपलब्धि ‘मुन्नाभाइ एमबिबियस’, ‘तारे जमिन पर’, ‘थ्रि इडियट्स’ लगायतका दर्जनौँ फिल्म छांयाकन गरेका छांयाकार श्री सिके मुरलीधरबाट फिल्म छायाँकनसम्बन्धी प्रशिक्षण कार्यक्रममै समेटियो।
अर्को उपलब्धि, आयोजकको वार्षिक प्रतिवेदनमा ‘वीरगंजमा भव्य कार्यक्रम सम्पन्न’ लेखिने भयो।
बाँकी उस्तै हो।
Leave A Comment