दोस्रो विश्वयुद्धपछिको फ्रान्सेली समाजमा अस्तित्ववादी दर्शनको बोलवाला थियो । जाँ पल सात्र्र, सिमोन द बुवा तथा अल्बेर कामुजस्ता अस्तित्ववादी दार्शनिकहरू त्यस युगका नायक थिए । आफ्नै मर्जीमा बाँचेको घुमन्ते चरित्र, वैयक्तिक स्वतन्त्रता, उदासी र एक्लोपनको चित्रण गर्ने त्यस बेलाका नयाँ लहर आन्दोलनसँग सम्बन्धित फ्रान्सेली चलचित्रमा अस्तित्ववादी प्रभाव स्पष्ट छ । यस्ता नायकनायिका कतिपय अवस्थामा अनैतिक जस्ता पनि देखिन्छन् तर व्यवस्थाविरोधी हुनु यिनीहरूको मूल चरित्र हो । ‘ब्रेथलेस’का निर्देशक गोदार्डका अनुसार उक्त आन्दोलनको मूल ध्येय सत्ताधारी वर्गका मान्यतालाई चुनौती दिनु थियो ।
दोस्रो विश्वयुद्धपछिको फ्रान्समा राजनीतिक उथलपुथल जारी थियो । चलचित्रहरू समकालीन जीवन र त्यसको सच्चाइबाट भाग्न थालेका थिए । मनोरञ्जन चलचित्रको मुख्य उद्देश्य बनेको थियो । ‘ट्रेडिसन अफ क्वालिटी’ भन्ने नाम दिइएका यस्ता चलचित्रले नयाँ पुस्तालाई असन्तुष्ट र आक्रोशित बनाउँदै थियो । आर्थिक रूपले पैसा कमाइराखेका भए पनि कलात्मक रूपले असाध्यै दरिद्र देखिने यस्ता चलचित्रलाई फ्राँस्वा त्रुफोले ‘हजुरबाउको सिनेमा’ भनी आलोचना गरे ।
सन् १९५१ बाटै चलचित्र आलोचक आन्द्रेई बाजाँ र ज्याक्स ड्वानियल बेलाक्रोजहरूले ‘कहिए दु सिनेमा’ नामको पत्रिका सुरु गरेका थिए । यही पत्रिकासँग जोडिएका समीक्षकहरूले पछि नयाँ लहर नामको चलचित्र आन्दोलन सञ्चालन गरे ।
सुरुमा ‘न्यु वेभ’ शब्द अल्लारे व्यवहार र जीवनशैलीका लागि प्रयोग गरिन्थ्यो । छालाको कालो ज्याकेट लगाएर पेरिसको सडकमा हल्ला गर्दै मोटरसाइकल चलाउने युवासँग सम्बन्धित थियो । सन् १९५५ देखि ६० का बीचमा उक्त पिढीका बारेमा अनेक अध्ययन भए । नयाँ लहर आन्दोलनले फ्रान्सेली समाजको त्यस चरित्रलाई आत्मसात् ग¥यो जुन चरित्र दोस्रो विश्वयुद्धपछिको युवा पिढीमा प्रस्ट देखिन थालेको थियो ।
फ्रान्सेली जनजीवनका अनेक सवाललाई चलचित्रका माध्यमबाट अभिव्यक्ति दिने प्रयास यस आन्दोलनले गरेको थियो । दोस्रो विश्वयुद्धका क्रममा जर्मन प्रभुत्वको समाप्तिसँगै चौथो गणतन्त्रको स्थापना भइसकेको भए पनि उक्त समाज दोस्रो विश्वयुद्धको पीडाबाट पूर्णतः मुक्त हुन सकिरहेको थिएन । राजनीतिक अस्थिरता कायमै थियो । फ्रान्सेली उपनिवेशहरूमा विद्रोह जारी थियो । यही अवस्थामा त्यहाँ पाँचौँ गणतन्त्रका लागि सन् १९५८ मा नयाँ संविधान जारी भयो ।
आफू ‘कहिए दु सिनेमा’ पत्रिकासँग जोडिएका चलचित्र समीक्षक पनि भएकाले युवा निर्देशकहरू चलचित्र सिद्धान्तसँग त राम्रैसँग परिचित थिए नै, साथसाथै देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाप्रति पनि उत्तिकै सचेत र जागरुक थिए । उपनिवेशहरू विघटनको दिशातिर जान थाल्नु, कलाका क्षेत्रमा नवयथार्थवादी विश्वदृष्टिले प्रवेश पाउनु, जर्मन सौन्दर्यशास्त्री बर्टोल्ट ब्रेख्तका विचारहरूको प्रसार हुनु, युवा संस्कृतिको मौलिक ढंगले विकास हुनु, टेलिभिजनको आगमनका कारण हलिवुडका चलचित्रहरूको बजारमा संकट देखिनु जस्ता कारणले नयाँ लहर आन्दोलनलाई हुर्किने वातावरण प्राप्त भयो ।
नयाँ लहर आन्दोलन राष्ट्रिय चलचित्रको अवधारणासँग पनि जोडिएको थियो । देशभित्रैका दर्शकलाई मुख्य लक्षित समूहका रूपमा ग्रहण गरियो । देशको सामाजिक, राजनीतिक घटना र परिस्थितिलाई विषय बनाइयो । मूलतः फ्रान्सेली जनमानसको मनोविज्ञानलाई नै अभिव्यक्ति दिने प्रयास गरियो ।
दोस्रो विश्वयुद्धपछि फ्रान्समा जेजस्ता चलचित्र बने, तिनमा व्यावसायिकता हाबी थियो । चलचित्रलाई प्रोत्साहन गर्नका लागि सरकारले ‘सेन्टर नेसनल डु सिनेमा’ को स्थापना ग¥यो तर यस संस्थाले तिनै निर्देशकलाई मात्रै आर्थिक सहयोग गथ्र्यो जसको पहिलेदेखि नै चलचित्र निर्देशकका रूपमा नाम चलेको हुन्थ्यो । यसले नयाँ निर्देशकलाई प्रोत्साहन गर्न सकेन, बरु रुष्ट बनायो । उनीहरूले परम्परागत चलचित्र निर्माणको विधिलाई बहिष्कार गरे र नयाँ बाटो निकाले । चलचित्र बनाउनका लागि उनीहरू आफैँले पैसा जुटाए र थोरै बजेटमा बनाउन थाले ।
नयाँ निर्देशकका लागि स्टुडियो, चमकधमकवाला प्रकाश, शानदार क्रेन सट तथा परम्परागत तरिकाको मिक्स साउन्ड ट्र्याकहरूमा पहुँच त थिएन नै, तर उनीहरूले यो विधिलाई पतनशील चलचित्रका लक्षणकै रूपमा स्थापित गर्ने प्रयास गरे । मोन्टाज र कन्टिन्युटी एडिटिङको परम्परागत विधिलाई भत्काएर लङ सट र जम्प कटका अवधारणालाई अपनाए । मुख्य पात्रको कथानकलाई कार्य कारण सम्बन्धमा आधारित गर्ने र निश्चित लक्ष्य प्राप्तिका लागि खास दिशामा सक्रिय गराउने वा कलाकारहरूलाई शृंगार प्रसाधनले कृत्रिम तुल्याएर प्रस्तुत गर्ने प्रचलनलाई पनि भत्काए । नायकको भड्कावलाई देखाउन रुचि लिने यस आन्दोलनका चलचित्रहरूमा कथानकको जटिलता, अस्तव्यस्ततालाई जोड दिएको पाइन्छ ।
फ्रान्सेली नयाँ लहर आन्दोलनले अटर थियरीको विकास ग¥यो । यिनीहरूका मतमा चलचित्रको भिन्नै भाषामा निर्देशकले आफ्नो विचार व्यक्त गर्छ । चलचित्रकर्मीको क्यामेराले पनि त्यही काम गर्छ जुन काम साहित्यकारको कलमले गर्ने गरेको छ । त्रुफोका विचारमा चलचित्र राम्रो वा नराम्रो भन्ने हुँदैन, राम्रो वा नराम्रो बरु निर्देशक चाहिँ हुन्छ । यस आन्दोलनले चलचित्रमा निर्देशकको वैयक्तिक छाप रहन्छ भन्दै निर्देशकीय अभिव्यक्तिका रूपमा ग्रहण ग¥यो ।
हुनलाई फ्रान्सेली नयाँ लहर आन्दोलन आधा शताब्दीभन्दा पनि पुरानो आन्दोलन हो । वैयक्तिक स्वतन्त्रताको वकालत र अस्तित्ववादी जीवनदर्शन पनि आज पुरानो भइसकेको छ । आजको समाजलाई अभिव्यक्त गर्ने अनेक चलचित्र शैलीहरूको विकासले यसलाई झनै पुरानो बनाइसकेको छ । राजनीति र चलचित्रलाई संयोजन गर्दै नेपाली सन्दर्भसँग ज्यादा निकट देखिने तेस्रो सिनेमा आन्दोलन र चौथो सिनेमा आन्दोलन जस्ता सैद्धान्तिक प्रायोगिक अभ्यासहरू आइसकेका छन् । तैपनि हाम्रा बीचमा नयाँ लहर आन्दोलनको सान्दर्भिकता सकियो भन्ने छैन ।
नेपाली चलचित्र अझै पनि निर्देशकीय अभिव्यक्तिको माध्यम बन्न सकेको छैन । बेग्लाबेग्लै निर्देशकहरूले बनाएका भिन्नाभिन्नै चलचित्रमा पनि उस्तै लाग्ने विशेषता प्रशस्तै छन् । चलचित्रलाई निर्देशकले भन्दा पनि बजारले ज्यादा प्रभावित गरेको अनुभव हुन्छ । निर्देशकमा स्पष्ट विश्वदृष्टिकोणको अभाव जस्तो महसुस हुन्छ । नेपाली चलचित्र अझै पनि निर्देशकको अभिव्यक्ति बन्न सकेको छैन । यस्तो परिस्थितिमा फ्रान्सेली नयाँ लहर आन्दोलन र यसका शिक्षाहरू अहिले पनि सान्दर्भिक र मननीय छन् । खास गरी लोकेसन सुटिङको विधि र विचारलाई केन्द्रमा राखेर न्यून लागतमा अभिव्यक्तिका लागि चलचित्र बनाउने सोच आज पनि उत्तिकै अर्थपूर्ण छ ।
Leave A Comment