टिक्नै गार्हो नायिकालाई

बुधबार, ०४ मङि्सर २०७६, १२ : ४० शुक्रवार
टिक्नै गार्हो नायिकालाई

करिब ४० वर्षअगाडि भुवन केसीले फिल्ममा खेल्ने मौका पाए, ‘जुनी’ मा। फिल्ममा नायिका थिइन्, मिनाक्षी आनन्द। बल्ल बल्ल नेपाली फिल्म बन्ने त्यो बेला आएको जुनी हिट भयो। २०३९ को कुरा हो यो। त्यो बेला भुवन २५ वर्ष हाराहारीका थिए।

२०५० मा दार्जिलिङबाट नेपाल आइन्, निरुता सिंह। त्यो बेला उनी १९ वर्षकी मात्र थिइन्। निर्देशक तुलसी घिमिरेले ‘दक्षिणा’बाट उनलाई नेपाली फिल्ममा प्रवेश गराउँदै थिए। त्यो बेला भुवनको उमेर निरुताको ‘काका’ बराबरको थियो। उनका नायक भुवन नै थिए। ३५ कटेका भुवन अनि २० टेक्दै गरेकी निरुताको जोडी दर्शकले मन पराए।

यो हिजोको कुरा भयो। अब आजको कुरा गरौं। भुवन अहिले पनि नेपाली फिल्म क्षेत्रमा नायकका रुपमा सक्रिय नै छन्। उनी छोरा अनमोल केसीसँग ‘एन्टी हिरो’मा अभिनय गर्ने तयारीमा छन्। काँचो उमेरमा नायिका बनेर फिल्मी क्षेत्रमा प्रवेश गरेकी निरुता अभियनमा परिपक्व बन्दैजाँदा अभिनयमा रम्नुको साटो स्ट्रगल गर्न मुम्बई फर्किइन्। फिल्मको अफर आउँदा उनी नेपाल आइरहन्छिन्। हालै आएका दुई वटा फिल्ममा उनी भने हिरोइनको साटो सहायक भूमिकामा देखिइन्। उमेरमा उनी मुस्किलले ४० कटेकी छन्।

‘एन्टी हिरो’ मा भुवनको अपोजिट भूमिकामा को छ, अहिले खुलेको छैन तर यो पक्का हो, उनको अपोजिटमा निरुताको कालका अभिनेत्रीहरु देखिने छैनन्। न उनी अगाडिका मौसमी मल्ल, कृष्टि मैनाली, करिश्मा मानन्धर नै हिरोइन हुने सम्भावना छ। जो हुनेछन्, अहिलेकै पुस्ताकी नायिका हुने पक्का छ।

नेपाली फिल्ममा भुवनको प्रवेशको वर्ष गणना गर्दा ४० वर्ष टेक्न लागिसक्यो। २०३९ मा अभिनय क्षेत्रमा प्रवेश गरेका हुन् उनी। उनको उमेर ६२ हाराहारी पुगिसक्यो। भुवन अहिले पनि पछिल्लो समयकी नायिका रीमा विश्वकर्मासँग कम्मर मर्काउँछन्। ‘मिस्टर बाबु’मा भुवनको जोडी रीमा नै छिन्।

फिल्ममा एकसाथ नायक–नायिकामध्ये नायकको रजगज ४० वर्षदेखि चलिरहँदा नायिकाहरु भने छिट्टै हराइहाल्छन्। किन ?

भुवनसँग हिट फिल्म गरेका मिनाक्षी आनन्द, तृप्ती नाडकर मात्रै हैन, मौसमी मल्ल, कृष्टि मैनालीको उपस्थिति अहिले फिल्मी क्षेत्रमा छैन। करिश्मा मानन्धर र २०५० मा भुवनसँग दक्षिणामा जोडी बनेकी निरुता नै आउटडेटेड भइसके तर भुवनको फिल्मी यात्रा भने जारी छ। र, निरुताले यही वर्ष प्रदर्शनमा आएको फिल्म ‘दालभात तरकारी’मा अभिनय गर्दा कलाकार हरिवंश आचार्यसँग जोडी बाँधिनुप¥यो। नयाँ पुस्ताका हिरो पुष्प खड्काको जोडी हुन सकिनन् उनी।

अर्को उदाहरण।
‘गोपीकृष्ण’मा राजेश हमालको प्रेमिका बनेकी गौरी मल्लको पर्दाको उमेर यसरी बढ्यो कि ‘हिरो’ फिल्मसम्म आइपुग्दा राजेशकै आमाको भूमिकामा उनले अभिनय गर्नु प¥यो। दर्शकले गौरीलाई आमाको भूमिकामा स्वीकारे अनि राजेशलाई हिरोकै रुपमा।

भुवनले अहिलेको पुस्ताकी नायिकासँग जोडी बाँधेर फिल्म गरिरहँदा उनीभन्दा निक्कै कान्छी निरुताहरु हरिवंशहरुसँग अभिनय गर्न किन बाध्य छन् ? अभिनयमा प्रवेश गरेका नायिकाहरु एक दशक पनि नपुग्दै आमाको भूमिकामा पुग्दा नायकहरु वास्तविक जीवनमै हजुरबुबा बनिसक्दा पनि कसरी नायककै भूमिकामा फिट हुन्छन् कसरी ? अनि दर्शकले पनि सहजै स्वीकार्ने त्यस्तो के मानसिकता छ हाम्रो समाजमा ?

अभिनय ज्ञानसँगै अभ्यास पनि हो। जति अभ्यास हुँदै गयो उति निखारिने त हो ! फिल्म क्षेत्रमा कच्चा उमेरमा प्रवेश गरेकाहरु जब उमेरसँगै अभिनयमा परिपक्व र अनुभवी हुँदै जान्छन्, नायिकाको ‘आयु’ सक्किइसकेको हुन्छ। उता नायकको हकमा भने सदाबहारको ट्याग लाग्छ, नायिकाको हकमा त्यही ट्याग पाउने अवधि आउनुअघि नै रिटायर्ड भइसक्छन्।

परिपक्व देखिन थालेपछि कतिले नायिका ‘मटेरियल’ देख्दैनन् अनि हिरोकी दिदी, आन्टी, आमाको भूमिकामा प्रस्ताव गर्न थाल्छन्।

नायिका रेखा थापाको फिल्मी यात्रा नै हेरौँ न ! एक समय रेखाको नामैले फिल्म चल्थ्यो। उनको नाममा टिकट बिक्थ्यो। अनि निर्माताको लागनी सुरक्षित हुन्थ्यो। उनको स्टारडमकै कारण अधिकांश फिल्म हिट भए। उनी अन्य नेपाली नायिकाको सक्रियताको तुलनामा लामो समय नायिकाकै रुपमा पर्दामा देखिइरहिन्।

रेखाको नाममा ठूलो धनराशि खर्च गरिन्थ्यो। उनैलाई मुख्य भूमिकामा राखेर धेरै फिल्म बने। ती फिल्मले बक्स अफिसको साख जोगायो। उमेरले रेखा ३५ पारि मात्र पुगेकी त हुन् ! यही उमेरमा उनको क्रेज भने घटिसक्यो।

निरुता त पुरानी भइहालिन्। अहिले प्रियंका कार्की नै नायिकाको रुपमा जम्न धुकधुक छ। कार्कीको पर्दाको नायिकाको आयु अवसानतिर लम्किसक्यो।

‘कथा काठमाडौं’, ‘प्रेम दिवस’, ‘अनागत’, ‘लिलिबिली’ जस्ता फ्लप फिल्म गरिसकेपछि उनी अहिले आफैँले निर्देशन गरेको वेब सिरिज ‘जस्ट एनोदर लभ स्टोरी’लाई निर्देशन गर्दैछिन्। सायद प्रियंकालाई आफ्नो पर्दाको आयु सकिएको भान भइसक्यो। लगभग उनले पनि हिरोइनको सरदर उमेर बाँचिसकिन्। धन्न रेखा १९ वर्ष पर्दामा नायिकाको भूमिकामा टिकिरहेकी छन्।

किन हुन्छ यस्तो ?
हालै काठमाडौं आउँदा दक्षिण एसियाकी सामाजिक अभियन्ता कमला भासिनले पहिलोपोस्टलाई भनेकी थिइन्, ‘हलिउड, बलिउड र सौन्दर्य प्रतियोगिता यस्तो व्यापार हो, जसले महिलालाई केवल शरीरको रुपमा मात्र प्रस्तुत गर्छ। महिलालाई शरीर मात्र ठान्छन् र त केही वर्षमै नायिका, नायिका रहँदिनन्। नायकलाई त ६० वर्षको उमेरसम्म पनि लभर ब्वाई बनिरहने छूट छ।’

उनको भाव प्रस्ट छ, हिरोइनलाई वस्तुको रुपमा प्रयोग गरियो। त्यस्ता वस्तु चमक, चहक सकिनासाथ इन्डस्ट्रीबाट आउट हुन्छन्। सायद सज्जा मैनाली, सारङ्गा श्रेष्ठ, सन्नी रौनियार, विपना थापा, जल शाह लगायतका नायिकाको हकमा यस्तै भयो। उनीहरुको कलिलो सुन्दरता इन्डस्ट्रीले उपभोग ग-यो, जब परिपक्व भए उनीहरु बाहिरिन बाध्य भए।

हलिउडमा नायिकाको उमेरले पर्दाको भूमिकामा त्यत्ति असर पर्ने नदेखिए पनि नेपालसँगै एसियाकै फिल्म क्षेत्रको यो समस्या रहेको अभिनेता भुवन केसी बताउँछन्।

मुख्य गरी एसियामा नायक र नायिकाको छवि नै भिन्न छ। भारतीय फिल्म नगरी बलिउडलाई हेर्दा पनि त्यही समस्या देखिन्छ। आमिर खान, सलमान खान, साहरुख खान सदाबहार नायकको रुपमा अहिले पनि पर्दामा सक्रिय रहँदा उनीहरुसँगै फिल्ममा डेब्यु गरेका नायिकाहरु चरित्र अभिनयमा समेत देख्न मुस्किल छ।

‘म्याच्योर देखिन थालेपछि नायिकालाई प्रस्ताव आउँदैन,’ भुवनले भने, ‘उमेरको सीमाले दर्शकले उनीहरुलाई नायिका स्वीकार्दैनन्। त्यतिबेलासम्म मार्केटमा नयाँ–नयाँ नायिका आइसकेका हुन्छन्। निर्माताले नयाँ नायिका नै रोज्छन्। नेपालको सन्दर्भमा नायिकाको आयु ८/१० वर्ष मात्र देखिन्छ।’

अभिनेत्री ऋचा शर्माको दृष्टिकोणमा पनि परिपक्व उमेरमा प्रवेश गरेसँगै नायिकाको पर्दाको आयु भने छोट्टिदै जान्छ। यसको मूल कारण नायिकाको छवि रहेको उनको ठम्याई छ।

‘कलिलो उमेर हुञ्जेल र राम्री देखुञ्जेल मात्र हो नायिकाको पर्दाको उमेर,’ ऋचाले भनिन्, ‘यसको मूल कारण ग्ल्यामरमा धेरै फोकस हुनु हो झैँ लाग्छ। अब अहिले आइटम डान्समा देखिने नायिका अबको ५ वर्षपछिको फिल्ममा देखिएलान् जस्तो लाग्दैन।’

जस्तो समाज, त्यस्तै पर्दा
नायिकाको पर्दामा उमेर छोट्टिनुमा सामाजिक सोचले पनि उत्तिकै प्रभाव पार्छ। हलिउडको लक्षित दर्शक रहेका क्षेत्रमा उमेर भन्दा चरित्रले प्रधानता पाउँछ। त्यसैले छोटो समयमै नायिका सँगै डेब्यु गरेको नायकको आमाको भूमिकामा ओर्लिनु पर्दैन।

नायिकालाई सधैँ–सधैँ सुन्दरता र रोमान्ससँग जोडेर प्रस्तुत गरियो। राम्री, चञ्चल स्वभावकी र युवालाई आकर्षित गर्ने मेटेरियलमै खुम्चिए उनीहरु।

मुख्यतः नेपाल र भारतको समाजमा सम्बन्धमा उमेरले महत्त्वपूर्ण स्थान ओगट्छ। दुई वर्ष जेठीसँग विवाह गर्दा ‘दिदी’ उमेरकीसँग विवाह गरेछ भनेर नकारात्मक प्रतिक्रिया दिने एसियाली समाजमा पुरुषको हकमा भने छोरी समानकी युवतीलाई पनि श्रीमतीको रुपमा सहजै स्वीकारिन्छ। त्यसैको प्रभाव हो, १७ वर्षकी नायिकासँग ६० वर्षको नायकको रोमान्सलाई समाजले पचाउनुमा।

नायकको हकमा सुन्दरता भन्दा बहादुरीलाई जोड दिइयो। त्यसैले नायक जति परिपक्व हुँदै गए, उत्तिकै बहादुर हुँदै गए। नायिकाको चञ्चल स्वभाव हराउँदै जब गम्भीर र परिपक्व बन्दै गए, उनीहरुको नायिकाको आयु घट्दै गयो।

समाजशास्त्री मीना उप्रेती नायिकालाई उसको रुप र उमेरसँग जोडेर हेर्दा कला क्षेत्रमा कम समय टिक्ने गरेको बताउँछिन्। युवती राम्री हुने उमेर १५ देखि २५ वर्ष रहेको समाजको बुझाई रहेकाले त्यसको प्रभाव कला क्षेत्रमा परेको उनको ठम्याई छ।

‘केटी मान्छेलाई उसको रुप र उसको सौन्दर्यसँग जोडिन्छ,’ उनले भनिन्, ‘उसको सौन्दर्य देखाउने ठाउँ हो फिल्म।  १५–२५ वर्ष युवती सबैभन्दा सौन्दर्य फक्रने  समय हो भनेर हाम्रो बजार, समाज अनि परिवारले बुझेको छ। त्यो उमेरमा युवती एकदम ग्ल्यामरस देखिन्छ।’

निर्णय क्षमतामा आउने परिपक्वताका कारण पनि उमेर बढ्दै जाँदा नायिकाहरुले कम अवसर पाउने गरेको उनको विश्लेषण छ। कम उमेरमा के राम्रो, के नराम्रो भन्दा अवसर मात्र हेर्दा निर्देशक–निर्माताले जे भने पनि मान्ने नायिकाहरु २५ वर्ष कटेसँगै परिपक्व हुन थाल्छन् र तर्क गर्ने, अस्वीकार गर्ने गर्छन्। हिजो जे भने पनि मान्ने नायिकाले तर्क गर्न थालेको निर्माता–निर्देशकले रुचाउँदैनन् र अवसर घट्न थाल्छ।

समाजशास्त्रीको विश्लेषण नेपाली फिल्म क्षेत्रका नायिकाहरुको व्यवहारसँग दाँज्दा मिल्छ पनि। जब नायिकाहरु २५ वर्ष वारपार पुग्छन्, तब उनीहरुले यसअघि अभिनय गरेका फिल्म र निभाएको भूमिकाप्रति पछुतो मान्ने गरेको देखिन्छ। निर्माता–निर्देशकसँग खटपट हुने नायिकाहरुको उमेर समूह हेर्दा पनि समाजशास्त्री उप्रेतीले व्याख्या गरेको उमेर हाराहारी नै देखिनु पक्कै संयोग मात्रै हैन।

घरबारसँगै ओरालो
कतिको हकमा सुन्दरताले मात्र प्रभाव पारेको हुँदैन। कति नायिका हुन लायक हुँदाहुँदै पनि विवाह गरेपछि ह्वात्तै मार्केट भ्यालु घट्छ। अनि इन्डस्ट्रीबाट टाढा हुन बाध्य हुन्छन्।

मिनाक्षी आनन्दले ‘जुनी’, ‘सिन्दुर’, ‘जीवनरेखा’ फिल्म गरेकी थिइन्। उनको प्रचूर सम्भावना हुँदाहुँदै पनि बिहेपछि उनले फिल्म इन्डस्ट्री छोडिन् र परिवार सम्हाल्न व्यस्त भइन्। तृप्तीको कहानी पनि उस्तै छ। ‘सम्झना’, ‘साइनो’, ‘कुसुमे रुमाल’ लगायतका हिट फिल्म दिएकी तृप्ती त्यसपछि हराइन्।

विवाहलगत्तै फिल्म उद्योगमा आएकी उनी पछि परिवारलाई समय दिन भनेर उद्योग छाडिन्। त्यसपछिका पुस्ताका हिरोइनहरु करिश्मा, गौरी, मौसमी लगायतका देखापरे। करिश्मा त विवाहपछि चम्किइन् तर अन्य भने विवाहलगत्तै हराए। यसपछिका छिमलका कलाकारहरु जल शाह, विपना थापा, सञ्चिता लुइटेलको कथा पनि यही हो।

नेपालको सन्दर्भमा त कति कलाकार गरिमा पन्त, विपना, युना उप्रेती, रेजिना उप्रेती, झरना वज्रचार्य, हर्षिका श्रेष्ठ त बिहेपछि अवसर नपाउँदा विदेश नै पलायन भए।

पर्दामा देखिने नायिकासँग दर्शकको यौन आकर्षणसमेत हुने गरेको र विवाहपछि उनीहरु अरु कसैको भइसकेको भाव दर्शकले महसुस गर्दा विवाहपछि नायिकाको क्रेज घट्ने गरेको समाजशास्त्रीको तर्क छ।

‘हाम्रो जस्तो देशमा महिलाको रुप देखाएर फिल्म चलाउँछौँ,’ समाजशास्त्री उप्रेतीले गम्भीर हुँदै सुनाइन्, ‘बौद्धिक क्षमता भन्दा शारीरिक कुरालाई बढी महŒव दिइन्छ। युवतीलाई सँधै सेक्सुअल अब्जेक्ट नै मानिन्छ। विवाहअघिको पियोर सेक्सुआलिटीलाई बजारले पनि रुचाउने रहेछ। त्यसैलाई आधार मानेर समाजले विश्लेषण गर्दो रहेछ।’  

स्क्रिप्ट नै लेखिन्न
लामो समय अमेरिका बसेका रमेश उप्रेतीले फिल्म ‘ऐश्वर्य’मा नव नायिका दिपिका प्रसाईंसँग स्क्रिन सेयर गरे। फिल्ममा उनले केकी अधिकारीको जोडी बनेर पनि अभिनय गरे। फिल्मका लेखक र निर्देशक दिवाकर भट्टराई थिए। उनले दीपिका प्रसाईँको स्थानमा झरना वज्राचार्यका लागि कथा लेख्न सकेनन्।

बरु ५० कटेका राजेशका लागि अनगिन्ती कथा लेखिन्छन् तर जब नायिकाकोे भूमिका आउँछ, निरुता सिंह या करिश्मा मानन्धर आउँदैनन्, साम्राज्ञी राज्यलक्ष्मी शाहहरु आउँछन्।

नायक भुवन केसी स्क्रिप्टमा समेत समस्या रहेको स्वीकार्छन्। परिपक्व भइसकेकी नायिका केन्द्रित भएर चरित्रचित्रणै नहुँदा उनीहरुले कम अवसर पाउने गरेको उनको तर्कमा दम छ।

‘यहाँ राजेश हमालको लागि फिल्म लेखिन्छ,’ उनी सुनाउँछन्, ‘केकी, वर्षा राउत, स्वस्तिमा जो पनि त्यो फिल्ममा कास्ट हुनसक्छ तर करिश्मालाई लिएर फिल्म बन्दैन। नायकहरु अलिकति बूढो हुँदा पनि उस्तै किसिमको भूमिकामा स्क्रिप्ट लेखिन्छ।’

लामो समयदेखि फिल्म लेखनमा सक्रिय प्रदीप भारद्वाज निर्माताले नै कहिल्यै निरुता वा विपनाका लागि कथा लेख्न नभनेकाले नै कथा नलेखिएको तर्क गर्छन्।

‘करिश्मा मानन्धरले आफैँले फिल्म बनाउनु प-यो भने आफूलाई मेन रोल दिएर बनाउन सक्नुहुन्छ तर आफू जत्तिकै उमेरका अरु कसैलाई लिएर फिल्म बनाउने  आँट छ ?’ प्रदीपले प्रश्न गरे। उनको भाव प्रस्ट छ, करिश्मा मानन्धरलाई अब मार्केटले लिड रोलमा स्वीकार्दैन। लिड रोलको रहर छ भने आफ्ना लागि आफैँ फिल्म बनाउनुको विकल्प छैन।

यहाँ रेखा थापाका लागि पनि फिल्म लेखिन्न। दुई दशक नेपाली फिल्म क्षेत्रमा राज गरेकी रेखा आज आफैँले निर्माण गरेको फिल्मकी हिरोइन बन्नु पर्ने अवस्था छ।

चरित्र लम्ब्याउँछ अभिनयको आयु
हिरोइन मात्रै बन्न चाहनेहरुको आयु पर्दामा छोटो छ तर चरित्र अभिनयमा आफूलाई ढाल्न सक्ने कतिपय नायिकाको पर्दाको आयु भने लामो देखिन्छ। त्यसको उदाहरण हुन्, गौरी मल्ल, मिथिला शर्मा र भुवन चन्द।

यी अभिनेत्रीहरुले चरित्र भूमिकामा आफूलाई सधैँ तयार पारे। त्यसैले आजसम्म पनि यी हिरोइनहरु पर्दामा आमा, दिदी, भाउजूको भूमिकामा देखिरहन्छन्।

अभिनेत्री मल्लले त आफूलाई ‘सिंहदरबार’ टेलिश्रृंखलाका लागि पनि तयार पारिन्। हालै उनी ‘सानो मन’मा आमाको भूमिकामा देखिइन्। मिथिलाले पनि यसै वर्ष प्रदर्शनमा आएको ‘द म्यान फ्रम काठमाडौं’मा अभिनय गरेकी थिइन्। जसमा उनको रोल आमाकै थियो।

करिश्मा पनि विभिन्न भूमिकामा फिल्महरु गरिरहेकी छन्। नेपालको पहिलो हिरोइन भुवन चन्द आजसम्म पनि फिल्म गरिरहेकी छन्। पछिल्लो समय उनले आफैँले निर्माण गरेको फिल्म ‘साइनो’मा पनि अभिनय गरेकी थिइन्।

साम्राज्ञीको आयु कति ?
अहिले चलिरहेका नायिकाको आयु कति होला ? कति समय टिक्लान् उनीहरु ? उदाहरण लिऊँ, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको। उनी चार वर्षअगाडि फिल्म ‘ड्रिम्स’बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी थिइन्। त्यसपछि आठ वटा फिल्ममा अभिनय गरिसकिन्। उमेर त्यस्तै २२ जति हो तर उनको चार्म घट्न थालिसक्यो। उनले अभिनय गरेका फिल्म एकपछि अर्को फ्लप भइरहेका छन्। यही गति कायम रहने हो भने एकाध वर्षमा उनी फिल्मी पर्दाबाट हराउने पक्का छ।

स्वयं प्रियंका कार्कीको ओरालो यात्राको गती तीव्र छ। वर्षा राउत, आँचल शर्मा धन्न टिकिरहेका छन्। स्वस्तिमाको उकालो यात्रा यतिबेला राम्रै देखिएको छ।  जसिता गुरुङ संघर्षरतै छिन्।

अभिनेत्री भुवन चन्द अहिले चल्तीका नायिकाहरुले आफूलाई चरित्र अभिनयमा ढाल्न नसके चाँडै हराउने बताउँछिन्।

‘बिहे नगरी नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेर दिदी–बहिनी, आमा लगायतको भूमिकामा देखिए स्वस्तिमा, साम्राज्ञी, वर्षा वा जसिताको पर्दाको आयु १० देखि १५ वर्ष हुनसक्छ। नत्र हराउँछन्,’ उनले ठोकुवै गरिन्।

Leave A Comment