अहिलेको व्यस्त कोरियोग्राफर हुन्, कविराज गहतराजले छोटो समयमै ६ सय भन्दा बढी गीतमा कोरियोग्राफी गरिसकेका छन्। अहिले सर्वाधिक हिट गीत ‘कुटुमा कुटु’, ‘गाला रातै’, ‘सिम्पल सिम्पल कान्छीको’, ‘बट स्लोली’, ‘घण्टी बज्यो’, ‘भिजिट भिसामा’, ‘पहिलो नम्बरमा’ जस्ता हिट गीतलाई उनले नै कोरियोग्राफी गरेका हुन्। मराठी, हिन्दी, भोजपुरी फिल्मका गीतमा समेत कोरियोग्राफी गरेका उनीसँग करियर, कोरियोग्राफी अनि कलाकारको नाच्ने क्षमता वरपर रहेर शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंग :
अहिले कति वटा फिल्मी गीत जिम्मामा छ ?
अँ, हालै ‘लक्का जवान’ फिल्मको गीत सकियो। एउटा गीत बाँकी छ। ‘प्रेमगीत ३’ फिल्मको सुटिङ सुरु भएको छ। सायद अब छिट्टै नै गीत पनि सुटिङ हुन्छ होला। ‘गुञ्जन’ फिल्मको एउटा गीतको सकियो, एउटा बाँकी छ। यही बीचमा भोजपुरी फिल्म ‘रोमियो राजा’को दुई वटा गीत सकेँ। अब केही समयभित्रै ‘आई लभ यु’ फिल्म पनि सुटिङमा जाँदैछ। यसको कोरियोग्राफी पनि मैले नै गर्ने हो।
कलाकार भन्दा पनि व्यस्त है तपाईँ त ?
अब आर्टिस्टहरु २/३ महिनासम्म एउटै फिल्ममा इन्भल्भ हुनुहुन्छ। मेरो चाहिँ त्यस्तो हुँदैन। एउटा गीत सक्नै ३/४ दिन लाग्छ। ४/५ वटा सिनेमा एकसाथ फ्लोरमा गइरहेको हुन्छ। त्यसैले आर्टिस्टभन्दा व्यस्तै भइन्छ। कोरियोग्राफर पनि कम हुनुहुन्छ। त्यसैले काम बेसी नै हुन्छ।
यस्तो चापाचापमा परिवारलाई समय दिन भ्याइन्छ त ?
घरमा त खासै समय दिन पाउँदिनँ नि। यसो समय निस्कियो भने घरमै हुन्छु।
तपाईँले कोरियोग्राफी रहेका धेरै गीत हिट भइरहेका छन्। के जादु छ हो ?
अरु कोरियोग्राफरले गरेको गीत पनि हिट छन् तर मैले धेरै फिल्मको कोरियोग्राफी गरेकाले होला धेरै गीत हिट भए। ७५ प्रतिशत फिल्ममा मैले नै काम गरेको हुन्छु। ती सब फिल्मको गीत बाहिर आउँदा हिट लिस्टमा सायद मैले गरेका गीत बढी परेका होलान्। प्रायः राम्रा गीत मेरै भागमा परेको छ (हाँस्दै)। अब पछि पनि पर्छ कि भन्ने आश छ।
संगीत र शब्द र लयले फिल्मको गीत हिट बनाएको हो कि तपाईँको कोरियोग्राफीले ?
हाम्रो काम त गीतमा बुट्टा र रङ भर्ने काम न हो ! सुरुमा त गीत र संगीत नै राम्रो हुनुपर्छ जब संगीत दर्शकलाई मनपर्छ, तब मात्र गीत हिट हुन्छ। कतिपय अवस्थामा कोरियोग्राफीले पनि फरक नपार्ने भने होइन। गीतकै अनुसार हामीले राम्रै ग्राफ पायौँ भने, सेटअप त्यही अनुसारले भयो भने अनि सुटिङ पनि त्यही अनुसार ब्यालेन्समा आयो भने चाहिँ सुनमा सुगन्ध हुन्छ। आर्टिस्टले पनि फरक पार्छ। ब्यानरले पनि फरक पारिरहेको हुन्छ। गीत हित हुन सबै पक्षको राम्रो मिश्रण हुनुपर्छ भनौ न।
नाचुँ–नाँचु लाग्ने मात्र होइन, मेलोडी गीत पनि हिट बनाइदिनुहुन्छ तपाईं त !
हो (मुसुक्क हाँस्दै)। अनमोल केसीको फिल्म ‘ड्रिम्स’देखि ‘क्याप्टेन’ अनि ‘ए मेरो हजुर’को मेलेडी गीत हिट छन्। आइटम सङमा मैले कोरियोग्राफी गरेकै अगाडि छन्। जस्तै ‘काले दाइ’। नेपाली लोक भाकाको गीतमा पनि मेरो नै हिट छन्। आजसम्म नेपाली फिल्ममा धेरै कोरस राखेको पनि मैले नै होला। मैले ‘हजार जुनीसम्म’ फिल्मको ‘एमजी रोडैमा’मा २१९ जना ग्रुप राखेर नचाएँ। यो भाग्य नै भनौ न।
कलाकारले राम्रो नाचेर पाएको तारिफको पछाडि त कविराजको पो भुमिका धेरै हुँदो रहेछ, हैन ?
मैले मात्र होइन, कलाकारको मिहिनेतले पनि गीत राम्रो हुन्छ। किनभने मैले दिएको डान्स स्टेप कलाकारले राम्रो तरिकाले नगरे, न त गीत हिट हुन्छ, न त कसैले चर्चा गर्थे न मैले अवार्ड पाउँथेँ। त्यसैले गीत खिच्ने व्यक्तिदेखि लिएर, स्पट ब्वाई मात्र होइन, पूरा टोलीको मिहिनेत फिल्म र गीतमा लागिरहेको हुन्छ।
कति फिल्मको गीत मात्रै चल्छ अनि फिल्म डब्बा हुन्छन्। त्यस्तो बेला गीत हिट भएकोमा कोरियोग्राफर रमाउने कि फिल्म फ्लप भएकोमा दुःखी ?
आफूले काम गरेको फिल्म चल्दिओस् भन्ने त हुन्छ नै। जति चल्यो, त्यसबाट फाइदा हामीलाई नै छ। त्यो फिल्म चल्यो भने अर्को फिल्ममा फेरि काम पाउँछौं। कहिलेकाहीँ दर्शकले फिल्म मन पराइदिनु हुन्न। अब कहिलेकाहीँ राम्रो फिल्म पनि चलिरहेको हुँदैन। तर गीत चलेर फिल्म नचलेका पनि छन्, दुःख लाग्छ।
निर्देशक नचाउने कलाकारलाई तपाईँ नचाउन सक्नुहुन्छ है ?
अब हाम्रो काम नै नचाउने हो (हाँस्दै) ! हामीलाई जति रकम दिनुहुन्छ, त्यो नचाउनकै लागि दिइएको हुन्छ। जे जिम्मेवारी दिएको त्यो त गर्नैप-र्यो।
कुन कलाकारलाई नचाउन गाह्रो हो ?
नेपालको परिवेशमा प्रायः आर्टिस्ट डान्समा कमजोर छन्। हिरोइनमा भन्दा पनि हिरोमा डान्स नआउने समस्या छ। अब नचाउन गाह्रो हुने त धेरै नै हुनुहुन्छ जस्तो निखिल दाइ (उप्रेती) अनि राजेश दाइ (हमाल) लाई नचाउन गाह्रै हुन्छ। कहिलेकाहीँ त हामीले एउटा स्टेप गरिरहेका हुन्छौं आर्टिस्टले अर्कै स्टेप गरिदिन्छन्। अहिले चाहिँ आर्टिस्टका लागि वर्कशप पनि हुन थालेको छ। पछिल्लो समय अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का अनि पल शाहको डान्समा सुधार हुँदै गएको छ। डान्समा सबभन्दा राम्रो भनेको दिलिप रायमाझी नै हो। आर्यन सिग्देलको पनि राम्रै छ। फिमेलमा त लगभग सबै राम्रै नाच्नुहुन्छ।
प्रियंका कार्की र स्वस्तिमा खड्कामध्ये कसको नृत्य राम्रो ?
डान्समा त स्वस्तिमा भन्दा प्रियंकाकै राम्रो छ। प्रियंकासँग मेरो धेरै काम पनि भयो। अब हामी दुईको कति कुराहरु पनि मिल्छ। प्रियंका धेरै फर्ममा डान्स गर्न सक्ने भएकाले नेपालमा सबभन्दा नाच्ने नायिकामा प्रियंका नै पर्छ। स्वस्तिमा पनि राम्रै नाच्छ। पछिल्लो समयमा साम्राज्ञीहरुको पनि राम्रै छ।
नचाउन किन गार्हो ?
नयाँ आर्टिस्टहरु डान्स पनि नसिकी आउनुहुन्छ। कति आर्टिस्ट त म्युजिकमा हिँड्न पनि जान्दैनन्। हाँस्यो हिँड्न नसक्ने, लिप्सिङ गर्न थालेसी नाच्न नजान्ने। त्यस्तो बेला रिस पनि उठेर आउँछ। शोखले फिल्म क्षेत्रमा आउनेहरु त्यस्तो गर्छन्।
कलाकारले नाच्न नजानेर धेरै पटक रिटेक लिएको घटना छ ?
‘सो सिम्पल’ फिल्ममा आर्टिस्टले भन्दा पनि जोनी जिपको कारणले ५० टेक नै भएको थियो। त्यसको निर्देशक शिव रेग्मी हुनुहुन्थ्यो। अत्ति नै भइसकेपछि उहाँले यति धेरै टेक लिएपछि आर्टिस्टको फिल नै आउँदैन, तिमीहरुले के गरेको भनेर रिसाउनुभएको थियो।
नाच्दानाच्दै बेहोस भएको भन्ने हल्ला पनि कहिलेकाहीँ सुनिन्छ नि ?
कहिलेकाहीँ नाच्दानाच्दै गर्मीको कारणले बेहोस भइरहेका हुन्छन्। ‘कुटुमा कुटु’को सुटिङको समयमा तीन जना कोरस डान्सर बेहोस हुनु भएको थियो, इटहरीको गर्मीमा सुटिङ थियो। ‘बाजीगर’ भन्ने फिल्मको सुटिङ कोसीपारि भएको थियो। त्यहाँ पनि लास्टै गर्मी, अनि त एक जना बहिनी बेहोस हुनुभयो। ‘छक्का पञ्जा’को पूर्व–पश्चिम रेलको सुटिङको समयमा त हरेक दिन १० जना डान्सर चेन्ज गर्नुपथ्र्यो। नवलपरासीको गर्मी अनि त्यस्तो गर्मीमा नाङ्गा खुट्टाले नाच्नुपथ्र्यो। अनि त बेहोस भइरहन्थे !
कलाकारमा पनि यस्तो भएको होला नि ?
‘दाल भात तरकारी’को चितवनमा सुटिङ थियो। ‘एन्टिबायोटिक’ भन्ने आइटम गीत थियो। गीतमा प्रियंकाले सुतेरै दिने सट थियो। प्रियंकाको वरिपरि आगो बालेको थियो। त्यो सट सक्कियो भनेर प्रियंकालाई उठाऊँ भनेको त, ऊ त बेहोस नै भइसकेको रहेछ ! काम हुँदैन भन्ने भा’को थियो तर प्रियंकाले दाइ अब काम सुरु गरौं भनेपछि सुरु गरियो। भरे त बेहोस् ! स्वस्तिमालाई चाहिँ ‘लभ लभ लभ’को एउटा गीतको सुटिङका लागि गोसाईँकुण्ड पुग्दा हाई लाग्यो। हाई लागेर माथि जाँदाजाँदै तल झारेर फेरि सुटिङ ग¥यौँ। ‘काली’को समयमा ‘बट स्लोली स्लोली’ भन्ने समयमा एकजना असिस्टेन्ट भाइ नै बेहोस हुनुभयो। ‘लज्जा’को समयमा भृकुटीमण्डपमा पानी पार्ने सिन थियो। जाडोको समय थियो। एक्सन भनेपछि पनि शिल्पा पोखरेल कक्रेर बसिन्। उनको शरीर नै चलेन। यस्तो केस धेरै भएको छ।
पछिल्लो समय गीत खिच्न विदेश जाने फिल्मकर्मी बढेका छन्। नेपालमै यति धेरै राम्रा ठाउँ छन्। गीत खिच्न विदेश जान आवश्यक छ र ?
मेलोडी सङमा ल्याण्डस्केप सिन राम्रो हुन्छ। त्यहीअनुसार हामी बाहिर जाने गर्छौं। फिल्ममा एउटै दृश्य देख्दा दर्शकलाई बोरिङ पनि भइरहेको हुन्छ। त्यसैले गीतमा विभिन्न ठाउँको दृश्य हामी राख्छौँ। नेपालमा कति खिच्नु ? म लगभग १५ वटा देश गएँ, नेपाल जति राम्रो कुनै पनि छैन। नेपालको समस्या चाहिँ बाटो हो। हाम्रो यति राम्रो÷राम्रो लोकेसन छ तर पुग्नै सकिँदैन। हिँडेर ५÷७ दिन लाग्छ। त्यत्रो हिँडेर जान अनि फर्किन धेरै बजेट लाग्छ। त्यहाँ गएर गीत खिच्ने रकमले विदेशमा चार पटक गीत खिच्न सकिन्छ। त्यसकारण अहिले विदेश सजिलो हुन थालेको छ।
पहिला गीतको सुटिङको लागि डाँडाकाँडा धाउनुपथ्र्याे, अहिले पनि त्यस्तै हो ?
अहिले पनि हामी डाँडाकाँडा धाउँछौँ (हाँस्दै)। विदेशै जाँदा पनि हामी डाँडाकाँडा जान्छौं। ‘लिलिबिली’ खिच्दा पनि डाँडाकाँडा गयौं। नर्वेमा ‘बोबी’को गीत खिच्दा पनि गयौं। विदेश गए पनि खासमा हामीलाई डाँडाकाँडा नै माया लाग्दोरहेछ।
कति फिल्ममा सिक्वेन्सअनुसार गीतको प्रयोग मिलिरहेको हुँदैन नि ?
हामीलाई सुरुमा यो अवस्थामा गीत आउँछ भनेर भनेको हुन्छ। हामी त्यसरी नै काम गर्छौं। कहिलेकाहीँ अर्कै ठाउँमा गीत फ्याट्ट राखिएको हुन्छ। कहिलेकाहीँ गीत राम्रो छ, गानाले फिल्म चल्छ भनेर गीत सुटिङ गरिदिन्छन्। त्यस्तो समयमा एकदम नमिल्ने ठाउँमा गीत राखेको हुन्छ। त्यसरी गीत आउँदा दर्शकलाई अनि हामीलाई पनि नराम्रो लाग्छ। ६० प्रतिशत फिल्मको समस्या यही हो ।
गीतले तान्छ है दर्शकलाई ?
तान्छ। बलिउड र हाम्रो फिल्मले गीतलाई महŒव दिइरहेको हुन्छ। फिल्मको पहिलो प्रचार गर्ने अस्त्र नै गीत हुन्छ। गीतकै कारण पनि फिल्मको मूल्यांकन हुन्छ। कति त गीतकै लागि फिल्म हेर्न जान्छन्।
यसरी तपाईँले कोरियोग्राफी गरेको गीत पर्दामा देख्दा कहिल्यै आफू पनि पर्दामा देखिउँ भन्ने भएन ?
त्यस्तो कहिले सोचिनँ। प्राविधिक भएपछि त आर्टिस्ट बन्छु भन्नेतर्फ ध्यान जाँदैन। किनकि दर्शकका लागि उहाँहरु स्टार हुनुहोला तर हाम्रो अगाडि हामीले जे भन्छौं त्यो उहाँले मान्नुपर्छ। त्यो बेला हामी प्राविधिक भएपछि आर्टिस्ट हुन जरुरी छैन जस्तो लाग्छ। करोडौं दर्शकले मन पराएको स्टार हाम्रो अर्डर बिना चल्न सक्दैन।
करियरको कुरा गरौं न। कसरी लाग्नुभयो कोरियोग्राफीमा ?
मेरो घर मच्छेगाउँ, यही काठमाडौंमा हो। कोरियोग्राफर बन्छु भनेर मैले सोचेको थिइनँ। अँ, म डान्सर बन्छु भनेर सोचेको चाहिँ थिएँ। परिवारमा कतिले नाचेर हिँड्छ पैसा कमाउँछ कि कमाउँदैन भनेर कुरा गर्नुहुन्थ्यो। सुरुमा मैले डान्स लुकिछिपी सिकेकै हो। मैले डान्स सिक्दा ३ सय रुपैयाँ तिर्नुपथ्र्यो। दाइको स्कुलको शुल्क पनि ३ सय थियो। तेरो डान्स गर्ने पैसाले त मेरो शुल्क तिर्न सकिन्छ भन्ने कुरा आएपछि त्यो बेला डान्स सिकिएन। अनि एसएलसी सकेपछि फेरि लुकिछिपी डान्स सिकेँ। डान्स सिक्दा सिक्दै असिस्ट गर्न थालेँ, फिल्महरुमा। मेरो पहिलो फिल्म ‘इतिहास’को समयमा मेरो कन्सेप्ट निर्देशकले मन पराइदिनुभयो। त्यो सिनेमा गर्दागर्दै रोकियो। उज्ज्वल दाइले ‘पर्खि बसेँ’ फिल्मको एउटा गीतको कोरियोग्राफी मन पराउनु भयो। त्यसपछि ‘सुन्दर मेरो नाम’मा एउटा गीतको लागि चान्स दिनुभयो। त्यसपछि ‘कुसुमे रुमाल२’, ‘नसिब आफ्नो’, ‘कहाँ छौ कहाँ’, ‘हिफाजत’ भन्ने चार वटा फिल्म एकैचोटि फ्लोरमा गयो। त्यसपछि पछाडि फर्केर हेर्नु परेन मैले।
तपाईँ मोटो हुनुहुन्छ। सुरुमा त यस्ताले के नृत्य सिकाउलान् भनेर पत्याउँदैन थिए होलान् हैन ?
त्यो त हुन्छ। ४/५ वर्ष अगाडि त मेरो कपाल पनि लामो थियो। ह्याट लगाउँथे। बक्स पाइन्स लगाउँथे। त्यतिबेला त कतिले मलाई फाइटर भन्ठान्थे। कोरियोग्राफर भनेर विश्वास नै गर्थेनन्। अहिले त चिनिसके। नयाँ मान्छे आए भने चाहिँ हेर्दा यस्तो नाच्नुहन्छ जस्तो लाग्दैन भनेर प्रतिक्रिया दिन्छन्। म जब स्टेप सोचेर म्युजिकमा नाच्न थाल्छु, त्यतिखेर चाहिँ के हुन्छ के हुन्छ ! कहिलेकाहीँ किरण दाइ (केसी)ले भन्नुहुन्छ– यो कविराज भाइ नाच्न थालेपछि कहाँबाट नाट्यश्वर आउँछ आउँछ !
दुःख छ है यो कोरियोग्राफीमा ?
दुःख त छ ! खानाको समय हुन्न। फोहोर, धुलो भन्न पाइँदैन। घाम, पानी, गर्मी चिसो भन्न पाउँदैनौं। दिनरात भन्न पाइँदैन। २ दिन २ रातसम्म ननस्टप काम पनि गरेको छु। अस्ति पनौतीको एक मन्दिरमा छमछम नाच्नुपर्ने गीत थियो। मन्दिरको छेउमा लास जलाइरहेको थियो। हामी यता नाच्दै थियौँ, उता मान्छे रुँदैथिए। बडो दुःख लाग्छ यस्तोमा। मेरो जीवनमा त यतिसम्म भएको छ कि ठूलो बुबा अन्तिम स्टेजमा हुनुहुथ्यो। त्यो बेला पोखरामा ‘निगरानी’को सुटिङ थियो। ठूलो बुबालाई भेटेर आएँ। पोखरा जाने बेलामा ठूलो बुबा बित्नु भएको खबर आयो। अनि त्यसदिन पोखरा नगएर घरमै बसेँ अनि भोलिपल्टै काममा जानुप-यो। दशैं तिहारको समयमा कहिलेकाहिँ विदेश पुगिरहेका हुन्छौं सुटिङका लागि। पर्दामा त राम्रो देखिन्छ तर यसभित्रका दुःख धेरै छन्।
अहिले त महँगो पारिश्रमिक लिनुहुन्छ होला है ?
शुरुमा पारिश्रमिक त कमै थियो। ४ बाट १० हजार भयो। २० हजार लिँदा त ओहो कविराजले २० हजार लियो भनेर कुरा गर्थे कतिले तर अहिले १ लाखमै चित्त बुझाउने गरेको छु।
कति फिल्म मेकर त फिल्ममा गीत आवश्यक छैन भन्छन् नि ?
फिल्ममा गीत आवश्यक छ भन्ने संस्कृतिसँगै हामी हुर्केका हौँ। यसबाट बाहिर जान सक्दैनौं। हलिउडले गीत राख्दैन तर अहिलेसम्म टाइटानिकको गीत कति हिट छ ! नेपालमा गीत बिनाको कुन फिल्म चलेको छ त ? जो मान्छेले फिल्म बुझेको हुँदैन, उसले नै गीत आवश्यक नरहेको तर्क गर्छ। म्युजिक बेगरको फिल्म हुँदैन, कम्तीमा ब्याकग्राउन्ड सङ त हुन्छ !
तपाईँले कोरियोग्राफी गर्नुभएको आइटम सङ निकै चलेका छन्। पछिल्लो समय आइटम सङमा महिलाको प्रयोग गलत भनेर बहस हुन थाल्यो नि ?
आइटम भन्नेबित्तिक्कै हामीले बुझ्नुपर्छ, कसैलाई आकर्षित गर्न राखिएको हो। आइटममा कुनै पनि हिरो र हिरोइन डाँडाकाँडामा रोमान्स गरेको दृश्य राखिन्न। एक त यो सिनेमा लाइन भनेकै ग्ल्यामर देखाउने ठाउँ तर के भएको छ भने आइटम र ग्ल्यामरको नाममा अश्लीलता देखाउन थालिएको छ। त्यसले पनि बहस हुन थालेको हो। तर, म आइटम खिच्दा धेरै सोच्छु।
Leave A Comment