भारतको दक्षिणी भेग कोयम्बटुर निवासी चन्द्रकुमारले १० कक्षाभन्दा बढी पढ्न सकेनन्। गरिबीका कारण उनले परिवार भरथेग गर्नुपर्ने भयो। जुन दिन बाउआमाले उनलाई पढाउन सक्दिनँ भनेर हात उठाएका थिए, त्यो दिन उनी घर छाडेर भागे।
१५ वर्षको उमेरसम्म आइपुग्दा उनलाई साहित्यको केही चस्का लागिसकेको थियो। भगत सिंहको जीवनी र ‘पापिलियन’ आत्मकथा पढेपछि त उनलाई किताबप्रति यति मोह बढ्यो कि उनी बाउआमाका कुरामा लाग्नुभन्दा आफ्नो भविष्य आफैँ बनाउनु श्रेयस्कर लाग्न थाल्यो।
साथीहरुसँग मिलेर घरबाट भागेका उनलाई प्रहरीले केरकार ग-यो। न जाने ठाउँ छ, न केही काम पाएको छ,’ उनले ती दिन सम्झँदै भने, ‘त्यसमाथि सडकमै सुतेको अभियोगमा प्रहरीले पक्राउ ग-यो र १३ दिनसम्म हिरासतमा बस्नुप-यो !’
अहिले ५७ वर्षका चन्द्रकुमारले त्यो बेला पाँच महिना गुन्टुर जेलमा बिताउनु प-यो। के के न गरौँला भनेर घरबाट भागेका चन्द्रकुमार खाली हात घर फर्किए। यसपछि जीवन गुजारा गर्न टेम्पो चलाउन थाले। फुर्सद पाउनेबित्तिकै किताबमा मुन्टो जोत्ने बानी भएपछि जेलका दुर्दिनले उनलाई दिनुसम्म पीडा दिन थाल्यो।
एउटा सामान्य शक्तिहीन केटोलाई प्रहरी, प्रशासन र जेलले कति दुःख दिन्छ भन्ने अनुभवलाई उनले पुस्तकाकार दिए। सन् २००६ मा उनले तमिल भाषामा लेखेको पुस्तक ‘लक अप’ बजारमा आएलगत्तै यति चर्चित भयो कि किताबमाथि ‘विसारानै’ फिल्म बन्यो। यो किताबको लोकप्रियताको पटाक्षेप चाहिँ २०१७ मा अस्कर अवार्डमा भारतको तर्फबाट नामांकित हुनु थियो।
‘विसारानै’ प्रकाशित भएयता उनका अन्य पुस्तक प्रकाशनसमेत भइसकेका छन् भने केही लेखिरहेका पनि छन्। पुस्तक लेखेर ज्यान पाल्नेबारे उनले कहिल्यै सोचेनन्, त्यसैले उनलाई अटो चलाउन छाड्नेबारे कहिल्यै सोचेनन्।
‘लेख्न बस्दा म कहिल्यै पनि चलेको लेखक हुँ भन्ने सोच्दिनँ,’ उनले भने, ‘न त पैसा, प्रख्याति र पाठकका बारेमा नै सोच्छु। मैले नयाँ किताबमा आफैँलाई सन्तुष्ट बनाउन सकेँ कि सकिनँ भन्ने मात्र मेरो ध्याउन्न हुन्छ। म खुसी भएँ भने मात्र मेरालागि त्यो मूल्यको किताब हुन्छ। मेरा आवश्यकता पूरा गर्न अटो छँदैछ।’
गुमनाम जीवन बिताउने बेस्ट सेलर लेखक चन्द्रकुमार मात्र होइन, भारतमा कयौँ छन्। हेर्दा सामान्य जीवन गुजारा गरिरहेका यी व्यक्ति तिनै प्रख्यात लेखक हुन् भन्ने पत्याउन निकै गाह्रो हुन्छ। तिनले लेखनीमा आफ्नो भावना व्यक्त गर्ने यस्तो सशक्त माध्यम फेला पारे कि अन्य बेला सामान्य तरिकाले जीवन गुजारा गरिरहे पनि लेखनीका बेला ती आगो ओकल्छन्। तिनले लेखनीमा कहिलेकाहीँ आफ्नै कथा व्यक्त गरिरहेका हुन्छन् र कहिलेकाहीँ अरुका ! कहिलेकाहीँ धरातलीय यथार्थबाट टाढा फेन्टासीयुक्त फिक्सन कथिरहेका हुन्छन् त कहिले आफ्नो स्थानीय लोककथालाई भव्यता दिइरहेका हुन्छन्।
यिनले कहिल्यै पैसालाई महत्व दिएर नलेखेका कारण पनि कहिल्यै गरिरहेको काम छाड्नेबारे सोचेनन्। हुन त यिनले जानेकै कि त लेख्न, कि सामान्य गुजारा चलाउने व्यवसाय गर्न त हो !
सन् १९७५ मा महाराष्ट्रको अमरावतीको घरबाट भागेका लक्ष्मण रावको जीवनको उद्देश्य त्यो बेलाका प्रख्यात उपन्यासकार गुल्सन नन्दालाई भेट्नु थियो। लक्ष्मण भन्छन्, ‘मलाई गुल्सनजस्तै प्रख्यात र लेखेरै पैसा कमाउनु थियो।’
यसो भन्दै गर्दा उनी छेउमा स्टोभलाई दम दिँदै थिए र चिया उमाल्दै थिए। जब दम दिँदै गर्दा ह्वारह्वारी आगो दन्कन थाल्यो, लक्ष्मण गुन्गुनाए, ‘गुल्सन नन्दालाई कहाँ भेटिन्छ भनेर हेर्दा किताबमा दिल्ली लेखिएको देखेँ। लाग्यो– अब उनलाई भेट्न दिल्ली नगई हुँदैन।’
१० कक्षासम्म मात्र पढेका उनको जीवनको उद्देश्य नै लेखक बन्नु थियो। यसका लागि उनले जीवन धान्न बिँडी र चुरोट बेच्न थाले। नन्दाको नक्कलमा उनले सन् १९७९ मै उपन्यास लेखिभ्याए, ‘नई दुनियाँ की नई कहानी।’ उनलाई के थाहा, लेखेर मात्र हुँदैन, प्रकाशन पनि गर्नुपर्छ !
धेरैले एउटा बिँडी बेचुवा कसरी लेखक बन्छ र ? भन्दै उनको हौसला पस्त गर्न नखोजेका पनि होइनन्। उनले आफ्नो ढिपी भने छाडेनन्। बिँडी र चुरोट बेचेको पैसा जम्मा गर्दागर्दै यति पैसा जम्मा गरे कि पुस्तक छाप्न पुग्यो।
‘त्यो बेला यो किताब यति बिक्री हुन्छ कि रातारात पुस्तक क्लासिक बन्छ भन्ने सोचेको थिएँ तर त्यस्तो केही भएन,’ उनले फिस्स हाँस्दै भने, ‘तर यसले मेरो उत्साह रोक्न सकेन।’
अब चुरोट–बिँडी बेचिहिँड्नुभन्दा कुनै एक ठाउँमा जम्नु प-यो भन्ने उनलाई लागेपछि दिल्लीको हिन्दी भवन अगाडिको रुखमुनि चिया पसल थापे। सन् १९९० सम्म आइपुग्दा उनको उमेर आधा शताब्दी कटिसकेको थियो। पढाइप्रतिको रुचि घटिसकेकोे थिएन। उनले पढाइलाई जारी राख्दै जाँदा ६० वर्षको उमेरमा स्नातक गर्न भ्याए। अहिलेसम्म उनले २५ वटा पुस्तक प्रकाशन गरिसकेका छन् तर चिया पकाउन भने छाडेका छैनन्। छेउमै उनको पुस्तक बिक्री गर्ने स्टल पनि छ, जहाँ उनका उपन्यासहरु लहरै बिक्रीका लागि राखिएका छन्। अधिकांश ग्राहकलाई ती उपन्यासका लेखक र यी चियावाला एउटै व्यक्ति हुन् भन्ने थाहा हुँदैन। उनी आफू यही उपन्यासकार हुँ भनेर चिनाउँदैनन् पनि !
पाँच वर्षअघिसम्म पनि उनको प्रमुख आम्दानी चिया नै थियो। उनका सन्तानले किताबको लोकप्रियतासँगै चिया बेच्न बन्द गर्नुपर्ने सल्लाह नदिएका होइनन् तर उनी मान्दैनन्।
‘६७ वर्षको भएँ,’ उनले भने, ‘लेख्दै जाँदा यतिबेला मलाई राम्रै आम्दानी हुन थालेको छ तर मैले बिर्सनु हुन्न, लेखनीअघि मलाई ठूलो आडभरोस यही चिया पसलले दिएको थियो।’
उता पश्चिम बंगालमा अर्की पात्र छन्, ४६ वषिया बेबी हल्दार ! ८ कक्षामा नै उनले आफ्नो पढाइ बन्द गर्नुप-यो। त्यो बेला उनलाई कसैले यो केटी लेखिका बनेर चर्चित होली भन्ने कल्पेका पनि थिएनन्, स्वयं बेबीलाई पनि यो थाहा थिएन। कतिसम्म भने बालापनमा उनको सपना नै टन्न खान पाए हुन्थ्यो र कसैले देह शोषण नगरोस् भन्ने हुन्थ्यो।
बेबीकी आमाले उनी र उनकी बहिनीलाई चार वर्षकै उमेरमा त्यागेर हिँडेकी थिइन्। १२ वर्षको उमेरमा उनको विवाह भयो भने १४ वर्ष नपुग्दै उनी एक सन्तानकी आमा भइसकेकी थिइन्। घर गरिखान नजान्दा लोग्ने र सासूबाट साह्रै प्रताडित हुन पुगिन्। अहिले उनका तीन सन्तान छन्।
हरियाणा राज्यको गुरुग्राममा उनले एउटा काम पाइन्। उनलाई काम लगाइदिने व्यक्तिले उनलाई पहिलो पटक ‘मान्छेजस्तो व्यवहार’ गरे। उनले बेबीको किताबप्रतिको रुचि देखेर राम्रा–राम्रा किताब पढ्न दिए।
स्कुल पढ्दाताका उनले रवीन्द्रनाथ टैगोर, काजी नजरुल इस्लाम, बकिंमचन्द्र चटर्जी लगायत अन्य पढेकी थिइन्। अहिले पुनः तिनै लेखक पढ्न खोज्दै गर्दा उनलाई काम दिने मालिकले पढ्ने मात्र होइन, लेख्ने काम पनि सँगसँगै गर्नुपर्ने सुझाए।
यसपछि उनले लेख्न पनि थालिन्।
जुन दिन उनले पहिलो किताब लेखेर सिध्याइन्, उनको आँखामा आँशु थियो– सारा पीडा रित्तिने गरी लेख्न पाएकोमा। उनले आफ्ना सारा दुःख, भोगाइ र संघर्षलाई जस्तोको त्यस्तै राखिदिएकी थिइन्। र, जसै यो सकियो– आफूलाई स्वतन्त्र अनुभूत गरिन्। उनको संस्मरण ‘आलो अन्धेरी’ (अ लाइफ लेस अर्डिनरी) जसै बजारमा आयो, तहल्का मच्चायो। सन् २००६ मा अंग्रेजीमा अनुदित हुँदा त रातारात बेस्टसेलर बन्न पुग्यो।
सेलिब्रिटी लेखकमा दरिए पनि उनले आफ्नो घरेलु काम भने छाडिनन् तर पछि एउटा एनजिओले उनलाई मुम्बई र कोलकातामा आफूजस्तै पीडित महिलाका लागि काम गर्न अनुरोध गरेपछि भने घरेलु काम गर्न छाडिन्। उनी यतिबेला कोलाकाताका यौनकर्मी र तिनका सन्तानको हितका लागि काम गरिरहेकी छन्।
‘यसका बाबजुद पनि केही पुस्तक लेखी भ्याएँ र अझै पनि केही पाण्डुलिपि तयार छन्,’ उनी भन्छिन्, ‘मेरो लेखनीले अरुलाई मात्र प्रेरणा दिएको छैन, म आफू पनि प्रेरित भएकी छु र यसलाई जारी राख्न लेखिरहन्छु।’
यस्तै अर्का भुइँलेखक हुन्, राजवीर सिंह। १० कक्षा पढ्दै गर्दा उनका बुबा गम्भीर बिरामी भएपछि उनको पढाइको लय टुट्यो। त्यतिबेलै उनका बुबाले उनलाई पढाउन नसक्ने घोषणा गरे। यतिबेला ४२ वर्षका राजवीर भन्छन्, ‘पढ्ने र लेख्ने चाह यति थियो कि दिनदिनै केही न केही लेखिरहन्थेँ। लेखेका कुरा यत्तिकै थन्काउनुभन्दा पनि अखबारमा छाप्नु उचित हुने ठानेर हरेक दिन अखबारलाई टिप्पणी लेखेर पठाउन थालेँ।’
उनको लेखनी एउटा अखबारमा छापियो र निरन्तरता दिइरहे। दुई वर्षअघि उनको पहिलो पुस्तक ‘रिक्साको जीवन’ छापिएपछि उनको जीवनै परिवर्तन भयो। उनको पुस्तक पढ्ने भारतभरिका पाठकहरु उनको रिक्सा चढेर घुम्ने योजनाका साथ पञ्जाब पुग्ने गर्छन्।
रिक्सा चढ्न कस्ता मान्छे आउँछन्, तिनले के कुरा गर्छन्, कस्तो व्यवहार देखाउँछन्, तीमध्ये कसका कुराले उनको आँखा रसायो र जीवनमाथि विश्वास लागेर आयो, कसले मानव जीवनकै बेइज्जती ग-यो भन्नेबारे लेखिएको ‘रिक्साको जीवन’ यतिबेला बेस्ट सेलर भएको छ।
किताब छापिएको दिन उनका बुबाको आँखामा आँशु थियो र भनेका थिए, ‘मैले तँलाई पढाउन सकिनँ मेरो लाचारी थियो तर तैँले त्यसैमा हार मानेको भए तेरो गल्ती हुन्थ्यो ! तैँले आफूलाई प्रमाणित गरेर मलाई लोप्पा खुवाइस् तर म यसमा खुसी छु।’
यो प्रतिक्रिया नै आफ्नो जुनी सफल पार्न काफी रहेको उनको टिप्पणी छ।
अनुवादः अच्युत कोइराला
Leave A Comment