इन्डस्ट्रीले बिर्सेका स्वर

सोमबार, ०९ मङि्सर २०७६, ११ : ३९ शुक्रवार
इन्डस्ट्रीले बिर्सेका स्वर तरूण अमात्य।

‘मेरो हजुर’ फिल्मको सुटिङ सकेर अभिनेता शिव श्रेष्ठ विदेश गए। फिल्मको डबिङ चाँडै सक्नु थियो। त्यसैले फिल्मका निर्देशक नारायण पुरीले डबिङ आर्टिस्ट सुरेन्द्र शाहलाई शिवको अभिनयमा आवाज भर्न लगाए। क्यारिकेचरमा अब्बल सुरेन्द्रले शिव श्रेष्ठको दुरुस्तै आवाज निकाले।

आफूले नगरेको डबिङमा दुरुस्त आवाज सुनेर एक दिन शिव श्रेष्ठले निर्देशक शिव रेग्मीलाई भनेका थिए, ‘के हो डाइरेक्टर सा’प, हाम्रो रोजीरोटी नै खोसिदिने ?’

जब कुनै फिल्म खिचिन्छ, खिचेकै बेलाको आवाज फिल्ममा काम लाग्दैन। कतिपय भाषा अभिनयसँगै सुधार्नुपर्ने हुन्छ। पछि गरिने स्वराङ्कनलाई डबिङ भनिन्छ। र, नेपाली फिल्म र मनोरञ्जन उद्योगमा यस्ता कयौँ डबिङ कलाकार छन्, जसका बारेमा दर्शकहरु बेखबर छन्।
०००
हिरो बन्ने रहर, आवाजमै सीमित
तरुण अमात्य हिरो बन्न चाहन्थे। यही रहरले उनलाई चलचित्र विकास कम्पनीसम्म पु-यायो। २०५० तिर उनी रेकर्डिङ प्राविधिकको जागिर थाले। पर्दामा देखिन पर्दापछाडिबाट काम शुरु गर्दा फरक पर्दैन भन्ने उनको धारणा थियो।

दिनदिनै कयौँ निर्माता/निर्देशकसँग चलचित्र विकास कम्पनी बालाजुमा उनको भेट भए पनि कसैले उनलाई हिरो बनाएन। पछि उनको हिरो बन्ने चाहना मर्दै गयो। रेकर्डिङ स्टुडियोमै काम गर्ने भएपछि निर्देशकले छोटो भूमिकामा झुल्किने पुरुष कलाकारको आवाज भर्न लगाउँथे।

सानो भूमिकाका आवाज राम्रै दिन थालेपछि बिस्तारै उनलाई हिरोकै आवाज भर्ने अफर आउन थाल्यो। यादव खरेलको फिल्म ‘श्री स्वस्थानी’मा महादेवको भूमिका गर्ने रामकृष्ण बजगाईँको स्वरसँग दुरुस्त मिलेपछि ‘ठूल्दाइ’मा पनि डबिङ गरे। यसपछि उनी बिस्तारै सिमान्त उदास, अमृत लामा, नवल खड्काको स्थायी डबर नै भए।

सरोज खनालको लागि ‘रगत’ फिल्ममा तरुणले नै डबिङ गरे। त्यतिखेर सरोज सुटिङ सकेर अमेरिका पुगेका थिए। यता डबिङ सुरु भइसकेको थियो। निर्देशक नारायण पुरीले सरोजको डबिङका लागि तरुणलाई बोलाए। उनले सरोजको बोल्ने स्टाइलमा डबिङ गरेपछि त निर्देशक नारायण पनि मख्ख परे। डबिङ सुनेर सरोज पनि सुरुमा त छक्कै परे।

तरुणले धेरै डबिङ गरिदिएका अर्को कलाकार हुन्, श्रीकृष्ण श्रेष्ठ। उनले श्रीकृष्ण श्रेष्ठका  पाँच वटा फिल्ममा डबिङ गरेको दाबी गरे। श्रीकृष्णको स्वास्थ्य स्थिति बिग्रिरहँदा उनी नै डबिङ गर्न पुग्थे। ‘उहाँ धेरै बिरामी भइरहनु हुन्थ्यो,’ तरुणले भने, ‘उहाँका ५ वटा फिल्ममा मैले आवाज दिएको छु। मैले डबिङ गरेको उहाँका फिल्ममध्ये ‘आफ्नो मान्छे’ राम्रो चल्यो।’

सुरेन्द्र शाह।

नीर शाहको ‘वसन्ती’मा निरज थापाका लागि आवाज दिए। लगभग २०० भन्दा बढी फिल्मको डबिङ गरिसकेका उनले डबिङ क्षेत्रमा २६ वर्ष बिताइसकेका छन्। ती वर्षमा उनी डबिङका राजेश हमालजस्तै थिए। ‘एक दिनमा तीन वटा फिल्मसम्म डबिङ गर्न भ्याउँथेँ,’ उनले गर्वका साथ सुनाए, ‘पछि त यो मेरो पेसा नै बन्यो।’

उनको पालामा ‘रक एन्ड रोल’ भन्ने डबिङ मेसिन हुन्थ्यो। त्यसमा ४ वटा ट्र्याक हुन्थ्यो। अहिलेजस्तो डिजिटल जमाना थिएन, जहाँ मल्टिट्र्याकमा काम गरिँदैनथ्यो। त्यही चार ट्र्याकमा सबै कलाकारको डबिङ अटाउनु पथ्र्याे। त्यो बेला अभिनेताको लिप्सिङ हेरेर बोल्नुपथ्र्याे। अहिले त डिजिटल प्रविधिमा कसैले लिप्सिङ बिगारे पनि मिलाउन सकिन्छ।

अभिनय नै हो डबिङ
डबिङमा ५० प्रतिशत अभिनयको भूमिका डबिङ आर्टिस्ट (डबर)ले गर्दै आएको तरुण बताउँछन्। ‘डबिङ भनेको ५० प्रतिशत अभिनय हो,’ उनले भने, ‘कलाकारले त सुटिङमा अभिनय गर्नुहुन्छ, एउटा डबरले माइकको अगाडि रुन्छ, हाँस्छ, रोमान्स गर्छ।’

क्यारेक्टरमा घुस्नु पर्ने, दृश्यलाई ‘फिल’ दिनुपर्ने, फुङ्ग उडेको अभिनयलाई आवाजले मिलाएर भावुक बनाउनुपर्ने जिम्मेवारी आफूले इमान्दारीपूर्वक निभाउन पाएकामा आफूलाई उनी भाग्यमानी ठान्छन्। भन्छन्, ‘मैले पर्दामा अनुहार देखाउन नपाएर के भयो र ! मेरो आवाज त सधैँसधैँका लागि त्यहाँ कैद भयो नि, हैन !’

इन्ड्रस्ट्रीले बिर्सेको क्षेत्र
डबिङ आर्टिस्टलाई कलाकारले नभ्याउँदा, आपत–बिपत र समस्या पर्दा निर्देशकले सम्झने गर्छन्। यसरी अरु समस्यामा पर्दा सहयोग गर्दै आए पनि इन्डस्ट्रीले यस्तो पेशालाई हेला गरेको बताउँछन् उनी । काम गरेको यत्तिका वर्ष बित्दा उनी यही कुराले निराश हुन्छन्।

‘हामी पर्दा पछाडिका कलाकार हौँ,’ उनी गुनासो गर्दै भन्छन्, ‘हामीलाई आफूले डबिङ गरेको फिल्मको प्रिमियर सोमा पनि बोलाइँदैन। जब कुनै फिल्मले १०० दिन मनाएको पार्टीमा जान्छौँ, त्यहाँ हाम्रो योगदानको रत्ति चर्चा हुँदैन। हामी एउटा कुनामा बसेर चिया खाएर फर्कन्छौँ। कतिपय बेला त यस्तो डबिङको काम के गर्नु भनेर हरेश पनि खान्थेँ।’

उनलाई त घरिघरि हिरो बन्न आएको आफू कहाँ अरुलाई हिरो बनाउँदै जीवन बित्योजस्तो पनि लाग्छ। सबैभन्दा आश्चर्य त च्याउसरीका फिल्म अवार्डमा पर्दापछाडिका आफूजस्ता कलाकारलाई कहिल्यै स्थान नदिइएकाले दुखी पनि छन् । उनले भने, ‘यो कुरा त इन्डस्ट्रीको लागि लाजमर्दो कुरा हो !’

हिरोइन स्थापित गराउने आवाज
प्रख्यात कार्टुन सिरियल ‘मुमिन’मा मुमिन आमा, बोक्सी लगायतका थुप्रै भूमिकालाई आवाज दिने अञ्जु देउजालाई २० वर्ष पुरानो सिरियलका कारणले चिन्छन्। उनी महिला डबरमध्ये अग्रपंक्तिमा पर्ने गर्छिन्।

निश्चल दाहाल

नेपालका अधिकांश हिरोइनहरुको डबिङ उनैले गरेकी छन्। १२ वर्षको हुँदा नारायण पुरीको फिल्म ‘सान्नानी’मा बाल कलाकारका लागि डबिङ गरिन्। १६ वर्षको उमेरमा उनले नारायणकै ‘सगुन’ फिल्मबाट हिरोइनको डबिङ थालिन् ।  त्यो बेलाका अधिकांश नयाँ हिरोइनहरु आफ्नो डबिङ आफैँ गर्न सक्दैन थिए। अनि, अञ्जु निर्देशकको आडभरोस हुन्थिन्।

बाल्यकालमा नाटकमा अभिनय गरेकी अञ्जुले बिस्तारै फिल्ममा डबिङ थालिन्। डबिङमा उनले २० वर्ष पूरा गरिसकेकी छन्।

उनले त्यो बेलाका विपना थापा, सारङ्गा श्रेष्ठ, पूजा लामा, गौरी मल्लका लागि आवाज दिइन्। लामो समयपछि नेपाली फिल्ममा फर्किएकी तृप्तिका लागि उनले नै आवाज दिएकी थिइन्।

पूजा लामा त उनकै आवाजबाट स्थापित भएकी हिरोइनमा पर्छिन्। अञ्जुले नै उनका सबै फिल्मका डबिङ गरिदिएकी हुन्। त्यस्तै अभिनेत्री श्वेता खड्का पनि अञ्जुकै आवाजबाट स्थापित भएकी हुन्। श्वेताका सबै फिल्ममा अञ्जुले नै आवाज दिएकी छन्। ‘कोहिनुर’, ‘कहाँ भेटिएला’मा श्वेताको स्वर भनेर झुक्किनेहरुले त्यसका पछाडि अञ्जु छिन् भन्ने ख्याल गर्दैनन्।

पछिल्लो फिल्म ‘कान्छी’मा पनि अञ्जुकै आवाज थियो तर पछि श्वेताले आफ्नो आवाजमा रि–डब गरिन्। अञ्जुका खातामा ‘सुनपानी’, ‘शिरिषको फूल’, ‘सेतो बाघ’जस्ता फिल्ममा प्रमुख पात्रको आवाज दर्ता छ। उद्योगमा नयाँ हिरोइन आए भने उनीहरु आवाजमा अभ्यस्त नहुञ्जेल अञ्जुकै व्यस्तता बढ्थ्यो। अहिले भने फिल्ममा कम अफर आउन थालेपछि उनी रेडियो नाटकमा व्यस्त छिन्।

काठमाडौँमा हुर्केबढेकी अञ्जुको जमाना पनि ‘रक एन्ड रोल’मा डबिङ हुन्थ्यो। अभिनेत्री सुशीला रायमाझीसँग स्वर मिल्ने हुनाले सुरुमा रायमाझीका लागि आवाज दिएकी थिइन्। तरुणको जस्तै उनको पनि एउटै गुनासो छ– भूमिका त हाम्रो पनि कम महत्वको होइन तर हामीलाई उद्योगले बिर्सेको छ।

‘हाम्रो नाम स्वराङ्कन भनेर पर्दामा छ्यास्स केही सेकेन्ड देखिन्छ, त्यसपछि सक्कियो,’ उनको गुनासो छ, ‘कतिले त त्यति पनि राखिदिँदैनन्। अब मैले यो डबिङ गरेको हो भन्दै हिँड्न भएन ! पर्दा पछाडि पनि कुनै हिरोइनको भन्दा कम मिहिनेत हुँदैन। सायद कलाकारलाई असर पर्ला भनेर हाम्रो नामलाई खुला हृदयले लिइँदैन।’

एक समय त महिला प्रधान फिल्म यति बन्थे कि तिनमा उनले नौ घण्टासम्म पनि स्वराङ्कन गर्ने गरेकी थिइन्। उनी भन्छिन्, ‘मेरै आवाजले कति हिरोइन स्थापित भए, यो सम्झँदा भने मलाई खुसी लाग्छ। उनीहरुको सफलतामा कम्तीमा मेरो आधा हात त छ !’

स्टार नै चकित पार्ने डबर
अधिकांश कलाकारलाई उनीहरुकै आवाजमा डबिङ गरिदिएर चकित पारिदिने अर्का डबर हुन्, सुरेन्द्र शाह। नेपालका अधिकांश कलाकारको आवाज उनले सजिलै नक्कल गरिदिन्छन्।

अञ्जु देउजा

सुनील थापा, भुवन केसी, राजेश हमाल, शिव श्रेष्ठको आवाज त यति हुबहु निकाल्छन् कि कतिपय व्यस्तताका बेला कलाकार स्वयंले उनलाई आवाज दिन आग्रह गर्छन्। उनले राजेश हमाल, शिव श्रेष्ठ, निखिल उप्रेती, विराज भट्ट, सुनील थापा, मदनदास श्रेष्ठ, टीका पहाडी, मुरलीधर मिजार, नारायण त्रिपाठी लगायतका कलाकारको डबिङ गरिदिएका छन्।

पछिल्लो समय भने उनी नेपाली फिल्ममा भन्दा पनि भोजपुरीमा व्यस्त हुन थालेका छन्। काठमाडौंको पुतलीसडकमा सुरेन्द्रको बाल्यकाल बित्यो। सानैदेखि अभिनयमा उनको रुचि थियो। नाटकमा निकै सक्रिय थिए। नाचघरमा नाटक प्रस्तुत गर्थे।

२०४३ सालमा निर्माण भएको ‘संकल्प’बाट उनको डबिङ कार्य शुरु भएको थियो। २०४७ देखि भने पेशेवर नै बने। ‘विद्रोह’ भन्ने फिल्ममा अमिताभ बच्चनको आवाज दिएपछि भने उनको कलाकारिताको अर्को आयाम थपियो। उनले राजेश हमालका लागि ‘तडप’मा आवाज दिएका थिए।

भुवन केसीका लागि उनले ‘द ब्ल्याक डायरी’, ‘विरासत’, ‘होस्टेल’मा आवाज दिएका थिए। सुनील थापा पनि सुरेन्द्रको कलाबाट आश्चर्यमा पर्ने गरेका थिए, ‘कसरी यसले मेरोजस्तै आवाज निकाल्न सकेको होला !’

एकताका नारायण त्रिपाठी मानसिक रोगी भएर आवाज दिन नसक्दा उनले नै काम पूरा गरेका थिए। आफू समान उमेरको मात्र होइन, वृद्धावस्थाका मेजर भीमबहादुर थापाको आवाज निकालेको देखेर निर्देशक पनि छक्क पर्ने गर्थे।

हालै उनले विराज भट्ट अभिनित ‘मर्द टाँगेवाला’ फिल्ममा अभिताभ बच्चनको आवाजमा डब गरेका छन्। त्यसयता भोजपुरी फिल्ममा पनि सुरेन्द्रको माग बढ्न थालेको छ।

अहिले उनी ‘नालापानी’को बलभद्र कुँवरको पात्रका लागि आवाज दिइरहेका छन्। हालै उनले फिल्म ‘सोच’ र ‘शिवम्’का लिड हिरोको आवाज दिए।

५०० बढी फिल्ममा रियल पात्रकै स्वरमा फिल्म डब गर्दा कतिले उनलाई सोध्ने गर्छन् रे, ‘तेरो आफ्नै आवाज चाहिँ कुन चाहिँ हो हँ ?’ 

फिल्ममा द्वन्द्व निर्देशक, फिल्म निर्देशक एवं निर्माताको रुपमा पनि परिचित उनलाई साउण्ड इन्जिनियर पर्शुराम चौधरीले डबिङ आर्टिस्ट बनाएको सुरेन्द्रले बताए। ‘डबिङ गर्दे, ५०० दिन्छु भन्नु भयो,’ उनले खुलाए, ‘त्यो बेलामा तीन महिना नाटक गर्दा जम्मा १०० रुपैयाँ पाइन्थ्यो। न्युरोडको फोटो कन्सर्नमा डबिङ हुन्थ्यो। आवाज त ठ्याकै मिल्छ अमिताभको तर सिनअनुसार नमिल्ने ! यति गाह्रो भएपछि त म भागेँ।’

‘पर्शुराम चौधरी सरले खोजीखोजी फेरि डबिङ गर्न हौसला दिनुहुन्थ्यो,’ नोस्टाल्जिक हुँदै सुरेन्द्रले भने, ‘यस क्षेत्रको त मेरो गुरु उहाँ नै हो।’ गर्दै जाँदा ३३ वर्ष पूरा भइसकेको देख्दा उनी आफैँलाई विश्वास लाग्दैन।

यत्तिको महत्वपूर्ण डबिङ र यसमा काम गर्ने कलाकार भने उपेक्षित भएकोमा उनलाई दुःख लाग्छ। ‘त्यही डबिङले गर्दा मान्छे कहाँ पुग्छ, स्टार बन्छ,’ उनले भने, ‘डबिङले फिल्मलाई ७० प्रतिशत उठाउँछ तापनि डबिङलाई महत्व दिइँदैन। न त यसमा काम गर्नेलाई कुनै सम्मान नै दिइएको छ। डबिङ गर्नेको मर्म कसैले बुझेन।’

अहिले प्रविधिसँगै डबिङ गर्न सहज भयो तर अहिलेका कलाकारमा अझै कमजोरी रहेको सुरेन्द्र बताउँछन्। ‘डबिङ सजिलै गर्नुहुन्छ तर भ्वाइस म्याच हुँदैन,’ उनको भनाइ छ, ‘अभिनय छ, फिलिङ्स छैन। अनुहार छ, चाहिने भाव छैन। दृश्य रोइरहेको छ, बोल्दा हाँसो उठ्छ। नयाँ कलाकारमा त्यो छैन।’

Leave A Comment