बढे करदाता

मङ्गलबार, १० मङि्सर २०७६, ११ : ५५ दिलीप पौडेल
बढे करदाता

करदाता थपिए
सरकारले राजस्व छली मात्र नभएर करको दायरा बाहिर रहेकालाई दायरामा ल्याउन प्यान अनिवार्य गरेसँगै एक वर्षको अवधिमा करिब साढे आठ लाख करदाता थपिएका छन्। आन्तरिक राजस्व विभागका अनुसार अहिलेसम्म मुलुकभर करदाताको संख्या २९ लाख ६५ हजार पुगेको छ।  गत वर्ष २१ लाख करदाता थिए। मूल्य अभिवृद्धि कर (भ्याट) मा दुई लाख ३९ हजार करदाता दर्ता भएका छन् भने अरु प्यानमा छन्।

कर दिवसको अवसरमा अर्थमन्त्री युवराज खतिवडाले कर प्रणालीलाई समयसापेक्ष बनाउँदै लगेको बताएका थिए।

सबै नागरिकलाई करको दायरामा ल्याउन हरेक सरकारी तथा निजी क्षेत्रमा काम गर्ने तलबी कर्मचारीलाई अनिवार्य प्यानमा जानुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। सरकारले बजेटमार्फत प्यान अनिवार्य गरेको थियो।

हरेक तलब खाने व्यक्तिको प्यान अनिवार्य गरेको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरका अनुसार सबैलाई करको दायरामा ल्याउने प्रयास गरेपछि राजस्व संकलन समेत वृद्धि भएको छ। तर, ठूलो जनसंख्या करको दायरा बाहिर रहेको विभागले जनाएको छ। राजस्वतर्फको वृद्धिदर २२ प्रतिशत रहेको विभागले जनाएको छ। ‘यो वर्ष पाँच सय ६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य छ,’ कुँवरले भने, ‘राजस्व संकलनमा सक्रियता बढाइरहेका छौं।’

सरकारले जग्गा किनबेचमा पनि राजस्व संकलन गर्न अनिवार्य प्यान लिनुपर्ने व्यवस्था गरेको छ। यसबाट पुँजीगत लाभकर असुल्न सजिलो भएको छ। उद्योगी, व्यवसायीले भने कर प्रणाली व्यवसाय मैत्री बनाइनु पर्ने र करको सदुपयोग गनुपर्ने बताउँछन्। करदातालाई आफूले तिरेको रकमको सही सदुपयोग हुनुपर्ने चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले बताए। श्रेष्ठले करदातालाई कर कानुनको परिपालना, कर चुहावट नियन्त्रण एवं करदाता शिक्षाका माध्यमबाट जनचेतना जगाउनुपर्ने बताए।

भटाभट मुद्धा
राजस्व अनुसन्धान विभागले यसै साता करिब आधा अर्ब रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर ग-र्यो। विभागले राजस्व चुहावट गरेको अभियोगमा ग्रिन टोबागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसमेतविरुद्ध १० करोड १५ लाख बिगो कायम गरी मुद्दा दायर गरेको हो।

श्रेष्ठ मात्रै हैन, मूल्य अभिवृद्धिकर (भ्याट) को नक्कली कारोबार गरेको र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गरेको आरोपमा विभागले पाँचवटा व्यापारिक फर्मविरुद्ध ३८ करोड ३० लाख रुपैयाँ राजस्व छली गरेको अभियोग लगाउँदै मुद्दा दायर गरिसकेको छ।

विभागले अहिलेसम्म राजस्व चुहावट, विदेशी विनिमय अपचलन, नक्कली विलविजक गरी करिब चालु आर्थिक वर्षमा करिब आठ अर्ब रुपैयाँ बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।  उसले ६० जनाभन्दा बढीविरुद्ध राजस्व चुहावटको कसुरमा करिब सवा दुई अर्ब रुपैयाँ बिगो र दोब्बर जरिवानासहित मुद्दा दायर गरेको छ।

त्यस्तै विदेशी विनिमय अपचलन कारोबारमा करिब एक सयजनाविरुद्ध मुद्दा दायर गरेको भएकोमा झुटा नक्कली विलविजक जारी गर्ने ४५ फर्महरुलाई ६ अर्बभन्दा माथि बिगो कायम गरी संलग्न ६० जनाविरुद्ध मुद्दा दायर भएको छ।

राजश्व असुलीमा विभागको नेतृत्व बेलाबखत विवादमा तानिने गर्छ। ठुला व्यवसायीविरुद्ध विभाग नरम भएको आरोप लागिरहँदा एकाएक विभाग तात्दै आयकर छली, नक्कली प्रज्ञापनपत्र बनाएर सामान आयात गरेर बिक्री गर्ने, अवैध हुन्डी कारोबार गर्ने, विदेशी विनिमय अपचलन गर्नेलगायत कम्पनी तथा व्यक्तिविरुद्ध कडाई शुरु गरेको छ।,

‘राजस्व छली र आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याएका छौं,’ विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘राजस्व चुहावट नियन्त्रण गर्न विभाग सक्रिय छ।’

केही व्यवसायीविरुद्ध भन्सारमा चोरी पैठारी, नक्कली भ्याट बिल र झुटा कागजातका आधारमा राजस्व छल्दै आएको आरोप लाग्ने गरेका छन्। अधिकांश मुद्दा राजस्व छली, भन्सारमा चुहावटका छन्। कतिपय व्यापारिक फर्मले विदेशबाट सामान आयात गर्दा नक्कली प्रज्ञापनपत्र बनाई सामान ल्याएर राजस्व छली गरेको भेटिएको छ। करोडौं रुपैयाँ कारोबार गर्नेले पनि आम्दानी लुकाएर आयकर नतिरेको सूचनाका आधारमा विभागले अनुसन्धान गरेर मुद्दा दायर गरेको छ।

अनुसन्धानमा कमजोर आय भएका व्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर उनीहरूको नाममा कम्पनी दर्ता गरी, कर कार्यालयबाट प्यान, भ्याट लिई, बैंकमा खाता खोलेर कर छल्दै आएको भेटिएको छ।

न्यून आय भएका व्यक्तिका नाममा कम्पनी खोलेर झुटा र नक्कली बिजक बिक्री गरी राजस्व छलेकोसमेत भेटिएको छ। कतिपयले अर्कै व्यक्तिको नागरिकतालगायत कागजात प्रयोग गरी नक्कली बिल खडा गरी राजस्व चुहावट गर्ने गरेको भेटिएको विभाग अधिकारी बताउँछन्। कतिपय मुद्दामा व्यापारिक फार्म मात्र नभएर सरकारी कर्मचारी पनि मुछिएका छन्।

कर तिर्नेलाई सम्मान
कर नतिर्नेविरुद्ध आक्रामक बनेको सरकारले कर तिर्न प्रोत्साहित गर्दै उत्कृष्ट करदाता घोषणा गरेर सम्मान ग-र्यो। राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व कार्यालयले  उत्कृष्ट १५ करदातालाई सम्मान गरेको थियो।

विभिन्न विधामा बढी कर तिर्नेहरुलाई सम्मान गरिएको हो। सबैभन्दा बढी कर तिर्ने बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिलगायतका करदातालाई सम्मान गरेको छ। सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनी र व्यक्तिगत आय करतर्फ सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन्। विभागले उत्कृष्ट करदाताले कति कर तिरे भन्ने विषय भने गोप्य राख्ने गरेको छ।

उत्कृष्ट करदाताको रुपमा जगदम्बा स्टिल, डाबर नेपाल, अन्नपूर्ण एग्रो छिमेकी लघुवित्त बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मणिपाल मेडिकल कलेज, वल्डलिंक र अग्नि इन्कर्पाेरेट छन्। हायात होटल र मध्यमस्तरीय करदाताको तर्फबाट कामना सेवा विकास बैंक, आन्तरिक राजस्वको कार्यालयको कार्यक्षेत्रमा रही धेरै आयकर तिर्नेमा भिएस सर्भिसेस मोरिसस प्रालि सम्मानित भएका छन्।

घोराही सिमेन्ट समयमै कर बुझाउने तथा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने उद्योगको रुपमा सम्मानित भएको छ। सूर्य नेपाल, सिद्धार्थ शमशेर जबरा, घोराही सिमेन्ट, तारागाउँ रिजेन्सी, छिमेकी लघुवित्त, डाबर नेपाल यसअघि पनि बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएका थिए।

Leave A Comment