द भ्वाइस अफ नेपाल : राम जस्तै केटा चाहियो आस्थालाई

शनिबार, १४ मङि्सर २०७६, ११ : २७ शुक्रवार
द भ्वाइस अफ नेपाल : राम जस्तै केटा चाहियो आस्थालाई

लाइभ राउन्ड अगाडि बढेसँगै भ्वाइस अफ नेपाल सिजन २ मा प्रतिस्पर्धीको संख्या आठमा झरिसकेको छ। प्रतिस्पर्धीको संख्या घटेसँगै टिक्न सफल प्रतिस्पर्धीको ढुकढुकी बढिरहेको छ।

स्टेजमै रुने क्रम यस पालि पनि जारी नै रह्यो। यो पटक दुई वटा फरक दृश्य देखियो– राम लिम्बुको जम्ल्याहा  अवतार र कोच आस्था राउतको विवाहको रहर। शनिबारको एपिसोडमा रामले ‘धेरै दिन भो’ बोलको गीत गाएका थिए। सधै प्रशंसा पाइरहेका रामलाई आस्थाले प्रशंसा मात्र गरिनन्, रामजस्तै हेन्डसम, सोझो, गायन क्षेत्रमा लागेको केटा मन पर्ने बताइन्। उनी यत्तिमै अड्किइनन्। उनी आफू अन्तर्जातीय बिहे गर्ने भन्दै कारण खुलाइन्, ‘अन्तर्जातीय बिहे गर्दा क्युट बच्चा जन्मिन्छ !’

सनिश सुधारिँदै
लाइभ राउन्डको प्रारम्भमै गीत बिगारेका सनीश श्रेष्ठमा सुधार देखियो। कोच राजुबाट एपिसोड २९ मा उनको पहिलो पर्फमेन्स थियो। उनले ‘काली काली हिस्सी परेकी’ बोलको गीत राम्रैसँग गाए। गाउँदागाउँदै शब्द बिर्सने गरेका सनीशले यस पटक भने शब्द बिगारेनन्। उनको गायनमा कोच आस्था उठेरै नाचिन् भने अन्य कोचले प्रशंसा गरे।

सिक्किमकी गीता शर्माले पनि धमकेदार प्रस्तुति दिइन्। ‘मनको माया हजुर’ बोलको क्लासिकल गीतमा उनले दर्शकलाई प्रभाव पार्न सफल भइन्। यससँगै उनी अर्को राउन्डका लागि सुरक्षित समेत भइन्।

राम र लक्ष्मण चिन्नै मुस्किल
दर्शकको नोटिसमा परेका राम लिम्बुले ‘कलिलो तामालाई’ बोलको गीत गाए। लोक आधुनिक गीत गाउँदै आएका लिम्बुले यस पटक भने पप जनरा छानेका थिए। उनले गीत गाउँदा गाउँदै स्टेजमा भाइ लक्ष्मणलाई पनि भिœयाइँदा सबैजना कन्फ्युज भए। उस्तै अनुहार, उस्तै ड्रेसअपका कारण उद्घोषक मात्रै झुक्किएनन् कोचसमेत झुक्किए। यो स्टेजमा को राम को लक्ष्मण छुट्याउन सबैलाई हम्मे हम्मे बनायो।

त्यस्तै कोच प्रमोदकै टिमका बलबहादुर राजवंशीले ‘आँसु झार्दिन म’ बोलको गीत गाए। उनको गायकीलाई सबै कोचले खुलेर प्रशंसा गरेका थिए।

आरिफ र यान्कीको सेलो डान्स
आरिफ राउफ र यान्की याल्मोले सेलो गीत प्रस्तुत गरेका थिए। दुवैले ‘नाचिदेऊ मैचाङ तिमी डम्झुको तालैमा’ बोलका गीत गाएका थिए। पप गीत गाउँदै आएकी यान्कीले यस पटक सेलो गीतलाई नाच्दै गाउँदा मञ्चमा रमाइलो छाएको थियो।

कोच आस्थाको टिममा रहेका यी दुईलाई भोट गर्नु परेको थिएन। उनीहरु अलरेडी सेफ भएका थिए।    कोच दीपको टिमबाट सञ्जय महत र विकास लिम्बुले ‘म त दुरदेखि आएँ’ बोलको गीत गाए। हरेक हप्ता फरक फरक गेटअपमा विकासको आगमन हुने गरेको छ। यस पटक पनि उनी बेग्लै गेटअपमा देखिए। सञ्जय र विकास दुवै पहिल्यै सुरक्षित छन्। उनीहरुलाई अर्को हप्ताबाट मात्रै भोट गर्नुपर्ने हुन्छ।  

स्टेजमा नै रोइन मेचु
कलाकारको भोट माग्ने शैली फरक देखिन्छ। कोही गाएर भोट मागिरहेका छन् भने कोही अभिनय सँगसँगै गीत गाएर दर्शकसँग भोट मागिरहेका छन्। यस पटक देशभक्तिको गीत लिएर स्टेजमा चढेकी मेचुको प्रस्तुति फरक थियो। बुढ्यौली बनेर स्टेजमा चढेकी मेचु केही युवाहरुले छेकिरहेका थिए र केही  खोस्न खोजेका थिए। त्यसलाई खोसिन नदिन लडाइँ लड्दै मेचु स्टेजमा पुगिन् र नेपालको नक्शा देखाइनन्। उनको यो अभिनयले दर्शकको मन जित्यो।

यस अभिनयमा मिल्ने गीत ‘नेपाल हामी रहुँला कहाँ नेपालै नरहे’ गीत प्रस्तुत गरिन्। गीतको भावअनुसार उनैले शब्दहरु घुसाएकी थिइन्। गीत सकिएलगत्तै स्टेजमा नै डाँको छोडेर रुन थालिन्। यो गीत सुनेर भावुक बनेका कोज राजु मेचुलाई सम्हाल्न स्टेजमा पुगे। त्यसलगत्तै कोच प्रमोद पनि पुगे।

अञ्जु र बलबहादुर बाहिरिए
कोच राजुको टिमबाट अञ्जु राना मगरले ‘रात धेरै प-यो’ बोलको गीत गाएकी थिइन्। अहिलेसम्म उनले आफूलाई सुट हुनेका खालका मात्र गीतहरु गाउने गरेकी थिइन्।

धेरै जसो पप गीतहरु गाउने अञ्जुलाई कोचहरुले साथ दिएका थिए तर दर्शकहरुले भने साथ दिएनन्। टप टेनसम्म आइपुगेकी अञ्जुले कम भोट पाएका कारण स्टेजबाट बाहिरिइन्। अञ्जु बाहिरिँदा कोच राजु भावुक देखिए।
त्यस्तै कोच प्रमोदको टिममा रहेका बलबहादुर पनि आउट भए। त्यस्तै सञ्जय महत र विकास लिम्बुले ‘रेसम फिरिरी’ बोलको गीत गाए भने आरिफ राउफ र यान्की याल्मोले ‘प्रेम दिवस’ बोलको गीत गाए।

Leave A Comment