‘बिहेको प्रस्तावलाई नो भनिदिएँ’

शनिबार, १४ मङि्सर २०७६, ०१ : १५ शुक्रवार
‘बिहेको प्रस्तावलाई नो भनिदिएँ’

पूर्व मिस नेपाल २०१७ निकिता चाण्डक अहिले हिरोइन बन्ने दौडमा छिन्। पहिलो फिल्म ‘रानीमहल’ निर्माण हुँदै गर्दा बीचमै रोकिएपछि उनको हिरोइन बन्ने सपना पूरा हुन सकेन। अहिले विराज भट्टसँग ‘साङ्लो’मार्फत् पर्दामा देखिने तयारीमा छिन्। फिल्म निर्माणको अन्तिम चरणमा छ। पहिलो फिल्मबाट उनी आशावादी देखिन्छन्। इन्डस्ट्रीमै भविष्य बनाउन फिल्मी क्षेत्रमा प्रवेश गरेको बताउने उनीसँग फिल्म करियर, मिस नेपालको यात्रा, फिल्मी क्षेत्रबारे केन्द्रित रहेर शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंगः

अहिले ‘साङ्लो’को डबिङ हुँदैछ। कत्तिको गाह्रो रहेछ त डबिङ ?
डबिङ गाह्रो छ (भुँइतिर हेर्दै)। फेरि मेरो नेपाली लवज त्यत्ति राम्रो छैन। लवज सुधार्न विराज दाइले मिहिनेत गर्दै हुनुहुन्छ। नेपाली त बुझ्छु तर लवज ठ्याक्कै मिल्दैन। मैले सृष्टि दिदी (श्रेष्ठ)लाई पनि डबिङबारे सोधेकी थिएँ। उहाँले पनि गाह्रो त हुन्छ भन्नु भएको थियो तर सुरु गरिसकेपछि सजिलो हुन्छ भन्नुभयो। तर अझै नेपाली लवजमा समस्या छ। बिस्तारै सुधार गर्दैछु।

फिल्ममा कस्तो काम भएजस्तो लाग्छ त ?
आफैँलाई त के जज गर्नु ! त्यही हो, नर्वस छु आफ्नो काम हेर्न। डर लागिरहेको छ। तर, कुनै यस्ता दृश्य नि थिए, जुन हेरेर अहो ... मैले यस्तो गरेँ है भन्ने त लागेको छ। बाँकी त दर्शकले हातमा हो।

विराज भट्टसँग अभिनय गर्न गाह्रो–सहज केकस्तो लाग्यो ?
पहिला त डराइरहेकी थिएँ। म अलिकति अन्तरमुखी स्वभावकी छु। सुरुमै काम गर्न त गाह्रो भयो। म आफ्नो धारणा उहाँलाई सुनाउँथेँ। उहाँ मेरो सल्लाहलाई लिनुहुन्थ्यो। सल्लाह राम्रो भए प्रयोग पनि गर्नुहुन्थ्यो। बिस्तारै एकदमै रमाइलो वातावरण बन्यो उहाँसँग।

मधेसमा धेरै फ्यान छन् है विराजको ?
हो त। मधेसमा नेपाली फिल्मको दर्शक छैन। त्यहाँ भोजपुरी फिल्मका धेरै दर्शक रहेछन्। भोजपुरी फिल्ममा अभिनय गरेकाले उहाँको राम्रो फ्यान फलोइङ रहेछ मधेसमा।

डेब्यु फिल्मबाट जमिएला त इन्डस्ट्रीमा ?
मलाई (सोच्दै) त इन्डस्ट्रीमा लक पनि हुनुपर्छ जस्तो लाग्छ। मैले विराज दाइका लोयल फ्यान देखेकी छु। म फिल्मको लागि पश्चिममा पुगेँ, वीरगंजमा देखेँ। जहाँ गएँ, त्यहाँ उहाँको दर्शकको क्रेज राम्रो देखें। मलाई त युवापुस्ता, मारवाडी समूह अनि गृहजिल्लाका केहीले मात्र चिन्नुहुन्छ। मेरो फ्यान फलोइङ बलियो नभए पनि विराज दाइको राम्रो छ। काम राम्रै गरेकी छु। पहिलो फिल्मबाटै जमिहाल्ने भन्दा पनि दर्शकले मेरो काम नोटिस चैँ गर्नुहोला भन्ने आश छ।

पहिलो फिल्म नैँ एक्सन ?
हो। अहिले खासै एक्सन फिल्म बनिरहेको छैन। विराज दाइको छवि पनि एक्सन हिरोको छ। त्यसैले दर्शकले मन पराउनुहुन्छ पक्कै।

विराज एक्सन हिरो नै हो त ?
मैले उहाँ एक्सन किङ भनेर सुनेकी थिएँ तर जब सेटमा उहाँको एक्सन देखेँ, ट्वाँ परेँ। उहाँ एक्सनमा निकै निखारिएको हुनुहुँदोरहेछ। उहाँ त रियल लाइफमा पनि बलियो ! म त उहाँको एक्सनको फ्यान भएकी छु।

फिल्ममा तपाईँको एक्सन नि छ कि ?
(हाँस्दै) मेरो एक्सन छैन ।

फिल्मको भूमिका बताउन मिल्छ ?
सिम्पल एजुकेडेट गर्लको भूमिका छ। यति मात्र भनुम् न अहिले।

मिस नेपाल हुँदै अभिनयमा बाटो मोडिन्छ भनेर सोचिएकोे थियो ?
यो त मेरो सपना नै थियो। मिस नेपाल भइसकेपछि दिएको कति अन्तरवार्तामा म हिरोइन बन्न चाहन्छु भनेकी पनि थिएँ। मलाई विश्वास थियो एकदिन हुन्छु भन्ने। तर मेरो डेब्यु यसरी होला भन्ने चैँ सोचेकी थिइनँ। मैले ‘रानीमहल’बाट डेब्यु गर्ने सोचेकी थिएँ। तर त्यो बीचमै रोकियो। त्यसपछि म निरुत्साहित पनि भएँ। एकदिन ‘साङ्लो’को प्रडक्सन म्यानेजरबाट फोन आयो। फिल्म गरिहाल्ने मुड थिएन। फिल्म नगर्ने निर्णय सुनाउन विराजलाई भेटेँ। मलाई म भित्रैबाट तयार छैन भन्ने लागिरहेको थियो। तर उहाँले मलाई स्क्रिप्ट सुन्न मनाउनुभयो। स्क्रिप्ट सुनाइसकेपछि म रुन थालेँ। स्क्रिप्टले रुवाएको त होइन तर खोई के थियो, सायद मेरो सपनाको नजिक छु भन्ने लागेर होला, म रोएछु। मैले तुरुन्तै फिल्मको लागि हुन्छ भनेँ।

फिल्म ‘रानीमहल’को सुटिङ शुरु भइसकेर पनि रोकिएको चैँ किन ?
आर्थिक कारण। मलाई लाग्छ म्यानेजमेन्ट राम्रो थिएन। पैसा दिने निर्माता, प्रडक्सन म्यानेजर अनि निर्देशक बीचको कुराले होला।

अब अलि पछाडि फर्कौं है त ! मिस नेपाल हुँदा गरिब दिनदुःखीको सेवा गर्ने भनेर भन्छन्। तर भइसकेपछि फिल्मतिर लाग्छन् भन्ने आरोप लाग्छ। देखिन्छ पनि त्यही। तपाईँलाई पनि यस्तै आरोप लाग्ला भन्ने लागेन ?
अहँ, मलाई त पहिलेदेखि नै हिरोइन बन्छु भन्ने थियो। सबैको आ–आफ्नो उद्देश्य अनि लक्ष्य हुन्छ। म क्लियर पनि थिएँ म यस क्षेत्रमा नै लाग्छु भनेर।

मिस नेपालको सुखदुःख कस्तो रहेछ ?
मिस नेपाल बाहिरबाट सजिलो देखिन्छ। मिस नेपाल भनेको रातारात स्टार हुने नै हो। तर कलाकारिताबाट चर्चा कमाउन समय लाग्छ। तर ‘ओभर नाइट फेम्ड’लाई ह्यान्डल गर्न निक्कै गाह्रो हुन्छ। साधारण केटी, भर्खरै जिन्दगी बुझ्दै गरेको उमेरमा एकै पटक चर्चामा आउँदा अलमल हुने रहेछ। सम्हाल्न गाह्रो हुने रहेछ। मिस नेपाल भइसकेपछि आउने  क्रिटिसिजम सहज तरिकाले लिन अलि पनि गाह्रो हुँदो रहेछ।

तपाईंलाई भारतीय भनेर पनि आलोचना गरे है ! कस्तो लाग्यो त्यो बेलामा ?
क्रिटिसिजम सुन्न पर्छ। त्यसैले सायद म सुरुदेखि नै तयार थिएँ। तर यत्ति धेरै क्रिटिसिजम हुन्छ भनेर सोचेकै थिइनँ। जब हामी मिस नेपालको अडिसन कोठामा छिर्छौं सबैभन्दा पहिला नागरिकता देखाउँछौँ। नेपालको नागरिकता देखाएर म अडिसनमा सहभागी भएकी थिएँ। म मारवाडी हुँ, त्यो अर्कै कुरा हो। मारवाडी नेपाली हुन्। नेपालमा बहुसंस्कृति, बहु–धार्मिक मानिस छन्। मेरो पुर्खा इण्डियाबाट बसाईँ सरेर नेपाल आए होलान् तर अहिले त म नेपाली नागरिकता हुँ नि !

अनि मिस नेपालबाट पूर्व मिस नेपाल हुँदा चैँ कस्तो लाग्ने रहेछ ?
अहिले त म पूर्वको पनि पूर्व भइसकेँ (हाँस्दै)। सायद हामी पहिल्यै तयार हुन्छौँ यस्तो सत्यको सामना गर्न। शिरमा मिस नेपालको ताज सधैँ हुँदैन नि ! कुनै न कुनै समय त्यो अरु कसैको हुन्छ नै। समय आएपछि अर्कोमा स¥यो ताज। म पूर्व भएँ। तर कलाकारको ताज त सधँै आफ्नै शिरमा हुन्छ भनेर फिल्म क्षेत्रमा आएकी हुँ। अब म हिरोइन भनेर चिनिन चाहन्छु।

हल्का नरमाइलो त पक्कै लाग्ला नि ! श्रृङ्खलालाई क्राउन पहि-याउँदाको अनुभव भन्नुस् न !
हैन, म एकदम तयार नै थिएँ। म मिस नेपाल भएर स्टेजमा क्राउन लगाउँदा त अभ्यास चलिरहेको छ भन्ने लागेको थियो। अस्मी दि(श्रेष्ठ)ले मेचमा बसाउनु भयो अनि क्राउन लगाउनु भएपछि म उभिएँ। वास्तवमा रिहर्सलमा त्यस्तो हुन्छ। क्राउन लगाउँदा मेरालागि रिहर्सलजस्तै भयो। श्रृङ्खलालाई क्राउन लगाउँदा अब उसको पालो हो भन्ने लाग्यो। बधाई दिएँ।

मिस वल्र्डको ताज किन नेपाल ल्याउन सकिँदैन। हाम्रो तयारी अपुग हुन्छ कि ग्रुमिङमै कमी ?
हामी त्यहाँ अरुभन्दा कम त हुँदैनौँ। हाम्रो ग्रुमिङमा समस्या छैन। उनीहरु कस्तो मिस वल्र्ड चाहन्छन् भन्ने निर्णायकको आँखामा भर पर्छ। श्रृङ्खला त एकदम राम्रो थिइन्। उनी उत्कृष्ट पाँचसम्म पुग्छिन् भन्ने लागेको थियो। तर त्यस्तो भएन। किन ? उनले ‘ब्युटी विद पर्पज’ जितिन्। त्यो त मिस वल्र्डको सबैभन्दा महŒवपूर्ण टाइटल नै हो।

फिल्मको कुरा गर्रौ है त अब। नेपाली फिल्म इन्डस्ट्रीको अवस्था कस्तो लाग्यो ?
म इन्डस्ट्रीमा जन्मेकै छुइन (अन बर्न चाइल्ड)। मैले इन्डस्ट्रीको धेरैसँग भेटेको छैन। म भर्खर बुझ्दै छु। बुझेपछि नै भनौँला ल !

मारवाडी समुदाय मनोरञ्जन क्षेत्रको बारेमा अलि नकारात्मक हुन्छन् भन्ने सुनिन्छ। समस्या भएन त परिवारबाट ?
मेरो परिवारमा त्यस्तो समस्या छैन। परिवारको साथ र सहमतिले नै अहिलेको चरणसम्म आइपुगेकी हुँ।

पहिलो फिल्मलाई लिएर परिवारका सदस्यको प्रतिक्रिया ?
मैले गीतको एडिटिङ हुँदा साना क्लिप्सहरु खिचेर दिदीलाई पठाएँकी थिएँ। आमा र बुबालाई पनि पठाएँ। अनि दिदी त मेरो सपना पूरा भएको देख्नुभएर रुनु भएछ। मलाई पर्दामा देख्दा मेरो परिवार पक्का खुशी हुनेछ। मेरो भाइ सञ्जु होस्टेल बस्छ, ऊ त धेरै एक्साइडेट छ। अस्ति भन्दै थियो ‘गीत आउनेबित्तिकै टिचरलाई पठाइदिनू, म टिचरकै फोनमा हेरुँला !’ १० कक्षामा पढ्दैछ ऊ, उसलाई अहिले मोबाइल बोक्ने छूट छैन नि त !

तपाईंले चैँ पढाईलाई निरन्तरता दिनु भएन है ?
हो। मैले नेपालको उर्लाबारी, वेस्ट बेङ्गोल अनि राजस्थानबाट विद्यालय अध्ययन सकाएँ। मैले १२ गरेर पढाइ छोडेँ। मलाई मुम्बईबाट स्नातक गर्ने मन थियो। मैले क्राइस्ट कलेज ज्वाइन गरेँ। बिबिएको क्लासमा निद्रा मात्र लाग्ने भएपछि मैले छाडेँ। खासमा १२ सम्म त म एकदमै राम्रो विद्यार्थी थिएँ। तर स्नातकमा खासै ध्यान गएन।

कति नेपाली कलाकारको सपना बलिउड इन्डस्ट्री हुन्छ। तपाईंलाई बलिउडमै जाउँ जस्तो लागेन ?
म बलिउडका फिल्म हेरेरै हुर्किएकी हुँ तर बलिउडमा जान सजिलो छैन नि ! मुम्बई भनेको संघर्ष गर्ने ठाउँ हो जस्तो लाग्छ मलाई। (अन्तर्वार्ता दिँदादिँदै निकितालाई फ्यानहरुले घेरे।  फ्यानले उनीसँग फोटो खिचाए। उनले पनि फ्यानसँग मुस्कुराउँदै फोटो खिचिन्। पुनः संवाद शुरु भयो।) सायद बलिउड जाने प्रयास गर्छु होला, अडिसन पनि दिन्छु होला तर त्यहीँ बस्ने गरेर चाहिँ जान चाहन्नँ।

अहिले त घरैपिच्छे क्राउन विजेताहरु छन्। च्याउसरी बढेको ब्युटी पेजेन्टबारे तपाईंको धारणा ?
त्यसले ब्युटी पेजेन्टको महत्व नै घटाउँदै गएको छ। यति धेरै पेजेन्ट बढेको छ कि यसलाई नै व्यापार बनाउन पनि थालेका छन्। कति ब्युटी पेजेन्टमा ६ जना सहभागी हुन्छन्। अनि ३ जनाले क्राउन जितेको पनि सुनिन्छ। यो त भएन ।

व्यक्तिगत कुरा नि गरौँ न। सिंगल कि मिंगल ?
सिंगल।

अहिलेसम्म प्रपोज गर्ने केटा आएनन् ?
अहँ, सायद मसँग डराउनु भयो होला (ठट्यौली शैलीमा)। बिहेको अफर भने आको छ। तर, अहिले करियरमै फोकस हुनुपर्ने समय हो। त्यसैले आफन्तबाट आएको बिहेको प्रस्तावलाई नो भनिदिएँ।

Leave A Comment