उद्दण्ड रोगको जोखिम

बुधबार, १८ मङि्सर २०७६, ०१ : ०७ उपेन्द्र खड्का
उद्दण्ड रोगको जोखिम

मनोचिकित्सक डा. विश्वबन्धु शर्माको क्लिनिकमा त्यस्तै ३० वर्षजतिका युवा आए। अनौठो व्यवहार देखाएपछि ती युवालाई उनका परिवारका सदस्यले शर्माको क्लिनिकसम्म ल्याएका थिए।

डा. शर्मा ती युवासँग गफ गर्न थाले। बढो रमाइलो गफ गर्थे उनी। कुरैकुरामा उनले अब आफूले नोबेल पिस प्राइज पाउन लागेको बताए। शर्मा छक्क परेझैँ गरेर सोधे ‘ कसरी ?’

ती युवा आइडिया सुनाउन थाले ‘म अब सिरियाका राष्ट्रपतिलाई गएर भेट्छु। उनलाई भेटेर शान्तिका दूत बुद्धका दर्शनबारे बताउँछु। बुद्धको दर्शन सुनेपछि उनले युद्ध छाड्नेछन्। त्यसपछि त्यहाँ लडाइँ बन्द हुन्छ र मैले नोबोल पिस प्राइज पाउँछु।’

डा. शर्माले ती युवाको कुरो बुझे र आवश्यक उपचार गरेर भ्रममुक्त गरिदिए। अहिले उनी नोबेल शान्ति पुरस्कार पाउने योजनाबाट मुक्त भइसकेका छन्।
मनोविद् गोपाल ढकालको अर्को अनुभव।

एक वर्षअघि उनको परामर्श केन्द्रमा ३२ वर्षीया महिला आइपुगिन्। उनलाई पनि उनका परिवारले नै ल्याएका थिए। ती महिलाले भारतमा योग पढिरहेकी थिइन्। योग पढ्ने र अभ्यास पनि गर्ने महिलाको बानी र व्यवहार भने अनौठो हुँदै गयो।

उनी भयङ्कर रिसाउन थालिन्। साथीभाइसँग झगडा गर्ने, अनुशासन भंग गर्ने, लाउड स्पिकरमा म्युजिक बजाएर अरुलाई डिस्टर्ब गर्नेजस्ता उद्दण्ड व्यवहार देखाएपछि उनको परिवारले नेपाल फर्काएर ढकालको परामर्श केन्द्रमा पु(याएका थिए।

परामर्श र उपचारपछि उनको उद्दण्ड बानी बदलियो। अर्को घटना पनि यस्तै छ। यो अनुभव भने मनोचिकित्सक डा.कपिलदेव उपाध्यायको हो। केही वर्ष अगाडि पोखरामा करिब ३५ वर्षीय पुरुष बक्सिङ सिकाउँथे। एक्कासि उनले अरु व्यक्तिलाई विनाकारण कुट्न थाले। सामान्य विषयमा पनि कुटिहाल्न थालेपछि ६/७ जना बलिया व्यक्ति मिलेर उनलाई समाउन गए। समाउन गएका सबैले उल्टै कुटाई खाए। समाउन सकेनन्।

नोबेल पुरस्कार पाउने कल्पना गर्ने युवा अनि योग गर्ने महिलामा जस्तो समस्या थियो ती पुरुषमा पनि उस्तै समस्या थियो। परामर्श र उपचारपछि ती पुरुष पनि सामान्य अवस्थामा फर्किए।
०००
यी तीनै जनामा यस्तो समस्या ल्याएको थियो मेनियाले। यो एक प्रकारको मानसिक समस्या हो। मेनिया भएका व्यक्तिहरुले अनौठा व्यवहार र असम्भव कल्पना गर्ने मनोचिकित्सकहरु बताउँछन्।

मेनियाको समस्या भएका व्यक्तिको मन उथलपुथल हुने भएकाले यसलार्य ‘मुड डिजिज’ समेत भनिने चिकित्सक शर्माले जानकारी दिए। यसमा ब्लडप्रेसरझंै मनको अवस्था लो र हाई हुन्छ। मनको अवस्थाअनुसार व्यक्तिको व्यवहार देखिन्छ।

‘मन लो भएको समयमा व्यक्ति डिप्रेसनको चरणमा पुग्छ भने मन हाई भएको अवस्थामा डिप्रेसन मेनियाको अवस्थामा परिणत हुन्छ,’ चिकित्सक शर्माले भने ‘यो बाइपोलार इलनेश हो।’

कहिले निरास, कहिले उन्माद
चिकित्सकका अनुसार मेनिया कडा किसिमको मानसिक रोग हो। ‘बाइपोलार मुड डिसअर्डर’कै एउटा रुप भएकाले मेनियालाई ‘बाइपोलार मुड डिसअर्डर’का नामले समेत चिनिन्छ।

मेनियालार्ई नेपालीमा दुई धु्रवीय मिजास (मुड) को गडबडीसमेत भनिन्छ। ‘बाइपोलार मुड डिसअर्डर’का दुई ध्रुव हुन्छन्। मुड एउटा ध्रुवमा पुग्दा व्यक्ति उन्मादको अवस्थामा पुग्छ भने अर्को ध्रुवमा पुग्दा निरास हुन्छ।

‘व्यक्तिको मुड उन्मादको ध्रुवमा पुगेको अवस्थालाई मेनिया भनिन्छ,’ मनोविद् ढकालले भने, ‘निरासाको ध्रुवमा पुगेको अवस्थालाई डिप्रेसन भनिन्छ।’

चिकित्सकका अनुसार विश्वमा जनसंख्याको करिब दुई प्रतिशतमा यस्तो समस्या देखिन्छ। व्यक्तिमा दुई ध्रुवीय लक्षण देखिने भएकाले मेनियाको समस्या भएको व्यवहार हेरेर ‘यसलाई औंसी, पूर्णे लाग्छ’ भनेको पनि सुनिन्छ।

हाइपर र हाइपो
मेनिया हाइपर र हाइपो गरी दुई प्रकारका हुन्छन्। हाइपर मेनियाको अवस्थामा अति उन्माद हुन्छ। मनोचिकित्सक डा. उपाध्यायका अनुसार हाइपो मेनिया भनेको, व्यक्ति सामान्य अवस्थाभन्दा बढी तर मेनियाको चरणमा नपुगेको अवस्था हो। हाइपर मेनिया भएको अवस्थामा तुलनात्मकरुपमा समस्याका लक्षण बढी देखिन्छन्। हाइपोको अवस्थामा हाइपरभन्दा कम तर सामान्य अवस्थाभन्दा बढी लक्षण देखिन्छ।

फरक–फरक लक्षण
डिप्रेसन र मेनियाका लक्षण ठ्याक्कै उल्टा हुन्छन्। डिप्रेसनको चरणमा कम बोल्ने व्यक्ति मेनियाको चरणमा पुग्दा धेरै बोल्न थाल्छ। डिप्रेसनको चरणमा रहँदा दिक्क मान्ने व्यक्ति अनावश्यकरुपमा खुसी हुन थाल्छ। डिँडडुलै गर्न नसक्ने व्यक्ति अनावश्यकरुपमा जथाभावी हिँड्न थाल्छ।

डिप्रेसनको अवस्थामा लजालु तथा आँट कम हुने भए पनि मेनियाको चरणमा पुग्दा व्यक्ति अत्यन्तै फुर्तिलो हुने मनोचिकित्सक डा. उपाध्यायले बताए।

डिप्रेसनको अवस्थामा आफूलाई कमजोर ठान्ने व्यक्ति मेनियाको चरणमा पुग्दा संसारमा म जत्तिको जान्ने र शक्तिशाली कोही छैन भन्ने भ्रम हुन्छ। मेनियाको समस्या भएका व्यक्तिले असामान्य किसिमका ठूला कुरा मात्रै गर्दैनन् आफूलाई शक्तिशाली भएको महसुससमेत गर्छन्। असामान्य रूपमा यौन चाहना बढ्नुका साथै यौन उन्माद हुने चिकित्सक बताउँछन्।

‘मेनिया भएका व्यक्तिमा यौनको मामलामा लाज हुन्न,’ ढकालले भने, ‘त्यसैले मेनिया भएकाले बलात्कार गर्ने जोखिम बढी हुन्छ।’
दैनिक ४/५ घण्टा नसुत्दासमेत त्यस्ता व्यक्तिलाई निद्राको प्रभाव नपर्ने लक्षण देखिन्छन्।

‘मेनियाको समस्या भएको व्यक्ति रातभर नसुत्दासमेत फ्रेस हुन्छन्। निद्राको आवश्यकता घट्छ,’ मनोचिकित्सक डा. शर्माले भने, ‘यस्ता व्यक्तिमा मस्तिष्कमा अनावश्यक सृजनात्मक तथा सकारात्मक कुरा खेल्ने भएकाले व्यक्तिको धेरै काम गर्ने स्वभावसमेत हुन्छ।’

यस्तो समस्या भएकामा इश्र्या, रिस बढी उठ्ने, एउटा काम पूरा नगरी तुरुन्तै अर्को काममा हात हाल्ने अस्थिर स्वभाव देखिन्छ। अरुले आफ्ना कुरा काटेको मन पराउँदैनन्। स्वभावमा परिवर्तन आउँछ। कतिपयले स्वघोषितरुपमा आफूलाई भगवान् भन्न सक्छन्। माताको रुपमा चित्रित गर्छन्।

मेनियाको समस्या भए पनि अन्य व्यक्तिसँग सहजरुपमा कुरा गर्न सक्ने भएकाले त्यस्ता व्यक्ति कतिपय काममा सफलसमेत हुन्छन्।

यसरी पत्ता लाग्छ
व्यक्तिको व्यवहारबाट मेनियाको समस्या भएको वा नभएको छुट्याउन सकिने मनोचिकित्सक बताउँछन्। चिकित्सकको मत अनुसार धेरै हँसाउने, आँटी, साहसी तथा नलजाउने, सृजनात्मकजस्ता व्यक्तिमा मेनियाको समस्या छ नै भन्न सकिन्न।

व्यक्तिलाई मैले सही वा गलत बोल्दैछु भन्ने आभास भएको अवस्थामा मेनियाको संकेत हुन्न। तर व्यक्तिले आफूले बोलेको तथा गरेको व्यवहार सही वा गलत हो भन्ने छुट्याउन नसके मेनियाको लक्षण हुने डा. शर्मा बताउँछन्।

व्यक्तिमा सामान्यरुपमा मुड तलमाथि हुनुलाई सामान्य अवस्थामै लिइन्छ। अनावश्यकरुपमा व्यवहार गर्ने, अनावश्यक जोक्स गर्ने, सहजै बढी यौनजन्य कुरा गरेको अवस्थामा भने सचेत हुन ढकालको सुझाव छ। निरन्तर यस्तो समस्या भए मेनियाको शंका गर्न सकिन्छ।

बढी छ जोखिम
मेनियाको समस्या भएका व्यक्तिको मेनिया रोगकै कारणले ज्यान जाने नभए पनि त्यसले पार्ने मानसिक प्रभावका कारण ज्यान जान सक्ने चिकित्सक बताउँछन्। असामान्य व्यवहार देखाउँदा पारिवारिक कलह सुरु हुन्छ। यौन जोडीबीच सम्बन्ध विच्छेदको जोखिम हुन्छ। जतासुकै निडर र सन्काहारुपमा जोसँग पनि जाइलाग्ने लक्षण हुँदा लफडा बढ्छ।

मेनियाको समस्या भएका व्यक्तिले धेरै मदिरा पिउने, जथाभावी सवारी चलाउने हुँदा दुर्घटनाको जोखिम हुने डा. शर्मा बताउँछन्। अनावश्यक बढी खर्च गर्ने, अरुले उक्साएको तथा फुक्र्याएको अवस्थामा आफूसँग भएभरको सम्पत्ति नै दान गर्ने लक्षणसमेत देखिन्छ मेनियामा।

सम्भव छ उपचार
यस्तो मानसिक रोगबाट बच्न केही सावधानी अपनाउन सकिन्छ। वंशाणु कारण मेनियाको समस्या भए सचेत हुनुपर्छ। मस्तिष्क रसायनको गडबडी, बेरोजगारी, अपमान, यौन दुव्र्यवहार, घमण्डी स्वभावका व्यक्ति, रिसाहा, धूमपान तथा मद्यपानको कुलतमा फसेकामा मेनियाको समस्या देखिन सक्छ।

मेनिया लामो चरणमा पुग्दा व्यक्ति डिप्रेसनको चरणमा पुग्छन्। मेनिया ध्वंसात्मक किसिमको हुन्छ भने डिप्रेसन बिरामी आफैँलाई पीडा हुने किसिमको हुन्छ। डिप्रेसन लामो समय रहँदा मेनियाको तुलनामा उपचार गर्नसमेत कठिन हुने मनोचिकित्सक बताउँछन्।

यस्तो समस्या भए मन सन्तुलित गर्ने औषधि चलाउँदा निको हुने डा. शर्मा बताउँछन्। मेनियाको समस्या भएका बिरामीले आफूलाई केही नभएको भन्दै औषधि खान नमान्ने भएकाले औषधि खान निक्कै मिहिनेत गर्नुपर्ने हुन्छ।

चिकित्सकका अनुसार मेनियाका ध्रुव तीनदेखि ६ हप्तामा परिवर्तन हुन सक्छ। कतिपय व्यक्तिका यस्ता लक्षण आफैँ हराएर जान्छन्। मनोचिकित्सक डा. उपाध्यायका अनुसार सामान्यतः व्यक्तिमा मेनिया भएको एकदेखि केही हप्तामा कि त डिप्रेसनमा पुग्छ, कतिपय व्यक्ति सामान्य अवस्थामा फर्कन्छन्।

‘करिब ९९ प्रतिशत मेनियाको समस्या भएका व्यक्ति डिप्रेसनमा जाने भएकाले मेनियालाई म्यानिक डिप्रेशिभ डिसअर्डर वा इलनेस भनिन्छ,’ डा. उपाध्यायले भने, ‘डिप्रेसनको अवस्थामा व्यक्तिले आत्महत्या गर्न सक्छन्।’

यस्तोमा लामो समय औषधि खानुपर्ने पनि हुन सक्छ। तर चिकित्सकको सल्लाहविना औषधि सेवन गर्न छोड्नु हुन्न। उपचारपश्चात् ठिक हुने भए पनि मेनिया पुनः फर्कने सम्भावना धेरै हुुने चिकित्सक बताउँछन्।

Leave A Comment