अस्वीकृतिको सृष्टि

बुधबार, १८ मङि्सर २०७६, ०१ : १८ प्रकाश जंग थापा
अस्वीकृतिको सृष्टि

अस्वीकृत नहुने सायदै होलान्। अस्वीकृति सामना गर्नुको कुनै विकल्प छैन। अस्वीकृति सही तारिकाले सामना गर्दा केसम्म सम्भव छ भन्ने बुझ्न केही प्रख्यात प्रसंगबारे चर्चा गरौँ।

सन् १९८८ मा गुगलका सहसंस्थापक सर्गेई ब्रिन र ल्यारी पेजले याहू कम्पनीका संस्थापक समूहसँग भेट गरेका थिए। त्यस भेटमा उनीहरुले गुगल र याहूको समायोजन हुनुपर्ने र सोही कार्यका लागि आग्रह गरेका थिए। त्यो आग्रह र पहल कदमीले उचित सम्मान भने पाएन। याहू संस्थापक समूहले त्यस समय गुगल केवल एउटा स्कुल स्तरको सानो प्रोजेक्ट रहेको र पूर्ण रुपमा विकसित भएपछि मात्र पुनः समायोजनका लागि पहल गर्न सुझाव दिए। यो याहू संस्थापक पक्षबाट गुगल संस्थापक पक्षलाई गरिएको अवमूल्यन र अविश्वास थियो। अझ भनौँ ठाडो अस्वीकार थियो। यो अस्वीकृतिले गुगलका सहसंस्थापकलाई गलाएन। उनीहरु अस्वीकृत हुनुपर्दा हतोत्साहित भएनन्। थप ऊर्जाका साथ आफ्नो कम्पनी स्थापित गर्ने लक्ष्यमा समर्पित भए। याहू संस्थापक पक्षबाट नमीठो अस्वीकृति पाएको ठीक पाँच वर्षभित्रै गुगललाई एउटा परिचित ब्रान्ड बनाउन सफल भए। त्यसबेला गुगलको बजार पूँजीकरण २० अर्ब अमेरिकी डलर थियो। अहिलेको मितिमा गुगल विश्वको उत्कृष्ट दस ब्रान्डभित्र पर्छ भने याहूको कुनै अस्तित्व छैन। याहूका संस्थापक पक्ष समायोजनका लागि तयार भएका हुन्थे भने अहिले गुगल उनीहरुकै हुन्थ्यो। उनीहरु सर्गेई ब्रिन र ल्यारी पेजको स्थानमा संसार नेतृत्व गरिरहेका हुन्थे।

त्यसैगरी अर्को प्रसङ्गबारे पनि चर्चा गरौँ। प्रसंग याहू कम्पनीको एक सफल कर्मचारीको हो। ती व्यक्ति याहूमा लगभग एक दशक काम गरेपछि नयाँ चुनौती आत्मसात गर्न चाहन्थे। यसका लागि विश्वका दुई ठूलो कम्पनीमा आवेदन दिए। उनले आवेदन दिएको पहिलो कम्पनी थियो, फेसबुक। उनलाई फेसबुकले अस्वीकार गरिदियो। अस्वीकृत हुनु पर्दाको पीडामा एक ट्वीट गरे, ‘फेसबुकले मलाई अस्वीकृत ग-यो। केही क्षमतावान् व्यक्तिहरुसँग जोडिने अवसर पूरा हुन सकेन।’ त्यसपछि उनले अर्को कम्पनीमा आवेदन दिए। उनले आवेदन दिएको दोस्रो कम्पनी थियो, ट्वीटर। उनले ट्वीटरबाट पनि सोही किसिमको प्रतिक्रिया पाए। उनी अस्वीकृत भए। दोस्रो पटक पनि अस्वीकृत हुनु पर्दाको पीडामा अर्को ट्वीट गरे, ‘ट्वीटरबाट अस्वीकृत भएँ, ठीकै छ। हामी लामो समयसम्म सहकार्य गर्न सक्थ्यौँ।’ उनले काम गर्न चाहेका दुई कम्पनीबाट अस्वीकृत भए पनि हार मानेनन्। प्रतिक्रिया स्वरूप एउटा स्टार्ट अप (नयाँ कम्पनी) स्थापना गरे। त्यही नयाँ स्टार्ट अप कम्पनीलाई केही वर्षमै विश्व प्रसिद्ध बनाउन सफल भए। र, अन्ततः सोही कम्पनी फेसबुकलाई १९ अर्ब अमेरिकी डलरमा बिक्री गरिदिए। त्यो व्यक्ति ब्रायन एक्टन हुन् भने उनले स्थापना गरेको कम्पनी थियो, ह्वाट्सएप। फेसबुकले ब्रायन एक्टनलाई केही लाख अमेरिकी डलरमा नियुक्त गर्न सक्थ्यो तर गरेन। जसकारण फेसबुकलाई उही अस्वीकृत व्यक्तिबाट स्थापित संस्था खरिद गर्न १९ अर्ब अमेरिकी डलर लाग्यो। ब्रायनलाई अस्वीकृत गर्नु फेसबुकका लागि महङ्गो साबित भयो भने स्वयं ब्रायनको लागि भने फाइदासिद्ध भयो।

अस्वीकृत हुँदाको पीडा
सामान्यतः सम्बन्ध निर्माणको समय, जागिरका लागि अन्तरवार्ता सामना गर्दा, भिसाको लागि अन्तरवार्ता दिँदा लगायत व्यावसायिक सम्झौतामा अस्वीकृति

अनुभूत गर्न सकिन्छ। अस्वीकृत हुँदा निकै पीडा हुने गर्छ। शारीरिक असहजता महसुस हुनुको साथै भावभङ्गिमामा नकारात्मक प्रभाव पर्छ। यस्तो हुनुको पछाडि वैज्ञानिक कारण छन्। एफएमआरआई अध्ययनले शारीरिक दुखाई हुँदा मस्तिष्कको जुन भाग सक्रिय हुन्छ, त्यही भाग अस्वीकृत हुनुपर्दा सक्रिय हुने स्पष्ट देखाएको छ। यसैकारण अस्वीकृतिमा अत्यधिक पीडाको अनुभूति हुन्छ।

अस्वीकृति सामना गर्ने विधि
स्वाभाविक रुपमा अस्वीकृतिले पीडा दिन्छ। त्यसैले अधिकांश मानिस अस्वीकृत हुन चाहँदैनन्। हरक्षेत्र, परियोजनामा स्वीकृत हुन चाहन्छन्। सबैले सहर्ष स्वीकार गरेको, खुलासँग प्रशंसा गरेको मन पराउँछन्। यद्यपि यो सम्भव हुने कुरा होइन। अस्वीकृति प्रतिको डरले कुनै पनि कार्यका लागि प्रेरित हुन सकिँदैन।

परिणामस्वरूप कुनै सफलता प्राप्त हुँदैन। यसबाट अस्वीकृत हुन डराउनु भनेको सफलताको सम्भाव्यता घटाउँदै जानु हो। अस्वीकृति सामना गर्न निम्न विधि अवलम्बन गर्न सकिन्छ।

(क) अस्वीकृतिलाई व्यक्तिगत रूपमा नलिनेः अस्वीकृतिलाई कहिल्यै पनि व्यक्तिगत रुपमा लिनु हुँदैन। यसलाई त कौतूहलपूर्वक लिनुपर्छ। मानौँ, तपाईँले अनलाइनमार्फत जागिरको लागि आवेदन दिनुभयो। त्यस जिम्मेवारीको लागि तपाईँ योग्य पनि हुनुहुन्छ रे ! तपाईँको छनोट हुने सम्भावना उच्च छ रे ! यस्तोमा संस्था तर्फबाट कुनै प्रतिक्रिया आएन भने ? अनेकन नकारात्मक भावना उत्पन्न हुन सक्छन्। जस्तैः अहो ! ममा कत्ति पनि क्षमता रहेनछ। मैले कहीँ कतै जागिरको अवसर पाउँदिन कि क्या हो ? त्यो अन्तरवार्ता लिने व्यक्ति नै खराब। के खालको मान्छे ? मेरो क्षमता चिन्न नसक्ने ? यस प्रकारको नकारात्मक भावनाले व्यक्तिको विकास हुन सक्दैन। एउटा तथ्य, अनलाइनमार्फत जागिरको लागि आवेदन दिनेमध्ये ९८५ अस्वीकृत हुन्छन्। सबैले एकैखाले प्रतिक्रिया पाएका हुन्छन्। अस्वीकृत हुने तपाईँ मात्र होइन, अरु पनि धेरै हुन्छन्। त्यसैले अस्वीकृतिलाई व्यक्तिगत रुपमा भन्दा पनि जिज्ञासाका रुपमा लिनुपर्छ। के कारणले अस्वीकृत भएँ ? कुन विषयमा सुधार गर्न सक्छु ? कहाँनिर केन्द्रित हुनु आवश्यक छ ? यी यावत् प्रश्नहरुमाथि गहन मन्थन गर्नुपर्छ।

(ख) निरन्तर प्रयास गरिरहनेः अस्वीकृत हुनुलाई सामान्य रुपमा लिनुपर्छ। यसबाट डराएर पछि हट्नु राम्रो होइन। कसैलाई पनि एकैपटक अपेक्षित परिणाम या नि सफलता प्राप्त हुँदैन। मानौँ, कुनै महिलालाई प्रेम प्रस्ताव राख्नुभयो ! महिलाले तुरुन्तै स्वीकार गर्छिन् भन्ने छैन। तपाईँको प्रस्ताव अस्वीकृत हुने सम्भावना अधिक रहन्छ। त्यसैगरी मानौँ जागिरका लागि अन्तरवार्ता दिनुभयो। अब तपाईँको लागि जागिर सजिलै सुनिश्चित हुन्छ भन्ने छैन। केही चरणका अन्तरवार्ता हुन्छन् नै। कतिपय अवस्थामा त अन्तरवार्ताको दोस्रो चरण प्रवेश गर्ने अवसर समेत मिल्दैन। विभिन्न चरणहरु पार गर्ने अवसर मिले पनि अझै अस्वीकृत हुने सम्भावना उत्तिकै रहन्छ। कारण ? प्रतिस्पर्धी धेरै हुन्छन्। यही कुरा व्यापारिक सम्झौतामा पनि लागु हुन्छ। यसको अर्थ, काम गर्दै जाने क्रममा कयौँ बाधा अड्चन आउँछन्। अस्वीकृति जनाउनेहरु प्रसस्तै हुन्छन्। यस्तो परिस्थितिमा खुट्टा कमाउनु भएन। प्रयास जारी राख्नुपर्छ। यसलाई यसरी बुझौँ न ! एउटा मात्र ढोका ढकढक गर्नोस्। त्यो नखुल्न सक्छ। सयवटा ढोका ढकढक गर्नोस्, एकदुई ढोकाहरू खुल्न सक्छन्। दुई सयवटा ढोका ढकढक गर्नोस्। दुई–चार ढोकाहरू खुल्न सक्छन्। त्यसै गरी तीनसय ढोका ढकढक गर्नोस्, तीनदेखि छ वटा ढोकाहरू खुल्न सक्छन्। जति धेरै प्रयास, उति नै धेरै अवसरहरु प्राप्त हुन्छन्। त्यसैले निरन्तर प्रयास गरिरहनुहोस्।

(ग) क्षमता अभिवृद्धि गर्नेः अस्वीकृत हुनु क्षमता अभावको सूचक हो। कुनै व्यक्ति वा संस्थाबाट अस्वीकृत हुनु भनेको तपाईँमा त्यस व्यक्ति वा संस्थाले खोजेको कार्य कौशल अर्थात् क्षमता छैन भन्ने बुझिन्छ। अर्को शब्दमा भन्नुपर्दा उपयुक्त मानक, स्तर रहेनछ भन्ने अर्थ लाग्छ। जीवनमा अस्वीकृत हुनुलाई गलत घटनाक्रमको रुपमा चित्रण गरिनु हुँदैन। यसलाई पुनर्निर्देशनको रुपमा लिन सक्नुपर्छ। कतिपय मानिस अस्वीकृत हुँदा बदलाको भाव राख्ने गर्छन्। देखाएरै छाड्ने प्रण गर्छन्। यस्तो भाव राखेर, प्रण गरेर प्रतिफल सुखद् रहँदैन। त्यसकारण बदला लिएर भन्दा पनि आफूलाई बदलेर देखाउनु बुद्धिमानी ठहरिन्छ। आफूलाई बदल्ने कार्य अथवा व्यक्तित्व विकास कार्य त्यति सजिलो भने छैन। यसमा गम्भीरतापूर्वक, धीरताका साथ लाग्नु जरुरी छ। अनि मात्र कमी–कमजोरी हटाउँदै, क्षमता अभिवृद्धि गर्दै आफ्नो स्तर बढाउन सकिन्छ। स्तरीय व्यक्तित्व अस्वीकृत हुने सम्भावना न्यून रहन्छ। त्यसैले क्षमता अभिवृद्धि कार्यमा केन्द्रित हुनोस्। यस कार्यलाई जीवनको लक्ष्य बनाउनुहोस्।

Leave A Comment