कमेडी च्याम्पियनः जमेनन् प्रनेश

बिहिबार, १९ मङि्सर २०७६, ०१ : ०९ शुक्रवार
कमेडी च्याम्पियनः  जमेनन् प्रनेश

पहिलो पटक शुरु भएको कमेडी रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो एपिसोडमा स्ट्याडअप कमेडीमा आफ्नो भिन्न छवि बनाइसकेका कमेडियनहरु पनि आए तर नयाँ कमेडियनका अगाडि उनीहरुको प्रस्तुति फिक्का देखियो।

कमेडियन प्रनेश गौतम, आदर्श मिश्रा अनि अनिशजंग थापा आएका थिए तर अन्य प्रतियोगीको तुलनामा यी तीन जनाको प्रस्तुति त्यत्ति जमेन।

प्रनेशले बालाई तँ भन्दै गरेको सम्बोधन जजहरुले मन पराएनन्। अन्त्यमा व्यक्तिलाई स्टेजमा उतारेर गरेको भारतीय नक्साको प्रस्तुति भने जमेको थियो।

जज सन्तोष पन्तले जोकमा परिवारका सदस्यलाई उडाए पनि तल्लो स्तरको शब्द प्रयोग नगरे राम्रो भन्ने सुझाव दिए। आदर्शले ‘घाँटी भन्दा तल त राम्री नै छौ’ भन्ने बोलको गीतलाई लिएर रीमा विश्वकर्मालाई नै सटायर हानेका थिए। उनी पोलटिकल सटायरमा केन्द्रित भएका थिए। अनिशले गुण्डागर्दीलाई विषय बनाएका थिए।

तेस्रो एपिसोडमा सुमन कोइराला र लेडी स्ट्याडअप कमेडियन सञ्जु कटवाल, सुमन कार्की जमेका थिए। कोसिस आचार्यको प्रस्तुति भने प्रभावकारी देखिएन।

आ–आफ्नै ताल
दोस्रो एपिसोडमा प्रतियोगी मोहनराज क्षेत्रीले बलिउड अभिनेता सुनिल सेठीको क्यारिकेचर गरेर हँसाउन खोजे। उनले भगवानसँग मागेको कुरा पुग्ने भए ऋचा शर्मालाई भगवानले नै लैजान्थे भन्दै ऋचालाई व्यङ्य गरे।

भारत असमका मोहनराज क्षेत्री लवज पनि उतैको ल्याएका थिए। उनले कन्टेन्ट नल्याएको भन्दै जज सन्तोषले राम्रो ल्याउन सुझाव दिए। क्षितिज केसीले बाउआमाले अर्काका छोराछोरी विदेश गएका देखेर आफूलाई पनि विदेश जा भनेको कुरालाई व्यङ्ग्यको खुराक बनाएका थिए। उनले राम्रो कमेडी गर्न सकेनन्।

नुवाकोटका गणेश राईको प्रस्तुति निकै राम्रो थियो। उनले काठमाडौँमा भएको कोठाको विषय लिएर व्यङ्ग्य प्रहार गरेका थिए।

दार्जिलिङबाट आएका अनिल राईको पनि कमेडी ठिकै थियो। दौरा सुरुवाल लगाएर आएका उनी जजलाई नै उडाए। अर्का प्रतियोगी सुरज वाग्ले, भीम खोइरेले पनि राम्रै हँसाए। प्रतियोगी सागरराज न्यौपानेको भने राम्रो भएन। उनले कन्टेन्ट राम्रो दिन सकेनन्।

नारिया गिरीले जज मनोज गजुरेललाई नै व्यङ्ग्य गरिन्। अरुको कमेडी हेर्नुभन्दा बुढीको टिकटक हेरे भइहाल्यो नि, यहाँसम्म आइराख्नु पर्ने अवस्था नै थिएन भनेकी थिइन्। सन्तोष पन्तलाई देखेर हजुरआमाले काटीकुटी तेरो हजुरबा जस्तै रहेछ भनेर हँसाइन् । उनले विज्ञापनको समेत व्यङ्ग्य गरेर उठाइन्। उनलाई जजहरुले राम्रो कमेडी गरेको भन्दै तारिफ गरे।

Leave A Comment