गोल्डले ल्याएको खुसी

शनिबार, २१ मङि्सर २०७६, १० : ५८ शुक्रवार
गोल्डले ल्याएको खुसी

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागले नेपाललाई साँच्चै नै खेलमय बनाइदिएको छ ।

सात राष्ट्र, २ हजार ७ सय १५ खेलाडी, २६ खेल, ३ सय १७ गोल्ड, उत्तिकै संख्याको सिल्भर अनि ४ सय ८१ कास्य। यी पदक पोल्टाभरि पार्न अहिले तीन शहर काठमाडौं, कास्की र जनकपुरमा घम्साघम्सी चलिरहेको छ दैनिक।

खेल आयोजनाको तयारी त्रुटिरहित हुन सकेन। खेलको उद्घाटनको दिनसम्म पनि खेल आयोजना स्थलको पुनर्निर्माण सकिएको थिएन। पोखरा रंगशालाको हालत उस्तै थियो। अनेक कमजोरीका बाबजुद पनि दशरथ रंगाशालामा भव्य उद्घाटन भयो। पोखरामा असरल्ल निर्माण सामग्रीकै बीच प्रतियोगिताहरु भए।

प्रतियोगिता शुरु हुनै लाग्दा एथलेटिक्सकी एक खेलाडी रातारात कतार भाग्दा खेलप्रेमीको मन खिन्न नभएको हैन। त्यसले राष्ट्रका लागि दिलोज्यान दिने नेपाली खेलाडीको आर्थिक पाटो छर्लङ्ग भयो तर चुकचुकाउनुको अर्को विकल्प थिएन। स्वर्ण आश गरिएकी खेलाडी श्रमका लागि विदेशिनु कम्ता दुःखको पाटो हैन।

तर खेल शुरु भएलगत्तै एकपछि अर्को प्रतियोगितामा नेपाली खेलाडीको गला गोल्ड मेडलले भरिन थाल्यो। भाग्य, ०.०१ सेकेन्ड अगाडि हुँदा नेपाली चेलीको गलामा पहिलो पटक सागको एथलेटिक्सको गोल्ड मेडल आयो। आयशा शाक्यले दुई वटा गोल्ड ल्याइन्। माण्डेकाजी श्रेष्ठले गर्विलो इतिहास रच्दै दुई वटा स्वर्ण ल्याए।

दक्षिण एसियाली देशमाझ खेलको माध्यमबाट सम्बन्ध विस्तार गर्न आयोजित यस खेलको कुम्भमेलाले राजनीतिक वितृष्णाले कोक्किएको नेपाली मन खेलाडीहरुको एकपछि अर्को सफलताले प्रफुल्ल बनाएको छ।

अहिले दक्षिण एसियाली सहयोग संगठन सार्क मृत समान छ। भारत र पाकिस्तान बीचको दुश्मनीको मूल्य चुकाइरहेको छ यो संगठनले। यी दुवै देशको बिग्रदो सम्बन्धले आठै राष्ट्र बीचको भातृत्व विस्तार हुन सकिरहेको छैन।

यही मेसोमा भएको साग प्रतियोगिताले आपसी भाइचारा र सद्भाव बढाउनु आफैँमा सुखद पाटो हो। आशा गरौं, खेलाडीको यो सौहार्दपूर्ण व्यवहार आठ राष्ट्रका नेताले आत्मसात गर्दै निष्क्रिय रहेको सार्कलाई सक्रिय बनाउने पहल पक्कै गर्नेछ।

Leave A Comment